भाेज अर्यालसेता भिर (छैन ) यता पीर !
खासमा मैले आफ्नै बासैमा बसिबसी एक्लै दोक्लै विमोचनको सपना देखे ! मैले त एउटा इतिहास पो लेखे ! यही मेसोमा यो लेखै पनि छापियो । हे भगवान कसैले नठान्नु होला भो अब सबै नापियो ! घाम लागे घमैलो एउटा कुरो मात्रै पो हो नि यो रमैइलो ।

भोज अर्याल :
“सेता भिर यता पीर “ लाई यस पटक झ्याप्पै किन संझिएर साइनो लाउॅंन परको होला ? यो प्रश्नले पक्कै पनि तपाइॅंको मनको मझेरीमा किला गाडेर जिला वनाउॅंदै होला । शुरुमै त्यो किला नै उखेल्दै ढिला नगरी भत्काइहालौं कि भन्ने मलाइ लाइराछ । कहिले भिरले त कहिले पीरले यता मेरो होस् हबास् पनि त खुमले किराले झैं खाइराछ । त्यही पीरले गर्दा मैले भिरको र पीरको लगन गाठो कसें । घर मै थुचुक्क बसें । अनि कविता संग्रहको सपना दिउसै देखें । हेर्नुस् म नराम्ररी फसें । उता आफ्नो बल वुताले देखेको जति लेखेको पनि हो ।मात्र दुइ बीस र बार्ह वटा जती कविताको एउटा ठूलै विटो । के बिर्सि हाल्नु भयो होला त यो कुरा यति छिटो ? सम्पुर्ण दिदी वहिनी तथा दाजु भाइहरु । थप्दै जान्छु है त अब म कुरा अरु !
अहिलेको कुरा होइन, यो करिब ढाई प्लस थोप्लो फाइब महिना पहिले को कुरा हो । आफूलाइ पाइक पर्ने ठाउँबाट सेता भिर थाइ रुपमै आइ सकेको ब्यहोरा अवगत गराउँछु । यो कुराको खवर करिब आधा दर्जन पत्रिकाको पन्नामा देख्दा धन्न छाती नै रबरको वेलुन झै फूलेर हलक्कै भएकै हो । उता मेरो नाक बढेर बारीको घिरौला झैं माथि माथि गएकै पनि हो ! आफ्नो कृर्ति सँगको माया प्रिती नै लेखक भएर पुस्तक जन्माउॅंदाको बखत कति कति । सबै कुरा संझियो कि पेट मात्रै हैन छाती नै पोल्छ भतभती । कुरा गरे कुरैको दुख । ए हजुर ! सुनको गजुर ! कहाँ होला त्यो सुख । जुग जमाना नै यस्तो । न सोच्नु होला फेरि के भयो र खास त्यस्तो ? केही पनि हैन त मैले भनेकै पनि त छैन ।
यसै पनि लेख्ने भनेसी सात हैन सत्तरी कोष नै परपर भाग्ने मानिस हुँ म । खास कुराको चुरा समातेर भन्दा । तर एक दिन मैले झुक्किएर एउटा कविता लेख्न गएछु । पछि त लेखिरहन पर्ने म नै खै के भएछु । बडा कवि हुन मन लागेर लेखेको कडा माल पो झरेछ । पत्रिकामै लगेर छापिहालें अनि फेसबुकको कुनोमा लगेर आफ्नो दुनो सोझाए । सायद ढिलो आयो कडा आयो भनेको यसैले होला । संझिहालेँ मैले हजुर बाको फाटेको झोला ।
खासमा मैले सबै कुरा अलि पछि मात्र भन्चु हजुर हुन्छ नि ! शुरु शुरुमा राजकाज तथा लाज नितीलाइ नै खुबै ताकेर व्यङ्ग्य लेख्न शुरु गरिवरी लेखियो । लेखेर मात्रै केही लछार्न नसकिने रहेछ भन्ने देखियो । हास्य व्यङ्ग्यको हा नजाने पनि खाने कुरामा खा जानेकै हुनाले खानेवाला काम कुरा धेरै गरियो । हामी खान नसकेर भागेका भगौडा प्रदेशी परियो । अब मैले यो खालका कुरा कोट्टाउँदिन बरु छोट्टाउँछु । फेरि उही सेता भिरकै सारंगी रेटेर अर्को गीत गाउॅंछु । थाहा छैन खै मैले यो गीत गाएर के नै पाउँछु । तर यो लेखनीमा अरुको भजन गाउँन भन्दा म आफ्नै सेता भिरका र पीरका कुरा गरि छम् छम् चुरा बजाउॅंछु ।
जब मैले कविता लेख्न शुरु गरे कविताको कपनि नफुरेर हम्मे हम्मे पर्यो । दश बाह्र वटा जती बनाउन पनि सकस भएको कुरा ककसलाइ भनौं ! भनिन किन पो भन्नु । बरु मन मनै गुने कविताको जालो माकुराले झैं लगातार वुने । आफै बुझ्नु होला बाह्र वटा मात्र कविताको संग्रह कस्तो हुँदो हो । उता सुकेनाश लागेको दुब्लो पातलो कितावको मुल्य पनि त अचाक्ली सस्तो हुँदो हो । यसो हुँदा मेरो मनै पनि त झनै संझेर रुँदो हो । जे भए पनि हिउँमा बसेर विचारको बिउ छरिरहें । कपीको पन्ना लगातार भरिरहें । केर्दै केर्दै बाह् महिना भन्दै बाउन्न हप्तामा पो झरि हेरें । कविताको कुरा मिले झैं भयो । माहुरीले ढाडमै चिले झैं भयो ।
हास्यव्यङ्ग्य लेख्नेमा मेरो उती हुती नै थिएन । कविता व्यङ्ग्य विना कस्तो हुने होला । हे भगवान के कुरा गरौं । कि लेख्नै बन्द गरौं । म बडो दोबाटोमा परें । सॅंगै घाटै घाटोमा झरें । तर पछि कुरा बुझ्दै गर्दा अल्कति भए पनि छासमिस रहेछन् बांगा टेंडा कुरा पनि । बल्न लामो सास फेरें मैले पनि । सिकारुले गरेको काम यस्तै त हो अनि । अब म किन पो रुने ? जे भयो हुने वा नहुने । कसो कसो कविता सँगै मया पिर्ति पो बस्यो । कति धेरै कुरा छन अरु । मैले जम्मै आजै भनम् कि के गरु ? सबै कुरा भन्दिन नि बरु । म कवितासँगै डुलेको । “घरकिले सोंचि हुन् तिमी कुन केटीसँग भुलेको ? “
जब मैले किताब छाप्ने कुरा गरेको थिॅए चराले मुसाले पनि पत्ताएनन् । तर मैले छाप्छु किताब भनिरहें । उनीहरुले सोचेंका हुन्, छापिस् भो तैले सबै नापिस् भो ! तर भन्नेको मुख थुन्न नसक्ने रहेछ । यसै मेसोमा एक चोटिलो उखान संझिए । भनेर मरिन्न तातो पानीले घर पनि जल्दैन ! जलेन पनि कविता लेख्नेको मन गलेन पनि । अब म कुरोको जुरो तान्नतिर लाग्छु ।
बजारमा हेर्दा लाग्छ कि किताब छाप्ने र छपाउनेको बाडी आएको छ । तर बाडी ले साहित्यका ठुला बडा ढाडीको गाडी त गुडेकै छ । साना तिना भुरे भारेको मन खाडीको हावा झै उता उडेको उड्यै छ । तर पनि लेख्ने ले लेख्नै पर्च । आफु सक्दो सपना पनि देख्नै पर्च । यही ठानेर नै मैले पनि एक बाजी हानेर हेरेको पनि हो । तर दाम कमाउने दाउमा कविता केरेको भने हैन । मैले अलिकति पनि कुरा ढाँटेको छैन । बरु अल्कति खल्तीमा भएको झारझोर पारेरै पनि किताब छापेको राम्रो हो । किताब भनेका ज्ञानगुनका ठेलाहरु जो । संग्रह गर्ने पुरानो नानी देखिको बानी हाम्रो हो ।
अब मोइले बिमोचनका कुरा गर्चु है तो । हैन हैन एक्कै छिन म अर्थोक नै कुरा गर्छु । अनि विमोचनको चौतारीमा झरेर मोचनसँगै इमोचनका कुरा अर्चु । खास कुरा केलाइवरी भन्दा किताब निकाल्ने गारो काम धन्धा हो भन्दा नमिल्ने रैच । किनकि यो त पवित्र क्रम अनि ज्ञान बाडेर ठूलै धर्म पनि त हो नि । यो कुरा मैले बुझें । भगवान पुजे झैं त्यही सेताभिर लाइ नै करिब एक बर्ष त चानचुन पुजें । सेता भिरको कुरामा पीरको कुरा मिसाएर लेखें । गाइको दुधमा चामल मिसाएकै झै मिठो खीरको स्वाद पो देखें । कविता पनि त कम स्वादिलो हुन्न ! पीरको कुरासँगै खीरको कुरा संझिदा कम्ता मन छुन्न ! तर कहाँ पाउनु !
खीर पाइने पनि हैन पीर चाहिने पनि छैन ।
विमोचनको कुरा गर्दा मलाइ त्यो भित्ते पात्रोको यादले तारन्तार सताउँछ । नया बर्ष आउन पावछैन उसको कत्रो शान हो हुन पनि । मान्छेहरु किताब बिमोचन भनेसी नजिकै पर्दैनन् । तर पात्रोको विमोचनमा जात्रो नै देखाएकै हुन्छन् । किताबको भारी बाेक्न पर्ला कि भनेर डरले घर गरेरै होला । मानिसहरु विमोचनमा जानै नखोज्ने । हुन पनि यो जमाना नै अनलाइनको छ । धनलाइन, भनलाइन र सुन लाइनको त विगविगी नै छ । यो कुरा त झन भन्नै पर्च । तर किताब भनेका ज्ञानका हिरा नै हुन अरु सबै नालीका किरा हुन् । भनेर बुझ्न पर्छ । यसरी बुझ्दा खास कसले के गर्च ?
विदेश जानेले पैसो छाप्ने हो कि किताब छाप्ने हो ? यो पनि एक प्रश्न त हुन आउॅंछ । तर उत्तर कसै सॅंग छैन झैं लाउँछ। छाप्नेले छापेकै छन् । के उनीहरु लेखेर फापेकै पनि छन वा बिचैमा लेख्ने काम छोडेर हापेका छन् ? अरुको कुरा बरु छोडेर मैले मेरै कुरा गरुँ कि । मेरो सेता भिर कसो कसो जे जसो भए पनि संघिय राजधानीबाटै विमोचन भयो । मानिसहरुले सोधे हुनन् खै त ? लेखक कॅंहा गयो । उता सेता भिर, जान नपाएउँदा यता मलाइ कति पीर ! बल्ल अहिले आएर भयो यो मन अलि थिर । कसरी भयो म ठसठस कन्दै अलिकति भन्दै जान्छु है ।
मैले शुरुमै भन्न पर्ने एउटो कुरो त भुसुक्कै विर्सेछु । खासमा मैले सेता भिरको कुरा यहा किन लेखेको हुला ? यो के पुस्तक समीक्षा त होइन ? कहाँ हुनु होइन नि । भरम मा पर्ने कुरा नगरम् । लेखक ले नै समीक्षा कसरी गर्छ र ? अरुको नजरमा हुने हो समीक्षा ? तर इच्छा हुँदैमा कसले गरोस् खै समीक्षा ।अरुको बांझो खेत कसैले पनि सित्तैमा जोत्दैन नि अरुको घर पनि पोत्दैन । यो कुरा ठूला वडाले समेत भन्दा रैचन । मैले कानको जालीमा नै फुट्ने गरि सुनेको पनि हो । बरु म आफै गरम कि तो भनेर कस्सेको पनि हो ! तर यसरी गरेको भए नया युगै पनि शुरु हुँदो होला । किताब राख्ने थोत्रो झोला !
लेख्न भनेर कलम उचालेको मान्छे म । तर अहिलेसम्म कुनै विमोचनको मेलामा सशरीर गएको छैन । सायद मेरो जाने समय नै भएको पनि छैन । फेस वुकमा विमोचनका कुरा पढ्यो घरमै लड्यो । बेला बेला झोंक पनि चल्ने काम नगरे चुल्हो नै नबल्ने । मेरो पनि सेता भिर विमोचन भयो ! मेरो मन पिलेन विनै उडेर काठ दाउरा मान्डुतिरै गयो । यत्रो विमोचन हुदा मेरो मन कत्रो भयो । बुझ्नुस् कुरा आफै ।
सेता भिर यता पीर , कहिले आउने होला ? भनेर संझिदै बाटोतिर नजर गाढेर बसेको थिॅंए ! एक दिन विहानै भाले नबास्दै हुलाकिले घरैमा ल्याएर हुलिदिएछ । यो कुरा मैले जब दुइवटा कानले सुनेँ । मलाइ त किन हो किन खटपटसँगै छटपट भयो । कामतिरबाट झटपट गएर सेताभिरलाइ छुन मन लाग्यो । तर रुन मन भने लागेन । बरु मन कताकता रमायो । सेता भिरले सोचे होला ! मोरो मालिकले मलाइ समायो । जीवन मा पहिलो पटक भेट्दा किन नसमाउनु । हात किन न कमाउनु । मन किन नरमाउनु !
मैले सोचेको थिएँ कि एक दिन सेता भिरलाइ हातमा समातेर फोटो हान्दिन्छु । तर सोचें झै जिन्दगी रैनछ । टेवुलमा काइयो र ऐना छ । हुन पनि त्यस्तै भयो । म रात दिन काममा घोटिने सॅंग कॅंहा हुनु त्यत्रो समय । दिनहरु वित्दै गयो । फोटो खिच्ने भन्दा पनि अन्न घिच्नेकै पिरलो सधै । कामतिर गयो विजी भयो । यही त हो विदेश भनेको । मने केनेडा लाइफ बिताउनेवाला धनेको । यो कुरा मैले पहिल्यै पनि थिएँ भनेको ।
एउटा अलि चम्किलो र झम्किलो फोटो खिच्न पाए ठेसबुकमा ठेल्दिन पनि हुने । लाइक र कमेन्ट कति ओइरो नै आउँदा पैरो जाँदो होला । मैले सेता भिरको भारी बोकेर फोटो हान्ने परिपाटी मिलाउँदै गए ! र एक दिन सफल नै भए ! अब कसरी यो सफलता मिल्यो त्यो कुरा पनि बरु नभकभकाइ भन्चु ।
एक दिन म कामबाट खुबै दाम कमाएर दौडेको गाडि भित्र थचक्क बसेर घरमा आए । हतारै हतारमा सानो बाबुलाइ बोलाएर बारीको पाटातिर हिंडे ! म ठाडो मुन्टो लाएर हात कमाउॅंदै सेताभिर समाते ! बाबुले फोन समाउॅंदै फोटो केमरामा कैद गरे । विमोचनको झल्को दिने वडा राम्रो फोटो हेरेर म रनभुल परें ! मलाइ लागिहाल्यो मैले त बल्ल कमाल पो गरे ।
यता पनि विमोचन गर्न पाए त हुने हो झैं लागेर आउॅंछ । तर यता विजी दुनिया देख्दा सबै जोश जति भागेर परपर धाउँछ । कोसँग होला खै त्यस्तो ट्याम र विमोचन गर्देलान् मेरो सेता भिर । जे होश मैले एक्लै भए नि विमोचन गरेको छु । त्यही कुरा संझेर आज अचम्मै परेको पर्यै छु । मैले यो के गरे ? तर जे गरे ठिक ठाक नै गरे । भन्ने मलाइ लाइराछ । थाहा छैन कॅंहा कसलाइ ज्वरो आइराछ !
खासमा मैले आफ्नै बासैमा बसिबसी एक्लै दोक्लै विमोचनको सपना देखेँ ! मैले त एउटा इतिहास पो लेखे ! यही मेसोमा यो लेखै पनि छापियो । हे भगवान कसैले नठान्नु होला भो अब सबै नापियो ! घाम लागे घमैलो एउटा कुरो मात्रै पो हो नि यो रमैलो ।
सुन्दा वोहोर नलाग्ने स्वर भएको भए । मैले कविता नलेखेर एउटा मिठो गीत गाउँन पनि सक्थे होला । तर मैले गाइनँ ! किन भनेर नसोध्नु होला है ! मैले त यतातिर मन मिलाउनेवाला तरुनीहरु नै पाइनँ ! यो संसारमा नपुग्ने रहेछ सबै कुरा देखेको । हे भगवान ! मेरो पुर्पुरोमै छैन कि क्या हो हजुर लेखेको । जय सेता भिर तर छैन यता पीर ..।
०००
क्यानडा
Subscribe
Login
0 Comments
Oldest









































