अमर अधिकारीनारा साम्यवादको ! पारा हाम्यवादको !!
भ्रष्टहरु चोख्याउने काम पार्टी कार्यालयमा हुन्छ त्यहाँ मोलमोलाई हुन्छ। जसले धेरै भेटी नेताको गोजीमा चढाउँछ, उसले भ्रष्टाचार मुद्दाबाट चोखिन्छ। जनताको मुखमा चूक पोखिन्छ। बेबकुफ बन्छन् जनता।

अमर अधिकारी :
मैले ‘साम्यवाद’ नामको शब्द सुनेको ४५ वर्षअघि हो, त्यतिबेला हामी गाउँमा नै रहन्थ्यौँ। तिनैबखत हाम्रो हातमा ‘मुक्ति’, ‘मोर्चा’ लगायतका बामपन्थी दस्तावेजहरु परेकै थियो र ती देख्न र पढ्न पाउथ्यौँ। तर के गर्नु ? काँचो दिमागले केही बुझेको भए मार्दिनु। कतिपय गाउँलेहरु अन्धाधुन्द कम्निष्ट बने, “देशमा साम्यवाद आउँछ” भने। “कम्निष्टको गढ झापापछि दाङ हो” भनेर पनि सुनियो। त्यसरी नै “नेपालमा साम्यवाद आयो भने धनी गरिब सबै बराबर हुन पाउँछौँ” भनेर अफवाह फैलाइयो वनमा डढेलो फैलाए झैँ गरी।
कच्चा दिमागले सच्चा कुरा कहाँ टिप्थ्यो र ? पछि २०४६ सालमा तीसवर्षे निर्दलीय पञ्चायती व्यवस्था गर्ल्याम्म ढल्यो सुकेर बुढो भएको रुख ढले झैँ गरी। तात्तातै बहुदल आयो, तर मुलुकले हावा खायो। देशमा यत्रो आउँथ्यो साम्यवाद ? राज्यको ढुकुटी रित्याउँदै थाङ्ग्रेस र हामपन्थीहरुले पालैपालो देश नै टाट पल्टाउनथाले। थाङ्ग्रेसको सर्खारपछि बिमालेको नौमहिने सर्खार पनि टिक्न सकेन। वृद्धभत्ताको व्यवस्था गरिदिनाले बुढापाकाले भने उसलाई रुचाउदैआएका छन् । थाङ्ग्रेसले सरकारी संस्थानहरु चुर्लुम्म डुबाए चास्नीमा जिलेबी डुबाए झैँ गरी। पछि खाओवादी सर्खारले महाभ्रष्टलाई अख्तियारको प्रमुख बनाएपछि कति करोड गोजीमा हाले नेताहरुले ? थाहा पाए होलान् कोही कोही केटाहरुले। फलानो नेता चोर फलानो नेता डाँका भन्नेहरु चुनावको अघिल्लो दिन मासु र रक्सीमा बिक्छन् र भोलिपल्टको चुनावमा गालि गरिएका उम्मेदवारलाई झपाझप भोट हाल्छन् अनि कार्यकर्ताहरुले नेताका भ्रम पाल्छन्।
बहुराष्ट्रिय पासपोर्ट र नागरिकताधारीहरुदेखि फटाहा धर्माधिकारीहरु समेत लाजनीतिमा सामिल भए। कोही नेताहरु उरन्ठेउला भए भने कोही नेता गुपचुप बनेर बसे। २०५८ सालमा दरबार काण्डपछि राजाले केही कमाउनिष्ट वा कमनिष्ठाहरुलाई मुन्तरी बनाए। राजा हटेर संविधान सभाको चुनाउपछि दरबारियालाई समेत खाओवादीले सांसद पनि बनायो। जो कुनै बखत अञ्चलाधीश पनि थिए।
थांग्रेसका एकजना वरिष्ठ नेता जो पञ्चायतकालमा पनि हसुर्दासम्म हसुरे जसले थाँग्रेसकै पालामा पटकपटक मालदार मन्त्रालय ओगटे अहिले चौरासी गर्नेबेलामा कुर्लने गर्छन्- “भ्रष्टाचारको छनबीन गरौँ” भनेर। के चामलमा बियाँ बिनेको जस्तै हो र उनका कुरा। थांग्रेसकै एकजना स्वर्गीय मुन्तरीको सम्पत्ति जफत गर्दैछ सरकारले। जिउँदाहरुको पनि जफत गर्ने वुद्धि पलाए हुने हो नि।
कमाउनिष्ट पनि कति थरिका हुन् सल्लिउँ, पट्टिउँ, बगाले, रत्तिउँ च्याउ जस्ता थरिथरिका। खुरुक्क लाएर २०४६ पछि सबै कमाउनिष्टहरु एकजुट भएको भए अहिलेसम्म उनीहरुकै सत्ता चलिरहन्थ्यो। के गर्नु भाइ फुटे गवाँर लुटे झैँ भैराछ हाम्रो देशाँ। सेतो रङ बसिसक्यो केसाँ। कुनै परिवारमा तीन दाजुभाइ छन् भने जेठो थाँग्रेस, माइलो बिमाले र कान्छो खाओवादी देखिन्छन्। कठै विचरा ! के के न पाउँला भनेर पार्टीमा हुत्तिएर गए। हातलाग्यो सून्य भए पछि जिल्लाराम भए। लाजनीति त सोझा मुन्छेले गर्ने चिजै होइन। छट्टु, फटाहा, बांगेटिंगेहरुका लागि मात्र ठीक छ नेपालको लाजनीति। नेता भनाउँदाहरुले जनताको बेथा बढाए। हरेक नेपालीको टाउकोमा एकलाखको विदेशी ऋण चढाए। जनतालाई एकआपसमा लडाए। प्रशासन बिगारे ध्वस्त पारे, मोराहरुले … का छोराहरुले।
थांग्रेस सरकारले आठकक्षा पनि नपढेकालाई संस्थानको सञ्चालक बनाइको विवरण चाहिएमा मसँग माग्नुहोला पाठक महोदय ! खाओवादीद्वारा अख्तियार प्रमुखको कुर्सीमा विराजमान गराइएका दुई महाभ्रष्टको नाम पनि मसँग छ। अख्तियारका कुन कुन हाकिमहरु कुन कुन मालदार अड्डामा सरुवा भएर गए त्यसको विवरण पनि दिनसक्छु म। भ्रष्टहरु चोख्याउने काम पार्टी कार्यालयमा हुन्छ त्यहाँ मोलमोलाई हुन्छ। जसले धेरै भेटी नेताको गोजीमा चढाउँछ, उसले भ्रष्टाचार मुद्दाबाट चोखिन्छ। जनताको मुखमा चूक पोखिन्छ। बेबकुफ बन्छन् जनता।
२०४० देखि २०५६ सम्म म कार्यरत संस्थानमा एकजना जिएम आए अनि ड्राइभरको हातबाट गाडीको साँचो खोसेर तरुनी घुमाउन निस्किए। बेलुका गाडीभित्र सिटमा चुराका टुक्राहरु देखेपछि हामी चारछक पर्यौँ गाँठे। जे गर्छ नेताले गर्छ हाम्रो देशाँ। थाँग्रेसका एकजना शक्तिशाली नेताले हाँडीगाउँकी अर्काकी स्वास्नीको ब्लाउजै च्यातिदिएका थिए। पश्चिम परमधाममुन्त्री किसुनजी पनि रंगिला नै थिए। उनीमाथि यौनका आरोप लागिरहन्थ्यो। तर किसुनजीले बाँचुञ्जेल आफ्नो लुगा आफै धुन्थे। त्यो चाहिँ उनको महानता थियो। सुराही र छाता अनि टिनको बाकस मात्र उनका सम्पत्ति थिए, तर उनको देखिने दम्पत्ति भएन। गिर्जालाई हल्दार भन्थे सबैले, किसुनजीलाई पर्साबाट चुनाउमा हराउन गिर्जाले अनेक तिकडम गरे र हराएरै छाडे। किसुनलाई बुङ्ङा गराएरै छाडे। नेताहरुले राज्यकोषमा लुट त मच्याए मच्याए पार्टीभित्रका गुट उपगुट पनि जगाए। गुट उपगुट पनि कति हुन्? शिखर समूह, झुशिल समूह ढेउवा समूह।
४५ वर्षपछि पनि साम्यवाद देखिदै देखिन्न, कुन दुलोमा पसेछ कुन्नी। अझै विद्वान हामपन्थी नेताहरु भन्न छोडेका छैनन् “देश र जनताका लागि आवश्यक पार्टी कमाउनिष्ट अर्थात् कमनिष्ठा पार्टी हो” भनेर। उनीहरु थाक्दै थाक्दैनन् यस्ता बकम्फुसे कुरा गरेर अनि ढलमती तरेर। डुङडुङती गन्हाउँदा पनि चुनाउका बेला जनताका अगाडि जिङ्रिङ्ङ कपाल पारेर ठिङ्रिङ्ङ उभिन लाज पनि छैन हाम्रा तोरीलाउरे नेताहरुलाई। ह्वाँ अम्रिकाँ दुईटा भन्दा बढी अर्थात् तेस्रो पार्टी जन्मिन सकेको छैन। यता हाम्रो देशाँ भने सवासय पार्टी हुनु “हगाइ भन्दा पधाइ ठूलो” भन्ने उखान जस्तै हो। “गाँठी न गुँठी जुरुकजुरुक उठी” पनि भन्छन् यस्ता तोरिलाउरे नेताहरुका क्रियाकलापलाई। नारा साम्यवादको, पारा हाम्यवादको।
जनताको मुखै टालिएको हो कि क्या हो फटाहाहरुका विरुद्धमा बोल्नछाडे। हुन त बोल्नसक्नेहरुलाई विदेश लखेटिहाले नेताहरुले। खाडी मुलुकहरुबाट दशवर्षमा दशहजारको लाश एरपोटमा ओर्लिँदा एकथोपा पनि आँशु झार्दैन सर्खार, बरु “रेमिटेन्स भित्र्याउनेमा नेपाल एक लम्मरमा पर्योँ” भनेर ङिच्च दाँत देखाउँछ लाज हराएको सर्खार। देश कसरी सपार्ने, जनतालाई कसरी खुशी बनाउने भन्नेतिर नेताहरुको ध्यान जाओस् भन्दै श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु। हरि ॐ तत्सत !
०००
बुढानिलकण्ठ, काठमाडौँ।











































Yatharth kuro