हरिशंकर परसाईंभारतलाई चाहिएको छ : जादुगर र साधु
त्यसैले जन गण मन अधिनायक ! बस् हामीलाई जादुगर र व्यावसायिक साधु चाहिएको छ । अनि मात्र ‘हे परमपिता, त्यस स्वर्गमा मेरो देश जाग्रत होस् भन्ने तिम्रो सपना विपना हुनेछ ।

हरिशंकर परसाई :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
हर १५ अगस्त अनि २६ जनवरीका दिन म सोच्छु, वर्षभरिमा कति बढिएछ त ? नसोचे पनि काम त चल्छ । बरु अझै आरामसित चल्छ । सोच्नु एउटा रोग हो । जो यस रोगबाट मुक्त छन् अझै बढी स्वस्थ छन् । ती धन्य हुन् ।
यो २६ जनवरी १९७२ फेरि आयो । यो गणतन्त्र दिवस हो तर ‘गण’हरू टुटिरहेका छन् । हर गणतन्त्र दिवस ‘गण’ भत्किने र नयाँ ‘गण’ बन्ने आन्दोलनसँगै आउँछ । यस पटक ‘आन्ध्र’ र ‘तेलङ्गाना’ छन् । आगौँ यसै पावन अवसरमा अर्को कुनै नयाँ ‘गण’सङ्कट आउने छ ।
यस सिङ्गो वर्षमा मैले दुईवटा कुरा देखेँ । दुई थरी मानिसहरू बढे – जादुगर र साधु । मेरो अनुमान थियो सर्वसाधारण मानिसको जीवनका सुविधाहरू बढ्नेछन् तर त्यसो भएन । बढ्न त बढे तर जादुगर र साधुयोगी बढे । कहिलेकाहीँ सोच्छु, के यी जादुगर र साधुहरू पनि ‘गरिबीनिवारण’ कार्यक्रमअन्तर्गत नै आउँछन् ! के यसमा कुनै योजना छ ?
दिनै अखबार हेर्ने गर्छु । दुईवटा समाचारहरू अगाडि आउँछन् – कुनै नयाँ जादुगर र नयाँ साधु जन्मेको छ । उसको विज्ञापन छापिन्छ । जादुगरले आँखामा पट्टी बाँधेर स्कुटर चलाउँछ अनि ‘गरिबीनिवारण’ का जनता कामकाज छोडेर तीनचार घण्टासम्म आँखामा पट्टी बाँधेको जादुगरलाई हेर्दै हजारौँको सङ्ख्यामा सडकको दुवै छेउमा उभिइरहन्छन् । यी साना जादुगर हुन् । यस देशमा बडेबडे जादुगरहरू छन् जसले छब्बिस वर्षदेखि आँखामा पट्टी बाँधिरहेका छन् । जब उनीहरूलाई लाग्छ अब जनता आत्तिएका छन् र केही गर्ने अवस्थामा छन् अनि झट्ट जादुको एउटा खेल देखाउन थाल्छन् । जनताले हेर्छन् र थपडी पिट्छन् । मेरो जिज्ञासा छ, ए जादुगरजी, आँखामा पट्टी बाँधेर र राजनीतिक स्कुटरमा चढेर कता जाँदै छौ ? कुन दिशातिर जाँदै छौ ? समाजवाद ? खुसियाली ? गरिबीनिवारण ? गन्तव्य कुन हो ? उनीहरू भन्छन्, ‘गन्तव्यसित के सरोकार ? जनता आँखामा पट्टी बाँधेको जादुगरको खेल हेर्न चाहन्छन् । हामी देखाउँदै छौँ । जनतालाई अरू के चाहियो ?
जनतालाई त साँच्चिकै केही चाहिँदैन । मलाई लाग्छ, यी सानासाना जादुगरहरूले दिनै खेल देखाउनका लागि प्रेरणा त यसै देशका राजनेताहरूबाटै ग्रहण गरेका होलान् ! जो छब्बिस वर्षदेखि जनतालाई जादुका खेल देखाएर खुसी राखिरहेका छन् । उनीहरूलाई तीनचार घण्टा खुसी राख्नु कति कठन हुन्छ ? त्यसैले दिनै अखबारमा कुनै सहरमा नयाँ विकसित कुनै जादुगरको फोटो हेर्छु ।
सोच्छु, जुन देशमा एकाएक यति जादुगरहरू जन्मिन्छन् ती जनताको आन्तरिक हालत के होला ? उनीहरू जादुबाट यति प्रभावित किन छन् ? उनीहरू चमत्कारबाट यति मुग्ध किन हुन्छन् ? रासनको पसलमा लाइन लागेर पनि रासन नपाउने जनता लाइन छाडेर जादुको खेल हेर्न किन उभिन्छन् ?
मलाई लाग्छ, छब्बिस वर्षमा देशका जनताको मानसिक अवस्था नै जादु हेर्ने र थपडी बजाउने बनाइएको छ । चमत्कार हेर र खुसी होऊ । बाँकी हामीलाई छाडिदेऊ ।
भारतपाक युद्ध यस्तै एउटा जादु थियो । केही ठुलो ‘स्केल’को जादु थियो तर थियो त जादु नै । जनताले अझै पनि थपडी बजाइरहेका छन् ।
उता रासनको पसलको लाइन बढिरहेको छ ।
देशभक्तहरूले मलाई माफ गरून् तर मेरो अनुमानमा छिटै नै सिमला शिखरवार्ता हुनेछ । भुट्टोले भन्नेछन् – ‘पाकिस्तानमा मेरो हालत खत्तम छ । छुट्टाछुट्टै राज्यहरू बन्न खोज्दै छन् । गरिबी बढिरहेको छ । मानिसहरू भोकै मरिरहेका छन् ।’
हाम्री प्रधानमन्त्रीले भन्नेछिन् – ‘यता पनि गरिबी हटेकै छैन । मूल्य बढेको बढ्यै छ । जनतामा तीव्र छट्पटी छ । बेरोजगारी बढिरहेको छ ।’
अनि दुवैले निर्णय गर्नेछन् – पन्ध्र दिनको एउटा जादु किन नगर्ने ? यसबाट चारपाँच वर्षसम्म त दुवै देशका जनता यसै जादुको असरमा बस्नेछन् । (देशभक्तहरूले माफ पनि गरून् र अलिकति सोच्ने काम पनि गरून् ।)
जब मैले यी सहरहरूका यी सानासाना जादुगरहरूको चालमाल हेर्छु अनि भन्छु, ‘नानीहो, तिमीहरूले ठुला जादु देखेका छैनौ । साना जादु देखेर सानै जादु सिकेका छौ ।’
यस देशको अर्को चमत्कार साधु हो । यदि जादुले मान्दैनौ र रासनको पसलमा लाइन लगातार बढाउँछौ भने लौ त लौ साधु नै लेओ ।
जसरी जादुगरको भेल आएको छ त्यसै गरी साधुको पनि भेल बढेको छ । पक्कै यी दुवैका बिचमा कुनै सम्बन्ध त छ, छ ।
साधुले भन्छ –‘शरीर मिथ्या हो । आत्मालाई जगाऊ । अनि त्यसलाई विश्वात्मामा मिलाऊ । आफैलाई बिर्सिदेऊ । आफ्नो वास्तविक स्वरूपलाई चिन । तिमी सत् चित् आनन्द हौ ।’
आनन्द नै ब्रह्म हो । रासन ब्रह्म होइन । जसले ‘अन्नं ब्रह्म’ भनेको थियो त्यो मिथ्यावादी थियो । नवसिकारु थियो । अन्तमा ऊ पनि अन्न नभएर आनन्द नै ब्रह्म हो भन्ने निष्कर्षमा पुगेको थियो ।
तर अघाएको पेट र भोको पेटको आनन्द के उस्तै होला त ? यदि हैन भने त ब्रह्म एउटा नभएर धेरै पो हुने भए । शास्त्रोक्ति पनि छ – ‘एको ब्रह्म बहुस्यामः !’ ब्रह्म एउटै छ तर त्यो कैयौँ बन्न सक्छ । एउटा ब्रह्म ठाँटिएर बस्छ भने अर्को दोकानमा लाइनमा उभिन्छ । तेस्रो रेलवेको पुलमुनि सुत्छ ।
सबै ब्रह्म नै ब्रह्म हो ।
सक्खरमा पानी हालेर त्यसको तौल बढाएर बेच्ने पनि ब्रह्म हो भने लाचारीमा त्यो किन्ने पनि ब्रह्म हो ।
ब्रह्मले ब्रह्मलाई धोका दिइरहेको छ ।
साधुको कर्म हो मनुष्यलाई ब्रह्मतिर तान्नु अनि पैसा जम्मा गर्नु किनभने ‘ब्रह्म सत्यं जगन्मिथ्या !’
२६ जनवरी आउँदै गर्दा म सोच्दै छु, यी ‘गरिवी हटाऊ, महङ्गी हटाऊ, बेरोजगारी हटाऊ र भोकमरी हटाऊका नाराहरूलाई के भयो ?
बस् दुई थरी मानिसलाई धेरै मात्रामा जन्माउनु छ –
जादुगर र साधु !
यिनीहरूले यस देशका जनतालाई कैयौँ शताब्दीसम्म खुसी राख्नेछन् अनि ईश्वरकहाँ पठाउने छन् ।
भारत भाग्यविधाता ! हामीलाई थरीथरीका जादुगर र साधुहरूलाई यस देशमा लगातार बढाउँदै जाने क्षमता दे ।
‘तर्कको धारा मरुस्थलको सुक्खा बालुवामा नलुकोस् ।’ (रवीन्द्रनाथ) भन्ने कुरासित हामीलाई के मतलब ? त्यो त लुकिसक्यो । त्यसैले जन गण मन अधिनायक ! बस् हामीलाई जादुगर र व्यावसायिक साधु चाहिएको छ । अनि मात्र ‘हे परमपिता, त्यस स्वर्गमा मेरो देश जाग्रत होस् भन्ने तिम्रो सपना विपना हुनेछ । (जसमा जादुगर अनि साधुजनलाई खुसी राखिन्छ ।)
परमपिताको कृपाले भएको पनि यही छ ।
०००
परसाईको परसाई रचनावली भाग ३ को ‘भारत को चाहिए : जादूगर और साधु’ निबन्धबाट अनुवादित ।
Subscribe
Login
0 Comments
Oldest






































