साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनसुन – म नसुन

एउटा परचक्री शब्दले त यत्तिको ताण्डव मच्चाउन सक्छ भने झन विदेशका ऋण, तिनका कुशर्त, तिनका चलन सँस्कार, तिनका सल्लाह, तिनका जासुसीले कस्तो गर्लान् ? अब यतिभन्दा धेरै गन्थन गर्नै पर्दैन होला ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धेरै वर्ष भयो यो बर्खाले अर्काको झुत्रो जडौरी भिरेको । मेरो त छैन चित्त बुझेको । कति पहिल्यै हाम्रोमा गीत बज्थ्यो – खोलापारी म माया लाउँदिन , बर्खा लाग्यो आइरहन पाउँदिन । अनि त्यस्तै अर्को – पानीको रिमझिम बर्खाको बेला धीत मारेर किन रुझेकी । यो बर्खा शब्द कहिले अर्काे भयो र यसको ठाउँमा त्यो नाथे मनसुन भर्ना गर्नुपर्‍यो ? जब जब बर्खाको ठाउँमा अर्काको मनसुन शब्द आयो तब त्यसले पनि बेसरी सतायो । पहाड भत्कायो र गाउँ बस्ती मान्छे खायो, तराईलाई काट्यो र पराइतिर लग्यो । चौंरी पालेर भुवा उत्पादन गर्ने बाहेक अरूलाई रुवाबासी गरायो ।

फेरि अन्तर्राष्ट्रिय स्तरका अन्धा बहिराहरूको झुन्डलाई यहाँ भोटको भोटो लगाइदिएर कुर्सीमा राखी त्यसैलाई सरकार नामको नाम्लोले सिस्नोको भारी बोके झैं बोकेर लिस्नोको उकालो चढ्ने चलन छ । पञ्चायत गए पनि पञ्च वर्षिय झ्याङ्ग्लोलाई भने हामी बकाइदा रौरवसाथ बोकि आफ्नै छातिमा किला ठोकिरहेकै छौं । अझ वीरहरूको इतिहास भएको देश पो हो त यो । त्यतिले कहाँ पुग्छ र ? वीरको गाथा इतिहासको साथ हामी त आफैं हान्छौं आफ्नै शिरमा लात – हाम्रो अत्याधुनिक विशेषता । त्यसैले यो विशेषतालाई हामीले आफैं जान्ने पल्टेर न्वारान गरेका छौं – लोकतन्त्र , प्रजातन्त्र, गणतन्त्र आदि शब्दले ।

उता यहिंको बर्खालाई चर्खा घुमाए झैं घुमाएर पर पुर्‍याइसक्दा त्यसको ठाउँमा ल्याएको नयाँ शब्द मनसुन फेरि यति ज्याद्रो रछ कि बर्खाले नगरेको उपद्रो यसैले मच्चाउँदै हामीलाई कुच्च्याउँदै थच्च्याउँदैछ । अझ यो विदेशी भतुवा मनसुन त यस्तो रछ कि यसले त “म नसुन ” स्मेत गराउँदोरहेछ । नत्र तीन करोड आत्मा रोएको त्यो सत्ता भन्ने सिंहदरबारे ङ्यारङ्यारे जन्तुले अवश्य सुन्थ्यो होला । नामै मनसुन भएको दुच्छरले पुच्छरसहित हाम्रो देशमा भित्रिएकोले होला तासका पत्तामा भएका बाहेक अन्य सबै सत्ताको मनले सुन बाहेक केही नदेख्ने । सुन पाए कत्ति पनि ढिलो नगरीकन किलोका किलो कुम्ल्याउने, बाहिर बाहिर हल्लामा उम्ल्याउने, सय कटेकोलाई पनि पचास साठितिर सुम्ल्याउने ।

कहिले दुखी गरिबका पीडितका कुरा नसुन, घुसखोर तस्कर घाती कुकर्मीका कुरामात्र चाहिँ सुन गराउने मनसुनको रौरवमय महानता देखेर होला बिचरो बर्खा कुन कुनामा बसेर निम्छरो पाराले रुँदै होला ।

सुनलाई आजकलको उही लघुशङ्के सू जस्तै जस्तै सम्झने भएकोले होला यो सुन बिनाको मनले चार चौरास सम्झेर बिचार गर्दा बिचरो बर्खा त युवा हलिगोठाला, नोकर भरिया बोक्ने चीलगाडी चढेर तात्तातो खाडीतिर पो लाग्यो कि क्या हो ! मरूभूमिमा पानी पर्ने र यता खडेरीले डर नमानी घर गर्ने त्यसै भएको त होइन होला । त्यसले पनि के गरोस् बिचरा बिझेपछि मनमा झीर पर्नुसम्म पर्‍यो पीर । हामीलाई त पराइको मनसुनभन्दा बर्खा नै मायालु थियो । त्यो शब्दै आफ्नै धर्तीको बुद्ध जस्तै थियो । आफ्नै हिमालको स्वच्छ जलजस्तै निर्मल थियो ।

त्यो पराइकी रखौटी भगौटी लँगौटी के हो मनसुन यता अन्भरिएपछि त एकासी सालमा दशैं आउने बेलामा एक्कासी बागमती पनि रागमती भैदिइ । रमिता हेर्न भनेर हरिबिजोग कन्तबिजोग महाबिजोग सबै त्यै बागमतीका फोहोर बनेर आउँछिन् । उता बाटोमा गुडिरहेका गाडीहरू हिलो पहिरोको साडीभित्र परेछन् । त्यै मनसुनको निर्लज्जताले हो त्रिशूलीमा पनि दुनियाँले धारेहात लाएकाहरूलाई साथ दिएर बिचरा दुखी पीडितलाई आफ्नो पेटसित भेट गराई त्यहिँ खात लगाएको ।

जहिलेसम्म यो देशमा बर्खा थियो मनसुन थिएन त्यस्तो कहिल्यै भएन । जब बर्खालाई निकाला गरेर मनसुन भन्ने मापाको शब्द आयो तब दुर्दशा र महादशाको साम्राज्य छायो – मानौं यो प्राकृतिक एम सि सि हो र यो पनि गरिबका थाप्लोमा बन्चरो बजार्न राजनीति, सत्ता, बजेट आदिजत्तिकै माहिर छ । एउटा परचक्री शब्दले त यत्तिको ताण्डव मच्चाउन सक्छ भने झन विदेशका ऋण, तिनका कुशर्त, तिनका चलन संस्कार, तिनका सल्लाह, तिनका जासुसीले कस्तो गर्लान् ? अब यतिभन्दा धेरै गन्थन गर्नै पर्दैन होला । हरिॐ नारायण नम शिवाय ।

०००
२०८२ जेठ २७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x