हरिशंकर परसाईं‘लिटरेचरले मार्यो तिमीलाई !’
ती छुट्टै होलान् जसका देवताहरू छिटोछिटो फेरिएलान् । उनीहरू रामलाई पनि ढोग्छन् र रावणलाई पनि ढोग्छन् । उनीहरू दिनमा त हाँसको चुच्चो मुसार्छन् तर रातमा उल्लुसित कुराकानी गर्छन् ।

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद : रमेश समर्थन
म दीपावलीमा लक्ष्मीको पूजा गर्दिनँ । न मेरो घरका भित्ताहरूमा भद्दा अक्षरहरूमा ‘श्रीलक्ष्मीजी सदा प्रसन्न रहून्’ भनेर लेखिएको छ र न स्वस्तिकको चिह्न बनेको छ । पूजा मेरो प्रकृतिसित मेल नखाने कुरो हो । कसैको पूजा गरेँ भने कि उसको कि आफ्नै हानि हुन्छ । मेरो एउटा साथी छ, उसको स्वभाव पनि यस्तै छ । उसले एउटा प्रकाशकका निम्ति पाठ्यपुस्तकहरू लेख्यो तर ती छापिँदासम्म प्रकाशकका पिताको मृत्यु भयो । केही महिनापछि प्रकाशकको प्रबन्धकसित भेट हुँदा उसले उसको एउटा किताब पनि बोर्डमा स्वीकृत भएन भनेर बतायो । मैले भनेँ, ‘यो त निकै शुभ भएछ । यदि उसको एउटा किताब पनि स्वीकृत भएको भए त प्रकाशकको पूरै वंश मरिसक्थ्यो । त्यस मान्छेको सम्पर्कबाट सधैँ अशुभ नै हुन्छ (बदनामीको डरले उसको नाम भने भन्दिनँ )।’
मैले पनि दश वर्षदेखि सत्र वर्षको आयुसम्म लक्ष्मीको पूजा गरेँ । लक्ष्मीजीको वात्सल्य बालकप्रति जाग्छ कि भन्ने सोचेर पिताजीले मबाट पूजा गराउनुभयो । तर उनी आइनन् । यता वर्षौवर्ष मैले उनको पूजा गरिरहेँ अनि उतातिर पिताजीको व्यवसाय चौपट हुँदै रह्यो । प्रत्येक वर्ष पालाहरूको सङ्ख्या तथा तिनमा तेलको मात्रा घट्न थाल्यो । उमेर बढ्दै जाँदा पटकाहरूमा पनि मेरो रुचि घट्दै गयो । पटका त केटाकेटी छँदै रमाइलो लाग्छ । सानो छँदा मैले पनि त्यस्तै आनन्दमा पटका पड्काउँथेँ जसरी चिनले अहिले अणुबम पड्काएको छ । चिन अझैसम्म केटाकेटी नै छ । प्रौढ भएपछि पटका मन पर्दैन । अब रुसले पनि अणुबमबाट मुक्ति पाउन खोजेको छ । केही राष्ट्र र व्यक्तिहरूको केटौलेपन कहिल्यै जाँदैन । मैले बुढाहरूले पनि कुकुरको पुच्छरमा पटकाको लहर बाँधेर आगो लगाएको देखेको छु । अमेरिका पनि टोकिनको खाडीमा अणु पटका लिएर घुमिरहेको छ ।
विषयान्तर हुँदै छ, हैन ? ठिक छ, लक्ष्मीकै कुरा गर्छु । सात वर्षसम्म निरन्तर लक्ष्मीको पूजा गर्नुको परिणाम के निस्क्यो भने पिताजीको व्यवसाय पूर्ण रूपले समाप्त भयो अनि लक्ष्मीको यो भक्त म्याट्रिक पास गर्नासाथ जागिर खोज्न निस्क्यो । नोकरी पनि कहाँ गर्यो त भन्दा स्कुलको मास्टरी । न इनकम ट्याक्सको न एक्साइजको । फेरि जागिर छोडेर स्वतन्त्र व्यवसायमा आयो, तर कहाँ ? न सिमेन्टमा, न गल्लामा, न हार्डवेयरमा । साहित्यमा ! मतिभ्रष्ट मान्छेले अरू के पो गर्छ र ? अब त लक्ष्मीजी यस टोलमा आइहालिन् भने पनि टाढाबाटै मेरो ‘नेमप्लेट’ पढेर सडकको पल्लो छेउतिर लाग्छिन् । टोलका दुईचारवटा घरमा पसेर गइहाल्छिन् । कसैलाई त सोधि पनि हाल्दी रहिछन् – ‘सुन्छु, यस टोलमा कुनै मूर्ख पनि बस्छ ! हो ? कुनै साहित्यवाहित्यको वाहियात काम गर्छ रे !’ अनि कसैले भनि पनि दिन्छ –‘अँ, हो । उः त्यहाँ बस्छ ।’ अनि उनी फनक्क फर्केर जान्छिन् ।
मेरो एउटा साथीले भन्छ पनि –‘तिमीलाई लिटरेचर (साहित्य)ले मार्यो परसाई ।
मार्यो, थचक्कै पार्यो । पुस्तक लेख्नेभन्दा पुस्तक बेच्ने ठूलो हुन्छ । कथाकारभन्दा कथावाचक ठूलो हुन्छ । सृष्टिकर्ताभन्दा सृष्टिहर्ता ठूलो हुन्छ ।
म कथा लेख्छु अनि त्यो चौराहामा कथावाचकले कथाको वाचन गर्छ । त्यो कथा तुलसीदासजीले लेखेका थिए । कथावाचकको आरतीको थाली भरिन्छ । माथिबाट दक्षिणा पनि पाउँछ, त्यो छुट्टै । म एउटा कथालेखक हुँ तर सडकको छेउमा उभिएर क्वार्क्वार्ती हेरि मात्र रहन्छु ।
त्यस दिन ज्ञानरञ्जनले भनेको थियो –‘यो कथावाचक हिन्दीमा एम. ए. हो ।’
मैले भनेँ –‘उसलाई हेर अनि मलाई हेर । एउटा हिन्दीमा एम. ए. हो अनि एउटा म छु । एम. ए. गरेर उसको त बुद्धिको बिर्को खुल्यो तर मेरो झन् कसिएर लाग्यो । म लेख्ने खेलमा फँसेँ अनि उसले केवल वाचनको अभ्यास गर्यो । ऊ चल्यो अनि म ? पाठ्युपुस्तकभन्दा गेसपेपर धेरै बिक्छ ।’
‘लिटरेचरले मार्यो तिमीलाई ।’ मेरो साथी यही भनिरहन्छ ।
यार, तर मैले गर्न पो के सक्थेँ र ? एक त लक्ष्मीको रूप नारीको, त्यसमाथि सवारी उल्लुको । यस्तो कल्पना जसले गरे पनि गजबको कल्पना गरेको हो । पक्कै कुनै समाजवादी हुँदो हो । एक त नारी त्यसमाथि उल्लुको सवारी, ऊ यता आउनै सक्दिन । उल्लुले पनि भन्दो हो –‘देवीजी, त्यता जाने भए ट्याक्सी लिएर जानुस् है ! म त्यसको घर जान्नँ । उसले मेरो सिङ्गो जातिसित नै घृणा गर्छ ।’ अनि त बिचरी फर्किन्छिन् होला । मलाई थाहा छ कहिलेकाहीँ कौतूहलवश उनले यता आउने प्रयास पनि गरेकी हुन् तर उल्लुले आउनै दिएन । उनले आफ्नी ‘सिस्टर’ र ‘क्लासफेलो’लाई पनि यता पठाएकी थिइन् तर उल्लुहरूले उनीहरूलाई पनि फर्काइदिए । मलाई त के लाग्छ भने लक्ष्मीजी पनि दिक्क परेर बस्दी हुन् उल्लुमाथि र उँघ्दै सुँघ्दी हुन् फूल पनि । उल्लु उड्दाउड्दै कसैकहाँ अडिन्छ अनि भन्छ –‘देवी, यो मेरो सालो हो । यसलाई केही दिनुस् न !’ लक्ष्मीले आफ्नो बैंकको चेक काटेर उसलाई थमाइदिन्छिन् । (त्यसो त लक्ष्मी बैंक लिमिटेड फेल भएको छ र निर्देशकहरू जेलमा थुनिएका छन् तर त्यसमा विष्णुकी पत्नीको सेयर थिएन ।) उल्लु फेरि कसैकहाँ गएर अडिन्छ र भन्छ, ‘देवी, यो मेरो साढूभाइ हो ।’ अनि लक्ष्मीले उसलाई पनि चेक काटेर दिन्छिन् । यसै गरी उल्लुले लक्ष्मीलाई काका, मामा, फुपाजु, भाइ, भतिजहरूकहाँ पुर्याउँदै चेक दिलाउँदै गर्छ ।
लक्ष्मीले सोध्छिन्, ‘के हो ? हरिशंकर परसाई तेरो कोही पर्दैन ?’
उल्लुले भन्छ, ‘देवी, त्यो त मेरो शत्रु हो । त्यसको त नाम पनि नलिनुस् ।’
लक्ष्मीको उत्पत्तिको कथा नै कस्तो छ भने उनलाई प्राप्त गर्नु मेरो वशभन्दा बाहिरको कुरो लाग्छ । लक्ष्मी समुद्रमन्थनपछि समुद्रबाट निस्केकी थिइन् । समुद्रमन्थन त देवताहरूले मात्र गरेका होइनन् । उनीहरूले दानवहरूको पनि सहयोग लिएका थिए । यदि देवताहरूले मात्र मन्थन गरेर समुद्रबाट लक्ष्मीजीलाई प्राप्त गरेका भए त मैले उनीहरूको जय भन्थेँ तर ‘दानवहरू’को सहयोगविना त उनीहरूले लक्ष्मीजीलाई पाउन सकेका होइनन् । अनि आफ्नो अर्थव्यवस्थाको जुन समुद्र छ त्यसको मन्थन गर्न मैले पनि दानवहरूसित समझौता गर्नुपर्यो । अनि मात्र लक्ष्मी बाहिर आउलिन् । फेरि पनि उनी मकहाँ नै आउँछिन् भन्ने पनि के थाहा ? उति वेला पनि त असङ्ख्य साधारण देवता पनि थिए तर तिनले कहाँ पाउन सके त लक्ष्मीलाई ? उनी त सरासर विष्णु भएका ठाउँमा पुगिन् र अँगालो हालिन् । अन्य देवताहरूले पनि कुनै ‘प्रोटेस्ट’ गरेनन् । गरून् पनि कसरी ? विष्णु त शक्तिमा, धनमा, रूपमा र चातुर्यमा धेरै ठुला थिए । जसले नारी बनेर आफ्नै मित्र शङ्करलाई झुक्याए उनको चतुर्याइँमा कुनै कमी थिएन । लक्ष्मी सरासर ‘मोनोपोली’मा गएर मिलिन् । यदि मैले दानवहरूसित मिलेर समुद्रमन्थन गरेँ र लक्ष्मी पनि निस्किन् तर फेरि पनि उनी पहिलेझैँ ‘मोनोपोली’सँग नै गइन् भने ? साहित्यमा पनि त ‘मोनोपोली’ छ नि ! मोनोपोलीले सानालाई हुर्किन दिँदैन । एउटा गरिब मुनि नारदलाई विवाह गर्नका लागि एउटा राम्रो अनुहार चाहिएको थियो अनि विष्णुले उनलाई बाँदरको अनुहार दिए । अनि त्यस कन्याको स्वयंवरमा आफैँ गएर बसे जसमाथि उनको मन बसेको थियो । उनले वरमाला आफ्नो घाँटीमा लगाएर उनलाई भने, ‘नारद, यो तिम्रो मोह हो ।’ अनि हजुरको चाहिँ के हो नि त ?
मलाई पनि सुझावहरू प्राप्त हुन्छन् – अहो, कलाकार त त्यागी हुन्छन् । उनीहरू धनको लोभमा पर्दैनन् ।
म सोध्छु – अनि तपाईँ नि हजुर ? तपाईं पर्न सक्नुहुन्छ ? धनको लोभ नराम्रो कुरो हो भने तपाईं किन त्यसमा पर्नुहुन्छ ?
यी सबै अरूलाई बाँदरको अनुहार देखाएर आफैँ स्वयंवरमा बस्नेहरू हुन् ।
मेरा एकजना परिचित व्यापारीले भने – पैसाले पैसा कमाउँछ । यहाँको बजारमा एक पैसा फाल त्यसले दसवटा लिएर आउँछ ।
मैले यो उपाय पनि अपनाएँ । बजारका बिचमा उभिएर मैले एक पैसा सडकमा फालेँ र अब यसले पुरै बजारमा घुमेर दशबाह्र पैसालाई अघिपछि लगाएर आउँछ । त्यो आएपछि दश रुपैयाँको नोट नै फालिदिन्छु अनि दुईचार दिनमा सिङ्गो बजार नै लुटिदिन्छु भनेर सोचिरहेँ । तर त्यो पैसा त्यहाँबाट टसमस भएन र कतै गएन । अनि मैले त्यो टिपेर खल्तीमा हालेँ ।
त्यस व्यापारीलाई भनँे – पैसा त मैले पनि बजारमा फालेको थिएँ तर त्यसले त केही ल्याएन ।
उसले भन्यो – यसरी हुँदैन । हाम्रो पैसामा बल्छी लागेको हुन्छ । त्यसले पैसालाई पनि माछालाई जस्तै समाउँछ ।
अब म पैसामा कसरी बल्छी लगाऊँ ?
मेरो उही साथी भन्छ – तिमीलाई लिटरेचरले मार्यो । सरस्वतीको पक्षमा गएपछि लक्ष्मीजीले तिम्रो पत्ती नै काटिदिइन् ।
म आखिर यता किन गएँ ? त्यसो त साँचो कुरो गर्ने हो भने सरस्वती बढी ‘कल्चर्ड’ (सुसंस्कृत) हुन् । उनका हातमा वीणा र पुस्तक छन् । चराको नै सवारी गर्ने रहर भए पनि उनले उल्लु नरोजेर हाँस रोजिन् । लक्ष्मीको त सबै काम फोहरी छ । सवारीदेखि शृङ्गारसम्म । तस्वीरमा हेर न, फूलमा उभिएकी छन् । अरे, यति कोमल तथा सुन्दर वस्तु के उभिनका लागि हो ? लक्ष्मीमा सौन्दर्यबोध त पटक्कै छैन । यदि उनले सरस्वतीको वीणा पाइन् भने त्यसका तारहरू चुँडालेर त्यसले उल्लुलाई बाँध्ने थिइन् । सम्पन्न फोहरीतिर सुरुचिको आकर्षण होस् पनि कसरी ?
मेरो साथी भन्छ – हुँदैन भने भोग । मार्यो नि त तिमीलाई लिटरेचरले !
उसलाई भनिरहन देऊ । अझै कैयौँ निर्णयहरू बाँकी नै छन् । अझै त को मर्यो वा को बाँच्यो भनेर के भन्न सकिन्छ र ? अहँ, अब लक्ष्मीको पूजा हुँदैन । ती छुट्टै होलान् जसका देवताहरू छिटोछिटो फेरिएलान् । उनीहरू रामलाई पनि ढोग्छन् र रावणलाई पनि ढोग्छन् । उनीहरू दिनमा त हाँसको चुच्चो मुसार्छन् तर रातमा उल्लुसित कुराकानी गर्छन् ।
देवता फेर्नु त्यति सजिलो छैन । त्यसमा पनि देवी फेर्नु त झनै कठिन हुन्छ ।
०००
परसाईं रचनावली, भाग ३ को ‘लिटरेचर ने मारा तुम्हें’ निबन्धबाट नेपाली अनुवाद
Subscribe
Login
0 Comments
Oldest







































