साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीला उदासीको हास्यव्यङ्ग्य निबन्धकारिता

सारभूत रूपमा हेर्दा ‘उदासी’ का यी रचनाहरूमा देशको समसामयिक राजनीतिक वितण्डा, आर्थिक विभीषिका, सामाजिक विकृति र वैयक्तिक बेइमानीको भन्डाफोर गरिएको छ भन्ने कुरामा दुई मत हुन सक्तैन ।

Nepal Telecom ad

होम सुवेदी :

लीला ‘उदासी’ खनाल (२००६) झापाका साहित्यिक समाजको एक सुपरिचित नाम हो । झापाली राजनीतिक आन्दोलनसँगै यहाँको साहित्यिक गतिविधिमा ओर्लिएको उनको इतिहास छ । आज उदासीलाई झापामा ‘वाम’ आस्था राख्ने एक प्रबुद्ध सचेतक, मिष्टभाषी, नीरक्षीर न्यायका पक्षधर कानुनवेत्ता र विचारकका रूपमा पनि मानिन्छ । विनयी, मृदुभाषी, न्यायप्रिय र आफ्ना विचारहरूलाई अकाट्यसँग राख्न सक्ने क्षमता भएको कारण लीला ‘उदासी’ झापाका आदरणीय व्यक्तिका रूपमा पनि सुपरिचित छन् । साहित्येतर क्षेत्रमा उनको व्यक्तित्व जति प्रखर छ साहित्यमा पनि त्यो व्यक्तित्व त्यत्तिकै प्रखर र सचेतक छ । ‘उदासी’ मा रहेको यस शालीन व्यक्तित्वको उदय भद्रपुरमा आफ्नो पठनपाठनको समयदेखि नै विकसित हुँदै आएको कुरा बुझिन्छ । ‘उदासी’ का यी बाँकी व्यक्तित्वहरूले आ-आफ्नै क्षेत्रमा खास महत्व र सरोकार राख्छन् तापनि यहाँ मेरो सरोकार भने ‘उदासी’ मा रहेको साहित्यिक व्यक्तित्वसँग मात्रै छ ।

झापाको वाङ्मयमा गतिविधिभित्र लीला ‘उदासी’ लाई पत्रकारिता र साहित्यका क्षेत्रमा समेत पाइन्छ । उनमा रहेको पत्रकार व्यक्तित्वकोे बेग्लै महत्व छ । ‘उदासी’ का साहित्यिक व्यक्तित्वको औपचारिक यात्राको श्रीगणेश ‘पञ्चामृत’ कालबाटै हुन थालेको हो । उनका साहित्यिक रचनाहरू ‘पञ्चामृत’ कालबाटै देखापर्न थालेका हुन् । निकै लामो समयसम्म उनलाई ‘सूर्योदय’ ‘युगज्ञान’ आदि पत्रपत्रिकाहरूमा छरिएर रहेका रचनाहरूमा मात्र पाइन्छ ।  पुस्तकाकार कृतिको प्रकाशकका रूपमा भने २०४६ सालको आन्दोलनपछि मात्र उनी देखिएन थालेका हुन् । ‘आज भालेलाई बास्न निषेध छ’ (२०४८) र ‘यसपल्ट पनि बाली लागेन’ (२०५७) नामका दुई कवितासङ्ग्रह प्रकाशित गरेर उनले यस क्षेत्रमा आफूलाई पूर्ण रूपमा स्थापित गरेका हुन् ।

यी दुई सङ्ग्रहका कविताहरूबाट ‘उदासी’ लाई एक प्रखर प्रतिभाशाली कविका रूपमा मूल्याङ्कन गर्न सकिन्छ । कवि लीला ‘उसादी’ प्रगतिवादी आस्थाका हिमायति र भाषाशैलीका पारखी व्यक्तिका रूपमा चिनिन्छन् । आफ्ना आस्था, मान्यता, भावना र विचारहरूलाई कवितामा गुम्फन गरी सहज र सरल भाषामा अभिव्यक्ति दिनु ‘उदासी’ को विशेषता हो । अभिधात्मक रूपमै व्यञ्जनार्थ दिएर सहज प्रतिभासम्पन्न कविमा हुने धर्म उनका कविताले व्यञ्जित गरेका हुन्छन् । अभिधात्मक कथनबाट व्यङ्ग्यार्थ व्यञ्जित गरी कथनलाई तिख्खरो बनाउनमा उनलाई विशेष सफलता मिलेको देखिन्छ । काव्यमा रहेको उनको यो मौलिक धर्म उनका गद्य रचनाहरूमा पनि उपलब्ध हुन्छ ।

‘उदासी’ का प्रकाशित कृतिहरूको ताँतीमा अब अर्को कृति थपिएको छ । थपिएको यो उनको तेस्रो कृति ‘अब त्यो बालक कहिले जन्मन्छ ?’ हो । जुन बालक अब साहित्यका संसारमा जन्मदै छ र पाठकका काखमा छ । यस कृतिमा स्थानीय तथा केन्द्रीय तहका पत्रपत्रिकामा प्रकाशित भएका एक कोरी भन्दा बढी गद्यरचनाहरू समेटिएका छन् । सङ्ग्रहमा समेटिएको. पहिलो रचना ‘त्यो बालक कहिले जन्मन्छ ?’ को नामबाट यस सङ्ग्रहको नाम जुराइएको छ । योसमेत गरी यस सँगाहमा जम्मा २४ वटा रचनाहरू समेटिएका छन् । यहाँसम्म मैले यस सङ्ग्रहका कृतिहरूलाई ‘रचना’ भनें । यी रचनाहरू साहित्यका स्वरूप र विधाहरूका आधारमा हेर्दा निबन्धको फाँटमा पर्दछन् । त्यस विधाको शैलीगत हिसाबले पनि हेर्ने होभने निबन्धका वर्णनात्मक, व्यङ्ग्यात्मक, नियात्रात्मक र वैचारिक पक्षसँग सरोकार राख्छन् । केही बाँकी निबन्धहरूले शाश्वत पक्षसँग पनि सरोकार राखेका छन् । शाश्वत विषयको सेरोफेरोमा रहेका भए पनि यिनमा चास्चुस्स वर्तमान वा यी निबन्ध जहिले लेखिए त्यस बेलाको राजनीतिक सामाजिक तथा अन्य विसङ्गतिलाई झल्काउन छोड्दैनन् ।

यस सङ्ग्रहका निबन्धहरूलाई चित्रण गरिएका विषयतर्फ छोट्करीमा हेर्नु पनि सान्दर्भिक हुन सक्छ । एकै शब्दमा भन्नुपर्दा यी निबन्धहरू व्यङ्ग्यप्रधान छन् तर व्यङ्ग्य प्रयोगका आधारबाट सूत्रात्मक ढाँचामा हेर्दा ‘त्यो बालक कहिले  जन्मन्छ ?’ का निबन्धहरू यस्ता देखिन्छन्‌– १. व्यङ्शून्य निबन्ध, २. व्यङ्ग्याल्प निबन्ध, ३ व्यङ्ग्ययुक्त निबन्ध

यस निबन्धसङ्ग्रहका कतिपय निबन्धहरूमा निख्खरो साहित्य र चोखो भावना पनि खनिएको पाइन्छ, तर त्यस्ता निबन्धको सङ्ख्या त्यति बढी छैन । विषयवस्तु सामाजिक र राजनीतिक विसङ्गतिलाई वरण गरिएको हुँदा भावनाभन्दा पनि विचार र तर्कहरू खनिनु स्वाभाविक पनि हो । यसै कारणले ‘उदासी’ मा रहेको चोखो भावनाले अभिव्यक्त हुने अवसर कम मात्रामा पाएको छ । ‘उदासी’ का त्यस्ता निबन्धहरूले आत्मपरक शैलीका निबन्धकार हृदयचन्द्रसिंह प्रधानको शैली र देवकोटाका निबन्धहरूमा पाइने मधुरिमाको झलक देखाउँछन् । तिनमा अभिव्यक्तिको सहजता र स्वतस्फूर्तता सहज रूपमा आएको देखिन्छ । यस्ता निबन्धहरूलाई पनि केही मात्रामा व्यङ्ग्यभाव रहेको पाइन्छ तापनि तिनको मूल लक्ष्य व्यङ्ग्य प्रबाह गर्नु भने होइन । यस्ता निबन्धहरूलाई चोखा निबन्धको कोटीमा राखेर मूल्याङ्कन गर्नु सान्दर्भिक हुन्छ ।

यस्ता निबन्धहरूमै पनि प्रसङ्गवश सन्दर्भ पारेर वा कुनाकानीमा अवसर पाउनासाथ ‘उदासी’भित्रको व्यङ्ग्यनिबन्धकार आफ्नो मूल धर्मबाट विमुखै भने रहेको देखिँदैन । यस्ता केही निबन्धहरूमा ‘पञ्चामृत’, ‘झापासँग अनेक विशेषताहरू छन्‌’, ‘कागतका टुक्राहरू’, ‘दार्जिलिङमा दुई दिन’, ‘भद्रपुर मेरो पाठशाला हो’ ‘सादा विवाहलाई सादा शुभकामना’ जस्ता केही निबन्धहरू पर्दछन् । तिनमा निबन्धकार ‘उदासी’ मा रहेको चोखो भावना छङ्छडाएको छ तापनि माथि भनेझैं व्यङ्ग्य, छेडखान वा परिहासशून्यता भने छैन । यी उल्लेखित निबन्धहरूले भावनात्मकताको अधिकता भएकाले चोखो निबन्धमा पाइने महत्व बोकेका छन् । तर यिनमा पनि कतै(कतै गौंडा(गल्छेडा पाउनासाथ ‘उदासी’ को आक्रोश र छेडखान गर्ने प्रवृत्तिबाट विमुखै भने देखिएका छैनन् । स्वाभाविक रूपले यी निबन्धभित्र पनि उनको व्यङ्ग्यधर्म कताकता व्यञ्जित हुन छाडेको छैन । ‘पञ्चामृत’ निबन्धमा मेची महाविद्यालयबाट उक्त पत्रिका निकाल्नुको कारण, त्यसको परिणाम र त्यस पत्रिकाको योगदानका बारेमा उल्लेख छ भने ‘झापासँग अनेक विशेषता छन्‌’ निबन्धमा झापाका नाना विशेषताका बारेमा अनुसन्धनात्मक छलफल र झापाको विशेषताको विवरण भावनात्मक रूपमा छानविन भएको छ ।

‘झापा : हिजो आज र भोलि’ मा झापाको अतीत वर्तमान र भविष्यका सम्भावनाहरूको चित्र खिचिएको छ भने ‘कागजका टुक्राहरू’ निबन्धमा आफू बसेको कोठामा च्यातिएका कागजका टुक्राहरूलाई हावाले कोठैभरि छरपट्ट पारेको देखेर भावुक बनेका निबन्धकारको आत्मकथ्यको सुन्दर अभिव्यक्ति अभिव्यञ्जित भएको छ । यस सङ्ग्रहका एउटा मात्र ‘दार्जिलिङ्मा दुई दिन’ नामक नियात्रात्मक निबन्ध छ । यसले भारतको दार्जिलिङको यात्रामा ‘उदासी’ भित्र उब्जिएका रोमान्टिक चेतना देखाउँछन् भने आफ्ना जीवनका अतीतको मधुर स्मरण गरिएको ‘रवि बजार र मेरो अतीत’ नामक निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको छ । यस निबन्धमा निबन्धकार ‘उदासी’ ले त्यसै रवि बजारमा आफूले बाल्यकालमा खेलेको, लेखपढ गरेरको स्मरण गरेर उक्त स्थानको विगत इतिहास देखाउने काम गरेका छन् । आज काँचुली फेर्दै गरेको पाँचथरको दक्षिणी क्षेत्रमा र झापाको दमकबाट ५० किलोमिटर मात्र दूरीमा अवस्थित रवि बजारको सेरोफेरोको यात्रा गर्दाको प्रसङ्गबाट त्यस क्षेत्रको अतीतका कुराहरू आएका छन् । यस सुन्दर स्थानको महत्वमा प्रशासकका आँखा नपुगेकोमा यहाँ हल्का व्यङ्ग्यभाव पनि अभिव्यञ्जित भएको छ ।

‘आजको प्रश्न’ निबन्धमा हल्का व्यङ्ग्यको प्रयोग भएको छ र मानवीय दुर्बलताका विषयमा र मानवका स्वभावका विषयमा दार्शनिक सोचाइ अभिव्यञ्जित भएको छ । ‘सादा विवाहलाई सादा शुभकामना’ निबन्धमा राष्ट्रियताको पक्षमा देखिएका काँकरभिट्टाका साहित्यकार विजय खरेलका पुत्रको सादा विवाहको निमन्त्रणामा आफू सामेल हुन नपाएको कुरा विशेष रूपमा उल्लेख गरेका छन् । उक्त विवाहमा उपस्थित हुन नपाएकोमा पछुताउँदै नेपाली सामाजिक संस्कारमा आएको विकृति र आडम्बरलाई हलुका छेडखान गरी देशबाट अझ पनि राष्टिूयता नासिनसकिएको कुरा देखाइएको छ ।

समाजमा राजनीति, साहित्य, कला, अर्थनीति, शैक्षिक र सामाजिक गतिविधिहरूभित्रका विसङ्गतिहरूमा कुनै निश्चित समयसीमामा देखिएका विसङ्गतिमाथि खनिएका निबन्धहरू नै यस सङ्ग्रहमा बढी छन् । तिनमा रहेको व्यङ्ग्यधर्म पनि सामान्य र प्रबल हिसाबले नियाल्नु राम्रो हुन्छ । यी प्रवृत्तिमध्ये पनि सामान्य व्यङ्ग्यभाव बोकेका निबन्धहरूको सङ्ख्या कम छ र प्रबल व्यङ्ग्यको उपस्थिति रहेका निबन्धहरूको सङ्ख्या अधिक छ । सैद्धान्तिक, प्रभावात्मक र जिवन्तताका आधारमा यस्ता निबन्धहरू कुनै निश्चित समयका लागि महत्व दिने तर अर्को कालखण्डमा गएर इतिहास बन्ने प्रकृतिका मात्र हुन्छन् । तत्कालीन अवस्थामा तीब्र व्यङ्ग्य दिए तापनि अर्को कालखण्डमा त्यस्ता निबन्धहरू असरशून्य औषधीजस्ता मात्र हुन सक्ने सम्भावना भएका हुन सक्छन् भन्ने हेक्का निबन्धकारले स्मरण गर्नु उपयुक्त होला । यस्ता निबन्धहरूलाई यहाँ मैले अल्प व्यङ्ग्य र प्रबल व्यङ्ग्य बोकेका निबन्धका कोटीमा राखेर नियालिनु पर्ने कुरा उचित ठानेको छु ।

पाठ्यक्रममा पढिने ‘इम्पेरर क्लोथ’ पाठको कथित वादशाहलाई नाङ्गै देख्ने र सही कुरा बोल्ने बालकको खाँचो आज अझ बढेको छ र यस्ता बालकहरूको जन्म चाँडै होस् भन्ने आशय यस सङ्ग्रहको पहिलो निबन्धमा व्यक्तिएको छ । आजका हाम्रा नाङ्गा वादशाहहरूलाई पनि नाङ्गै देख्ने उही बालकको खाँचो भएको अनुभूति प्रस्तुत पहिलो ‘त्यो बालक कहिले जन्मन्छ ?’ निबन्धमा छ भने ‘म हराउँदै छु’ निबन्धमा भ्रष्टहरूको भिड बढेकोमा कटाक्ष गर्दे त्यस्ताहरूको भिडमा भन्दा बरु इमानदारहरूको माझमा हराउन पाए राम्रो हुने आशय झल्किएको छ ।

‘विज्ञापन’ मा आज आत्मविज्ञापन गर्नेहरूको घुइँचो बढेको कुरा देखाइएको छ भने ‘बाबु’ निबन्धमा आफैं मात्र बाबु हुन इच्छा बोकेका आडम्बरीहरूका आन्द्राभुँडी केलाइएको छ । ‘हामी कन्डक्टर हौं’ निबन्धमा बसयात्रीहरूले कार्ड मागेर नियमपूर्वक विद्यार्थीसँग सहुलियत दरको भाडा लिन खोज्दा छली र दुष्ट्याइँले भरिएका यात्रीहरूबाट बस कन्डक्टरले गोता खाएको देखाउँदै जसलाई पनि सहुलित दरमा टिकट काट्न विवश हुनु पर्ने त्यही कन्डक्टरका विवशतातर्फ सङ्केत गर्दै हामी सबै कण्डक्टरले झैं छलछामका अघि विवश हुन्छाैँ, जानीजानीकन पनि त्यसको प्रतीकार गर्न सक्तैनौं र प्रतीकार गर्न नसक्ने त्यही कन्डक्टर झैं विवश भएका छौं भन्ने कुरा देखाइएको छ ।

उता ‘जेल जर्नेल : काङ्ग्रेसीको सिस्नो पानी’ निबन्धले राजनीतिज्ञ विश्वेश्वप्रसाद कोइरालाको महान् व्यक्तित्वलाई दर्शाउँदै उनको विचारका अनुयायी भनिएकाहरूको फट्याइँमाथि सिस्नोपानी हानेका छन् भने ‘के जान्नेहरूसँग यसो गर्ने हिम्मत छ ?’ निबन्धमा आडम्बरीहरूका छद्म आडम्बरप्रति लक्षित गर्दै आफ्नो क्षमता बुझ्ने र आफू कति पानीमा छु भन्ने वास्तविकता स्वीकार गर्न हिम्मत राख्नु पर्ने सुझाव दिएका छन् । भारतका राजनीतिज्ञ चारु मजुमदारको प्रसङ्ग कोट्याउँदै ‘बाबुहरू’ निबन्धमा हाम्रा नेताहरूको भूमिगत स्थितिबाट उब्जने प्रश्न र तिनका बारेमा उठ्ने उत्सुकताका सन्दर्भलाई बडो स्वाभाविक रूपमा विचार गरेका छन् । यसमा पनि छिप्छिपे व्यङ्ग्य रहेको छ ।

इमानदारीको पगरी गुतेर बेइमानी धन्दा गर्नु भन्दा बरु इमानदारी पूर्वक बेइमानी गर्नु नै उचित हो भन्ने निश्कर्ष ‘इमानदार विरप्पन’ निबन्धमा अभिव्यञ्जित छ भने ‘उहाँ’ निबन्धमा गद्दारीका भरमा धनाढ्य भएका तथाकथित वाममार्गीहरूका चरित्रको उछित्तो काडिएको छ । ‘कुरूपहरू ऐना हेर्दैनन्‌’, ‘नाङ्गाहरू बालकको प्रतीक्षामा छन्‌’ र ‘समय क्रूर पन्जाबाट फुत्कनेछ’ यी तीन निबन्धहरूमा २०६१ सालपछि राजा ज्ञानेन्द्रले देशको सार्वभौमिकता आफ्ना क्रूर हातमा लिएर अनि म्याद सकिएका तुलसी गिरी जस्ता बेइमानहरूका साथ लागेर गरेको भाँडभैलो, कथित भ्रष्टाचार नियन्त्रण आयोग र कथित नगरपालिकाको निर्वाचन आदिका बारेमा विशेष खुलासा गर्दै उसको नाङ्गो रूप देख्ने बालकको जन्म अवश्यम्भावी छ र उसका क्रूर पन्जाबाट देश कुनै पनि बेला फुत्कनेछ भन्ने आशय झल्काएका छन् ।

‘मान्छे भ्यागुतो बनेर कति कुटिने ?’ निबन्ध यस सङ्ग्रहको वर्तमान नेपालका अवस्थाको ज्वलन्त रूपमा चित्रण भएको निबन्ध हो । यसमा आजको ‘नेपाल बन्द’ र हडतालको भुमरीमा दग्ध भएको कुरा अभिव्यक्त भएको छ । धान खाने मुसालाई मार्नुको साटो भ्यागुताले मर्नु पर्ने प्रतीकात्मकतालाई उल्लेख गर्दै आजको बन्द र हडतालले मुसो अर्थात् भ्रष्टाचारीका विरुद्धमा गरिएको बन्द र हड्तालले भ्यागुतो अर्थात् सर्वसाधारणले गोता खानु परिरहेको कटु यथार्थलाई देखाई यस्तो स्थितिको जिम्मेदारहरू जुँगामा ताउमा लगाएर रमिता हेरिरहेको विषयमा व्यङ्ग्य गरेका छन् । आजका बन्द र हडताल भनेका निच र स्वार्थीहरूको आफ्ना स्वार्थसिद्ध गर्ने बन्दव्यापार भएका छन् भन्ने कुरामा समेत परोक्ष सङ्केत छ ।

यसरी सारभूत रूपमा हेर्दा ‘उदासी’ का यी रचनाहरूमा देशको समसामयिक राजनीतिक वितण्डा, आर्थिक विभीषिका, सामाजिक विकृति र वैयक्तिक बेइमानीको भन्डाफोर गरिएको छ भन्ने कुरामा दुई मत हुन सक्तैन । कुरा के बिर्सनु हुँदैन भने यी अधिकांश निबन्धहरू समाचार पत्रहरूका लागि लेखिएका हुँदा यिनको व्यङ्ग्य सार्वकालिक नहुन सक्छ । अल्पकालका लागि भए पनि यिनको व्यङ्ग्य तिखो, चोट पुर्‍याउने किसिमको र लक्ष्यवेधन गर्ने प्रकृतिको छ भन्ने कुरामा द्विविधा हुनु पर्दैन ।

०००
‘त्यो बालक कहिले जन्मन्छ ?’ (२०६५) भूमिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x