साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहानुभूतिका रङ्गहरू

सज्जनले भने, ‘तपाईं त राजनीतिक पो लेख्दै हुनुहुन्छ ।’ मैले भनें, ‘हो, कुरो के हो भने सङ्कटकाल र सेन्सरका कारण म पनि अन्य लेखकहरूजस्तै मौन थिएँ । तर अब भने मैले मबाहेक अन्य सारा लेखकहरू कायर हुन् भन्ने देखाउनु छ नि त !’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

सके मेरा खुट्टाको हाड भाँचिएको भन्ने अत्याउने खबर दुनियाँमा फैलिएन कि ? अखबारहरूमा थुप्रै व्यर्थ खबरहरू तथा ससाना कुराहरू छापिइरहन्छन् – कतै अफ्रिकाको स्वतन्त्रताको कुरा, कतै पश्चिम एसियामा शान्तिको कुरा, कतै परमाणु अस्त्र–परिसीमनको कुरा ! तर मेरा खुट्टा भाँचिएको खबरलाई भने जानजान दबाइयो । यसमा त मलाई केही देशी तथा केही विदेशी शक्तिहरूको षड्यन्त्र लाग्दछ । मरिससमा विश्व हिन्दी सम्मेलन गरेर के फाइदा ? मकहाँ भने अझैसम्म शिवसागर रामगुलामको चिठी नै आएको छैन । म मरिसस विश्व हिन्दी सम्मेलनमा जाँदै थिएँ तर प्रस्थान गर्नुभन्दा तीन दिनपहिले नै मेरो खुट्टा भाँचियो । भन्नुस् त अरू कुनै हिन्दी लेखकको खुट्टो भाँचियो ? कसैले भाँच्छ आफ्नो भाषाका लागि आफ्नै खुट्टा ? सत्य कुरो गर्ने नै हो भने हिन्दी आन्दोलनमा मेरो यस भाँचिएको खुट्टाको ठुलो महत्त्व छ । मैले राम्रो लेख्न सकिनँ त के भयो ? एउटा राम्रो खुट्टो त भाँचेँ नि ! जसले न राम्रो लेख्न सके न खुट्टा भाँच्न सके ती सबै हदै घटिया लेखक हुन् ।

कनै दुर्खटना वा नोक्सानीबाट बिचरा लेखकले के पो चाहेको हुन्छ र ? अलिकति प्रचार त हो नि ! मैले मेरो प्रचार महान् लेखकका रूपमा होस् भनेर त कहिले पो भनेको छु र ? मैले चाहेको कति मात्र त हो भने मेरो खुट्टो भाँचिएको समाचार फैलियोस् – म लेखक पनि हुँ भन्ने त प्रसङ्गवश आएको मात्र हो । मैले आफै पनि कतिलाई दुर्घटनाबाट कवि बनाएको छु । म एउटा अखबारमा काम गर्थें । एकजना सज्जन कविता त लेख्थे तर उनलाई कसैले कवि मानेको थिएन । एक दिन राति उनको घरमा चोरी भयो । मैले यस समाचारको शीर्षक बनाएँ –‘‘कविको घरमा चोरी’’ । अर्को दिन उनी मकहाँ आए । निकै खुसी थिए ।

उनले भने, ‘तपाईंको यो उपकार म जीवनभर बिर्सिने छैनँ ।’ मैले सोधें, ‘के तपाईंको चोरिएको सामान पाइयो ? उनले भने, ‘पाइएन, तर म तपाईंले मलाई कविका रूपमा मान्यता दिनुभएकाले तपाईंप्रति आभारी छु । तपाईंले मेरो नाम चलाइदिनुभयो ।’ उनलाई आफ्नो चोरिएको सामानको कुनै पिर थिएन । तीनचार हजारको सामान गयो त गयो, के भयो ? तर यति सानो नोक्सानीबाट नै कविका रूपमा विख्यात भइयो भन्ने पो ठुलो कुरो हो त । उनी त ‘कविलाई कुकुरले टोक्यो’ भन्ने समाचार छापिने भए कुकुरलाई टोकाउन पनि तयार थिए । त्यति मात्र किन ? यदि ‘कविद्वारा आत्महत्या !’ भन्ने समाचार आउने भए उनी पासो लाउन पनि तयार थिए । उनले त मरिसकेपछि यो समाचार छापिएको पढ्न नपाएने भएर मात्र पासो नलगाएका हुन् ।

मैले आफ्नो तर्फबाट केही बाँकी राखेको छैनँ । जे लेखे पनि त्यसमा खुट्टो भाँचिएको कुराको चर्चा अवश्य गर्छु चाहे त्यो भद्दा नै किन नहोस् । भद्दापन पनि सत्साहित्यको आवश्यक गुण हो । जस्तो मूर्खतालाई सज्जनता मानिन्छ, त्यस्तै । मानिसहरूले ‘कस्तो छ ?’ भनेर नसोधे पनि म लेख्ने गर्छु, ‘बाबु, अवस्थामा सुधार हुँदै छ । अलिअलि हिँड्न पनि थालेको छु ।’

एक दिन एकजना सज्जन कानपुरबाट आए । पछि गएर तिनी दुर्जन सिद्ध भए । तर म भने यति टाढाबाट मानिसहरू मेरो हालचाल सोध्न आउँछन् भनेर मक्ख परें । मैले उही आफ्नो व्यवस्थित शिष्टतापूर्वक भनेँ, ‘अब खुट्टो बिस्तारै ठिक हुँदै छ र अलिअलि हिँड्न पनि थालेको छु । तर दुखाइ अझै छ ।’ उनी अलमलमा परे । उनले भने, ‘तपाईंले कसका बारेमा भन्नुभएको हो र ? कसको खुट्टो दुखेको छ र ?’ मेरो भने हालत खराब भयो । मनमनै भनेँ, यस असतीलाई त यो पनि थाहा रहेनछ । मेरो अर्को खुट्टो पनि भाँचिएझैं भयो । मैले उनलाई भनेपछि बल्ल उनले भने, ‘मलाई त थाहै थिएन । ईश्वरले तपाईंलाई छिटो निको पारिदिऊन् ।’ मैले सोधें, ‘के कानपुरमा तपाईंलाई गिरिराज किशोर या कामतानाथले केही भनेनन् ?’ उनले भने, ‘नाइँ, मैले यिनीहरूलाई चिनेकै छैनँ ।’

अब त मसँगै यिनी दुबै लेखकहरू पनि उत्ताना परे । कानपुरमा के यिनीहरू अगेनामा अगुल्टो ठोस्ने काम मात्र गर्छन् ? कसैले पनि त चिन्दो रहेनछ । कानपुरीले भने, ‘म त फलाना तिवारीजीको छोरासित आफ्नी छोरीको विवाहको कुरो छिन्न आएको हुँ । तपाईंले उहाँको परिवारलाई राम्रोसित चिन्नुहुन्छ भनेर मलाई भनिएको हुँदा म त तपाईंलाई भेटेर तपाईंको पनि राय लिन आएको हुँ ।’ मलाई त झन्का चल्यो र रन्का छुट्यो । एउटा लेखकको खुट्टा भाँचिएको छ अनि मानिसहरू छोराछोरीको विवाह गर्दै छन् ? यिनकी छोरीको कुरामा भाँजो हालिदिऊँ कि भन्ने पनि लाग्यो । भनिदिऊँ केटो जँड्याहा र जुवाडे छ । तर यति नीच बन्ने सामर्थ्य जुटाउन सकिनँ । केही लेखक त सजिलै र केही नगरिकनै नीच भइदिन्छन् । मलाई उनीहरूप्रति ईर्ष्या हुन्छ ।

जुन प्रचार म गर्दै छु त्यो हिन्दीका लागि हो । यो जुन खुट्टो भाँचियो नि, त्यो हिन्दीको हो । जस्तो एउटा मानिस हाम्रो सहरको नाक हो जबकि त्यो काटिएको छ (वीभत्स रस) । हिँजो जुन सज्जन आएका थिए उनले भनेका थिए, ‘अमुक साहेबसित तपाईंको घरको ठेगाना सोध्दा उनले भनेनन् । सुन्न त तपाईंका मित्र हुन् भन्ने सुनेको थिएँ ।’ मैले भनें, ‘केही छैन । मैले भने त्यसो गर्दिनँ । उनी मरेपछि उनलाई कुन घाटमा लैजाँदै छन् भनेर तपाईंलाई भनिदिउँला ।’ जसले मेरो ठेगाना बताइदिएका थिए उनको नाम उनले भनेपछि मैले भनेको थिएँ, ‘मलाई थाहा छ, अवश्य पनि उहाँलाई मेरो खुट्टो भाँचिएको कुरामा दुःख लागेको छ । अलिकति निन्दा पनि गरे होलान् । मेरा यी कमजोरीहरू पनि बताइदिए होलान् ।’ ती सज्जनले भने, ‘तपाईंले सही भन्नुभयो तर यो कसरी थाहा पाउनुभयो तपाईंले ?’ मैले भनें, ‘म मान्छे चिन्छु । उहाँलाई त झन् राम्रोसित चिन्छु ।’

हो, शुद्ध सहानुभूति दिइँदैन । कडा हुन्छ । जिब्रो पोल्छ । निरालाको मृत्युपछि प्रयागका एकजना सुनामधन्य लेखकसित भेट हुँदा उनले भनेका थिए, ‘बिचरा निराला जीवनभरि दुःख मात्र भोगेर आखिरमा मृत्युमा प्राप्त भए । यस्ता महान् प्रतिभाको यस्तो दारुण अन्त !’ मलाई लाग्यो अब यी रुनेछन् तर उनले भने, ‘किन नमरुन् त ? सबै कर्म त गरेकै थिए । लागुपदार्थको सेवन, वेश्यागमन…’ मलाई लाग्यो मेरा अगाडि एउटा कुष्ठरोगी बसेको छ र उसका अङ्ग अङ्ग गल्दै छन् । निकै टिठ लाग्यो । यसलाई के गरूँ ? कुनचाहिँ कुष्ठरोगीको आश्रममा भर्ती गराइदिऊँ ?

एक दिन मैले एउटा सज्जनलाई सहानुभूतिको सङ्कट परेको देखेको छु । उनका परम मित्र अस्पतालमा मृत्युको निकट थिए । उनलाई यिनी आधा घण्टाका मात्र पाहुना हुन् भनेर भनिएको थियो । ती सज्जनले कार्यालयबाट आधा दिनको विदा लिए अनि मर्ने व्यक्तिसँग आफ्नो मित्रताको स्तरअनुसार मलामी जानका लागि तयार भएर घरमा बसे । उनी अस्पतालबाट फोन आउने प्रतीक्षा गर्दै थिए । फोन आउँदा ठुलो आशाका साथमा उठाउँथे र पछि निराश भएर राखिदिन्थे । दुईतीन घण्टा बिते । उनले झिँझो मानेर भने, ‘लौ भन त, कस्तो झन्झट भयो ? मलाई भने आधा घण्टामा काम तमाम हुने भनेर भनिएको थियो । त्यसैले म विदा लिएर बसेको छु । तीन घण्टाभन्दा माथि भइसक्यो तर उताबाट कुनै खबर आएन ।’ मर्नेले पनि कत्रो धाँधली गरेछ ! छिटै वा ठिक समयमा नमरेर यिनको विदा बर्बाद गरिदिएछ ।

मलाई भने एकजना मानिस राम्रा लागे । उनले भने, ‘खुट्टासुट्टाको के पिर ? ठिक भइहाल्छ नि ! बरु भन्नुस्, केही लेख्दै पनि हुनुहुन्छ कि कसो ?’ मैले भनें, ‘अँ, रेडियोबाट लोकसभाको परिणाम आइरहेको छ । अनि म लेख्दै छु – यो मेरो ढोकैअगाडि जुन रुख छ नि, हावा चल्दा यसका पातहरू कांग्रेसका उम्मेदवारहरू खसेझैं खसिरहेका छन् । जमानत जफत भएका उम्मेदवारझैं पात पहेंलिएका छन् ।’

सज्जनले भने, ‘तपाईं त राजनीतिक पो लेख्दै हुनुहुन्छ ।’ मैले भनें, ‘हो, कुरो के हो भने सङ्कटकाल र सेन्सरका कारण म पनि अन्य लेखकहरूजस्तै मौन थिएँ । तर अब भने मैले मबाहेक अन्य सारा लेखकहरू कायर हुन् भन्ने देखाउनु छ नि त !’

०००
‘परसाई रचनावली’ भाग ३ को ‘सहानुभूति के रंग’ बाट नेपाली अनुवाद ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x