साइबर अपराध सम्बन्धी सचेतना सामग्री

(अ)नैतिक शिक्षा

यस्तो आज्ञाकारी साथ पाएपछि देश जहाँ जुन भडखालोमा परे पनि म सुरक्षित हुन्छु । निर्विघ्न रही काम गर्न पाउँछु । म खुरुखुरु आफ्नो दुनो सोझ्याउने मिठौरे हुँ । भनेजस्तरी सोझिएको छ दुनो, कोही द्विविधामा नपरे हुन्छ ।

Nepal Telecom ad

डा.छायादत्त न्यौपाने ‘बगर’:

सृष्टि सौन्दर्य पछ्याउने प्राणी मान्छे प्रविधिका पछि लागेर आफैलाई बिर्सिने भएको छ । मोबाइलमा कैद बस्न पल्केर मानवीय संवेदना र विधिव्यवहार गुमाइरहेको छ । मौलिक संस्कृति छोडिदै गएर आयातीत संस्कृतिको दास बन्न मन्जुर छ । मान्छे स्वयंले मनमा आधुनिक हुने ध्याउन्न पालेर प्रविधिमैत्री कुरा दोचार्छ तर प्रविधिले नवपुस्तालाई घरव्यवहार नातासम्बन्धबाट टुटाएर टाढा पुर्‍याई आफन्तहरू नचिन्ने बनाउँदै छ । घरमा आउने आफन्तसँग भलाकुसारी नगरी मोबाइलमा घोप्टिने घोप्टे संस्कृतिले जितिरहेको छ सामाजिक प्रतिष्ठा र पारिवारिक आदर्श । आज यो तन्किँदो दृश्यले छोपिरहेको छ आत्मीय भावना र जातीय मूल्यले दिने ऐतिहासिक परिचय ।

हो, समय बलवान् छ । त्यै बलले हो मान्छेलाई दास बनाएको । यो सत्य थाहा छ तर प्रविधिको नियन्त्रणमुक्त छैन मान्छे । वश परेर गाँजिएको छ शिशुदेखि वृद्ध चेतना । खुम्चिएको छ प्रदूषित मनभित्र मान्छे स्वनिर्मित प्रविधिलाई दास बनाउन नसकी आफै दास बनेर । यसले हराइदियो सुझबुझी व्यवहार । खाँचो बढ्यो संवेदनाको । अनिकाल पर्‍यो विवेकी सन्तानको । डेरा पाउन छाड्यो नैतिकताले । पढाउन थाले अनैतिकले नैतिक शिक्षा । भुँडी बढाउँदै छन् अल्छीहरू । म टुलु–टुलु हेरिरहेछु धुवाँ–धुलोसँगै उडिरहेको विवेकशील चेतना र इमान बोक्ने नैतिक मूल्यको आभा । अचम्म लाग्दोछ आफूसँग नभएको मानवीय आदर्श मूल्य हावासँग उडिरहेको दृश्य । त्यहीँ ठाकिन्छन् आँखाहरू । केले जतन गरुँ कसरी छोपूँ बेथितिका भँगालहरू ? श्रमको खिल्ली उडाउने व्यवहारमा रम्ने बानी छ । आफूले आर्जन नगरेको विधिपद्धति खोजेर पाइन्छ ? कति सुहाएको है सिसिफसको कथा पत्याएर पुरुषार्थी कहलिन ! यो गहिराइ छाम्न अलिकति मगज चाहिने । कोसँग सापटी लिने होला ? दाता नखोजी धर नपाइने भो, कहाँ पाइन्छ कुन्नि ? कसले देला मगज बजारको ठेगाना ?

यत्रो छ्यालव्याल प्रविधिमै उपलब्ध हुनुपर्ने हो स्वाभिमान तर अचेल प्रशस्त पाइने खजाना मागिखाने होडबाजी हो,कागजी स्वाभिमान होइन । मगजभन्दा बढी त देशभरि मागिखानेकै बिगबिगी छ । शिक्षा–स्वास्थ्य, व्यापार–व्यवसाय, कृषिसमेत राजनीतिमा छ्यापछ्याप्ती भेटिने सुलभ खजाना ढाँटछली हो । योभन्दा बर्ता हाकाहाकी पाइने माग्ने रहर हो,यो बाँसको तामाझैं बढ्दो छ । प्रयोगमा छ अग्ला डाँडापाखा देखाएर माग्ने, गरिब जनताका भोका पेट र नाङ्गा आङ देखाएर माग्ने, बाढीपहिरो र भुँइचालाको त्रास देखाएर माग्ने कला । जसरी हुन्छ माग्ने सिपको उन्नति छ यहाँ । यो पछि लागेको बानी हो त्यसैले आधुनिक छ तर पूर्वजमा थिएन । उनीहरू भन्थे ‘श्रमको फल खानू शिर निहुरिन नदिनू’ तर म आधुनिक हुँ माग्ने प्रवृत्तिलाई संस्कृति ठान्छु यै हो मेरो मौलिक सांस्कृतिक सम्पदा पनि । तिरस्कृत भएँ भनेर यसबाट जोगिनुपर्ने चेत छैन मसँग । कुनै शक्तिराष्ट्रको शासकले ठाडै भनिदियो ‘तँ मगन्ते’ तर मैले कुनै लज्जाबोध गरिन, परबाह भएन । बरु भन्यो त भन्यो, भा‘कुरा भन्यो ठिकै भन्यो । यो माग्ने कलाको अगाडि श्रमप्रेमीहरूको के काम, कसरी टिक्ने उनीहरू ? जहाँ श्रममा विश्वास गरिँदैन । भएको जनशक्ति बाहिरिँदा आश्चर्य लाग्दैन । यो यस्तै हो,यसैमा सान देख्छ मेरो मगज । श्रम गर्ने जनशक्ति त विदेश पठाउन सकेँ भनेर गौरव गर्ने हो मैले !

यो भौतिक सुखमा रम्ने समय हो । यतिबेला देश शारीरिक रुपले उत्पादन कर्ममा लाग्न नसक्ने अशक्त बुढाबुढी र बालकहरूको आवास गृह बनेको छ । गाउँघरमा भा‘को बाँकी भिड श्रम नगरी ठगिखाने अल्छीहरूको हो । हो, यहाँ लागेको पउल भिड चियापसलका गफाडी र बाह्रमासेमा रम्नेकै हो । म भनेको यी भन्दा फरक नीति–नियम अनुशासन काइदा–कानुनमा विश्वास नगर्ने मनमौजी सज्जन हुँ । कति सङ्घर्ष गरियो त्यसको साँवा–व्याज नअसुली भकारो खाली गर्ने बहादुर म परिनँ । मेरो चासो बढेको हात थापेर रमाउने र छलकपटमा खुसी हुनु हो । श्रमशक्तिमा उभिएर नैतिक पाखुराले दिएको उत्पादनले मलाई खुराक पुग्दैन । म यस्तो पसिना बगाउने पुराना कुरा गरेर आधुनिक समय बर्बाद गर्ने मान्छे होइन । पुर्खाले उठाएको स्वाभिमानी शिरको फुर्ती लाउन पाएको छु । कुन मूर्खले छाड्छ यस्तो व्याज खाएर मोटाउने मौका ? यो मौकाको मेसो पुर्ख्यौली सम्पत्ति नभएर म आफैले अर्जेको पौरख हो । म यसैसँग खेल्छु,मस्तिन्छु । कुरा जोतेर खान पाएपछि नाकबाट पसिना चुहाउँदै हातमा ठेला उठाउने रहर कसले गर्छ ?

आजको समय भनेको मजस्तै मगज पैंचो माग्नेहरूको हो । यी यहाँ धेरै छन् । हात–हातै मोबाइल छ । मान्छे मोबाइलमै व्यस्त छ । मोबाइल संस्कृतिले मान्छेलाई महका माखा बनायो । मोबाइल संस्कृतिले आत्मीय संवेदना खाइदियो । हार्दिकता भत्काइदियो । स्वसाधनाबाट मानवीय संवेदना सुमसुम्याउने इमान घाइते पार्‍यो । यसले मानवता सस्तो मूल्यमै बेच्छ । मोबाइलवश परेर मिहिनेतले ज्ञान–सिप आर्जन गरी योग्य नबनेपछि मगज नमागून् पनि किन ? मगजविना जीवन चल्दैन, नमागी मगज पाइँदैन,जीवन चल्न मगजै चाहिन्छ ! मगजपछिको महत्त्वपूर्ण आधार पैसो हो । जीवनमा गति थप्ने यी दुईको देनले हो । गतिहीन जीवन आश्रित हुन्छ हात थापेर बाँच्छ । म पनि हात थापेर बाँच्न पल्केकै मनहुस हुँ । म मगज चलाएर श्रमको सातु खाने संस्कारी अगुवाको कार्यकर्ता होइन ।

ढाँटछल, कपट, धुत्र्याइँको जगमा उभिनेहरूको दाउपेचले पेलिएर मानवता थिचिरहेको दुईखुट्टे सिकार हुँ । पदासीनको थिचाइबाट जोगिने सुअवसर मलाई प्राप्त छैन । म आफै सत्कर्मको अनुकरण गरुँ भने छलछामले मलजल पाउँदैन । धुत्र्याइँको बिगबिगी रहेन भने मजस्तो श्रमहीनले भोकै बस्नुपर्ने हुन्छ । इमानको बर्को नओढी लाज ढाक्न सकिँदैन । मगज भए,मगजले काम गरे जीवन चल्थ्यो । चले हो जीवन,जीवन हुने थाहा छ तर म स्वार्थमा नअल्झी जनहितमा लाग्ने गरी गतिशील मगज–खेतीमा समर्पित हुने गल्ती गर्दिनँ । यहाँलाई विधिवत् अवगत हुनुपर्ने म भनेझैं गर्ने र गरेझैं भन्ने नैतिक मूल्यको कदर गर्ने दुइखुट्टे होइन !

मगज, मगजको कुरा ! मगजले चले हो जीवन सार्थक हुने । मगज अहङ्कारी भए जीवन बेथितिको सङ्ग्रहालय बन्छ । हो, अचेल बेथितिकै बोलबाला छ । बेथितिमा रमाउने अभ्यासले जरा बढाउँदै छ । कसले कति बेथिति बोक्ने ? कोसँग कस्तो मगज छ ? यसकै होडबाजी छ ! घर–घरमै होडबाजी, कार्यकक्षमा होडबाजी, व्यवस्थापिका, न्यायालय, कार्यपालिका जता नजर डुलाऔं उतै रोगी मानसिकता बोक्ने विलासी होडबाजीको छेलोखेलो ! यो बेथितिले निम्त्याएको होडबाजी जाबो कतिकति ! व्यक्तिपिच्छे मनग्य देखिन्छ होडबाजी । तिरमिराउनुपर्दैन कसैले छर्लङ्गै देखिन्छ धेरैतिर । उसले उसलाई ढाँटेको, झुक्याएको, धक्कामुक्की गरेको चर्तीकलाको चौखटमा वस्त्रसहितको नग्न–नृत्यले नजर भर्न पाइन्छ । वरिपरि प्रतिशोधको ज्वाला दन्किरहेको छ । सेवाासुविधाले ज्वाला निभाउने होड चल्छ यी स्थानहरूमा देश र जनताका विषय उठ्दैनन् ।

जनताका कुरा त साथ सहयोग आवश्यक पर्दा उठ्ने हुन् त्यो पनि बाहिर कतै मञ्च पाउँदा उठाउने हो ! यी बोल्ने निउँ हुन् । मञ्चको उद्देश्य अनुरुप मन्तव्य दिने हैसियत गुमेपछि जनताका कुरा उठाएर जिब्रो चपाउने हो । यो जनपक्षीय उमेदवार बन्यो जनताको मान्छे हो भन्ने भ्रम छर्ने मेरो यत्न सफल पार्ने हो । म चतुर्‍याइँपूर्ण प्रस्तुति दिन सकेको हुँदा प्रसन्न छु । सबैले वाह–वाह गर्छन् ताली बजाउँछन् । एकातिर आँधी–अर्कोतिर झलुङ्गो बनाउने कूटिल शैली सम्पन्न मेरो भाषणको गूढ कसैलाई पत्तै हुँदैन । सुन्दर भाषण, गजब बोल्यो भनेर सुन्ने श्रोता मख्ख परेपछि भएन त पानीमाथि ओभानु भएको दाबी गर्ने मेरो ध्याउन्न सफल !

समयले डोर्‍याइल्याएको निजी स्वार्थ र विलासमैत्री संस्कारपारखी म । महाशयलाई प्रस्टै छ–मैले गरेका काम सबै राम्रा हुन्छन् । प्रशासनमा बसेर सेवाग्राहीसँग सुविधा माग्ने मेरो नियति गजबको छ । मजस्तै धेरैले यसको अनुसरण गर्छन् । मलाई खुसी लाग्छ नियमित आय र अधिकृत सुविधाले नअघाएर अनधिकृत आमदानी गर्ने रालेरोग पाल्न सिपालु भएको तथ्य कतै आफन्त र साथीभाइले चाल पाए भने कत्रो बदनामी होला भनेर मनमनै तर्सेको के थिएँ थुप्रै अनुयायी फेला परे, एक्लो भइनँ, ढुक्क भएँ । मन फुरुङ्ग भो मगजले गजक्क फुल्ने अवसर पायो । अब त मेरो रालकाढ्ने भित्री रोग कसैले थाहा पाउला कि पिरै भएन । कोही निरोगी भा‘भए पो एक्लो महारोगी परिएला भन्ने पिर हुन्थ्यो । हिँडौँ सुस्त सुस्तै तिमी उस्तै मजस्तै भएपछि कसले कसलाई उपचार गरेर निरोगी बनाउने ? तैंचुप मैंचुप ! म पनि काले भाइ पनि काले, काले काले मिलेर खायौं भाले ।

उर्वर फाँट बाँझो राखेर बिदेसिने मेरो तीव्र रहर । के कम म, गाउँमा बसेर बाँझो खेत र खर्क खन्ने दुस्साहस गर्दिनँ । यस्तो उत्पादनशील काम गर्ने त बिदेसिने क्षमता नभएको अयोग्यले हो । म योग्यता पुगेको सक्षम जनशक्ति गाउँघरमा रहनु–बस्नु अडिनु र स्वकर्म गरेर रमाउनु ? अँ हँ,मबाट यस्तो सत्कर्म गर्ने मुर्ख्याइँ हुँदैन र यसलाई संरक्षण गर्ने भुल पनि मबाट हुँदैन। हाम्रा जनप्रतिनिधिले पनि पढलेख गरेका सचेत र सक्षम युवा मुलुकाँ नबसिदिए हुँदो हो भनेर राख्ने भित्री चाहलाई मैले सम्मान नगरेर भो ? मैले उनीहरूको यस्तो शिर झुकाउन सफल सद्भाव निमोठ्न मिल्छ कतै ? यो मेरो नैतिकताले नदिने विषय हो फेरि मसँग त्यत्रो आँट हुन पनि पर्‍यो नि ।

हाम्रा जनप्रतिनिधिले देश समृद्धिको माग पूरा हुने गरी नीतिनियम योजनाहरू जनहितमा जारी गर्नुपर्ने इमानले व्यवहार खोजेर सङ्कट पैदा नगरोस् भन्ने तीव्र चाह राखे । यो रहस्य विदेशीले सुटुक्क पत्ता लगाए अनि हामीसँग माग भने । हाम्रा मान्छेले यसैलाई सुअवसर ठाने । यिनले कामको अवसर मागी मागी युवाशक्ति पलायनको योजना निम्त्याइरहेका छन् । यसमा उनीहरूको कति ठुलो मिहिनेत परेको हुन्छ । हजारौं युवालाई लामबद्ध गराई बिदेस्याउने गौरवशाली कर्मबाट जनप्रतिनिधि अलग्याउनु राम्रो होइन । सकेसम्म बढी जनशक्ति विदेश पठाएर बहादुर बन्ने होडमा अघि अघि हुनेको यो जमात बढ्दो छ । अन्न र जरीबुटीका भण्डार गाउँघर रित्तिएर उजाड बनेका पाखाहरूमा एक्लिएका वृद्ध बाआमाको पीडाबोध गर्न नचाहने सन्तान स्वयं हुँ म । मैले जन्मथलोको चिन्ता छ भनेर विसङ्गतियुक्त व्यवहारपारखी भएको अभिनय जति गरे पनि भो । सन्तानलाई आफ्नै बाआमाको मन बुझ्नु छैन भने जनप्रतिनिधिले किन पिर लिने ? उनीहरूका छोराछोरी दोहोरो नागरिकता लिएका सुविधासम्पन्न छँदै छन् । दुइजिब्रे जनप्रतिनिधिले विप्रेषण पाएकै छन् । म जाबो कुहिनाले पहरो ठोक्नेको के अर्थ ? अर्थ नबर्थ गोविन्द गाई रातभरि करायो बिहान क्यै नाइँ !

म हुँ स्वघोषित बुझक्की, निजी लाभका सबाल खुब बुझ्छु । चाहिनेभन्दा बढी बुझेकैले त म सस्तोमा श्रम बेच्छु स्वाभिमान गुमाउँछु । परिवारभन्दा टाढा रहेर गौरव गर्छु । आफूलाई विदेशीको चाकर बनाएर पौरखी भएको दाबी गर्न लाज मान्दिनँ । विलासी मेरो विधि–व्यवहार देखेर मन कुँड्याउने बाआमालाई आउँछु, आउँछु छिटै आउँछु चिन्ता नलिनु भन्दै ढाँट्न ढाँटिरहन होसियार छु । मेरो ढाँट चरित्र देखेर अरु कति लोभिए, गन्ती छैन । मेरो चतुर्‍याइँले साख्खै सन्तानलाई के सिकाइरहेको छ ? मैले सोच्ने विचार गर्ने र उचित निर्णय लिएर सही गन्तव्य पछ्याउनु छैन । जे सुकै होस् आफ्नै थातथलोमा डुलेर त्यही माटाको सुगन्धमा रमाउने बानी बिर्सने अभ्यसमा छु । मलाई जतिसक्दो सुख–सुविधा बटुल्ने पद–पैसाले सम्पन्न हुने तृष्णाको भरिया हुनु छ । मसँग मानवीय संवेदना र सामाजिक मर्यादाले नछोइने मान्छेको काइदा कानुन विशेष छ । मलाई नैतिक पर्खालले छेक्न सक्तैन । यो मेरो बेग्लै पहिचान हो म आफैले अर्जेको उच्च स्थान हो । म यही स्थानमा रमाउँछु । म समताको पोयोमा बाटिएर साथीभाइ स्टमित्र, आफन्तजन सँगै मुस्कुराउने पक्षमा छैन । म मेरै सहज जीवन बाँचेर खुसी हुने हो । मेरो खुसीमा डाहा गर्नेहरू हो गरिराख । म स्पष्ट छु यस्ता सर्वसाधरणलाई काम लाग्ने अनर्गल कुरा सुनेर समय कटाउनु हुन्न मैले । म त जतिसक्यो मोबाइलमा लिप्त रहने आधुनिक रसायन जडिएको यन्त्र हुँ । अरुको व्यापार बढाइदिने यान्त्रिक मगज खोजी हिँड्ने आधुनिक !

मलाई लाग्छ प्रकृतिले सृष्टि गरेको मान्छेमा नैतिक आदर्श हुन्छ त्यसैमा व्यवस्थित रहेर कर्म गर्नु मानवीय दायित्व हुन्छ भन्ने विषय, भनिने विषय हुँ म । कर्मले असल हुने सज्जन ठहरिने कुरा घाममा सुकाउने विषय हुन् । पदीय जिम्मेवारी पूरा गर्नुपर्छ मान्छेलाई न्यायिक सेवा दिएर सचेत प्राणीको हैसियत कायम गर्नुपर्छ भन्ने आदर्श हिजोका हुन् बासी भए । यी उतिबेला म आन्दोलनमा हुँदा गरिएका परिभाषा हुन् । अहिले म बढुवा भएर आन्दोलनको मान–मर्दन गर्न सक्ने हैसितमा पुगेको छु । पुरानो परिभाषा मान्य हुन्न मलाई । अबको आदर्श भनेको सर्वसाधारण निमुखा मानिसको हकअधिकार खोसेर आफू मोटाउने पद्धतिको हिमायती हुनु हो । जसरी सकिन्छ आफू मोटाउने, रमाउने, सुखी हुने विलासको पोखरीमा चुर्लुम्म डुबेर पुरुषार्थ देखाउनु हो ।

म यही अभ्यासमा जुटेको पौरखी हुँ । मलाई कसैको कुरा सुन्नु छैन । मेरो विचार नमान्नेलाई म मोतीबिन्दुग्रस्त आँखाले हेर्न सक्तिनँ । घोक्रेठ्याक लगाइहाल्छु बिलम्ब नगरी लाउँछु । म मातहत देशसेवा गर्नेले मैले भनेको नमान्न मिल्छ ?मैले भनेपछि भनेँ त्यै नियम हो,त्यै कानुन हो । म बोलेपछि फेरि नीतिनियम खोज्ने अधिकार कसैलाई छैन । खुरुखुरु मेरो आदेश मान्नुबाहेक विकल्प छैन नामन्ने सबै मेरा शत्रु हुन् । शत्रुको मुख कसलाई मन पर्छ र ? मैले मन पराउनुपर्ने ? म त पुरानो मान्छे देश र जनताका लागि भनेर वर्षौं दुःख गरेको मान्छे ! अहिले बल्लतल्ल ठाउँमा पुगेर सावाँव्याज असुल्ने अवसर पाएको छु । मलाई यति पनि मौका नदिने ? मैले अरुका कुरा सुनेर समताको सिद्धान्तमा टेकी टेकी हिँड्नुपर्ने ? यो असम्भव देउराली हो, प्रस्ट हुनुहोस् मबाट यस्तो दुर्घटना घट्दैन । मैले बजाउने मेरै डम्फु हो । देश र जनताका पछि लागेर इमान–जमानको लुतो कन्याउनु छैन मैले ।

पटकौं पटक पदमा पुग्नु मेरो कूटिल चाल होर क्षमता पनि । यो एकोहोरो मैले नपाउनुपर्ने हक पाएको हुँ । सार्वजनिक महत्त्वको पद २ पटकभन्दा बढी हत्याइरहनु मेरो आफ्नै खुबी हो कसैले किस्तिीमा राखेर दिएको उपहार होइन । अरुलाई पालो दिने काम मेरो होइन । मेरा शेखपछि उनीहरूको पालो आउँछ । मैले त यो पद बोल्न–ठग्न, झुक्याउन, तर्साउन जान्ने भएको हुँदा कमाएको सिप र निपुणताको बलले पाएको हुँ । मलाई कसैले दया गरेर दिएको पाउजो, दाइजो र बाउको बिर्ता होइन । म त मैसँग ठोक्किएका ठुल्ठुला टाउका तह लगाएर यहाँसम्म आएको हुँ । वरिपरिका कतिलाई मैले गलहत्याएँ र कतिले मलाई गलहत्याए । मैले उनीहरूलाई ठाउँका ठाउँ ठेगान लाएर हत्याएको कुर्सी प्रिय हुँदैन त ? सर्वप्रिय छ । मेरो सर्वप्रिय कुर्सीमा म आजीवन बसिरहन चाहन्छु । बसेकोलाई थुतेर म बसेको हुँ । मसँग थुत्ने हिम्मत भएर त थुत्न सकेँ । साथ दिने को–को थिए ? गन्ने काम मेरो होइन, फुर्सद पनि छैन ।

पदासीन हुनु मेरो सफलता हो । पदमा बस्यो, आफूमात्र बस्यो भन्ने ईर्ष्यालु चरित्रले बाहिर बसेर कराए भन्दैमा सुरुसुरु आउने पैसा र पद छाड्ने मूर्ख होइन म । हो, देश बनाउने गरी काम गरे हुने हो तर फेरि चुनाव लड्नुपर्छ । बल्ल त जम्मा ७ पटक माननीय भइयो ९ पुर्‍याउने धोको छ । लड्ने भिड्ने अरुले गर्छन् म त सर्वोच्च शिखर चढ्या मान्छे मैले ठाउँ छाडिदिएर अरु नेता बन्ने हो र ? हिम्मत हुनेले प्रतिस्पर्धीलाई उछिट्याएर अगाडि बढ्ने हो नि । युवालाई अवसर चाहिए विघ्न बाधा गर्ने बार, काँडा, झिँगटी, पर्खाल के–के आउँछन् उधिनेर आउनुपर्‍यो नि अगाडि । हक मागेर पाइने जन्मदिनको उपहार हो र ? । तारतम्य मिलाएर धेरैलाई तह लाउन सक्नुपर्छ । विचार,विवेक, अनुशासन, योग्यता क्षमताले जितेर अघि बढे कसले कसलाई छेक्छ ? संविधानले जनताका छोराले अधिकार पाउनुपर्छ भनेको हो, पाएको छ । म जनताकै सन्तान हुँ । एकै जनाले धेरैपटक लाभको पद लिइरहने गरी जनताका सन्तानले भर्‍याङ बनिरहने हो, नबनेर के गर्छन् त बिचरा ? ताकतवाला हो माथि चढ्ने जनता जाबो बन्ने हो भर्‍याङ ! यो पनि उपलब्धि हो नि धन्न भर्‍याङ बनेर सहयोग गर्न पाइएको छ । यो के कम हो ? कति त पर–पर छन् नजिकै भएर भर्‍याङ बनी एकछाक मिठो–मसिनो खान पाएका छैनन् । वरिपरिकाले भोजभतेरका बेला डाडुपनियो चाट्ने । दूरदराजका जनतालाई त यो साइत पनि जुर्दैन अनि त, केको गनगन खुरुक्क दुनाटपरीमा चित्त बुझाएर प्रतीक्षा गरे भइहाल्यो नि । धैर्य गरे फल मिठो, जनताको अर्को सन्तान आउँछ !

हो, देश बनाउने हो । म यसैमा व्यस्त छु । मैले दायाँबायाँ देश बनाउने कुरा गरिरहेको छु । मलाई सहयोग गरे देश बन्छ । आँट हुनेले हो काम गर्ने, मसँग आँट छ । आँट नभा सबै ढाँट हुन् । परिणाम दिने गरी अघि बढ्न त अठोट चाहियो, प्रतिबद्ध हुनुपर्‍यो, योजना चाहियो, कार्यन्वयनको तहमा पुगेपछि त परिणामका लागि अर्को चुनाव आउने बेलासम्म धकेल्न सकिहालिन्छ । मैले त गर्न खोजेको हुँ उसले दिएन भनेर औँलो तेर्स्याउन पाइन्छ । मेरा हुन्छबहादुर साथीहरूको साथ पाए काम हुन्छ । मलाई काम गर्न मेरो नीतिको हुन्छबहादुर चाहिन्छ । त्यसैले त म भन्छु जुन–जुन संस्थामा जो–जो हुनुहुन्छ साँझपख सुटुक्क मलाई भेट्नुस् । मैले भनेबमोजिम लाहा छापेबौचो लिएर हाजिर हुनुहोस् होइन भने ठाउँ खाली गरेर सहजीकरण गर्नुहोस् । आफू त प्रस्ट वक्ता परियो । यसै गरी काम हुनुपर्‍यो । काम गर्न नदिने ! काम भएन भनेर गनगन गर्ने रुन्चेपारा मलाई मन पर्दैन । मलाई मेरै तजबिजमा काम गर्ने गति भएको पात्र र वातावरण चाहिन्छ । त्यसैले संवैधानिक निकाय, सुरक्षा, शिक्षा,स्वास्थ्य, कृषि, विद्युत, सञ्चार, न्यायपालिका समेत जहाँ जहाँ मेरो नजर पर्छ आफू अनुकूलका सदस्य संयोजन गरिराख्छु । यी मेरा दाहिने हातका पदस्थापन हुन् । मेरो निर्देशन पालनामा अलिकति पनि कन्जुस्याइँ नगर्ने हितैषी हुनु आवश्यक छ ।

यस्तो आज्ञाकारी साथ पाएपछि देश जहाँ जुन भडखालोमा परे पनि म सुरक्षित हुन्छु । निर्विघ्न रही काम गर्न पाउँछु । म खुरुखुरु आफ्नो दुनो सोझ्याउने मिठौरे हुँ । भनेजस्तरी सोझिएको छ दुनो, कोही द्विविधामा नपरे हुन्छ । म मेरै खटन–पटन र शैलीमा चल्ने अद्भुत क्षमता भएको कलापारखी हुँ । सापटीमा अर्जिएको मिजासीमा सहकर्मीहरू ओझेल परे भने म के गरुँ ? म सफल भएँ । मेरो सफलतामा केको डाहा हँ ? यसरी छिर्के हानी हानी सहकर्मी लडाएर बहादुर बन्नु हो र नैतिक शिक्षा सारथिहरूको पुरुषार्थ ? ‘अस्तु’

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x