काेइराला वत्सराजगफाडे पत्रकारको अफवाह पत्रिका !
हो, गफाडे पत्रकार कुनै एक व्यक्ति होइन। वास्तवमा ऊ हाम्रो समाजको त्यो पाटो हो, जो झूटको भरमा मनोरञ्जन खोज्छ र सत्यका लागि कहिल्यै ‘स्क्रोल डाउन’ गर्दैन।

काेइराला वत्सराज :
गफाडे पत्रकारको बास एकछिन फेसबुकमा, अर्कोछिन युट्युबमा र बाँकी समय ट्विटरमा हुन्छ। वास्तविक ठेगाना भने मिडिया संसारको “क्लिकबेट नगरपालिकाको अफवाह वार्ड” हो। उसको औपचारिक परिचय दिनु परे यस्तो हुन्छ:
नाम: गफाडे भुस्के
पेसा: रिपोर्टर/एंकर/विश्लेषक/संवाददाता/सम्पादक/फिल्ड अफिसर/कन्टेन्ट क्रिएटर/सिनियर डाटा जर्नालिस्ट (सबै पद आफूलाई लागु हुन्छ)।
शिक्षा: कक्षा १२ पास गरेकै हो कि होइन, सोध्न मिल्दैन।
कार्य अनुभव: दुईवटा भाइरल भिडियो, तीनवटा ‘लाइभ विवाद’, र चारपटक आरोप-प्रत्यारोपमा संलग्नता।
गफाडेको रिपोर्टिङ शैली अनौठो छ। घटनास्थलमा पुगेर समाचार बनाउनु उसको धर्म होइन। उसले घटनास्थल आफैँ बनाउँछ। त्यहीँ छेउमै मोबाइल राखेर घाँटी खकार्दै सुरु गर्छ, “दर्शकवृन्द, तपाईंले यस्तो दृश्य पहिले कहिल्यै देख्नु भएको थिएन। हेर्नुहोस्, यिनै हुन् ‘मुख्यमन्त्रीका भाइको छिमेकीका भतिजा !’ उनी अहिले बेपत्ता भएका छन् र उनको बारेमा अहिले चर्चा फैलिएको छ !”
गफाडे समाचार लेख्दैन, तर्क गर्छ। जसरी हल्का बादल देखिनासाथ केही मानिस “आज बर्षा हुन्छ” भन्छन्, उसैगरी गफाडे “आज सरकार ढल्छ” भन्छ। कुनै घटना घटोस्, नघटोस्, ऊसँग “विश्वसनीय स्रोत” हुन्छ; जसको नाम ऊ कहिल्यै खुलाउँदैन। किनभने त्यो स्रोत वास्तवमा उसको आफ्नै बायाँ कान हो, जुन कहिलेकाहीँ दायाँ कानको कुरा सुनेर गलत अनुवाद गर्छ।
एक दिन मैले सोधें, “गफाडे दाइ, तपाईं पत्रकार हो कि अफवाह बिक्रेता ?”
उसको उत्तर कडा थियो, “पत्रकारको धर्म भनेको प्रश्न उठाउनु हो। जब म आफैँ प्रश्न उठाउँछु, अनि आफैँ उत्तर दिन्छु। योभन्दा उच्च पत्रकारिता के हुन्छ ?”
गफाडेले समाचार बुझ्दैन, समाचार ‘सजाउँछ’। भुइँचालो आयो भने भन्छ, “यसको पूर्व संकेत मैले एक हप्ता अगाडि पाएको थिएँ।”
बाढी आयो भने ऊ लेख्छ, “ईश्वर रिसाएको कारण यस्तो भएको हो।”
कोही कलाकार बिरामी भयो भने लेख्छ, “अत्यन्तै नाजुक अवस्थामा छन्, कमेन्टमा ‘गेट वेल सुन’ लेखेर प्रार्थना गरौं।”
कलाकारले त्यो टिप्पणी पढेर बेलुका सेल्फी हालिदियो भने ऊ फेरि लेख्छ, “चमत्कार भयो ! हाम्रो भिडियोपछि उनको स्वास्थ्यमा सुधार !”
उसको अफवाह कम्पनी २४ घण्टा अनलाइन रहन्छ। त्यहाँ प्रमुख उत्पादनहरू यस्ता हुन्छन्: झ्यालबाट हाम्फालेर बाँचेको कथा (जहाँ झ्यालको अस्तित्व पुष्टि भएको छैन)
राम कहाँ जन्मिए ? (उत्तर हरेक हप्तामा फेरिन्छ।)
भाइरल वृद्धको हाँसोमा लुकेको रहस्य! (जसमा वृद्ध मुस्कुराएको क्लिप मात्र हुन्छ।)
के तेस्रो महायुद्ध सुरु भइसक्यो ? (तर पृष्ठभूमिमा शान्तिपूर्ण संगीत बजिरहेको हुन्छ।)।
गफाडेले कहिल्यै सरकारी प्रेस नोट पढ्दैन, किनभने त्यो ‘पाठक कमाउने’ भाषा होइन। उसले को बोलेको छैन त्यै खोज्छ। उसले त्यो मौनतालाई ‘ब्रेकिङ न्यूज’ बनाउँछ। केही उदाहरण यस्ता हुन्छन्:
“प्रधानमन्त्री चुप ! के हो रहस्य ?” अनि दर्शक त्यही भिडियो हेर्नतिर लाग्छन् जसमा प्रधानमन्त्रीको अनुहार नै देखिँदैन।
गफाडेको टिममा तीन जना भरपर्दा पात्र छन्, एउटाले फेसबुकका प्रतिक्रिया पढ्छ, अर्काले पुराना भिडियोहरूमा नयाँ हेडलाइन फिट गर्छ र तेस्रोले कमेन्ट सेक्सनमा ‘हामी सत्य बोल्छौं’ लेख्दै हिँड्छ।
झूटलाई साँचो बनाउने, अनि साँचोलाई भ्रमजालमा हराउने यो समूहको धर्म हो। उनीहरू “हामी तपाईंलाई प्रमाण देखाउँछौं !” भन्छन् र लिंकमा ‘सब्सक्राइब गर्न नबिर्सनु’ मात्र देखिन्छ।
गफाडे पत्रकारले देशको राजनीति, समाज, धर्म, आपदा, अपराध सबैलाई एउटै ‘थम्बनेल’मा अटाउने कला सिकेको छ। उसलाई समाचार खोज्न फिल्ड जानु पर्दैन, ब्रेकिङ बनाउन डाटा चाहिंदैन। उसलाई केवल एउटा घटना र सो घटनाको चारवटा कल्पना मात्रै चाहिन्छ।
अन्त्यमा गफाडे पत्रकार भन्छ, “सत्य भन्नु अघि सोच्नुपर्छ, ‘सेल हुन्छ कि नाइँ ?’ र, झूट बोल्नु अघि सोध्नुपर्छ, ‘भ्युज आउँछ कि नाइँ ?’”
हो, गफाडे पत्रकार कुनै एक व्यक्ति होइन। वास्तवमा ऊ हाम्रो समाजको त्यो पाटो हो, जो झूटको भरमा मनोरञ्जन खोज्छ र सत्यका लागि कहिल्यै ‘स्क्रोल डाउन’ गर्दैन।
हामी पनि गफाडे जस्तै बनिरहेका छौं। फरक फरक समाचार हेरेर साँचो होइन, सस्तो खोजिरहेका छौं। त्यसैले गफाडे पत्रकारको अफवाह पत्रिका झन् झन् मौलाउँदैछ। साँचो खबर कुनामा रुँदै हराउँदैछ।
०००
Subscribe
Login
0 Comments
Oldest








































