नन्दलाल आचार्यगाईबुद्धि
टोलका ठिटाहरू चिया पसलमा बसेर फेरि हाँस्न थाले । कान्छेले भन्यो- "गाईजात्रा हरेक साल आउँछ, तर गाईबुद्धि त हामीमै स्थायी हुन्छ जस्तो छ !"

नन्दलाल आचार्य :
“यो पटक पनि हाम्रो टोलको गाईले जित्ने पक्का !”
चिया पसलको कुनामा बसिरहेका मुखिया धनसिंहले चिया चुस्दै गर्जिए, जसको आवाज नजिकैको तरकारी बजारसम्म गुञ्जियो ।
सहरमा गाईजात्राको रौनक थियो । बाटोघाटो, गल्लीकुना, पार्क र चौतारी- सबैतिर गाई, भैँसी, भेडा र नेता समानान्तर देखिन्थे ।
तर यो गाईजात्रा परम्परागत धार्मिक होइन, राजनीतिक ‘गाईबुद्धि’को प्रहसन थियो ।
गाईका मुखुण्डो लगाएका नेताहरू घोषणापत्रको टोकरी काँधमा बोकेर टोलटोल डुलिरहेका थिए । कतै त मास्क लगाएर नेता,
कतै बिना मास्ककै गाई- फरक छुट्याउन सक्ने स्थिति थिएन ।
सडकछेउ सिङजस्तै ठडिएका प्लेकार्डहरू थिए- ‘शून्य भ्रष्टाचार’ ‘दश लाखको विकास’ ‘भैंसी पनि हाँस्ने समृद्धि !’
आँखा चिम्लेर पढे पनि हाँसो छुट्ने शैलीमा लेखिएको- ‘भोट हाल्नुस्, बच्चा फाल्नुस्, बाँकी काम सरकारले गर्छ !’
मुखिया धनसिंहका दायाँबायाँ टोलका ठिटाहरू जमघट भई चिया पसलमा गफिँदै थिए । वीरे, पाखे, जलेश्वर, कान्छो सबै आफ्ना सुरमा थिए ।
वीरेले एक गहिरो चुस्की मार्दै भन्यो, “गाई त हुन् नि सबै… फरक यति हो- एउटाको दुध आउँछ, अर्काको बकबक !”
सबै हाँसे, चिया पसल हाँसोको फोहोरामा परिणत भयो । धनसिंहले चिया कचौरा मुन्तिर राख्दै थपे-
“ए मुठ्ठी ! त्यो पनि त साँचो हो, बकबकमै त विकासका सपना सुनिन्छन् !”
चोकको गोरुजात्रा जस्तै गाईजात्रा पनि नाटकीय थियो । गाई बनेका नेताहरू टोलपिच्छे नारा घन्काउँदै थिए-
“हाम्रै पुछार समाउनुस्, गोठ पुगिन्छ !”
“भोट दिनुस्, भात पाइन्छ !”
“आजै समर्थन, भोलि नियुक्ति !”
भीड बाक्लिँदै गयो । मोबाइल निकालेर भिडिओ खिच्नेलाई पनि सस्तो डाटा प्याकमा लोकगीतसहित भाषण फ्री थियो ।
त्यही भिडभाडमा, एक सानोतिनो बालक आमासँग हात समातेर उभिएको थियो । नेतालाई गाईको मास्क लगाएर नारा लगाउँदै गरेको देख्दा बालकको अनुहारमा अचम्मको लहर आयो ।
उसले चुपचाप आमाको आँचल तान्यो- “आमा, गाईजात्रामा देखिने यी मान्छेहरू साँच्चिकै गाई हुन् त ?”
आमाले झस्किँदै मुस्कान छरेर उत्तर दिइन्- “हो बाबु, अहिले गाई बनेका छन्, गाईजात्रा सकिएपछि फेरि सरकार बनेर फर्किन्छन् !”
छेउमै रहेको वीरेले त्यो कुरो सुनेर धनसिंहलाई फेटा तानेर भने, “मुखिया, अनि हामीद ?”
धनसिंहले अब आफ्नो आवाज केही सानो बनाए, “हामी त सधैं चिया पसलमा बसीबसी विकासको गफ सुन्ने ‘बौद्धिक गाई’ हो नि बा !”
भीडभित्रै एक जना गाई बनेका नेताले माइक समाते, “जनताज्यू, यो गाईजात्रा केवल रमाइलो होइन,
हामी तपाईँको सेवामा छौं- भोट दिनुस्, सरकार तपाईंको ढोकामा !”
टोलका ठिटाहरू चिया पसलमा बसेर फेरि हाँस्न थाले । कान्छेले भन्यो- “गाईजात्रा हरेक साल आउँछ, तर गाईबुद्धि त हामीमै स्थायी हुन्छ जस्तो छ !”
धनसिंह चुपचाप टोलाउँदै हेर्दै थिए- नारा, मास्क, घोषणापत्र… गाईहरू उस्तै थिए, तर फेरि पनि जित्ने त त्यही पुरानै गाई !
०००
२०८२/०४/०३
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
Subscribe
Login
0 Comments
Oldest








































