साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘लिटरेचरले मार्‍यो तिमीलाई !’

ती छुट्टै होलान् जसका देवताहरू छिटोछिटो फेरिएलान् । उनीहरू रामलाई पनि ढोग्छन्‌ र रावणलाई पनि ढोग्छन् । उनीहरू दिनमा त हाँसको चुच्चो मुसार्छन् तर रातमा उल्लुसित कुराकानी गर्छन् ।

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

म दीपावलीमा लक्ष्मीको पूजा गर्दिनँ । न मेरो घरका भित्ताहरूमा भद्दा अक्षरहरूमा ‘श्रीलक्ष्मीजी सदा प्रसन्न रहून्‌’ भनेर लेखिएको छ र न स्वस्तिकको चिह्न बनेको छ । पूजा मेरो प्रकृतिसित मेल नखाने कुरो हो । कसैको पूजा गरेँ भने कि उसको कि आफ्नै हानि हुन्छ । मेरो एउटा साथी छ, उसको स्वभाव पनि यस्तै छ । उसले एउटा प्रकाशकका निम्ति पाठ्यपुस्तकहरू लेख्यो तर ती छापिँदासम्म प्रकाशकका पिताको मृत्यु भयो । केही महिनापछि प्रकाशकको प्रबन्धकसित भेट हुँदा उसले उसको एउटा किताब पनि बोर्डमा स्वीकृत भएन भनेर बतायो । मैले भनेँ, ‘यो त निकै शुभ भएछ । यदि उसको एउटा किताब पनि स्वीकृत भएको भए त प्रकाशकको पूरै वंश मरिसक्थ्यो । त्यस मान्छेको सम्पर्कबाट सधैँ अशुभ नै हुन्छ (बदनामीको डरले उसको नाम भने भन्दिनँ )।’

मैले पनि दश वर्षदेखि सत्र वर्षको आयुसम्म लक्ष्मीको पूजा गरेँ । लक्ष्मीजीको वात्सल्य बालकप्रति जाग्छ कि भन्ने सोचेर पिताजीले मबाट पूजा गराउनुभयो । तर उनी आइनन् । यता वर्षौवर्ष मैले उनको पूजा गरिरहेँ अनि उतातिर पिताजीको व्यवसाय चौपट हुँदै रह्यो । प्रत्येक वर्ष पालाहरूको सङ्ख्या तथा तिनमा तेलको मात्रा घट्न थाल्यो । उमेर बढ्दै जाँदा पटकाहरूमा पनि मेरो रुचि घट्दै गयो । पटका त केटाकेटी छँदै रमाइलो लाग्छ । सानो छँदा मैले पनि त्यस्तै आनन्दमा पटका पड्काउँथेँ जसरी चिनले अहिले अणुबम पड्काएको छ । चिन अझैसम्म केटाकेटी नै छ । प्रौढ भएपछि पटका मन पर्दैन । अब रुसले पनि अणुबमबाट मुक्ति पाउन खोजेको छ । केही राष्ट्र र व्यक्तिहरूको केटौलेपन कहिल्यै जाँदैन । मैले बुढाहरूले पनि कुकुरको पुच्छरमा पटकाको लहर बाँधेर आगो लगाएको देखेको छु । अमेरिका पनि टोकिनको खाडीमा अणु पटका लिएर घुमिरहेको छ ।

विषयान्तर हुँदै छ, हैन ? ठिक छ, लक्ष्मीकै कुरा गर्छु । सात वर्षसम्म निरन्तर लक्ष्मीको पूजा गर्नुको परिणाम के निस्क्यो भने पिताजीको व्यवसाय पूर्ण रूपले समाप्त भयो अनि लक्ष्मीको यो भक्त म्याट्रिक पास गर्नासाथ जागिर खोज्न निस्क्यो । नोकरी पनि कहाँ गर्‍यो त भन्दा स्कुलको मास्टरी । न इनकम ट्याक्सको न एक्साइजको । फेरि जागिर छोडेर स्वतन्त्र व्यवसायमा आयो, तर कहाँ ? न सिमेन्टमा, न गल्लामा, न हार्डवेयरमा । साहित्यमा ! मतिभ्रष्ट मान्छेले अरू के पो गर्छ र ? अब त लक्ष्मीजी यस टोलमा आइहालिन् भने पनि टाढाबाटै मेरो ‘नेमप्लेट’ पढेर सडकको पल्लो छेउतिर लाग्छिन् । टोलका दुईचारवटा घरमा पसेर गइहाल्छिन् । कसैलाई त सोधि पनि हाल्दी रहिछन् – ‘सुन्छु, यस टोलमा कुनै मूर्ख पनि बस्छ ! हो ? कुनै साहित्यवाहित्यको वाहियात काम गर्छ रे !’ अनि कसैले भनि पनि दिन्छ –‘अँ, हो । उः त्यहाँ बस्छ ।’ अनि उनी फनक्क फर्केर जान्छिन् ।

मेरो एउटा साथीले भन्छ पनि –‘तिमीलाई लिटरेचर (साहित्य)ले मार्‍यो परसाई ।
मार्‍यो, थचक्कै पार्‍यो । पुस्तक लेख्नेभन्दा पुस्तक बेच्ने ठूलो हुन्छ । कथाकारभन्दा कथावाचक ठूलो हुन्छ । सृष्टिकर्ताभन्दा सृष्टिहर्ता ठूलो हुन्छ ।

म कथा लेख्छु अनि त्यो चौराहामा कथावाचकले कथाको वाचन गर्छ । त्यो कथा तुलसीदासजीले लेखेका थिए । कथावाचकको आरतीको थाली भरिन्छ । माथिबाट दक्षिणा पनि पाउँछ, त्यो छुट्टै । म एउटा कथालेखक हुँ तर सडकको छेउमा उभिएर क्वार्क्वार्ती हेरि मात्र रहन्छु ।
त्यस दिन ज्ञानरञ्जनले भनेको थियो –‘यो कथावाचक हिन्दीमा एम. ए. हो ।’
मैले भनेँ –‘उसलाई हेर अनि मलाई हेर । एउटा हिन्दीमा एम. ए. हो अनि एउटा म छु । एम. ए. गरेर उसको त बुद्धिको बिर्को खुल्यो तर मेरो झन् कसिएर लाग्यो । म लेख्ने खेलमा फँसेँ अनि उसले केवल वाचनको अभ्यास गर्‍यो । ऊ चल्यो अनि म ? पाठ्युपुस्तकभन्दा गेसपेपर धेरै बिक्छ ।’
‘लिटरेचरले मार्‍यो तिमीलाई ।’ मेरो साथी यही भनिरहन्छ ।

यार, तर मैले गर्न पो के सक्थेँ र ? एक त लक्ष्मीको रूप नारीको, त्यसमाथि सवारी उल्लुको । यस्तो कल्पना जसले गरे पनि गजबको कल्पना गरेको हो । पक्कै कुनै समाजवादी हुँदो हो । एक त नारी त्यसमाथि उल्लुको सवारी, ऊ यता आउनै सक्दिन । उल्लुले पनि भन्दो हो –‘देवीजी, त्यता जाने भए ट्याक्सी लिएर जानुस् है ! म त्यसको घर जान्नँ । उसले मेरो सिङ्गो जातिसित नै घृणा गर्छ ।’ अनि त बिचरी फर्किन्छिन् होला । मलाई थाहा छ कहिलेकाहीँ कौतूहलवश उनले यता आउने प्रयास पनि गरेकी हुन् तर उल्लुले आउनै दिएन । उनले आफ्नी ‘सिस्टर’ र ‘क्लासफेलो’लाई पनि यता पठाएकी थिइन् तर उल्लुहरूले उनीहरूलाई पनि फर्काइदिए । मलाई त के लाग्छ भने लक्ष्मीजी पनि दिक्क परेर बस्दी हुन् उल्लुमाथि र उँघ्दै सुँघ्दी हुन् फूल पनि । उल्लु उड्दाउड्दै कसैकहाँ अडिन्छ अनि भन्छ –‘देवी, यो मेरो सालो हो । यसलाई केही दिनुस् न !’ लक्ष्मीले आफ्नो बैंकको चेक काटेर उसलाई थमाइदिन्छिन् । (त्यसो त लक्ष्मी बैंक लिमिटेड फेल भएको छ र निर्देशकहरू जेलमा थुनिएका छन् तर त्यसमा विष्णुकी पत्नीको सेयर थिएन ।) उल्लु फेरि कसैकहाँ गएर अडिन्छ र भन्छ, ‘देवी, यो मेरो साढूभाइ हो ।’ अनि लक्ष्मीले उसलाई पनि चेक काटेर दिन्छिन् । यसै गरी उल्लुले लक्ष्मीलाई काका, मामा, फुपाजु, भाइ, भतिजहरूकहाँ पुर्‍याउँदै चेक दिलाउँदै गर्छ ।
लक्ष्मीले सोध्छिन्, ‘के हो ? हरिशंकर परसाई तेरो कोही पर्दैन ?’
उल्लुले भन्छ, ‘देवी, त्यो त मेरो शत्रु हो । त्यसको त नाम पनि नलिनुस् ।’

लक्ष्मीको उत्पत्तिको कथा नै कस्तो छ भने उनलाई प्राप्त गर्नु मेरो वशभन्दा बाहिरको कुरो लाग्छ । लक्ष्मी समुद्रमन्थनपछि समुद्रबाट निस्केकी थिइन् । समुद्रमन्थन त देवताहरूले मात्र गरेका होइनन् । उनीहरूले दानवहरूको पनि सहयोग लिएका थिए । यदि देवताहरूले मात्र मन्थन गरेर समुद्रबाट लक्ष्मीजीलाई प्राप्त गरेका भए त मैले उनीहरूको जय भन्थेँ तर ‘दानवहरू’को सहयोगविना त उनीहरूले लक्ष्मीजीलाई पाउन सकेका होइनन् । अनि आफ्नो अर्थव्यवस्थाको जुन समुद्र छ त्यसको मन्थन गर्न मैले पनि दानवहरूसित समझौता गर्नुपर्‍यो । अनि मात्र लक्ष्मी बाहिर आउलिन् । फेरि पनि उनी मकहाँ नै आउँछिन् भन्ने पनि के थाहा ? उति वेला पनि त असङ्ख्य साधारण देवता पनि थिए तर तिनले कहाँ पाउन सके त लक्ष्मीलाई ? उनी त सरासर विष्णु भएका ठाउँमा पुगिन् र अँगालो हालिन् । अन्य देवताहरूले पनि कुनै ‘प्रोटेस्ट’ गरेनन् । गरून् पनि कसरी ? विष्णु त शक्तिमा, धनमा, रूपमा र चातुर्यमा धेरै ठुला थिए । जसले नारी बनेर आफ्नै मित्र शङ्करलाई झुक्याए उनको चतुर्‍याइँमा कुनै कमी थिएन । लक्ष्मी सरासर ‘मोनोपोली’मा गएर मिलिन् । यदि मैले दानवहरूसित मिलेर समुद्रमन्थन गरेँ र लक्ष्मी पनि निस्किन् तर फेरि पनि उनी पहिलेझैँ ‘मोनोपोली’सँग नै गइन् भने ? साहित्यमा पनि त ‘मोनोपोली’ छ नि ! मोनोपोलीले सानालाई हुर्किन दिँदैन । एउटा गरिब मुनि नारदलाई विवाह गर्नका लागि एउटा राम्रो अनुहार चाहिएको थियो अनि विष्णुले उनलाई बाँदरको अनुहार दिए । अनि त्यस कन्याको स्वयंवरमा आफैँ गएर बसे जसमाथि उनको मन बसेको थियो । उनले वरमाला आफ्नो घाँटीमा लगाएर उनलाई भने, ‘नारद, यो तिम्रो मोह हो ।’ अनि हजुरको चाहिँ के हो नि त ?
मलाई पनि सुझावहरू प्राप्त हुन्छन् – अहो, कलाकार त त्यागी हुन्छन् । उनीहरू धनको लोभमा पर्दैनन् ।

म सोध्छु – अनि तपाईँ नि हजुर ? तपाईं पर्न सक्नुहुन्छ ? धनको लोभ नराम्रो कुरो हो भने तपाईं किन त्यसमा पर्नुहुन्छ ?
यी सबै अरूलाई बाँदरको अनुहार देखाएर आफैँ स्वयंवरमा बस्नेहरू हुन् ।
मेरा एकजना परिचित व्यापारीले भने – पैसाले पैसा कमाउँछ । यहाँको बजारमा एक पैसा फाल त्यसले दसवटा लिएर आउँछ ।

मैले यो उपाय पनि अपनाएँ । बजारका बिचमा उभिएर मैले एक पैसा सडकमा फालेँ र अब यसले पुरै बजारमा घुमेर दशबाह्र पैसालाई अघिपछि लगाएर आउँछ । त्यो आएपछि दश रुपैयाँको नोट नै फालिदिन्छु अनि दुईचार दिनमा सिङ्गो बजार नै लुटिदिन्छु भनेर सोचिरहेँ । तर त्यो पैसा त्यहाँबाट टसमस भएन र कतै गएन । अनि मैले त्यो टिपेर खल्तीमा हालेँ ।
त्यस व्यापारीलाई भनँे – पैसा त मैले पनि बजारमा फालेको थिएँ तर त्यसले त केही ल्याएन ।
उसले भन्यो – यसरी हुँदैन । हाम्रो पैसामा बल्छी लागेको हुन्छ । त्यसले पैसालाई पनि माछालाई जस्तै समाउँछ ।
अब म पैसामा कसरी बल्छी लगाऊँ ?
मेरो उही साथी भन्छ – तिमीलाई लिटरेचरले मार्‍यो । सरस्वतीको पक्षमा गएपछि लक्ष्मीजीले तिम्रो पत्ती नै काटिदिइन् ।

म आखिर यता किन गएँ ? त्यसो त साँचो कुरो गर्ने हो भने सरस्वती बढी ‘कल्चर्ड’ (सुसंस्कृत) हुन् । उनका हातमा वीणा र पुस्तक छन् । चराको नै सवारी गर्ने रहर भए पनि उनले उल्लु नरोजेर हाँस रोजिन् । लक्ष्मीको त सबै काम फोहरी छ । सवारीदेखि शृङ्गारसम्म । तस्वीरमा हेर न, फूलमा उभिएकी छन् । अरे, यति कोमल तथा सुन्दर वस्तु के उभिनका लागि हो ? लक्ष्मीमा सौन्दर्यबोध त पटक्कै छैन । यदि उनले सरस्वतीको वीणा पाइन् भने त्यसका तारहरू चुँडालेर त्यसले उल्लुलाई बाँध्ने थिइन् । सम्पन्न फोहरीतिर सुरुचिको आकर्षण होस् पनि कसरी ?
मेरो साथी भन्छ – हुँदैन भने भोग । मार्‍यो नि त तिमीलाई लिटरेचरले !

उसलाई भनिरहन देऊ । अझै कैयौँ निर्णयहरू बाँकी नै छन् । अझै त को मर्‍यो वा को बाँच्यो भनेर के भन्न सकिन्छ र ? अहँ, अब लक्ष्मीको पूजा हुँदैन । ती छुट्टै होलान् जसका देवताहरू छिटोछिटो फेरिएलान् । उनीहरू रामलाई पनि ढोग्छन्‌ र रावणलाई पनि ढोग्छन् । उनीहरू दिनमा त हाँसको चुच्चो मुसार्छन् तर रातमा उल्लुसित कुराकानी गर्छन् ।
देवता फेर्नु त्यति सजिलो छैन । त्यसमा पनि देवी फेर्नु त झनै कठिन हुन्छ ।

०००
परसाईं रचनावली, भाग ३ को ‘लिटरेचर ने मारा तुम्हें’ निबन्धबाट नेपाली अनुवाद

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x