शिवप्रसाद जैशीउज्गलामा रोपाइँ
बाँचेको त त्यही पाखोजग्गा हो। पाखोजग्गाले दिन जे हो त्योमात्र दिन्छ नदिने त कसरी देवस्। पाखोले दिएकोले नपुग्ने। खेत सकेको भोको पेटले देश दाउमा नराखोस् भन्ने कामना नगरी भएको छैन।

शिवप्रसाद जैशी
रोपाइँ गर्न खेत चाहिन्छ। रोपाइँको निश्चित प्रकृया हुन्छ।बिउको चाँजोपाँजो मिलाउनु। बियार राख्नु। बिउमा पानी लगाउनु। खेत जोत्नु । इल्चाकाल्ना र भिटा खन्नु अनि सम्याएर रोप्नु। पहिलो र नभै नहुने शर्त हो पानी लाग्ने खेत हुनु। पानी लाग्ने खेत नभएमा भात खान मन लागेर हुँदैन। भात खान मन लागिहाले अर्को उपाय छ।गहुँ र जौ जस्तै उज्कलामा धान छर्ने। त्यो पनि हिउँदमा होइन बर्खामा। बर्खामा पाखोजग्गामा छर्ने धान जसलाई उज्गलाको धान भनिन्छ। यसको पनि गोडमेल राम्रै गर्नुपर्छ।गोडमेल र मलको व्यवस्थाबिना त के नै हुन्छ र अन्नपात। उज्गलाको धानका लागि बिउ राख्ने अनि सम्याएर रोप्ने जस्तो झन्झट चाहिँ हुँदैन। खनजोत गरेर एकसरो छरे पुग्ने। यसका पनि विभिन्न प्रजाति त हुने नै भए।
खेतमा रोप्ने धान उज्गलामा हुने त कुरै भएन। कुन चिज कहाँ फल्छ भन्ने कुरा जान्नलाई पढेर मात्र पुग्दैन। गर्नै पर्छ। अक्षरको पढाइले पेटको भकारी भर्दैन। नपढे पनि हुन्छ तर गर्न चाहिँ अनिवार्य पर्योप खेतको प्रयोगशालामा व्यवहारिक ज्ञान आर्जनका लागि। पढेर गर्न त सुनमा सुगन्ध भै हाल्यो। बडो गजब कुरा के छ भने मानिसहरु खेतलाई उज्गलो र उज्गलालाई खेत देख्न थाले। पढाइ लेखाइले पाखोबारी र खेत छुट्याउन गाह्रो पार्यो । कुन मौसममा के फल्छ त्यो पनि स्वात्तै निल्यो शिक्षाले। उज्गलाको धान भनेको पाखोबारीमा बुएर फलाएको धानलाई भनिन्छ भन्ने ज्ञान आधुनिक पुराणमा परेन। पारिएन। पाखोजग्गामा खेत रोप्ने हुँदै होइन। पाखोजग्गा त मकै, गहुँ, जौ, कोदो जस्ता खाद्यबालीको लागि हो। पाखोमा अन्न उत्पादन कम हुने, उलिकति उचो र भिरालो ठाउँ भएकोले यसमा घर बनाएर बस्ति बसाउने काम परापूर्वकालदेखि हुँदै आयो। वर्तमानले यो पूर्ख्यौली ज्ञान खर्लप्प खायो। सुलुत्त निल्यो। खेत ससाना बित्ताका कित्तमा, रोपाइँ उज्गलाका भित्तमा। खेतमा सडक र घर, रोपाइँ उज्गलामा गर। खाने भात, धान चामल आयातमा परदेशको साथ। भुँडी भर, परदेशको भर पर भन्ने ज्ञान पाइयो आधुनिक शैक्षिक शास्त्रहरुमा।
आधुनिक जमानामा जब पढ्नेहरु बढे शिक्षितहरुको जमात उकालियो। खेत पाखाबारीमा बदलियो। खेतमा कंक्रिटका घर ठड्याइयो। खेतमा घर बनाएपछि हिँड्नेबाटो ओभानो चाहियो। रोपाइँ गर्न प्रकृतिले छुट्याएको जमिनमा हिलो नभएर के होस्। समथर पानीको सुबिधा भएको। पानीले पाँगो निकाल्न मिल्ने। पाँगोमा रोप्न मिल्ने भएर नै खेत भएको हो। खेतमै घर बनाएपछि हिलोको गिलो प्राकृतिक बरदान घरदानमा परिणत भयो। घरदानमा पदार्पण गर्न ओभानो बाटो चाहियो। मानिसको हर्कतले अलकत्रा बन्दोबस्त गर्न बर्गत खोज्यो। अलकत्राको साइनो हिलोसँग भएन। हुँदैन। हिलोसँग अलकत्राको मित लगाउन नदी र खोलाका रोडा र बालुवा अनि उचो ठाउँको माटोले खेत पुर्नु पर्यो ।
माटाले अग्ल्याउने अनि रोडा, गिट्टी र बालुवाले ओभानो बनाइ अलकत्राले सम्म्याएर चप्ट्याउने चिप्ल्याउने। कुलोको नामोनिसान निमिट्यान्न पार्ने। कुलोमाथि धुलो हालेर कुलाको दाहासँस्कार गर्ने। पानीको बाटो थुन्ने। पानीलाई बग्नबाट बन्चित गर्न अनेक प्रकारका मति भ्रष्ट कुकर्म गर्न नहिच्किचाउने। कहाँ जाओस् बिचारा पानी उसको निर्बाध बग्ने बाटो छेकेर हात्तीपाइले ठोकेर आफै भोगेर उपरखुट्टी लगाएर बिस्तरामा उत्तानिएपछि। उत्तानिएकै बेला पाखो सम्म्याउन खिनएका उच्चा भागबाट माटोको लेदोले घरभित्र पसेर खेदो खनेपछि होस नफइदा न त काइदा। न त खेत बच्छ न त पाखो नै रहन्छ। यस्ता यावत चिजको प्रबन्धमा द्रव्यको खोलो बग्यो।द्रव्यको होलीले खेत र पाखोको एकै पटक सामूहिक हत्या भयो। धनकै प्रयोगले योजनाबद्ध ढङ्गबाट खेतपाखोलाई पानीको पथमा महासागरतिर हुत्याएपछि धानका दानाको वंशनास हुने खतरा बढ्यो।
धानको वंश नासपछि पेटको अधिकार खोसियो। माडखाने मुखमा कुबुद्धिले बिर्को लगाएपछि पेटले अभावको भद्रअभज्ञा आन्दोलन गर्नु कुन ठुलो कुरा भयो। माड चाहिने थुतुनो परदेशतिर मोडियो। घरदेशतिर पेटले भोकको कागजमा फिरादपत्र लेखेर पेश गरेपछि मनुवाले भेष बदलेर उकालो लाग्नु पर्यो पाखोबारीतिर। पेटको आन्दोलनले तिमिरीझाईँ भएपछि उज्गलामा रोपाइँ गर्न खोजियो।पानी बिना पाखाबारीतिर खेत रोप्न खोज्नु पनि वैज्ञानिक आविस्कार सरह नै भयो-विश्वविद्यालयद्वारा प्रमाणीकरण गरेका डिग्रीले नै हो खेतमा घर बनाउन सिकाएको। डिग्रीको भेदले गलामा भोकको सिक्री बाँधेको तब थाहा पाउछ जब भोकले आमहडताल गर्छ र भकारीमा अन्नको गन्ध हुँदैन। अन्नको गन्ध पाउन पानी र रोपाइँ एक अर्काका परिपूरक हुन् भन्ने बुझेको भए खेतमा गगनचुम्बी महल ठड्याएर प्राकृतिक संरचनाको दोहोरो, तेहेरो, चौहोरो दोहनको मतिले खति बेहोर्नु पर्दैनथ्यो।
मतिले खति गरेको भेउ नपाएपछि रोपाइँ उज्गलामा नगररे कहाँ गरोस्। उज्गलाको भिरालो ओभानो माटोमा खेत रोप्न खोज्नु मुर्ख्याइँ भनेर त कसरी भन्नु। खेत मारेर पाखो जगाउनु बुद्धि नै भन्नुपर्छ।धान फलेको हेर्न पानीको पनि त आफ्नो हिस्सा होला नि पृथ्वीको मार्गमा। खेतमाथि बास, कुलोमाथि बाटोको आकारले खेत र कुलोको इहलिला समाप्त एकै पटक आफ्नै हातले गरेपछि उज्गलामा गरेको गमले रोपाइँले दिने भनेको त सेल्फि स्पट नै हो। राजकुलोरुपी घाटमा खेतको मुखमा उलकत्रे धुँवाको मुस्लोले दागबत्ति दिन सिक्नु पनि कम त होइन। खेतको मुखमा दाग बत्ति दिएर ठड्याएका गतिला बङ्ला भित्रका गमलामा धान उम्रिन थाले। गमलामा उम्रेको बिउको माला बाहिरी गलामा नझुण्ड्यार के भित्री गलामा चामलको चौलानी भएर पसोस् त। आफ्नै खेतबारीका सनिउँता (भरखर ओखलमा कुटेका) चामलको चौलानिले सितलता प्रदान गर्ने आँतमा बिखादीको दाँत पसेपछि कपालमा खरानी घसेर उज्गलाको पनि माथिल्लो टोप्पोमा दाहिने हातको सहायताले खेतमा निर्मित महलको छानो गोडाका पैतलामुनि पर्ने गरी सेल्फि त खिच्नै पर्योि । टिकटक त बनाउनै पर्योा।खेतको समूहिक हत्याको खबर सामाजिक सञ्जालमा देखाउनै पर्योल।आधुनिक डिजिटल दुनियाँमा प्रकृति हत्या प्रतियोगितामा सामेल भएर स्वर्ण पदक उछिट्याउन लाग्नै पर्यो।
उब्जाउ भूमिको सामूहिक हत्यापछि काकाकुल ठाउँमा धान रोप्न पानीको आविस्कार गर्नु पर्यो। पानीको आविस्कार गर्न बुद्धि चाहियो। बुद्धि फुर्यो प्राकृतिक रुपले बगिरहेका नदिबाट लिफ्टिङ सिचाईँ योजना।दिमाग त तगडा हो नि उधो बग्ने पानीलाई उभो बग्ने बनाउन।पानी उकालोमा चढाउन बिजुली, मेसिन, पाइप चाहियो। चाहिने चिज त्यसै कहाँ पाइयो। मेसिन, पाइप खरिद गर्न फेरि परदेशको सहायता । यताको धन उता। जसरी होस् धन बाहिर पठा। धन पठाएर धान नभित्र्याए खानपानमा बन्दाबन्दी भोकडाउन। भोकडाउनमा परेको प्राणीले जे पनि गर्छ भन्ने नबुझेको कहाँ हो र ? भोको पेटले भोजन खोज्दैन जे भेट्यो त्यही भोजन हुन्छ। अनि परेन बिलखबन्धमा। एक मुठी ज्यान एक सेकेण्ड थप्न पनि प्राणीले सकेजति गर्छ। त्यसमाथि सबै भन्दा बुद्धिमानी मानिएको मानिसले झन के पो नगर्ला बाँच्नका लागि।
रसिला उपत्यका, नदी किनारका फराकिला टार र तराइका फाँटहरु शिक्षित ढाँटहरुले घरानाका बासमा परिणत गरेपछि बाँचेको त त्यही पाखोजग्गा हो। पाखोजग्गाले दिन जे हो त्योमात्र दिन्छ नदिने त कसरी देवस्। पाखोले दिएकोले नपुग्ने। खेत सकेको भोको पेटले देश दाउमा नराखोस् भन्ने कामना नगरी भएको छैन। गजबको कुरा खेत पाखोमा परिणत परियोजना अन्तर्गत अमिन र इन्जिनियहरुले फिताले नापेर घरघडेरी अनि बाटोको प्रकारमा बदले जस्तै कतै देशको नक्सामा भात पठाएर घात गर्ने पराइहरु पल्किएलान् कि भन्ने डर मान्नु पर्ने भएको छ। भात दिनेले लात पनि हान्न सक्छ। त्यसै त उखान पनि बनेन होला “दुध दिने गाईले लात्तिहानेकै सही”। उहिल्यै बाउरु (खेताला) पल्क्याउनु तर पाहुना नपल्क्याउनु भन्ने उखान चलनचल्तिमा थियो सुदूरपश्चिमतिर। बाउरु पल्कियो भने राम्रो काम गर्छ तर पाहुना भने खाएर मात्र जान्छ भनेर नै यो उखानको न्वारन गरिएको होला।
०००
कैलाली, हाल थानकाेट, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest





































