साइबर अपराध सम्बन्धी सचेतना सामग्री

 ‘मगन्तेदेखि हगन्तेसम्म’ का मान्छेहरु !

सहरका लागि अभिसाप ठानिएका मगन्तेहरुदेखि हगन्तेसम्मका मान्छेलाई तह लगाउन महानगरले अब एउटा महाशाखा गठन गर्नुपर्ने अवस्था छ- ‘मगन्ते-हगन्ते नियन्त्रण महाशाखा

Nepal Telecom ad

अमर अधिकारी :

काठमाडौँ सहरका मुख्य चोकहरु वा दोबाटोहरुमा रहेका आकाशे पुलमा बिहानै कसैले दिसा गरिसकेको हुन्छ। घाम लागेपछि महानगरका कुचिकारहरुले कसरी सफा गर्छन् ? त्यो त थाहा भएन। तर दिउँसोतिर सफा भएको देखिन्छ। सायद बटुवाहरुले कुल्चँदै र माइनस गर्दै जानाले होला। पहिले पहिले ती आकासे पुलमा फुटपाथे व्यापारीहरुको व्यापार राम्रै चलेको हुन्थ्यो अहिले नगरपिता बालेनले हटाएपछि ‘बालेन’ लाई ‘भिलेन’ भन्नेहरु पनि देखिन्छन् सहरमा। बालेन पनि के कम ? दारी छँदैछ, कालो चस्मा ढल्काइहाल्छन्। हल्का भिलेन झैँ पनि देखिन्छन्, तर उनी सेलिब्रेटी र्यापर थिए।

मेयरबाट म्याद सकिएपछि शेयर कारोवारमा लाग्लान् वा अन्तै र्यापिङमा सक्रिय होलान् ? ठोकुवा गरेर भन्ने अवस्था छैन। जे होस् उनी सेलिब्रेटी भएर नै चुनाव जितेर नगर पिता भए। छोराछोरीका पिता हुन् वा होइनन्, त्यो भने थाहा छैन किन कि उनले यो लेखकलाई न्वारन र पास्नीमा निम्तो गरेका थिएनन्। फोहोर र अव्यवस्थित काठमाडौँ सहरलाई केही हदसम्म व्यवस्थित गर्ने कामको श्रेय उनलाई जान्छ। यहाँ उनको प्रसंशा गरियो भने यो पंक्तिकारलाई बालेनको मान्छे रहेछ भन्ने आरोप लाग्छ, ठूला भनाउदा पार्टीका झोले-चम्चेहरुबाट। नगरमाता (सु) नितासँग राष्ट्रिय सभागृहमा एक कार्यक्रममा प्रत्यक्ष देख्न भने पाएको थिएँ। बान्की परेकी चिटिक्ककी रहिछन्।

काठमाडौँ सहरमा मगन्तेहरुको संख्या ज्यादा नै देखिन्छ। यी टोड्के आँखाले महाराजगंज चक्रपथमा नाङ्गै खुट्टा हिँड्दै माग्ने गरेका भारतीय मगन्तेहरुको दिनहुँ चहलपहल घरिघरि देखेको छ। तीब्रगतिमा गुडिरहेका गाडीको अगाडि ठिङ्ग उभिएर भारतीय मूलका मगन्तेहरुले हात पसारेर माग्नेगरेको देखिन्छ।

कसैकसैले दूधे बालक कोखिलामा च्यापेर सहयोगको याचना गरिरहेको दृश्य पनि देखिन्छ। महाराजगंज चोक त एउटा प्रतिनिधि पात्र मात्र हो। यस्ता दृश्यहरु सभ्य सहरका लागि कदापि उचित हुँदैन। बच्चा जन्माउन सक्ने अनि कमाएर खान-खुवाउन नसक्नेहरुलाई मागेर कतिदिन चल्छ ? नेपालीहरु मजदूरी गर्न भारत जाने, उताका मगन्तेहरु यता आउने। यता आउने उताका मगन्ते रोडपतिदेखि करोडपतिसम्मका पनि देखिन्छन्। कोही सन्त भेषका करोडपतिहरु आश्रम र धाम चलाएर बसेका छन् भक्तहरु बटुलेर। ती अर्बपति करोडपति सन्तहरु पनि एक प्रकारका मगन्ते नै हुन्। नचाहिँदा जन्तर-मन्तर भिडाएर सोझा सिधा नेपालीलाई जालमा पारेर ती अन्धभक्तहरुबाट तन-मन-धन लुट्ने गजबको तरिका छ त्यस्ता जोगीहरुको अनि भोग गर्ने भोगीहरुको।

शौचले च्यापेमा हिँड्दाहिँड्दै पायक पर्ने सरकारी अड्डा, सार्वजनिक संस्थान, अस्पताल, विद्यालय, कलेज र अन्य संघ-संस्थाका शौचालयहरु प्रयोग गर्दा हुन्छ। त्यस्ता निकाय तथा संघ-संस्थामा छिर्न धक मान्नुपर्दैन शौचले च्यापेमा। शौचले च्याप्ने त हैन खासमा मान्छेले शौचलाई च्याप्ने हो। कसरी पो यो भनाइको विकास भयो उल्टो हुने गरी ? यस विषयमा जानकारहरु नै बताउलान्। चौकिदारले रोके भने गेटनिरै मलमूत्र त्याग गरिदिए पनि हुन्छ, अरुको समस्या नबुझिदिएपछि।

यो लेखकको पेन्सन मगन्तेहरुले आधा खाइदिन्छन्, बाँकी पेन्सनले आधा महिना धकेल्नै गाह्रो हुन्छ। घरको ढोका ढकढक्याएर होस् वा डोरबेल बजाएर होस् अनि गाना गाएर, कैयन मगन्तेहरुले हैरान पारिरहेका छन्। कसैले बिल-भर्पाई पनि दिन्छन्, मैले सकेसम्म बिल-भर्पाई लिने गरेको छैन। किन कि ती बिल-भर्पाइमा स्थायी लेखा नम्बर उल्लेख गरेको देखिदैन। कोही अनाथालय चलाउने रे, कोही बाल आश्रम चलाउने रे ! मागिखाने तरिका पनि कति कुन् कति ? कोही क्यान्सर पिडित, कोहि मृगौला रोग पीडित, कोही ट्यूमर पीडित। पीडितहरुलाई हेर्दाहेर्दै आफै पीडित हुनुपर्ने अवस्था छ। सहर छोडेर गाउँ जाऊँ भने गाउँका सबै सम्पत्ति भुटभाट पारेर सहरमा बास जमाइयो। अरुको भन्दा निकै कम कमाइयो।

गाउँमा गएर कसको घरमा पस्नु, कसको पिढीमा बस्नु ? एकदिन दुईदिन पो पाहुना बन्न सुहाउँछ। “एक दिनको पाहुन मीठोमीठो खा ! दुई दिनको पाहुना जसोतसो खा !! तीनदिनको पाहुना जतासुकै जा !!!” भन्ने त उखानै छ। त्यसैले त्यसरी अरुको घरमा सधै बस्न पनि मिल्दैन। किन कि गाउँघरका मान्छेहरु व्यस्त रहन्छन्, खेतबारीमा काम गर्न जानुपर्ने, गाईभैँसीको स्याहार गरेर गोरस खानुपर्ने। आफू त सहरमा बसेर बानी बिगारिसकेको मान्छे सघाउन पनि नसकिएला।

कोही गरिखानसक्ने ज्यान भएका र उपयोग हुनेखालको ज्ञान भएकाहरु पनि माग्ने कार्यमा लागेको देखिन्छन्। बटुवाहरुलाई लठ्ठीले हिर्काउने बौलाहीहरु पनि भेटिन्छन्, कोही अश्लिल शब्द फलाक्दै बटुवालाई लज्जित पार्ने मानसिक रोगीहरु पनि नभएका होइनन् यहाँ। जमल र रत्नपार्कका आकाशे पुलको सिँढिमा बसेका कुष्ठरोगीहरुलाई माग्न लगाएर कुस्त धन कमाउनेहरु पनि भेटिन्छन्। एकताका बालबालिका अपहरण गरेर आँखा फुटाइदिने, हात काटिदिने र अपांग बनाएर माग्न पठाउने अनि कमाइ खाने भाँडो बनाउने गरेका कुरा दशकौँ अगाडि सुनिन्थे। त्यो सत्य हो वा होइन, तर डरलाग्दो विषय थियो त्यो। त्यसैले बालबालिकाहरु हराउँछन् कि ? अपहरणकारीहरुले दिक्क गराउँछन् ? कि भन्ने त्रास थियो। बच्चा अपहरण गरेर भारततीर लैजाने गरेका कैयन घटनाहरु पनि भए त्यसै बखत।

अन्त्यमा, सहरका लागि अभिसाप ठानिएका मगन्तेहरुदेखि हगन्तेसम्मका मान्छेलाई तह लगाउन महानगरले अब एउटा महाशाखा गठन गर्नुपर्ने अवस्था छ- ‘मगन्ते-हगन्ते नियन्त्रण महाशाखा।‘

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
0
Would love your thoughts, please comment.x
()
x