हरिशंकर परसाईंदिशा देखाउनुस्
बिहान युवकहरूलाई दिशा देखाउँछन् अनि साँझ वृद्धहरूलाई । भोलि डाक्टरहरूलाई दिशा देखाउने छन् अनि पर्सि बगलीमाराहरूलाई । दृष्टिहीनले दिशाभेद गर्न सक्दैन, त्यसैले सही दिशा देखाउन सक्छ ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
समारोहका प्रमुख अतिथि आएका थिएनन् । वाचा गरेर पनि जुन अतिथि सही अवसरमा आउँदैनन् ती सधैँ समयमै आउने प्रमुख अतिथिभन्दा ठुला मानिन्छन्, जस्तो त्यो कवि ठुलो हुन्छ जसले पेश्की खाएको हुन्छ र पनि कविसम्मेलनमा आउँदैन । एउटा कविलाई चिन्दछु जसले सबैजसो ठाउँको पेश्की खाएका हुनाले अब उनलाई कसैले बोलाउँदैन । उनी अब कविकर्मबाट नै अवकाशमा छन् ।
संयोजकले आत्तिएर हलमा चारैतिर दृष्टि पुर्याउँदै थिए । उनको खोजी दोहोरो थियो – प्रमुख अतिथिलाई पनि खोज्दै थिए भने उनको अनुपस्थितिमा प्रमुख अतिथि बनाउन मिल्ने पात्र पनि खोज्दै थिए । प्रमुख अतिथिको बनावट नै छुट्टै किसिमको हुन्छ । गान्धीजीले खादीको धोती कुर्ता लगाउन लगाएर र नेहरूजीले ज्याकेट लगाउन लगाएर कैयौँ पुस्ताका लागि प्रमुख अतिथिको बनावट निश्चित गरिदिएका थिए । स्वतन्त्रताभन्दा पहिले यिनीहरू दुब्ला थिए, त्यसैले प्रमुख अतिथि बन्न सक्दैनथे । स्वतन्त्रतापछि यिनीहरू मोटा भए, केहीको त भुँडी नै भ्यात्त बाहिर आयो अनि आदर्श प्रमुख अतिथि बन्न थाले । यता केही वर्षदेखि म के देख्दै छु भने म पनि फुर्तीसाथ प्रमुख अतिथिको रूपमा ढालिँदै छु । कुर्ता, पाइजामा र ज्याकेट म पहिलेदेखि नै लगाउँछु । यता आएर कपडा बढी लाग्न थालेको छ । जतिजति कपडा बढी लाग्दै छ उतिउति म प्रमुख अतिथिको गद्दीतिर बढ्दै छु ।
कुनामा राखिएका फूलमालाहरूका आँखा निस्केका छन् । तिनीहरूले आफ्ना प्रमुख अतिथिको खोजी गर्दै छन् । म फूलमालाहरूसित आँखा जुुधाउँदै छुु । निकै ‘फ्रस्टेसन’ छ तिनीहरूका आँखामा र छ ठुलो निराशा पनि । वाचा गरेर पनि यदि प्रेमी कफी हाउसमा भेटिन्न भने त्यस मनःस्थितिमा सुन्दरीलाई फकाउनु सहज हुन्छ । म देख्दै छु, मालाहरूले मसित आँखा जुधाउँदै छन् । यता संयोजकहरूका आँखा पनि बारम्बार मतिर नै सोझिँदै छन् र आपसमा कानेखुसी पनि गर्दै छन् । उनीहरू पदपूरक प्रमुख अतिथिका रूपमा मलाई जोख्दै छन् । पदपूरकमा सानाहरूको भाग्य चम्किन्छ । रामको पदपूर्तिका रूपमा रामका खराउ सिंहासनमा बसेका थिए ।
तीनजना संयोजकहरू ढोकाछेउमा उभिएर सल्लाह गर्दै छन् । उनीहरू पटकपटक मतिर हेर्छन् । उनीहरूलाई प्रमुख अतिथिको आवश्यकता छ । उनलाई माला लगाइदिनु छ । माला लगाइदिनु केही मान्छेको सुस्वास्थ्यका लागि जरुरी हुन्छ । यदि उनीहरूले महिनामा कम्तीमा एकजनालाई पनि माला लगाइदिन पाएनन् भने उनीहरूको स्वास्थ्यस्थिति बिग्रिन थाल्छ । माला लगाइदिनेहरूको आवश्यकता हरेक समाजलाई पर्छ । यदि यति हुन सकेन भने माला लगाउनेहरूको घाँटी नै साँघुरिन थाल्छ । एकजना महाशयलाई मन्त्रिमण्डलबाट निस्किँदा माला लगाइदिने कोही हुन्नथ्यो । अनि उनको स्वास्थ्यस्थिति बिग्रिन थाल्यो । डाक्टरहरूले उनलाई फूलमालाको सेवन गर्ने परामर्श दिए । उनले एउटा मालीलाई दश रुपैयाँ महिना दिएर प्रतिदिन एउटा माला लगाइदिने काममा लगाइदिए । साँझ उनी कुर्सीमा ठाँटिएर बस्थे, माली आउँथ्यो अनि माला लगाइदिन्थ्यो । उनी भन्थे –‘दाजुभाइ दिदीबहिनीहरू !’……उनको स्वास्थ्य त राम्रो हुन थाल्यो तर मालीको स्वास्थ्य बिग्रिन थाल्यो । सबै जनालाई माला लगाइदिनु अनुकूल पनि हुँदैन । आआफ्नो प्रकृति हो । भगवान्ले भूतलमा कुनै ठुलो काम गर्थे अनि बेकामका देवताहरूले आकाशबाट पुष्पवर्षा गर्थे । दुवैको स्वास्थ्य ठिक रहन्थ्यो । काम गर्नेका निम्ति फूल टिप्दा पनि बेकामेहरूको समय राम्रैसँग बित्छ ।
अब भने संयोजकहरू निर्णयमा पुग्दै छन् । टाढा छन् तर उनीहरूको हस्तपादसञ्चालन देखेर नै कुराकानी सुनिरहेको छु । एउटा भन्थ्यो, ‘परसाईजी नै ठिक छन् ।’ अर्काको अनुहार खिन्न हुन्थ्यो र भन्थ्यो –‘हैन हो, उनी जम्दैनन् ।’ अनि तेस्रो भन्थ्यो –‘यहाँ अर्को कोही छैन अनि समय धेरै भइसक्यो ।’ अनि मेरो पक्षमा बहुमत भयो । म ज्याकेटका टाँक लगाउन थाल्छु र कपाल मसारमुसुर गर्न थाल्छु । ठिक छन् । अनुहारको घटियापन नदेखियोस् र भित्र लुकेको गम्भीरता बाहिर देखियोस् भनेर रुमालले मुख पुछ्छु । अब उनीहरू आउँदै छन् । मालाहरूले एकोहोरो मलाई हेर्दै छन् । आखिर तिनीहरूले घाँटी भेटाइहाले ।
म मञ्चमा पुगेँ । पदपूर्तिको प्रमुख अतिथि त म पहिले पनि एकपटक बनिसकेको छु । त्यति वेला संस्थाका मन्त्रीले मानिसहरूसित भनेका थिए –‘अमुकजी नआउनुभएकामा हामीलाई निकै दुःख लागेको छ जसले गर्दा परसाईजीलाई प्रमुख अतिथि बनाउनु परेको छ । यहाँहरूले हामीलाई क्षमा गर्नुहुनेछ भन्ने आशा राखेका छौँ ।’ यो सुनिसकेपछि पनि म निर्लज्ज भएर बसि नै रहेँ ।
मलाई माला लगाइदिन थालियो । मलाई यसको अभ्यास त्यति छैन अनि अझै घाँटी पनि मालाका निम्ति अनुकूल छैन । मैले कैयौंँ यस्ता घाँटीहरू पनि देखेको छु मानौँ ती माला लगाउनकै निम्ति बनेका हुन् । घाँटी र माला एकदम ‘मेड फर इच अदर’ हुन्छन् । माला हाम्फाल्दै घाँटीमा टाँसिन्छ । फूलको प्रहार विकट हुन्छ । कैयौँ घाँटीहरू, जुन लडाइँमा काटिनका लागि पुष्ट पारिएका थिए ती माला लगाएर लचिला बनेका थिए । यता एउटा क्रान्तिकारी बस्थे जसको घाँटी तन्केको हुन्थ्यो । तर उनलाई माला लगाउने अम्मल लाग्यो । अब उनको घाँटी छुँदा भित्र पानी भरिएकोजस्तो लाग्छ । पहिले जनआन्दोलनमा प्रमुख अतिथि बन्थे, अब मीना बजारमा प्रमुख अतिथि बन्छन् ।
मैले दशबाह्र माला लगाएँ अनि मेरो सबै अभिमान सकियो । फूलको प्रहार नराम्रो हुन्छ । यदि कुनै प्रकारले सिंहलाई फूलको माला लगाइदिन सकियो भने उसलाई मार्न गोली चाहिँदैन । उसले तुरुन्त हात जोडेर भन्नेछ –‘मैले गर्न मिल्ने कुनै सेवा छ कि ?’
मन्त्रीले माइकमा भन्छ –‘परसाईजीले हामीलाई दिशानिर्देश गर्नुहुनेछ ।’ यो तरुणहरूको संस्था हो । मैले यिनलाई कुन दिशानिर्देश गरूँ ? यहाँ त हरेक दिशामा दिशाशूल छ । कहिले प्राविधिक शिक्षाको दिशामा लाग्नुपर्छ भन्ने सोचियो । तर हजारौँ इन्जिनियरहरू बेकार छन् । त्यस दिशामा पनि दिशाशूल निस्क्यो ।
के दिशा बताऊँ ? यी तरुणहरूले यहाँ मजस्ताको घाँटीमा माला लगाउँदै छन् भने बङ्गालमा यिनकै उमेरका तन्नेरीहरूले मजस्ताको घाँटी काटिरहेका छन् । कुन दिशा सही हो ? माला लगाइदिने कि घाँटी छिनाइदिने ?
कसैलाई दिशाबोध छैन । दिशा पाउनकै लागि यहाँका राजनीतिक दलहरूले एउटा अधिवेशन उत्तर श्रीनगरमा गर्छन् भने अर्को दक्षिण त्रिवेन्द्रम्मा गर्छन् । तेस्रो पूर्व पटनामा र चौथो पश्चिम जोधपुरमा गर्छन् । तर चारैतिर घुम्दा पनि जहाँको त्यहीँ रहछन् । वामतिर हिँड्दाहिँड्दै फर्केर दक्षिणपन्थी बन्छन् ।
मलाई दिशाको ज्ञान नै छैन । केही वर्षपहिले मैले नयाँ लेखकका रूपमा दिशाको खोजी गरेको थिएँ । त्यसै वेला अरूले भने –‘बेकुप, दिशा फेला पार्ने लेखक त घटिया हुुन्छ । सही लेखक त दिशाहीन हुन्छ । जसलाई कहाँ जाने भन्ने थाहा पनि हुँदैन नि, त्यही उच्च स्तरको लेखक हो ।’
मैले दिशा छाडिदिएँ । म लेखकहरूलाई चौबाटामा चारैतिर जाँदै गरेको देख्दै छु । तर तिनीहरू टाढा जाँदैनन् । फर्की फर्की त्यही चौबाटामा आउँछन् अनि उनीहरूलाई उठाएर लैजाने कार कहिले आउला र त्यसमा बसेर अन्य लेखकलाई ‘टाटा’ गरेर कहिले जान पाइएला भनेर प्रतीक्षा गर्छन् । बम्बई, कलकत्ता र दिल्लीमा त हवाइजहाजले उडाएर लैजान्छ रे ! मैले दिशाको खोजीमा जुत्ताका तलुवा खियाइरहेँ अनि चौबाटाको ध्यान नै गरिनँ । ढिलो गरेर जब चौबाटामा आउँछु त के देख्छु भने साथै आएकाहरूलाई त उठाइसकिएको रहेछ ।
अहँ, म दिशा देखाउन सक्दिनँ । जतिसुकै फूलमालाले पुरे पनि सक्दिनँ । आज त दृष्टिहीनले मात्र दिशानिर्देश गर्न सक्छ । उनीहरूले नै दिशानिर्देश गर्दै पनि छन् । बिहान युवकहरूलाई दिशा देखाउँछन् अनि साँझ वृद्धहरूलाई । भोलि डाक्टरहरूलाई दिशा देखाउने छन् अनि पर्सि बगलीमाराहरूलाई । दृष्टिहीनले दिशाभेद गर्न सक्दैन, त्यसैले सही दिशा देखाउन सक्छ ।
मैले श्रोताहरूसित भनेँ – ‘मलाई दिशाको ज्ञान छैन । अनि म निकै दयालु तथा सज्जन प्रमुख अतिथि हुँ । म तपाईंहरूलाई कुनै दुःख दिन्नँ अर्थात् भाषण गर्दिनँ ।
श्रोताहरूले लामो भाषण सुन्नका लागि सम्पूर्ण शक्तिसञ्चय गरिसकेका थिए । सर्प देखियो भने मान्छेले त्यसबाट जोगिन स्नायुहरूलाई दह्रो बनाउँछ र मांसपेशीलाई पनि अँठिलो पार्छ । तर जब त्यो सर्पजस्तो देखिएको वस्तु डोरी हो भन्ने थाहा हुन्छ अनि राहत पाउँछ । तर साथसाथै एक प्रकारको शिथिलता र पतन पनि महसुस हुन्छ । मेरा श्रोताहरूको पनि यस्तै स्थिति थियो । जसलाई सर्प ठानेका थिए, त्यो त डोरी पो निस्क्यो ।
पछि संयोजकरूले भने –‘तपाईंले भाषण किन गर्नुभएन ?’ मैले भनेँ – ‘ती श्रोताहरू मेरा थिएनन् । तिमीहरूका ती प्रमुख अतिथिका थिए । मैले अर्काले मारेको सिकार खान्नँ ।’
०००
‘परसाई रचनावली’ भाग ३ को ‘दिशा बताइए’ शीर्षकबाट नेपाली अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































