साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले तयार पारेको फुर्तिवेदन !

पाखण्ड प्रदर्शन गर्ने जोगीहरुबाट नेपालमा पुरुषभन्दा महिलाहरु ठगिने गर्छन् पहिला। छोरो पास भएमा गुरुको आशिर्वाद रे। बारीमा फर्सी फले पनि बाबाको आशिर्वाद रे धारामा पानी आए पनि महाराजजीको आशिर्वाद रे।

Nepal Telecom ad

अमर अधिकारी :

देश किन भड्खालोमा पर्यो त भनेर छानविन समिति गरेर प्रतिवेदन तयार पार्ने जिम्मा म आफैले आफैलाई  दिएँ। छानविन गरेर प्रतिवेदन गर्ने समितिको संयोजक पनि म आफै बनेँ एकल समितिमा। गर्मी ज्यादै भएकोले कहिले कोक त कहिले फ्रुटी खाँदै शुरु गरेँ छानविनको कार्य, फ्रुटी खाँदै लेख्नुपर्ने भएकोले ‘फ्रुटिवेदन’ लेखौँ कि जस्तो पनि लाग्यो । तर किन अर्काको अखाद्य सामानको विज्ञापन गर्ने ? भनेर पन्छिएँ र फुर्तिसाथ प्रतिवेदन बनाइने हुँदा मैले प्रतिवेदनलाई फुर्तिवेदन भनिदिएँ, लौ जा !

देश बिगारेर देशलाई कंगाल अनि हाम्रो जन्मभूमिलाई विदेशी बैंकको ऋणी बनाइराख्दा मलाई चित्त नै बुझेको थिएन। एउटा संविधान बनाउन अरबौँ सकियो, एउटा ऐन बनाउन करोडौँ सकिन्छ राष्ट्रिय ढुकुटी र सुकुटीमा परिणत हुन्छ। छलफल पनि सिंहदरबारमा नगरेर कहिले कुन रिसोर्ट कहिले कुन तारे होटेलमा, नभाको पैसो ह्वार्ह्वार्ती खर्च। मोज धेरै गर्नुपर्छ ? जन्मिदाबित्तिकै करिब लाखको ऋण बोक्नुपर्ने हामी नेपाली कम्ता भाग्यमानी छैनौँ र ? काजु र किसमिस खाएर हत्या र भ्रष्टाचारका काण्ड ढिसमिस पार्ने परम्परा कहिलेसम्म हो मान्नेज्यूहरु ? गन्नेमान्ने हौ कि ठग्नेमान्ने हौ? राष्ट्रिय दुर्गन्धहरुमध्ये एकछिन केही दुर्गन्धका कुरा गरौँ है त !

राजनीतिक दुर्गन्धः
२०४० देखि २०५६ सम्म मैले जागिर खाएको संस्थान कसरी टाट पल्टाइयो भनेर बताइरहने यो लेखक अहिले जिल्ल परेको छ। हैन हैन ! अहिले त लेखक भन्ने अवस्था नै छैन। यो लेखक भन्ने शब्दको त इज्जतै गैसक्यो। भर्खरै लेखकले पाठकलाई समातेपछि कलम चलाउने लेखकहरुमा निराशा छाएर आएको छ र यो लेखकले विरहका गीत गाएको छ। सरकारी उद्योगहरु कसले खायो ? यता कलमजीवी लेखकहरुलाई आपत आयो। उद्योग चले पो मिडिया चल्छन् अनि लेखकहरुलाई पारिश्रमिक दिन्छन्। २०४६ मा आएको प.. र.. जा ! तन्त्रपछि बनेका बहुलावादीहरुको सरकारले सरकारी संस्थानहरुको रगत चुसे, मासु लुछे, त्यतिले नपुगेर औद्योगिक संस्थानहरुको हड्डी दारे। सरकारलाई करोडौँ राजस्व बुझाउने संस्थानहरु झ्वाम पारे। कैयनको रोजगार गुम्ने गरी धरासायी पारे नाथे नेताहरूले सरकारी कलकारखानाहरु । हामीले बदमासी गर्यैं भनेर कान समातेर उठबस गर्नुपर्नेमा अझै ‘जो चोर उसकै ठूलो स्वर’ गरिराछन् देशघातीहरुले।

सामाजिक दुर्गन्धः
कोही नागरिक बचाउ त कोही देश बचाउ अभियानको नाममा उफ्रिने र आफूले पहिले गरेका कुकर्महरु लुकाउने अनि चम्चेहरुलाई भुकाउने जुलुस जम्मा पार्ने चुनावमा हार्ने, युवाहरु विदेशतिर लघार्ने काम भयो। अधबैँसे हुँदासम्म गुण्डागर्दी, चोरी, डकैती र बलात्कारी काम गर्दै हिँड्ने मान्छे आज समाज सेवी बनेको छ। अबुझले पनि उसलाई महामानव भनेको छ। नाम किन लिनु र ? यहाँ धेरै छन् त्यस्ता भूपू अपराधी वर्तमान समाजसेवीहरु।

धार्मिक दुर्गन्धः
ज्यानमारा, बलात्कारी बाबाहरुका धावा पनि गजबको छ। गेरुबस्त्र धारण गरेपछि बलात्कारी, हत्यारा भए पनि ऊ त्यस्तोमा गनिदैन। स्वामी रे ! बाबा रे !! गोरुदेव रे !!! महाराज रे !!! के के हुन् के के पाखण्डीहरुका उपनाम पनि। कोही कालीलाई गोरी बनाउने जन्तर बेच्छन् र त कोही केटीलाई केटा बनाउने मन्तर हजारौँमा बेच्छन् दिनदहाडै अनि हिँड्छन् पहाडपहाडै ठग्नकै लागि । उता भारतमा जेलमा हावा खाइरहेका हत्यारा, बलात्कारी बाबाहरुको यहाँ नेपालमा अन्धभक्तहरुले भगवान मान्दै उनीहरुको फोटो भित्तामा टाँसेर धुपबत्ती गर्दै आएका छन् घर व्यवहार लथालिङ्ग पार्दै । नेपालमा पनि दुइजना जोगी हत्यारा, बलात्कारी प्रमाणित हुँदैहुँदै कसकसले पैसा खाएर त्यस्तालाई झिनो धरौटीमा छोड्ने काम गरे ? बेकारे नेताहरुले ढोँगीका शिष्यहरुलाई मतदाता बनाउने कुरामा बाबा वा गोरु (गुरु) लाई मनाउने भएपछि मुलुक कहाँ पुग्ला? त्यस्तै छवटा मुद्दा लागेका एक पण्डितलाई अहिले धन कुम्ल्याउन भ्याइ न भ्याइ छ।

अपराधी घोषित भैसकेका पाखण्डीले आश्रम खोलेपछि नेता र नेताका चम्चाहरु त्यहाँ गएर उनको शरण पर्दै चरणमा लम्पसार पर्दै आशिर्वाद लिन्छन् र भ्रष्टाचार गरेको कालो धन दक्षिणाको रुपमा उसलाई दिन्छन्। केही महिनाअघि पशुपतिमा सञ्चालिन लुटिहोमबाट उठेको करोडौँ रकम बोरामा कोचेर भारत पुर्याइएपछि आयोजकहरु घाटा भयो भन्दै जिल्लाराम भए । वाचिका थिइन् नेपालको जडिबुटी भारत लगेर उपयुक्त औषधि बनाएकी झैँ। उनी नेपालमा जन्मेर के भो र ? भारत गइन्, संस्कृत पढिन्, ज्ञानी बनिन् ध्यानी बनिन् र पछि उच्चकोटीकी वाचिका बनिन्। तर भुसतीघ्रे गार्डहरुको बीचमा रहनुपर्ने उनलाई के आवश्यकता थियो ? अरुलाई शाकाहर बन भन्ने अनि भुसतीघ्रेहरुलाई मांसाहार भोजन गराउने ? यस्तो पनि धर्म हो ? यो त गम्भीर मर्म हो।

उता पोखरामा वर, पिपल र समीका वृक्षलाई काटेर ठुटै बनाए महायज्ञका लागि। धर्म गर्ने भन्ने अनि अधर्म गर्ने दोहोरो चरित्रका ढोँगीहरुको कमी छैन यहाँ । शुरुमा कारवाही गरे जस्तो गर्ने र माथि माथि आर्थिक चलखेल भएपछि अपराधीहरु चोखिने चलन नयाँ होइन। अन्धभक्तहरुलाई बेबकुझ बनाएर भारततिर धन ओसार्ने र नाफामूलक कम्पनीहरुमा शेयर लगानी गरेर पुस्तौँ पुग्ने गरी पाखण्ड प्रदर्शन गर्ने जोगीहरुबाट नेपालमा पुरुषभन्दा महिलाहरु ठगिने गर्छन् पहिला । छोरो पास भएमा गुरुको आशिर्वाद रे। बारीमा फर्सी फले पनि बाबाको आशिर्वाद रे धारामा पानी आए पनि महाराजजीको आशिर्वाद रे । यस्ता अर्द्धपागल शिष्य अर्थात् भक्तभक्तिनीहरु पनि छन् यहाँ। बिस्तारै ठगिएको थाहा नपाउने अन्धभक्तहरुको जति कुरा गरे पनि सकिदैन।

“बाबाजी! हमारा देश के नेता लोग बहुत खराब है, नेपालको भड्खालो मे डालदिया, ओ नेता लोग कैसे सुधरेगा ?” भनेर कसैले कोही साधुलाई गुनासो सहित सोध्नुभयो भने ती साधुले भन्नेछन्- “नकारात्मक सोँच नहीँ रखना बेटा!” ती साधुले तमाम नेपाली अन्धभक्तहरुबाट दक्षिणा धुत्छन् र पाउमा ढोग पनि लिन्छन् अनि थैलो बलियो बनाएर सीमापारी जान्छन् अनि भुँडी फुटुञ्जेल खान्छन् र आफ्ना चेलालाई हान्छन् “मेरो कुटी किन सफा नगरेको ?” भनेर।

यी तमाम कुराहरुको फुर्तिवेदन बनाएर मैले स्यालदरबारमा बुझाएँ । मैले तयार गरेको फुर्तिवेदन दराजमा थन्कियो, संसदमा आवाज घन्कियो। तोरीलाउरे नेताहरुले कुर्सी उचालेर हानाहान र पाखुरा तानातान गर्नथाले। आखिरमा मेरो फुर्तिवेदन दराजमा थन्किरहेको छ, अरु तमाम प्रतिवेदनहरुको घानमा।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x