रामप्रसाद पन्थीमास्टर महाेत्सव
गाउँका छाेटे सरकारहरूले नपुगेर राजधानीका बढे सरकारहरूकाे मुख हेर्न धाएका हाैं । यिनीहरूका कर्तुत हेर्न आएका हाैं । विवेकशून्यहरूलाई चिन्न आएका हाैं । चिनाउन आएका हाैं । पथभ्रष्टहरूलाई पदप्रदर्शन गराउन आएका हाै ।

रामप्रसाद पन्थी :
शिक्षा क्षेत्रमा गुरु, शिक्षक, अध्यापक, मास्टर, टिचर, सर आदि चलेका शब्दहरू हुन् । म यिनै विभित्र नामहरूले पुकारिने गरेकाे थिएँ । यी सबै शब्दहरू मेरा लागि प्रिय थिए ।
गाडीमा यात्रा गर्दै गर्दा चालकलाई गुरु भनेकाे सुन्दा म चालक र आफूलाई तुलना गर्दथें । चालकले यात्रुलाई सुरक्षित तवरले निश्चित गन्तव्यमा पुर्याउने जिम्मेवारी लिएकाे देख्दथें । यस अर्थमा चालक पनि गुरु नै हुन् भन्ने बुझाइ थियाे । आफूले पनि चालक बनेर चेलाहरूलाई मार्गदर्शन गर्न पाएकाेमा गर्वले छाती चाैडा हुन्थ्याे । गुरूकाे गरिमाले ओतप्राेत हुन्थें ।
कृषिकर्म गर्नेलाई कृषक भनिन्छ । कृषकले खेतीपाती गर्छन् । बिरुवा राेप्छन् । मलजल र गाेडमेल गर्छन् । शिक्षाकाे खेती गर्ने हामी शिक्षक हाैं । विद्यालय हाम्राे खेतबारी । विद्यार्थी हाम्रा बिरुवा । हामी हाम्रा बिरुवा राम्रा भएकाे देख्न चाहन्छाैं । फुलेकाे र फलेकाे हेर्न चाहन्छाैं । हामीले सपनामा पनि फुलबारीले सुगन्ध छरेकाे देख्न चाहन्छाैं । याे नै हाम्राे लक्ष्य हाे । चाहना हाे । उद्देश्य हाे । त्यसैले मलाई शिक्षक शब्दप्रति श्रद्धा थियाे ।
अध्यापन पेसामा लागेका हामीलाई अध्यापक भन्ने चलन पनि छ । अध्यापकहरूमध्ये प्रधान व्यक्तिलाई प्रधानाध्यापक भन्ने गरिएको छ । क्याम्पसका अध्यापकहरूलाई प्राध्यापक । तह र श्रेणी जे भए पनि सबैकाे कर्म समान छ । त्यसैले सबैप्रति उच्च सम्मान गर्दथें ।
नेपाली शब्दकोशले मास्टर ,टिचर र सर शब्दलाई पनि पाहुनाका रूपमा स्वागत गरेकाे छ । बजारहरूमा सुजीकारलाई पनि मास्टर भन्ने गरिन्छ । पाेसाक सिलाएर मानिसलाई चिटिक्क पार्ने काम सुजीकारकाे हाे । शिक्षा क्षेत्रका मास्टरले यहीँ काम गर्दछन् । विभिन्न क्षमता र स्तरका बालबालिकालाई ज्ञान,सीप र अभ्यासको माध्यमबाट चिटिक्क पार्ने काम मास्टरकाे हाे । यहीँ काम गर्ने भएकाेले म मास्टर हूँ । मास्टर्स सकेर मास्टर भएकाे हूँ । मास्टरी गरेकाे हूँ ।
कसैले टिचर भनेर संवाेधन गर्दा पनि म रमाउथें। टिचिङ् गर्ने भएकाेले म टिचर हूँ । टिचिङ् मेराे प्राेफेसन हाे । मेरो जिन्दगी र बाँच्ने आधार हाे भन्ने ठान्दथेें । ज्ञान ,सीप र अनुभव आदानप्रदान गर्ने साधनका रूपमा मान्दथें । यसाे गर्दा आफूलाई भाग्यमानी भएकाे महसुुस हुन्थ्यो ।
ब्रिटिस साम्राज्यले प्रदान गरेकाे एक उपाधि सर शब्दलाई पनि मैले स्वीकार गरेकाे थिएँ। शिष्यहरूले सर भनेर संवाेधन गर्दा मेराे शिरले सगरमाथा छाेएकाे आभास हुन्थ्याे । साच्चै भन्ने हाे भने सर नै सबैभन्दा लाेकप्रिय शब्द बनेकाे थियाे । शिक्षा क्षेत्रमा मात्रै नभएर सरले सर्वव्यापकता प्राप्त गरेकाे सर शब्दप्रति लाेभिएकाे थिएँ । सर हुन निकै परिश्रम गरेकाे थिएँ ।
अज्ञानताकाे अँध्याराे हटाउने गुरु शब्द अहिले सङ्कुचन भएर गाेरू भएकाे छ । हिजाेकाे गुरूकाे महिमा सम्झेर अहिले धुरूधुरू रून मन लाग्छ । किसानकाे घरमा हिजाे गाेरूकाे पनि इज्जत थियाे । जाेत्ने बेलामा मिठाे र पाेषिलाे खाना दिइन्थ्याे । दाना दिइन्थ्याे । अहिले गाेरूकाे ठाउँ मेसिनले लियाे । गाेरूकाे मूल्य र महत्त्व हरायाे । आज गुरूकाे मूल्य पनि उसैगरी हराएकाे छ । मान्छे मेसिनकाे दास भएकाे छ । त्यसैले गुरूकाे महिमा पनि ह्रास भएकाे छ ।
दया,सत्य, शान्ति र अहिंसा धर्मका चार पाउ हुन् । अहिले दया कसैमा छैन । सत्यकाे बाटाे काेही हिड्दैन । शान्ति कसैलाई प्रिय छैन । हिंस्रकहरूले अहिंसा रूचाउने कुरा भएन । विधर्मीहरूले बुद्धि भुटिदिएका छन् । अधर्मीहरूले धर्मका चार पाउ काटिदिएका छन् । चाेरी ,डकैती , हत्या र हिंसालाई पद र प्रतिष्ठासित साटिदिएका छन् । चाैताराहरू चाेरका जिम्मा छन् । दूधकाे रक्षार्थ बिरालाे खटिएकाे छ । कलीले ढलिमली गरेकाे युगमा म बबुराे शिक्षकले कहाँबाट आत्मसम्मान पाउने ? तैपनि अन्धकारलाई चिर्ने प्रयास गरिरहेछु जुनकीरी बनेर ।
मास्टर भएर दर्शन छाँट्याे भन्ला कसैले । मास्टरकाे काम नै मार्गदर्शन हाे । मार्गदर्शनकाे अर्थ बाटाे देखाउने हाे । देश चलाउनेहरूले बाटाे बिराउँदा अराजकता फैलिएको हाे । शासकहरू नासक हुन पाइदैन भन्ने हाम्राे मान्यता हाे । सर्वसाधारणकाे घरबार सुरक्षाका लागि तरबार चलाउनु पर्छ । शासन चलाउने ठेक्का लिएकाले सबैकाे हेक्का गर्नुपर्छ । माैकामा चाैका हान्न खाेज्नेहरू ! जनता एक्का भए भने छेक्का हानेर सिकार गर्लान् । हाेसियार रहनू ।
मास्टर भएर नेता हुन सुहाउँदैन भनेकाे पनि सुनियाे । मेराे जिकिर छ ; मास्टर नै नेता हाे । हिजाे कतिपय भूमिगत हुँदा वा निर्वासनमा बस्दा समाजकाे नेतृत्वमा हामी नै थियाेैं । विद्राेहीका नजरमा सरकारका सुराकी थियाैं । सरकारका नजरमा विद्राेहीका मतियार । हामी दुवै पक्षका हतियारका सिकार थियाैं । तै पनि हामीले धर्म निभायाैं । कर्म निभायाैं । अन्ययाय , अत्याचार र ज्यादतीका विरूद्ध आवाज उठायाैं ।
आफ्नाे मात्रै सराेकार राख्नेलाई सरकार भनिन्छ । सरकारमा रहँदा भन्सार छलेर धन्सार भर्ने दाउमा रहेका बेला अनेकथरका आन्दोलन हुँदा टाउको अवश्य टन्किएकाे हाेला । भित्र भित्रै ज्वराे रन्किएकाे हाेला । नेपाल सरकारलाई पूर्व सरकारकाे काउसाले सताएका बेला मास्टरका माग अप्ठ्यारोकाे पिलाे भएकाे हुनुपर्छ । सरकारलाई हामीले अप्ठ्यारो पटक्कै पारेका छैनौं । मात्रै हामीलाई कानुन बनाएर कजाऊ भनेका हाैं । सरकारका अरू निकाय समान बनाऊ भनेका हाैं ।
हामीले सरकारलाई सत्यवती स्वरूप ठानेका छाैं । बहिरी बज्यैकाे रूपमा मानेका छाैं । त्यसैले त बहिरी बज्यैसित सडकमा चिच्याएर कानुन मागेका छाैं । धेरै नेताहरू हिजाे मास्टर थिए । यस तथ्यले भन्दछ – मास्टर नेता बन्न सक्दछ । नेता बनेकाहरू फर्किएर मास्टर बनेका छैनन् । मास्टरहरू अभिनेता बन्न सक्छन् । अभिनेताहरू मास्टर बन्न खाेज्दैनन् । हामी मास्टर मास्टरी गर्दै गर्दा सँगै नेता र अभिनेता बन्न सक्छौं । त्यसैले त विद्वान्हरूले मास्टरलाई कलाकारकाे संज्ञा दिन्छन् ।
विषयवस्तु अनुसार मास्टरले कलाकारिता देखाउनु पर्छ । हामीले राजधानीमा कलाकारिता देखाउदा कसै कसैले मास्टर महाेत्सव भन्न भ्याएछन् । मास्टर महाेत्सव नामकरण गर्नेप्रति सम्मान छ मेराे । हाम्राे महाेत्सवमा कसैले टिकट काट्नु पर्दैन । हामी आफ्नै गाँस कटाएर रकम उठाउछाैं । देशैभरका मास्टररूपी कलाकार जुटाउछाैं । हाम्रा तस्बिर खिचेर कतिका चुला जलेका छन् । कतिका युट्युव चलेका छन् । फलानाे भाइरल मास्टर भनेर कसैले हल्ला पिटाउनु पर्दैन । हामी भाइरल बन्न आएका हैनाैं । अस्तित्व रक्षाका लागि आएका हाैं । गाउँका छाेटे सरकारहरूले नपुगेर राजधानीका बढे सरकारहरूकाे मुख हेर्न धाएका हाैं । यिनीहरूका कर्तुत हेर्न आएका हाैं । विवेकशून्यहरूलाई चिन्न आएका हाैं । चिनाउन आएका हाैं । पथभ्रष्टहरूलाई पदप्रदर्शन गराउन आएका हाै । माग पूरा गराउन आएका हाैं । आन्दोलन सफल गराउन आएका हाैं ।
हाे हामीले राजधानीमा मास्टर महाेत्सवलाई सफल पार्न आएका हाैं । ताकि भाेलिका पुस्ताले यस्ताे महाेत्सव गर्नु नपराेस् । राष्ट्र सेवक भएर पनि अन्यायपूर्ण तरिकाले भाेकै मर्न नपराेस् । इन्क्लाब जिन्दावाद भन्न नपराेस् ।
०००
रेसुङ्गा न पा २ गुल्मी
२०८१।१२।२१









































हैट! कडा कटाक्ष🙏💐👏