डा. छायादत्त न्यौपाने ‘बगर’(अ)नैतिक शिक्षा
यस्तो आज्ञाकारी साथ पाएपछि देश जहाँ जुन भडखालोमा परे पनि म सुरक्षित हुन्छु । निर्विघ्न रही काम गर्न पाउँछु । म खुरुखुरु आफ्नो दुनो सोझ्याउने मिठौरे हुँ । भनेजस्तरी सोझिएको छ दुनो, कोही द्विविधामा नपरे हुन्छ ।

डा.छायादत्त न्यौपाने ‘बगर’:
सृष्टि सौन्दर्य पछ्याउने प्राणी मान्छे प्रविधिका पछि लागेर आफैलाई बिर्सिने भएको छ । मोबाइलमा कैद बस्न पल्केर मानवीय संवेदना र विधिव्यवहार गुमाइरहेको छ । मौलिक संस्कृति छोडिदै गएर आयातीत संस्कृतिको दास बन्न मन्जुर छ । मान्छे स्वयंले मनमा आधुनिक हुने ध्याउन्न पालेर प्रविधिमैत्री कुरा दोचार्छ तर प्रविधिले नवपुस्तालाई घरव्यवहार नातासम्बन्धबाट टुटाएर टाढा पुर्याई आफन्तहरू नचिन्ने बनाउँदै छ । घरमा आउने आफन्तसँग भलाकुसारी नगरी मोबाइलमा घोप्टिने घोप्टे संस्कृतिले जितिरहेको छ सामाजिक प्रतिष्ठा र पारिवारिक आदर्श । आज यो तन्किँदो दृश्यले छोपिरहेको छ आत्मीय भावना र जातीय मूल्यले दिने ऐतिहासिक परिचय ।
हो, समय बलवान् छ । त्यै बलले हो मान्छेलाई दास बनाएको । यो सत्य थाहा छ तर प्रविधिको नियन्त्रणमुक्त छैन मान्छे । वश परेर गाँजिएको छ शिशुदेखि वृद्ध चेतना । खुम्चिएको छ प्रदूषित मनभित्र मान्छे स्वनिर्मित प्रविधिलाई दास बनाउन नसकी आफै दास बनेर । यसले हराइदियो सुझबुझी व्यवहार । खाँचो बढ्यो संवेदनाको । अनिकाल पर्यो विवेकी सन्तानको । डेरा पाउन छाड्यो नैतिकताले । पढाउन थाले अनैतिकले नैतिक शिक्षा । भुँडी बढाउँदै छन् अल्छीहरू । म टुलु–टुलु हेरिरहेछु धुवाँ–धुलोसँगै उडिरहेको विवेकशील चेतना र इमान बोक्ने नैतिक मूल्यको आभा । अचम्म लाग्दोछ आफूसँग नभएको मानवीय आदर्श मूल्य हावासँग उडिरहेको दृश्य । त्यहीँ ठाकिन्छन् आँखाहरू । केले जतन गरुँ कसरी छोपूँ बेथितिका भँगालहरू ? श्रमको खिल्ली उडाउने व्यवहारमा रम्ने बानी छ । आफूले आर्जन नगरेको विधिपद्धति खोजेर पाइन्छ ? कति सुहाएको है सिसिफसको कथा पत्याएर पुरुषार्थी कहलिन ! यो गहिराइ छाम्न अलिकति मगज चाहिने । कोसँग सापटी लिने होला ? दाता नखोजी धर नपाइने भो, कहाँ पाइन्छ कुन्नि ? कसले देला मगज बजारको ठेगाना ?
यत्रो छ्यालव्याल प्रविधिमै उपलब्ध हुनुपर्ने हो स्वाभिमान तर अचेल प्रशस्त पाइने खजाना मागिखाने होडबाजी हो,कागजी स्वाभिमान होइन । मगजभन्दा बढी त देशभरि मागिखानेकै बिगबिगी छ । शिक्षा–स्वास्थ्य, व्यापार–व्यवसाय, कृषिसमेत राजनीतिमा छ्यापछ्याप्ती भेटिने सुलभ खजाना ढाँटछली हो । योभन्दा बर्ता हाकाहाकी पाइने माग्ने रहर हो,यो बाँसको तामाझैं बढ्दो छ । प्रयोगमा छ अग्ला डाँडापाखा देखाएर माग्ने, गरिब जनताका भोका पेट र नाङ्गा आङ देखाएर माग्ने, बाढीपहिरो र भुँइचालाको त्रास देखाएर माग्ने कला । जसरी हुन्छ माग्ने सिपको उन्नति छ यहाँ । यो पछि लागेको बानी हो त्यसैले आधुनिक छ तर पूर्वजमा थिएन । उनीहरू भन्थे ‘श्रमको फल खानू शिर निहुरिन नदिनू’ तर म आधुनिक हुँ माग्ने प्रवृत्तिलाई संस्कृति ठान्छु यै हो मेरो मौलिक सांस्कृतिक सम्पदा पनि । तिरस्कृत भएँ भनेर यसबाट जोगिनुपर्ने चेत छैन मसँग । कुनै शक्तिराष्ट्रको शासकले ठाडै भनिदियो ‘तँ मगन्ते’ तर मैले कुनै लज्जाबोध गरिन, परबाह भएन । बरु भन्यो त भन्यो, भा‘कुरा भन्यो ठिकै भन्यो । यो माग्ने कलाको अगाडि श्रमप्रेमीहरूको के काम, कसरी टिक्ने उनीहरू ? जहाँ श्रममा विश्वास गरिँदैन । भएको जनशक्ति बाहिरिँदा आश्चर्य लाग्दैन । यो यस्तै हो,यसैमा सान देख्छ मेरो मगज । श्रम गर्ने जनशक्ति त विदेश पठाउन सकेँ भनेर गौरव गर्ने हो मैले !
यो भौतिक सुखमा रम्ने समय हो । यतिबेला देश शारीरिक रुपले उत्पादन कर्ममा लाग्न नसक्ने अशक्त बुढाबुढी र बालकहरूको आवास गृह बनेको छ । गाउँघरमा भा‘को बाँकी भिड श्रम नगरी ठगिखाने अल्छीहरूको हो । हो, यहाँ लागेको पउल भिड चियापसलका गफाडी र बाह्रमासेमा रम्नेकै हो । म भनेको यी भन्दा फरक नीति–नियम अनुशासन काइदा–कानुनमा विश्वास नगर्ने मनमौजी सज्जन हुँ । कति सङ्घर्ष गरियो त्यसको साँवा–व्याज नअसुली भकारो खाली गर्ने बहादुर म परिनँ । मेरो चासो बढेको हात थापेर रमाउने र छलकपटमा खुसी हुनु हो । श्रमशक्तिमा उभिएर नैतिक पाखुराले दिएको उत्पादनले मलाई खुराक पुग्दैन । म यस्तो पसिना बगाउने पुराना कुरा गरेर आधुनिक समय बर्बाद गर्ने मान्छे होइन । पुर्खाले उठाएको स्वाभिमानी शिरको फुर्ती लाउन पाएको छु । कुन मूर्खले छाड्छ यस्तो व्याज खाएर मोटाउने मौका ? यो मौकाको मेसो पुर्ख्यौली सम्पत्ति नभएर म आफैले अर्जेको पौरख हो । म यसैसँग खेल्छु,मस्तिन्छु । कुरा जोतेर खान पाएपछि नाकबाट पसिना चुहाउँदै हातमा ठेला उठाउने रहर कसले गर्छ ?
आजको समय भनेको मजस्तै मगज पैंचो माग्नेहरूको हो । यी यहाँ धेरै छन् । हात–हातै मोबाइल छ । मान्छे मोबाइलमै व्यस्त छ । मोबाइल संस्कृतिले मान्छेलाई महका माखा बनायो । मोबाइल संस्कृतिले आत्मीय संवेदना खाइदियो । हार्दिकता भत्काइदियो । स्वसाधनाबाट मानवीय संवेदना सुमसुम्याउने इमान घाइते पार्यो । यसले मानवता सस्तो मूल्यमै बेच्छ । मोबाइलवश परेर मिहिनेतले ज्ञान–सिप आर्जन गरी योग्य नबनेपछि मगज नमागून् पनि किन ? मगजविना जीवन चल्दैन, नमागी मगज पाइँदैन,जीवन चल्न मगजै चाहिन्छ ! मगजपछिको महत्त्वपूर्ण आधार पैसो हो । जीवनमा गति थप्ने यी दुईको देनले हो । गतिहीन जीवन आश्रित हुन्छ हात थापेर बाँच्छ । म पनि हात थापेर बाँच्न पल्केकै मनहुस हुँ । म मगज चलाएर श्रमको सातु खाने संस्कारी अगुवाको कार्यकर्ता होइन ।
ढाँटछल, कपट, धुत्र्याइँको जगमा उभिनेहरूको दाउपेचले पेलिएर मानवता थिचिरहेको दुईखुट्टे सिकार हुँ । पदासीनको थिचाइबाट जोगिने सुअवसर मलाई प्राप्त छैन । म आफै सत्कर्मको अनुकरण गरुँ भने छलछामले मलजल पाउँदैन । धुत्र्याइँको बिगबिगी रहेन भने मजस्तो श्रमहीनले भोकै बस्नुपर्ने हुन्छ । इमानको बर्को नओढी लाज ढाक्न सकिँदैन । मगज भए,मगजले काम गरे जीवन चल्थ्यो । चले हो जीवन,जीवन हुने थाहा छ तर म स्वार्थमा नअल्झी जनहितमा लाग्ने गरी गतिशील मगज–खेतीमा समर्पित हुने गल्ती गर्दिनँ । यहाँलाई विधिवत् अवगत हुनुपर्ने म भनेझैं गर्ने र गरेझैं भन्ने नैतिक मूल्यको कदर गर्ने दुइखुट्टे होइन !
मगज, मगजको कुरा ! मगजले चले हो जीवन सार्थक हुने । मगज अहङ्कारी भए जीवन बेथितिको सङ्ग्रहालय बन्छ । हो, अचेल बेथितिकै बोलबाला छ । बेथितिमा रमाउने अभ्यासले जरा बढाउँदै छ । कसले कति बेथिति बोक्ने ? कोसँग कस्तो मगज छ ? यसकै होडबाजी छ ! घर–घरमै होडबाजी, कार्यकक्षमा होडबाजी, व्यवस्थापिका, न्यायालय, कार्यपालिका जता नजर डुलाऔं उतै रोगी मानसिकता बोक्ने विलासी होडबाजीको छेलोखेलो ! यो बेथितिले निम्त्याएको होडबाजी जाबो कतिकति ! व्यक्तिपिच्छे मनग्य देखिन्छ होडबाजी । तिरमिराउनुपर्दैन कसैले छर्लङ्गै देखिन्छ धेरैतिर । उसले उसलाई ढाँटेको, झुक्याएको, धक्कामुक्की गरेको चर्तीकलाको चौखटमा वस्त्रसहितको नग्न–नृत्यले नजर भर्न पाइन्छ । वरिपरि प्रतिशोधको ज्वाला दन्किरहेको छ । सेवाासुविधाले ज्वाला निभाउने होड चल्छ यी स्थानहरूमा देश र जनताका विषय उठ्दैनन् ।
जनताका कुरा त साथ सहयोग आवश्यक पर्दा उठ्ने हुन् त्यो पनि बाहिर कतै मञ्च पाउँदा उठाउने हो ! यी बोल्ने निउँ हुन् । मञ्चको उद्देश्य अनुरुप मन्तव्य दिने हैसियत गुमेपछि जनताका कुरा उठाएर जिब्रो चपाउने हो । यो जनपक्षीय उमेदवार बन्यो जनताको मान्छे हो भन्ने भ्रम छर्ने मेरो यत्न सफल पार्ने हो । म चतुर्याइँपूर्ण प्रस्तुति दिन सकेको हुँदा प्रसन्न छु । सबैले वाह–वाह गर्छन् ताली बजाउँछन् । एकातिर आँधी–अर्कोतिर झलुङ्गो बनाउने कूटिल शैली सम्पन्न मेरो भाषणको गूढ कसैलाई पत्तै हुँदैन । सुन्दर भाषण, गजब बोल्यो भनेर सुन्ने श्रोता मख्ख परेपछि भएन त पानीमाथि ओभानु भएको दाबी गर्ने मेरो ध्याउन्न सफल !
समयले डोर्याइल्याएको निजी स्वार्थ र विलासमैत्री संस्कारपारखी म । महाशयलाई प्रस्टै छ–मैले गरेका काम सबै राम्रा हुन्छन् । प्रशासनमा बसेर सेवाग्राहीसँग सुविधा माग्ने मेरो नियति गजबको छ । मजस्तै धेरैले यसको अनुसरण गर्छन् । मलाई खुसी लाग्छ नियमित आय र अधिकृत सुविधाले नअघाएर अनधिकृत आमदानी गर्ने रालेरोग पाल्न सिपालु भएको तथ्य कतै आफन्त र साथीभाइले चाल पाए भने कत्रो बदनामी होला भनेर मनमनै तर्सेको के थिएँ थुप्रै अनुयायी फेला परे, एक्लो भइनँ, ढुक्क भएँ । मन फुरुङ्ग भो मगजले गजक्क फुल्ने अवसर पायो । अब त मेरो रालकाढ्ने भित्री रोग कसैले थाहा पाउला कि पिरै भएन । कोही निरोगी भा‘भए पो एक्लो महारोगी परिएला भन्ने पिर हुन्थ्यो । हिँडौँ सुस्त सुस्तै तिमी उस्तै मजस्तै भएपछि कसले कसलाई उपचार गरेर निरोगी बनाउने ? तैंचुप मैंचुप ! म पनि काले भाइ पनि काले, काले काले मिलेर खायौं भाले ।
उर्वर फाँट बाँझो राखेर बिदेसिने मेरो तीव्र रहर । के कम म, गाउँमा बसेर बाँझो खेत र खर्क खन्ने दुस्साहस गर्दिनँ । यस्तो उत्पादनशील काम गर्ने त बिदेसिने क्षमता नभएको अयोग्यले हो । म योग्यता पुगेको सक्षम जनशक्ति गाउँघरमा रहनु–बस्नु अडिनु र स्वकर्म गरेर रमाउनु ? अँ हँ,मबाट यस्तो सत्कर्म गर्ने मुर्ख्याइँ हुँदैन र यसलाई संरक्षण गर्ने भुल पनि मबाट हुँदैन। हाम्रा जनप्रतिनिधिले पनि पढलेख गरेका सचेत र सक्षम युवा मुलुकाँ नबसिदिए हुँदो हो भनेर राख्ने भित्री चाहलाई मैले सम्मान नगरेर भो ? मैले उनीहरूको यस्तो शिर झुकाउन सफल सद्भाव निमोठ्न मिल्छ कतै ? यो मेरो नैतिकताले नदिने विषय हो फेरि मसँग त्यत्रो आँट हुन पनि पर्यो नि ।
हाम्रा जनप्रतिनिधिले देश समृद्धिको माग पूरा हुने गरी नीतिनियम योजनाहरू जनहितमा जारी गर्नुपर्ने इमानले व्यवहार खोजेर सङ्कट पैदा नगरोस् भन्ने तीव्र चाह राखे । यो रहस्य विदेशीले सुटुक्क पत्ता लगाए अनि हामीसँग माग भने । हाम्रा मान्छेले यसैलाई सुअवसर ठाने । यिनले कामको अवसर मागी मागी युवाशक्ति पलायनको योजना निम्त्याइरहेका छन् । यसमा उनीहरूको कति ठुलो मिहिनेत परेको हुन्छ । हजारौं युवालाई लामबद्ध गराई बिदेस्याउने गौरवशाली कर्मबाट जनप्रतिनिधि अलग्याउनु राम्रो होइन । सकेसम्म बढी जनशक्ति विदेश पठाएर बहादुर बन्ने होडमा अघि अघि हुनेको यो जमात बढ्दो छ । अन्न र जरीबुटीका भण्डार गाउँघर रित्तिएर उजाड बनेका पाखाहरूमा एक्लिएका वृद्ध बाआमाको पीडाबोध गर्न नचाहने सन्तान स्वयं हुँ म । मैले जन्मथलोको चिन्ता छ भनेर विसङ्गतियुक्त व्यवहारपारखी भएको अभिनय जति गरे पनि भो । सन्तानलाई आफ्नै बाआमाको मन बुझ्नु छैन भने जनप्रतिनिधिले किन पिर लिने ? उनीहरूका छोराछोरी दोहोरो नागरिकता लिएका सुविधासम्पन्न छँदै छन् । दुइजिब्रे जनप्रतिनिधिले विप्रेषण पाएकै छन् । म जाबो कुहिनाले पहरो ठोक्नेको के अर्थ ? अर्थ नबर्थ गोविन्द गाई रातभरि करायो बिहान क्यै नाइँ !
म हुँ स्वघोषित बुझक्की, निजी लाभका सबाल खुब बुझ्छु । चाहिनेभन्दा बढी बुझेकैले त म सस्तोमा श्रम बेच्छु स्वाभिमान गुमाउँछु । परिवारभन्दा टाढा रहेर गौरव गर्छु । आफूलाई विदेशीको चाकर बनाएर पौरखी भएको दाबी गर्न लाज मान्दिनँ । विलासी मेरो विधि–व्यवहार देखेर मन कुँड्याउने बाआमालाई आउँछु, आउँछु छिटै आउँछु चिन्ता नलिनु भन्दै ढाँट्न ढाँटिरहन होसियार छु । मेरो ढाँट चरित्र देखेर अरु कति लोभिए, गन्ती छैन । मेरो चतुर्याइँले साख्खै सन्तानलाई के सिकाइरहेको छ ? मैले सोच्ने विचार गर्ने र उचित निर्णय लिएर सही गन्तव्य पछ्याउनु छैन । जे सुकै होस् आफ्नै थातथलोमा डुलेर त्यही माटाको सुगन्धमा रमाउने बानी बिर्सने अभ्यसमा छु । मलाई जतिसक्दो सुख–सुविधा बटुल्ने पद–पैसाले सम्पन्न हुने तृष्णाको भरिया हुनु छ । मसँग मानवीय संवेदना र सामाजिक मर्यादाले नछोइने मान्छेको काइदा कानुन विशेष छ । मलाई नैतिक पर्खालले छेक्न सक्तैन । यो मेरो बेग्लै पहिचान हो म आफैले अर्जेको उच्च स्थान हो । म यही स्थानमा रमाउँछु । म समताको पोयोमा बाटिएर साथीभाइ स्टमित्र, आफन्तजन सँगै मुस्कुराउने पक्षमा छैन । म मेरै सहज जीवन बाँचेर खुसी हुने हो । मेरो खुसीमा डाहा गर्नेहरू हो गरिराख । म स्पष्ट छु यस्ता सर्वसाधरणलाई काम लाग्ने अनर्गल कुरा सुनेर समय कटाउनु हुन्न मैले । म त जतिसक्यो मोबाइलमा लिप्त रहने आधुनिक रसायन जडिएको यन्त्र हुँ । अरुको व्यापार बढाइदिने यान्त्रिक मगज खोजी हिँड्ने आधुनिक !
मलाई लाग्छ प्रकृतिले सृष्टि गरेको मान्छेमा नैतिक आदर्श हुन्छ त्यसैमा व्यवस्थित रहेर कर्म गर्नु मानवीय दायित्व हुन्छ भन्ने विषय, भनिने विषय हुँ म । कर्मले असल हुने सज्जन ठहरिने कुरा घाममा सुकाउने विषय हुन् । पदीय जिम्मेवारी पूरा गर्नुपर्छ मान्छेलाई न्यायिक सेवा दिएर सचेत प्राणीको हैसियत कायम गर्नुपर्छ भन्ने आदर्श हिजोका हुन् बासी भए । यी उतिबेला म आन्दोलनमा हुँदा गरिएका परिभाषा हुन् । अहिले म बढुवा भएर आन्दोलनको मान–मर्दन गर्न सक्ने हैसितमा पुगेको छु । पुरानो परिभाषा मान्य हुन्न मलाई । अबको आदर्श भनेको सर्वसाधारण निमुखा मानिसको हकअधिकार खोसेर आफू मोटाउने पद्धतिको हिमायती हुनु हो । जसरी सकिन्छ आफू मोटाउने, रमाउने, सुखी हुने विलासको पोखरीमा चुर्लुम्म डुबेर पुरुषार्थ देखाउनु हो ।
म यही अभ्यासमा जुटेको पौरखी हुँ । मलाई कसैको कुरा सुन्नु छैन । मेरो विचार नमान्नेलाई म मोतीबिन्दुग्रस्त आँखाले हेर्न सक्तिनँ । घोक्रेठ्याक लगाइहाल्छु बिलम्ब नगरी लाउँछु । म मातहत देशसेवा गर्नेले मैले भनेको नमान्न मिल्छ ?मैले भनेपछि भनेँ त्यै नियम हो,त्यै कानुन हो । म बोलेपछि फेरि नीतिनियम खोज्ने अधिकार कसैलाई छैन । खुरुखुरु मेरो आदेश मान्नुबाहेक विकल्प छैन नामन्ने सबै मेरा शत्रु हुन् । शत्रुको मुख कसलाई मन पर्छ र ? मैले मन पराउनुपर्ने ? म त पुरानो मान्छे देश र जनताका लागि भनेर वर्षौं दुःख गरेको मान्छे ! अहिले बल्लतल्ल ठाउँमा पुगेर सावाँव्याज असुल्ने अवसर पाएको छु । मलाई यति पनि मौका नदिने ? मैले अरुका कुरा सुनेर समताको सिद्धान्तमा टेकी टेकी हिँड्नुपर्ने ? यो असम्भव देउराली हो, प्रस्ट हुनुहोस् मबाट यस्तो दुर्घटना घट्दैन । मैले बजाउने मेरै डम्फु हो । देश र जनताका पछि लागेर इमान–जमानको लुतो कन्याउनु छैन मैले ।
पटकौं पटक पदमा पुग्नु मेरो कूटिल चाल होर क्षमता पनि । यो एकोहोरो मैले नपाउनुपर्ने हक पाएको हुँ । सार्वजनिक महत्त्वको पद २ पटकभन्दा बढी हत्याइरहनु मेरो आफ्नै खुबी हो कसैले किस्तिीमा राखेर दिएको उपहार होइन । अरुलाई पालो दिने काम मेरो होइन । मेरा शेखपछि उनीहरूको पालो आउँछ । मैले त यो पद बोल्न–ठग्न, झुक्याउन, तर्साउन जान्ने भएको हुँदा कमाएको सिप र निपुणताको बलले पाएको हुँ । मलाई कसैले दया गरेर दिएको पाउजो, दाइजो र बाउको बिर्ता होइन । म त मैसँग ठोक्किएका ठुल्ठुला टाउका तह लगाएर यहाँसम्म आएको हुँ । वरिपरिका कतिलाई मैले गलहत्याएँ र कतिले मलाई गलहत्याए । मैले उनीहरूलाई ठाउँका ठाउँ ठेगान लाएर हत्याएको कुर्सी प्रिय हुँदैन त ? सर्वप्रिय छ । मेरो सर्वप्रिय कुर्सीमा म आजीवन बसिरहन चाहन्छु । बसेकोलाई थुतेर म बसेको हुँ । मसँग थुत्ने हिम्मत भएर त थुत्न सकेँ । साथ दिने को–को थिए ? गन्ने काम मेरो होइन, फुर्सद पनि छैन ।
पदासीन हुनु मेरो सफलता हो । पदमा बस्यो, आफूमात्र बस्यो भन्ने ईर्ष्यालु चरित्रले बाहिर बसेर कराए भन्दैमा सुरुसुरु आउने पैसा र पद छाड्ने मूर्ख होइन म । हो, देश बनाउने गरी काम गरे हुने हो तर फेरि चुनाव लड्नुपर्छ । बल्ल त जम्मा ७ पटक माननीय भइयो ९ पुर्याउने धोको छ । लड्ने भिड्ने अरुले गर्छन् म त सर्वोच्च शिखर चढ्या मान्छे मैले ठाउँ छाडिदिएर अरु नेता बन्ने हो र ? हिम्मत हुनेले प्रतिस्पर्धीलाई उछिट्याएर अगाडि बढ्ने हो नि । युवालाई अवसर चाहिए विघ्न बाधा गर्ने बार, काँडा, झिँगटी, पर्खाल के–के आउँछन् उधिनेर आउनुपर्यो नि अगाडि । हक मागेर पाइने जन्मदिनको उपहार हो र ? । तारतम्य मिलाएर धेरैलाई तह लाउन सक्नुपर्छ । विचार,विवेक, अनुशासन, योग्यता क्षमताले जितेर अघि बढे कसले कसलाई छेक्छ ? संविधानले जनताका छोराले अधिकार पाउनुपर्छ भनेको हो, पाएको छ । म जनताकै सन्तान हुँ । एकै जनाले धेरैपटक लाभको पद लिइरहने गरी जनताका सन्तानले भर्याङ बनिरहने हो, नबनेर के गर्छन् त बिचरा ? ताकतवाला हो माथि चढ्ने जनता जाबो बन्ने हो भर्याङ ! यो पनि उपलब्धि हो नि धन्न भर्याङ बनेर सहयोग गर्न पाइएको छ । यो के कम हो ? कति त पर–पर छन् नजिकै भएर भर्याङ बनी एकछाक मिठो–मसिनो खान पाएका छैनन् । वरिपरिकाले भोजभतेरका बेला डाडुपनियो चाट्ने । दूरदराजका जनतालाई त यो साइत पनि जुर्दैन अनि त, केको गनगन खुरुक्क दुनाटपरीमा चित्त बुझाएर प्रतीक्षा गरे भइहाल्यो नि । धैर्य गरे फल मिठो, जनताको अर्को सन्तान आउँछ !
हो, देश बनाउने हो । म यसैमा व्यस्त छु । मैले दायाँबायाँ देश बनाउने कुरा गरिरहेको छु । मलाई सहयोग गरे देश बन्छ । आँट हुनेले हो काम गर्ने, मसँग आँट छ । आँट नभा सबै ढाँट हुन् । परिणाम दिने गरी अघि बढ्न त अठोट चाहियो, प्रतिबद्ध हुनुपर्यो, योजना चाहियो, कार्यन्वयनको तहमा पुगेपछि त परिणामका लागि अर्को चुनाव आउने बेलासम्म धकेल्न सकिहालिन्छ । मैले त गर्न खोजेको हुँ उसले दिएन भनेर औँलो तेर्स्याउन पाइन्छ । मेरा हुन्छबहादुर साथीहरूको साथ पाए काम हुन्छ । मलाई काम गर्न मेरो नीतिको हुन्छबहादुर चाहिन्छ । त्यसैले त म भन्छु जुन–जुन संस्थामा जो–जो हुनुहुन्छ साँझपख सुटुक्क मलाई भेट्नुस् । मैले भनेबमोजिम लाहा छापेबौचो लिएर हाजिर हुनुहोस् होइन भने ठाउँ खाली गरेर सहजीकरण गर्नुहोस् । आफू त प्रस्ट वक्ता परियो । यसै गरी काम हुनुपर्यो । काम गर्न नदिने ! काम भएन भनेर गनगन गर्ने रुन्चेपारा मलाई मन पर्दैन । मलाई मेरै तजबिजमा काम गर्ने गति भएको पात्र र वातावरण चाहिन्छ । त्यसैले संवैधानिक निकाय, सुरक्षा, शिक्षा,स्वास्थ्य, कृषि, विद्युत, सञ्चार, न्यायपालिका समेत जहाँ जहाँ मेरो नजर पर्छ आफू अनुकूलका सदस्य संयोजन गरिराख्छु । यी मेरा दाहिने हातका पदस्थापन हुन् । मेरो निर्देशन पालनामा अलिकति पनि कन्जुस्याइँ नगर्ने हितैषी हुनु आवश्यक छ ।
यस्तो आज्ञाकारी साथ पाएपछि देश जहाँ जुन भडखालोमा परे पनि म सुरक्षित हुन्छु । निर्विघ्न रही काम गर्न पाउँछु । म खुरुखुरु आफ्नो दुनो सोझ्याउने मिठौरे हुँ । भनेजस्तरी सोझिएको छ दुनो, कोही द्विविधामा नपरे हुन्छ । म मेरै खटन–पटन र शैलीमा चल्ने अद्भुत क्षमता भएको कलापारखी हुँ । सापटीमा अर्जिएको मिजासीमा सहकर्मीहरू ओझेल परे भने म के गरुँ ? म सफल भएँ । मेरो सफलतामा केको डाहा हँ ? यसरी छिर्के हानी हानी सहकर्मी लडाएर बहादुर बन्नु हो र नैतिक शिक्षा सारथिहरूको पुरुषार्थ ? ‘अस्तु’
०००
पर्वत, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































