साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टर महाेत्सव

गाउँका छाेटे सरकारहरूले नपुगेर राजधानीका बढे सरकारहरूकाे मुख हेर्न धाएका हाैं । यिनीहरूका कर्तुत हेर्न आएका हाैं । विवेकशून्यहरूलाई चिन्न आएका हाैं । चिनाउन आएका हाैं । पथभ्रष्टहरूलाई पदप्रदर्शन गराउन आएका हाै ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

शिक्षा क्षेत्रमा गुरु, शिक्षक, अध्यापक, मास्टर, टिचर, सर आदि चलेका शब्दहरू हुन् । म यिनै विभित्र नामहरूले पुकारिने गरेकाे थिएँ । यी सबै शब्दहरू मेरा लागि प्रिय थिए ।

गाडीमा यात्रा गर्दै गर्दा चालकलाई गुरु भनेकाे सुन्दा म चालक र आफूलाई तुलना गर्दथें । चालकले यात्रुलाई सुरक्षित तवरले निश्चित गन्तव्यमा पुर्याउने जिम्मेवारी लिएकाे देख्दथें । यस अर्थमा चालक पनि गुरु नै हुन् भन्ने बुझाइ थियाे । आफूले पनि चालक बनेर चेलाहरूलाई मार्गदर्शन गर्न पाएकाेमा गर्वले छाती चाैडा हुन्थ्याे । गुरूकाे गरिमाले ओतप्राेत हुन्थें ।

कृषिकर्म गर्नेलाई कृषक भनिन्छ । कृषकले खेतीपाती गर्छन् । बिरुवा राेप्छन् । मलजल र गाेडमेल गर्छन् । शिक्षाकाे खेती गर्ने हामी शिक्षक हाैं । विद्यालय हाम्राे खेतबारी । विद्यार्थी हाम्रा बिरुवा । हामी हाम्रा बिरुवा राम्रा भएकाे देख्न चाहन्छाैं । फुलेकाे र फलेकाे हेर्न चाहन्छाैं । हामीले सपनामा पनि फुलबारीले सुगन्ध छरेकाे देख्न चाहन्छाैं । याे नै हाम्राे लक्ष्य हाे । चाहना हाे । उद्देश्य हाे । त्यसैले मलाई शिक्षक शब्दप्रति श्रद्धा थियाे ।

अध्यापन पेसामा लागेका हामीलाई अध्यापक भन्ने चलन पनि छ । अध्यापकहरूमध्ये प्रधान व्यक्तिलाई प्रधानाध्यापक भन्ने गरिएको छ । क्याम्पसका अध्यापकहरूलाई प्राध्यापक । तह र श्रेणी जे भए पनि सबैकाे कर्म समान छ । त्यसैले सबैप्रति उच्च सम्मान गर्दथें ।

नेपाली शब्दकोशले मास्टर ,टिचर र सर शब्दलाई पनि पाहुनाका रूपमा स्वागत गरेकाे छ । बजारहरूमा सुजीकारलाई पनि मास्टर भन्ने गरिन्छ । पाेसाक सिलाएर मानिसलाई चिटिक्क पार्ने काम सुजीकारकाे हाे । शिक्षा क्षेत्रका मास्टरले यहीँ काम गर्दछन् । विभिन्न क्षमता र स्तरका बालबालिकालाई ज्ञान,सीप र अभ्यासको माध्यमबाट चिटिक्क पार्ने काम मास्टरकाे हाे । यहीँ काम गर्ने भएकाेले म मास्टर हूँ । मास्टर्स सकेर मास्टर भएकाे हूँ । मास्टरी गरेकाे हूँ ।

कसैले टिचर भनेर संवाेधन गर्दा पनि म रमाउथें। टिचिङ् गर्ने भएकाेले म टिचर हूँ । टिचिङ् मेराे प्राेफेसन हाे । मेरो जिन्दगी र बाँच्ने आधार हाे भन्ने ठान्दथेें । ज्ञान ,सीप र अनुभव आदानप्रदान गर्ने साधनका रूपमा मान्दथें । यसाे गर्दा आफूलाई भाग्यमानी भएकाे महसुुस हुन्थ्यो ।

ब्रिटिस साम्राज्यले प्रदान गरेकाे एक उपाधि सर शब्दलाई पनि मैले स्वीकार गरेकाे थिएँ। शिष्यहरूले सर भनेर संवाेधन गर्दा मेराे शिरले सगरमाथा छाेएकाे आभास हुन्थ्याे । साच्चै भन्ने हाे भने सर नै सबैभन्दा लाेकप्रिय शब्द बनेकाे थियाे । शिक्षा क्षेत्रमा मात्रै नभएर सरले सर्वव्यापकता प्राप्त गरेकाे सर शब्दप्रति लाेभिएकाे थिएँ । सर हुन निकै परिश्रम गरेकाे थिएँ ।

अज्ञानताकाे अँध्याराे हटाउने गुरु शब्द अहिले सङ्कुचन भएर गाेरू भएकाे छ । हिजाेकाे गुरूकाे महिमा सम्झेर अहिले धुरूधुरू रून मन लाग्छ । किसानकाे घरमा हिजाे गाेरूकाे पनि इज्जत थियाे । जाेत्ने बेलामा मिठाे र पाेषिलाे खाना दिइन्थ्याे । दाना दिइन्थ्याे । अहिले गाेरूकाे ठाउँ मेसिनले लियाे । गाेरूकाे मूल्य र महत्त्व हरायाे । आज गुरूकाे मूल्य पनि उसैगरी हराएकाे छ । मान्छे मेसिनकाे दास भएकाे छ । त्यसैले गुरूकाे महिमा पनि ह्रास भएकाे छ ।

दया,सत्य, शान्ति र अहिंसा धर्मका चार पाउ हुन् । अहिले दया कसैमा छैन । सत्यकाे बाटाे काेही हिड्दैन । शान्ति कसैलाई प्रिय छैन । हिंस्रकहरूले अहिंसा रूचाउने कुरा भएन । विधर्मीहरूले बुद्धि भुटिदिएका छन् । अधर्मीहरूले धर्मका चार पाउ काटिदिएका छन् । चाेरी ,डकैती , हत्या र हिंसालाई पद र प्रतिष्ठासित साटिदिएका छन् । चाैताराहरू चाेरका जिम्मा छन् । दूधकाे रक्षार्थ बिरालाे खटिएकाे छ । कलीले ढलिमली गरेकाे युगमा म बबुराे शिक्षकले कहाँबाट आत्मसम्मान पाउने ? तैपनि अन्धकारलाई चिर्ने प्रयास गरिरहेछु जुनकीरी बनेर ।

मास्टर भएर दर्शन छाँट्याे भन्ला कसैले । मास्टरकाे काम नै मार्गदर्शन हाे । मार्गदर्शनकाे अर्थ बाटाे देखाउने हाे । देश चलाउनेहरूले बाटाे बिराउँदा अराजकता फैलिएको हाे । शासकहरू नासक हुन पाइदैन भन्ने हाम्राे मान्यता हाे । सर्वसाधारणकाे घरबार सुरक्षाका लागि तरबार चलाउनु पर्छ । शासन चलाउने ठेक्का लिएकाले सबैकाे हेक्का गर्नुपर्छ । माैकामा चाैका हान्न खाेज्नेहरू ! जनता एक्का भए भने छेक्का हानेर सिकार गर्लान् । हाेसियार रहनू ।

मास्टर भएर नेता हुन सुहाउँदैन भनेकाे पनि सुनियाे । मेराे जिकिर छ ; मास्टर नै नेता हाे । हिजाे कतिपय भूमिगत हुँदा वा निर्वासनमा बस्दा समाजकाे नेतृत्वमा हामी नै थियाेैं । विद्राेहीका नजरमा सरकारका सुराकी थियाैं । सरकारका नजरमा विद्राेहीका मतियार । हामी दुवै पक्षका हतियारका सिकार थियाैं । तै पनि हामीले धर्म निभायाैं । कर्म निभायाैं । अन्ययाय , अत्याचार र ज्यादतीका विरूद्ध आवाज उठायाैं ।

आफ्नाे मात्रै सराेकार राख्नेलाई सरकार भनिन्छ । सरकारमा रहँदा भन्सार छलेर धन्सार भर्ने दाउमा रहेका बेला अनेकथरका आन्दोलन हुँदा टाउको अवश्य टन्किएकाे हाेला । भित्र भित्रै ज्वराे रन्किएकाे हाेला । नेपाल सरकारलाई पूर्व सरकारकाे काउसाले सताएका बेला मास्टरका माग अप्ठ्यारोकाे पिलाे भएकाे हुनुपर्छ । सरकारलाई हामीले अप्ठ्यारो पटक्कै पारेका छैनौं । मात्रै हामीलाई कानुन बनाएर कजाऊ भनेका हाैं । सरकारका अरू निकाय समान बनाऊ भनेका हाैं ।

हामीले सरकारलाई सत्यवती स्वरूप ठानेका छाैं । बहिरी बज्यैकाे रूपमा मानेका छाैं । त्यसैले त बहिरी बज्यैसित सडकमा चिच्याएर कानुन मागेका छाैं । धेरै नेताहरू हिजाे मास्टर थिए । यस तथ्यले भन्दछ – मास्टर नेता बन्न सक्दछ । नेता बनेकाहरू फर्किएर मास्टर बनेका छैनन् । मास्टरहरू अभिनेता बन्न सक्छन् । अभिनेताहरू मास्टर बन्न खाेज्दैनन् । हामी मास्टर मास्टरी गर्दै गर्दा सँगै नेता र अभिनेता बन्न सक्छौं । त्यसैले त विद्वान्हरूले मास्टरलाई कलाकारकाे संज्ञा दिन्छन् ।

विषयवस्तु अनुसार मास्टरले कलाकारिता देखाउनु पर्छ । हामीले राजधानीमा कलाकारिता देखाउदा कसै कसैले मास्टर महाेत्सव भन्न भ्याएछन् । मास्टर महाेत्सव नामकरण गर्नेप्रति सम्मान छ मेराे । हाम्राे महाेत्सवमा कसैले टिकट काट्नु पर्दैन । हामी आफ्नै गाँस कटाएर रकम उठाउछाैं । देशैभरका मास्टररूपी कलाकार जुटाउछाैं । हाम्रा तस्बिर खिचेर कतिका चुला जलेका छन् । कतिका युट्युव चलेका छन् । फलानाे भाइरल मास्टर भनेर कसैले हल्ला पिटाउनु पर्दैन । हामी भाइरल बन्न आएका हैनाैं । अस्तित्व रक्षाका लागि आएका हाैं । गाउँका छाेटे सरकारहरूले नपुगेर राजधानीका बढे सरकारहरूकाे मुख हेर्न धाएका हाैं । यिनीहरूका कर्तुत हेर्न आएका हाैं । विवेकशून्यहरूलाई चिन्न आएका हाैं । चिनाउन आएका हाैं । पथभ्रष्टहरूलाई पदप्रदर्शन गराउन आएका हाै । माग पूरा गराउन आएका हाैं । आन्दोलन सफल गराउन आएका हाैं ।

हाे हामीले राजधानीमा मास्टर महाेत्सवलाई सफल पार्न आएका हाैं । ताकि भाेलिका पुस्ताले यस्ताे महाेत्सव गर्नु नपराेस् । राष्ट्र सेवक भएर पनि अन्यायपूर्ण तरिकाले भाेकै मर्न नपराेस् । इन्क्लाब जिन्दावाद भन्न नपराेस् ।

०००
रेसुङ्गा न पा २ गुल्मी
२०८१।१२।२१

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kashi
kashi
1 year ago

हैट! कडा कटाक्ष🙏💐👏

Nepal Telecom ad
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
1
0
Would love your thoughts, please comment.x
()
x