साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारतलाई चाहिएको छ : जादुगर र साधु

त्यसैले जन गण मन अधिनायक ! बस् हामीलाई जादुगर र व्यावसायिक साधु चाहिएको छ । अनि मात्र ‘हे परमपिता, त्यस स्वर्गमा मेरो देश जाग्रत होस् भन्ने तिम्रो सपना विपना हुनेछ ।

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

हर १५ अगस्त अनि २६ जनवरीका दिन म सोच्छु, वर्षभरिमा कति बढिएछ त ? नसोचे पनि काम त चल्छ । बरु अझै आरामसित चल्छ । सोच्नु एउटा रोग हो । जो यस रोगबाट मुक्त छन् अझै बढी स्वस्थ छन् । ती धन्य हुन् ।

यो २६ जनवरी १९७२ फेरि आयो । यो गणतन्त्र दिवस हो तर ‘गण’हरू टुटिरहेका छन् । हर गणतन्त्र दिवस ‘गण’ भत्किने र नयाँ ‘गण’ बन्ने आन्दोलनसँगै आउँछ । यस पटक ‘आन्ध्र’ र ‘तेलङ्गाना’ छन् । आगौँ यसै पावन अवसरमा अर्को कुनै नयाँ ‘गण’सङ्कट आउने छ ।

यस सिङ्गो वर्षमा मैले दुईवटा कुरा देखेँ । दुई थरी मानिसहरू बढे – जादुगर र साधु । मेरो अनुमान थियो सर्वसाधारण मानिसको जीवनका सुविधाहरू बढ्नेछन् तर त्यसो भएन । बढ्न त बढे तर जादुगर र साधुयोगी बढे । कहिलेकाहीँ सोच्छु, के यी जादुगर र साधुहरू पनि ‘गरिबीनिवारण’ कार्यक्रमअन्तर्गत नै आउँछन् ! के यसमा कुनै योजना छ ?

दिनै अखबार हेर्ने गर्छु । दुईवटा समाचारहरू अगाडि आउँछन् – कुनै नयाँ जादुगर र नयाँ साधु जन्मेको छ । उसको विज्ञापन छापिन्छ । जादुगरले आँखामा पट्टी बाँधेर स्कुटर चलाउँछ अनि ‘गरिबीनिवारण’ का जनता कामकाज छोडेर तीनचार घण्टासम्म आँखामा पट्टी बाँधेको जादुगरलाई हेर्दै हजारौँको सङ्ख्यामा सडकको दुवै छेउमा उभिइरहन्छन् । यी साना जादुगर हुन् । यस देशमा बडेबडे जादुगरहरू छन् जसले छब्बिस वर्षदेखि आँखामा पट्टी बाँधिरहेका छन् । जब उनीहरूलाई लाग्छ अब जनता आत्तिएका छन् र केही गर्ने अवस्थामा छन् अनि झट्ट जादुको एउटा खेल देखाउन थाल्छन् । जनताले हेर्छन् र थपडी पिट्छन् । मेरो जिज्ञासा छ, ए जादुगरजी, आँखामा पट्टी बाँधेर र राजनीतिक स्कुटरमा चढेर कता जाँदै छौ ? कुन दिशातिर जाँदै छौ ? समाजवाद ? खुसियाली ? गरिबीनिवारण ? गन्तव्य कुन हो ? उनीहरू भन्छन्, ‘गन्तव्यसित के सरोकार ? जनता आँखामा पट्टी बाँधेको जादुगरको खेल हेर्न चाहन्छन् । हामी देखाउँदै छौँ । जनतालाई अरू के चाहियो ?

जनतालाई त साँच्चिकै केही चाहिँदैन । मलाई लाग्छ, यी सानासाना जादुगरहरूले दिनै खेल देखाउनका लागि प्रेरणा त यसै देशका राजनेताहरूबाटै ग्रहण गरेका होलान् ! जो छब्बिस वर्षदेखि जनतालाई जादुका खेल देखाएर खुसी राखिरहेका छन् । उनीहरूलाई तीनचार घण्टा खुसी राख्नु कति कठन हुन्छ ? त्यसैले दिनै अखबारमा कुनै सहरमा नयाँ विकसित कुनै जादुगरको फोटो हेर्छु ।

सोच्छु, जुन देशमा एकाएक यति जादुगरहरू जन्मिन्छन् ती जनताको आन्तरिक हालत के होला ? उनीहरू जादुबाट यति प्रभावित किन छन् ? उनीहरू चमत्कारबाट यति मुग्ध किन हुन्छन् ? रासनको पसलमा लाइन लागेर पनि रासन नपाउने जनता लाइन छाडेर जादुको खेल हेर्न किन उभिन्छन् ?

मलाई लाग्छ, छब्बिस वर्षमा देशका जनताको मानसिक अवस्था नै जादु हेर्ने र थपडी बजाउने बनाइएको छ । चमत्कार हेर र खुसी होऊ । बाँकी हामीलाई छाडिदेऊ ।

भारतपाक युद्ध यस्तै एउटा जादु थियो । केही ठुलो ‘स्केल’को जादु थियो तर थियो त जादु नै । जनताले अझै पनि थपडी बजाइरहेका छन् ।
उता रासनको पसलको लाइन बढिरहेको छ ।

देशभक्तहरूले मलाई माफ गरून् तर मेरो अनुमानमा छिटै नै सिमला शिखरवार्ता हुनेछ । भुट्टोले भन्नेछन् – ‘पाकिस्तानमा मेरो हालत खत्तम छ । छुट्टाछुट्टै राज्यहरू बन्न खोज्दै छन् । गरिबी बढिरहेको छ । मानिसहरू भोकै मरिरहेका छन् ।’
हाम्री प्रधानमन्त्रीले भन्नेछिन् – ‘यता पनि गरिबी हटेकै छैन । मूल्य बढेको बढ्यै छ । जनतामा तीव्र छट्पटी छ । बेरोजगारी बढिरहेको छ ।’

अनि दुवैले निर्णय गर्नेछन् – पन्ध्र दिनको एउटा जादु किन नगर्ने ? यसबाट चारपाँच वर्षसम्म त दुवै देशका जनता यसै जादुको असरमा बस्नेछन् । (देशभक्तहरूले माफ पनि गरून् र अलिकति सोच्ने काम पनि गरून् ।)

जब मैले यी सहरहरूका यी सानासाना जादुगरहरूको चालमाल हेर्छु अनि भन्छु, ‘नानीहो, तिमीहरूले ठुला जादु देखेका छैनौ । साना जादु देखेर सानै जादु सिकेका छौ ।’

यस देशको अर्को चमत्कार साधु हो । यदि जादुले मान्दैनौ र रासनको पसलमा लाइन लगातार बढाउँछौ भने लौ त लौ साधु नै लेओ ।

जसरी जादुगरको भेल आएको छ त्यसै गरी साधुको पनि भेल बढेको छ । पक्कै यी दुवैका बिचमा कुनै सम्बन्ध त छ, छ ।

साधुले भन्छ –‘शरीर मिथ्या हो । आत्मालाई जगाऊ । अनि त्यसलाई विश्वात्मामा मिलाऊ । आफैलाई बिर्सिदेऊ । आफ्नो वास्तविक स्वरूपलाई चिन । तिमी सत् चित् आनन्द हौ ।’

आनन्द नै ब्रह्म हो । रासन ब्रह्म होइन । जसले ‘अन्नं ब्रह्म’ भनेको थियो त्यो मिथ्यावादी थियो । नवसिकारु थियो । अन्तमा ऊ पनि अन्न नभएर आनन्द नै ब्रह्म हो भन्ने निष्कर्षमा पुगेको थियो ।

तर अघाएको पेट र भोको पेटको आनन्द के उस्तै होला त ? यदि हैन भने त ब्रह्म एउटा नभएर धेरै पो हुने भए । शास्त्रोक्ति पनि छ – ‘एको ब्रह्म बहुस्यामः !’ ब्रह्म एउटै छ तर त्यो कैयौँ बन्न सक्छ । एउटा ब्रह्म ठाँटिएर बस्छ भने अर्को दोकानमा लाइनमा उभिन्छ । तेस्रो रेलवेको पुलमुनि सुत्छ ।
सबै ब्रह्म नै ब्रह्म हो ।

सक्खरमा पानी हालेर त्यसको तौल बढाएर बेच्ने पनि ब्रह्म हो भने लाचारीमा त्यो किन्ने पनि ब्रह्म हो ।
ब्रह्मले ब्रह्मलाई धोका दिइरहेको छ ।

साधुको कर्म हो मनुष्यलाई ब्रह्मतिर तान्नु अनि पैसा जम्मा गर्नु किनभने ‘ब्रह्म सत्यं जगन्मिथ्या !’
२६ जनवरी आउँदै गर्दा म सोच्दै छु, यी ‘गरिवी हटाऊ, महङ्गी हटाऊ, बेरोजगारी हटाऊ र भोकमरी हटाऊका नाराहरूलाई के भयो ?
बस् दुई थरी मानिसलाई धेरै मात्रामा जन्माउनु छ –
जादुगर र साधु !

यिनीहरूले यस देशका जनतालाई कैयौँ शताब्दीसम्म खुसी राख्नेछन् अनि ईश्वरकहाँ पठाउने छन् ।
भारत भाग्यविधाता ! हामीलाई थरीथरीका जादुगर र साधुहरूलाई यस देशमा लगातार बढाउँदै जाने क्षमता दे ।

‘तर्कको धारा मरुस्थलको सुक्खा बालुवामा नलुकोस् ।’ (रवीन्द्रनाथ) भन्ने कुरासित हामीलाई के मतलब ? त्यो त लुकिसक्यो । त्यसैले जन गण मन अधिनायक ! बस् हामीलाई जादुगर र व्यावसायिक साधु चाहिएको छ । अनि मात्र ‘हे परमपिता, त्यस स्वर्गमा मेरो देश जाग्रत होस् भन्ने तिम्रो सपना विपना हुनेछ । (जसमा जादुगर अनि साधुजनलाई खुसी राखिन्छ ।)

परमपिताको कृपाले भएको पनि यही छ ।

०००
परसाईको परसाई रचनावली  भाग ३ को ‘भारत को चाहिए : जादूगर और साधु’ निबन्धबाट अनुवादित ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x