साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्रिखुट्टीको परिवार नै माथि !!

सरकारी ढुकुटीबाट घरमा धन आएको आयै, नाती पनातीले सातपुस्तासम्म खाएको खायै। शीतल र शान्त भएर फेरि भन्न चाहन्छु- “दलका सिद्धान्तघाती ! त्रिखुट्टीको परिवार नै माथि !!”

Nepal Telecom ad

अमर अधिकारी :

मुखिया आफू पञ्चायत कालमा प्रधानपञ्च भएर काम गरेका थिए, त्यसैले टोल बस्ती सबै ठाउँ चरेका थिए । उनको घरमा कसैले केराका घरी त कसैलै मासको बरी ल्याइदिन्थे अनि कसैले दूध-दही भाँडो भरी ल्याइदिन्थे । मुखिया बाका तीन छोरा र दुई छोरीमध्ये एक छोरी उत्तरतिरको चाउरेसँग पोइल गएकी थिइन् भने कान्छी छोरी दक्षिणतिरको लाउरेसँग पोइल गएकी थिइन् । घरमा रहेका मुखियाका तीन छोराहरुमध्ये जेठो काँग्रेस, माहिलो एमाले र कान्छो माओवादी बनेका थिए । कुरा गर्नमा निकै टाठा अनि काम पट्याउन झनै बाठा थिए ती तीन छोराहरु ।

तीन दाइभाइबीचमा एकआपसमा खासै बोलचाल नरहे जस्तो गर्ने र जसको सरकार आयो उसैका मन्त्रीबाट दलनिकटको कुनै एक छोराले काम पट्याउने गर्थे र आएको कमिशन र नाफा तीनै भाइले बाँडिचुँडी खाने र डान्स बार जाने गर्दथे । द्वन्द्वकालमा उहिल्यै गाउँबाट लखेटिए पनि मुखियाले पोको पारेर ल्याएको एक लाखले सहरको छेउमा एक रोपनी जग्गा लिएका थिए । १८ वर्षपछि त्यो जग्गाको मूल्य पाँच करोड पुग्यो । परिणामतः सामन्ती भन्दै लखेटिएका ती मुखियालाई नै बढी फाइदा भयो भने गाउँमा द्वन्द्व चर्काउनेको उल्टो काइदा भयो।

सिंहदरबारले खुलाउने कुनै पनि ठेक्का पट्टामा तीन भाइमध्ये सत्ता पक्षको एक भाइले टेण्डर हत्याइहाल्थे । काम हात पार्नमा तीनै भाइको जादूमय कला मन्त्रीले पत्याइहाल्थे । मीठो बोल्ने सुरिलो कुरा खोल्ने तीन भाइमध्ये एकले काम फत्ते भएपछि मन्त्रीलाई कति कमिसन दिने ? सचिवलाई कति घुस दिने ? ईञ्जिनियरलाई र ओभरसियरलाई पनि फाइदाको केही भाग अनि लेखापाल र स्टोरकिपरलाई कति कति दिने ? भनेर उनले हिसाब गरिहाल्थे। चाहे त्यो कच्चा काम किन नहोस् र बच्चा काम किन नहोस् ।

आफ्नो पोल्टामा कुनै पनि टेण्डर पर्ने पक्कापक्की भएपछि मुखियाका छोराहरुले साथीभाइहरु जम्मा पारेर मिनीपार्टी गरिहाल्थे र साथीभाइहरु ह्विस्की र सेकुवामा मख्ख पर्थे । रेष्टुरेण्टबाट उठ्नुअघि टेबुलमा काउन्टरबाट महंगो बिल आएपछि उनी छक्क पर्थे।
कुनै न कुनै सरकारको पालोमा तीन भाइमध्ये एकले मौका पाइहाल्थे अनि मन्त्री र सचिवसँग साइनो पनि लाइहाल्थे। ती तीनै भाइमा यती शक्ति थियो कि आफ्ना अयोग्य मान्छेलाई पनि विभिन्न आयोगको सदस्य र संस्थानहरुका विभिन्न पदहरुका लागि सिफारिस गर्थे । नियुक्ति पाएपछि ती अयोग्यहरु दङ्ग पर्थे । अयोग्य भए पनि बैठकहरुमा भत्ता लिने र आएको आधा पैसो श्रीमतीलाई दिने गर्थे। नियुक्तिका लागि पद अनि दलको छविको कद लिलाम यहाँ यस्तै यस्तै छ हाम्रो मुलुकमा।

मुलुक डुब्न लागेको चाल नपाउने सरकारी ढुकुटीबाट माल पाउने भएपछि जनता ट्वाल्ल अनि वाल्ल परेर हेर्नुवाहेक अरु केही छैन। बोल्नेहरु विदेश हानिए, थोरै भ्रष्ट मुद्दामा तानिए अनि बाँकी ठूला भ्रष्टहरु जोगिए। किन कि उनले भागशान्ति पुर्याहएकै थिए सम्बन्धित निकायका टाउकेहरुको पोल्टामा।

चोरले पुरस्कार पाउने र इमानदारले सजाय पाउनेमध्येको उदाहरण यो पंक्तिकार पनि हो। यहाँ बदमासले भटमास खाने र सोझोले बोझो खाने बाहेक अरु केही पनि देखिदैन। सरकार भन्छ- “समृद्ध नेपाल सुखी नेपाली।” तर यहाँ त उल्टो पो छ त ! “दुखी नेपाली” भन्नुपर्ने थियो । यहाँ हप्तामा डेढ घन्टा मात्र पानी आउँदा कसरी समृद्ध भनेका होलान् कुरै नबुझी । दुःखी नेपाली भन्नुपर्नेमा सुखी नेपाली भन्ने ? उल्टो कुरा गर्ने? सरकारी ढुकुटी सिध्याएर घरको भकारी भर्ने ? जनता पिरैपिरले मर्ने ? अब त मैले सबैलाई सुझाव दिन्छु प्रगति गर्ने हो भने र सात पुस्ता पुग्ने सम्पन्ति कमाउने हो भने तीनवटा छोरा जन्माउनू । बरु छोरी नजन्माउनू।

तीन छोरा भए भने तीन ठूला दलका एकएक जना समर्थकमा हुनेछन् र पालैपालो सरकारी ढुकुटी दुहुनेछन् अनि बियरसँग सुकुटी खानेछन्, विदेश घुम्न पनि जानेछन्। नेपालका सबै दलहरु ‘जुन जोगी आए पनि कानै चिरिएका’ जस्ता देखिएका छन्। कसैले हाम्रो पार्टी राम्रो भन्छ भने त्यो मुर्खता मात्रै हो। यहाँ धेरै खराब पक्षको भन्दा थोरै राम्रो पक्षको प्रचार गर्ने अर्थात् प्रोपोगण्डा फैलाउने चलन छ, देशबासीहरुमा समस्यैसमस्याको आगोको जलन छ। चितामा जानेबेलासम्म कुर्सी अनि सत्ता ? सरकारी ढुकुटी दुहुँदै पारिश्रमिक र भत्ता ? जनतालाई छैन अनाज र लत्ता । के भन्नु र खै ? यहाँ त्यस्ता शब्दहरु पोखियो भने देशघाती र झोलेहरुको धम्की सहनुपर्छ।

चर्पी बनाउन नसकेर झाडीमा जानेहरु अहिले शपिङ मलमा करोडको गाडी चढेर जान्छन् भने श्रीमतीलाई आधालाखको बनारसी साडी किनिदिन्छन्। यहाँ दलको विधान केवल नाम मात्रका छन् र फाइदाहरु कुपात्रका छन्। चुनावताका घोषणापत्रमा गुलिया कुरा लेखेर पछि जनतालाई छुरा देखाउने छन्।

अन्त्यमा, जसरी पनि तीन छोरा जन्माउनुस्, ती छोराहरु ठूलो भएपछि अलगअलग पार्टीमा लागून्। तपाइँको घर कहिले काँग्रेसीकै कहलाइने छ भने कहिले एमालेको कहलाइने छ अनि कहिले माओवादीको कहलाइने छ। तपाइँको घर परिवार छेपारोले रङ फेरे झै फेरिरहने छ। सरकारी ढुकुटीबाट घरमा धन आएको आयै, नाती पनातीले सातपुस्तासम्म खाएको खायै। शीतल र शान्त भएर फेरि भन्न चाहन्छु- “दलका सिद्धान्तघाती ! त्रिखुट्टीको परिवार नै माथि !!”

०००
खुंग्री, रोल्पा हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x