साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतीतका फाँकी : वर्तमानका झाँकी…!

उनीहरुको नेतृत्व चयनले पार्टी, संगठन चलायमान हुनुको साटो लुटाएमान, गलायमान, ढलायमान भैसकेकै छन् । अब यहाँसम्म आइपुग्दा त "न रहे बाँस, न बजे बाँसुरी, पो भैसकेछ त बाई... ?"

Nepal Telecom ad

कुमार खड्का :

अतीतका फाँकीहरु क्युरियोझैँ लाग्छ
हर्ष र विस्मातको भेलबाढीनै जाग्छ
मन्छाउने शक्ति के हुन् भुत, प्रेतलाई ?
शुद्ध व्यक्ति पूर्ण शक्ति समयले माग्छ ।
००
कुरो २०४०/४१ ताका मङ्सिर मासको बिहानी । भर्खरै स्थानिय निर्वाचनको माहोल सकिँदैको अवस्था । सिर्सिरे हावाको चिसो खाँदै भर्खरै उदाएको घामको कलिलो झुल्कोमा न्यानो स्पर्शको आनन्द लिदै म मर्निङ वाकबाट घर फर्किदै थिएँ । सिन्दुरले रङ्गिएका एकजना चलायमान मूर्तिजस्तै मान्छेको हाउभाउ र गतिशीलतामा आँखा अढेपछि घर तर्फको थप पाइला अघि बढाउन यो मनले मान्दै मानेन । देख्नेबितिकै मैले चिनी हालें, नमस्कार पनि ठोकि हालें, र हंँसिलो मुद्राको हेराहेर पछि म पनि अरु मान्छेहरुसँगै श्रोता दिर्घामा रहेर उनको भाषण सुन्ने ध्यानमा लागें ।

क्रमिकरुपमा भीड जम्मा हुँदैथियो, उनले हात उठाउदै सबैलाई अभिवादन गर्दै दिग्विजयी मुद्रामा प्रवचन दिन सुरु गरे…
“आज यस क्षेत्रका दाजुभाइ, दिदीबहिनी, मान्यजन, आफन्तहरु सबैको लागि विशेष खुशीको दिन हो । म यहाँहरुकै छोरो, भतिजो, भाइ , मित्र, हितैषी, सहयोगी… जे भन्नुहोस्, आज जनताको प्रतिनिधिको रुपमा निर्वाचित हुन नसके पनि शक्ति र भक्ति केन्द्रबाट मनोनित भएर राज्यको सिन्दुर थाप्दै यहाँहरु समक्ष रङ्गीन भएर उपस्थित हुन पाएको छु । सम्पूर्ण महानुभावहरुमा खुशीले झुसी नमस्कार टक्र्याउन चाहन्छु …।”

“यहाँहरुले मलाई नपत्याउनु भएपनि राज्यको संवैधानिक निकायले पत्याएर आफ्नो गाउँवासीहरुको सेवा गर्न खटाएको छ । म अत्यन्तै गौरवको साथ गुन लगाउने निकाय, यस स्थानबाट जीवन र संघर्षको परिचय दिलाउने समुदाय, प्रत्यक्ष वा परोक्ष सहयोग गर्नुहुने महोदयहरु समेतमा एकमुष्ट जोर जवर्जस्तीको धन्यवाद दिँदै चिसो बिहानीको न्यानो अभिवादन टक्र्याउन चाहन्छु । मलाई मायाले अङ्गुर ख्वाउनेदेखि मेरो प्राकृत मोटो र गोरोपनाको खिल्ली उडाउदै लङ्गुर र बङ्गुर भनेर खिल्ली उडाउनेहरुलाई भन्न चाहन्छु कि वास्तवमै आज यो बङ्गुर शेर भएको छ, जसले धारण गरेको यो अहिंसा र आदर्शको पुरानो गान्धी कोटमा राज्य शक्तिको रक्त सिन्दुरको मुट्ठी परेको छ…।”

मेरो अलि नजिकका र सधैं मलाई अगाध माया गर्ने व्यक्तित्वको प्रवचन थियो त्यो । बहुत सारगर्वित लाग्यो, हत्तपत्त ताली ठोकें, भिडले पनि ताली ठोक्यो । पञ्चेती कालमा सुधारिएको पञ्चायतले बहुदलीय पक्षलाई २० लाख विरुद्ध २४ लाख भोटले कथित रुपमा पराजित गरिएको भनिएपछि २०४०/४१ को स्थानीय निर्वाचनमा वडा सदस्य उम्मेदवार बनेका उनको गठभन्दा फरक विरोधी गुटको दबदबा भएकोले अध्यक्ष पदमा विजयी हुने कुनै सम्भावना नहुँदा चार जना मध्येको एक प्रतिनिधि पात्रको रुपमा गा.स.स.मा उम्मेदवारी दर्ता गराएका रहेछन् । त्यहि पदमा निर्वाचन जिते पनि जिल्ला सभाको मनोनयन निम्ति प्रतिस्पर्धा गर्न पाइने र मौका मिल्दा मन्त्री, प्रधानमन्त्रीसम्म भइने रहेछ ।

उनी त्यस ताकाको पढेलेखेका स्नातक र स्नातक मध्येका पनि अव्वल व्यक्ति भएकोले जिल्ला चुनाव जित्ने सम्भावना पनि प्रवल थियो, भन्ने गर्थे त्यतिबेलाका जानिफकारहरु । उनको विद्वत प्रतिनिधित्वले केन्द्रिय राजनीतिमा पनि फरक पार्ने कुराले होला, विरोधीहरुले सो कुरा बुझेर सायद, रणनीतिक दाउपेचमा हराइयो भन्छन्, भला उनले विजय हाशिल गर्न सकेनन्र, कुरो उस्तै उस्तै हो । पछि शक्तिकेन्द्र भनौं कि गाउँ फर्के भर्तिकेन्द्र मार्फत टोलमै खुम्च्याउने रणनीति अनुसार गाससमा नियुक्ती दिइएको भन्ने कुरा पनि बुज्रुक उपबुज्रुकहरुबाटै प्रष्ट भयो ।

उनी केवल हारको इख मेटाउन, पानीमा डुबे पनि त्यति भिजेको छैन, खुट्टा लड्खडाएको छैन भन्ने सन्देश दिनको निम्ति मात्र गाउँ फर्किएका हुन् भन्ने भान भने हुन्थ्यो । नियुक्ती पत्र पाए लगत्तै खुशीले गाउँको नजिकैको चौरमा उनले सम्बोधन गर्दा मैले प्रत्यक्षदर्शी हुने सौभाग्य पाएँ । उनको पुरानो कोट सिन्दुरले रङ्गिएको थियो, उनको निधारमा लामो रातो टिका र गालामा समेत रङ्गिन छाप थियो । गला मालाले शोभायमान हुँदा उनको मुहारको खुशी बेजोड चम्केको देखिन्थ्यो । मान्छेहरु कानेखुसी गर्दै थिए, सिन्दुर माला कस्ले लगाइदियो होला ? कि आफैंले लगाएका हुन् कि… ? हल्का कानेखुसीमा सुस्त खिसिट्युरी पनि चलेकै थियो त्यहाँ ।

यसरी जन निर्वाचित हुन नसके पनि शक्ति केन्द्रको नियुक्तीले प्रोत्साहित उनको मनस्थितिले मलाई के लाग्यो भने हार्दैमा पनि बेखुसी हुनुपर्ने अवस्था नहुने रहेछ, मन विजयी छ भने विजयको खुशी त हरहाल हासिल गर्न सकिन्छ । झन् राजनीतिकर्मीले त मनलाई सकारात्मक सोचले परिवर्तन गर्दै प्रतिद्वन्द्वीहरुको अघिल्तिर देखावटी खुशी भए पनि छर्न सक्नुपर्थ्यो, उनले त्यो अदम्य सामर्थ्य देखाउन सके । मैले किशोर अवस्थामै त्यतिको फरासिलो, आशालाग्दो, उच्च मनोवल भएको व्यक्तित्वबाट पाएको सकारात्मक गतिशीलताको पहिलो र भव्य उदाहरण थियो त्यो ।

उनी राजनीतिलाई पेशा बनाउने सोच भएको मान्छे । जिल्लाको चुनावमा पनि घात, प्रतिघात तथा राजनीतिक प्रतिसोधमा परेर विजयी हुन सकेनन् । तत्पश्चात करिब एक वर्ष पछिनै गासस पद राजिनामा गरेर २०४२ को पञ्चेती चुनावमा रापस (माननीय) उम्मेदवारी दिए । चुनाव प्रचारको क्रममा हाम्रो गाउँमा आएका थिए । त्यस ताकाका गाउँका बुद्धिजीवी बहुदलवादी दाइहरुले अन्तर्कृयाको क्रममा उनलाई प्रश्न राखेका थिए । जुन अहिले पनि मलाई सम्झन मन लाग्छ । दाइहरुको प्रश्न थियो,
तपाइँको खास सिद्धान्त के हो ?
उनको उत्तर यस्तो थियो…
“प्रजातन्त्रसँग प्रेम, पञ्चायतसँग विवाह , कम्युनिष्ठसँग नफरत..!”
मतलब ?
“प्रजातन्त्र खोसिएको छ, म खोज्दै छु (अपहरित प्रेम), पञ्चायती निरङ्कुश शासन (वस्तुगत यथार्थ) नचाहँदा नचाहँदै यसैको पृष्ठभूमिमा प्रेम, सम्बन्ध, भाइचाराको माखेसाङ्लाे निर्माण हुँदैगयो, असमञ्जसमै लगन कसियो, यस्तै परिपाटीमा कर्मकाण्ड र सम्बन्ध समेत विस्तार भयो, तर सम्बन्ध टिकाउन सुहाउँदो पर्यावरण भने भएन । अनिश्चित भविष्यले राष्ट्र, राष्ट्रियतालाई पूर्ण रुपमा गाँजेको अवस्था छ । विद्यमान निम्छरो आर्थिक, सामाजिक धरातल र अन्तराष्ट्रियकरणको प्रभावले सर्वहारवादी विष वृक्षको रुपमा साम्यवादी अमूर्त पर्यावरणको माहोल सृजना भएको छ, तर नेपालको सन्दर्भमा विद्यमान भौगोलिक र राजनीतिक अवस्थाको कारण यसले जनता र राष्ट्रको भविष्यमा सकारात्मक प्रभाव पार्नेवाला छैन ।

तसर्थ समाजमा उपयुक्त तरिकाले प्रजातान्त्रिक पद्धतिको नैतिक धरातलमा राजनीतिमा प्रजातन्त्र र आर्थिक व्यवस्थामा समाजवादको सुदृढ जग हाल्नसके राष्ट्र निर्माणको निम्तिको केही योगदान हुन्छ कि ? भन्ने ईच्छाशक्तिले जुर्मुराएर राजनीतिको यो बाटो चुनेंको हुँ । तर किन किन मनमा आफ्नै भविष्य ज्यादै घातक र भयावह लाग्दैछ… ।”

सबै स्तब्ध भए, कसैले अमिलो मुख लगाए, कसैले ओठ लेप्राए, कोहि पछि फर्के, एवंक्रमले बिस्तारै भीड पातलियो, बचेखुचेक हामी २/४ जना बाहेक उनी एक्लै जस्तो परे पनि मैले भने छोडेको थिइन, छोड्न मिल्दैनथ्यो, किनभने त्यो बेला म नै उनको सबैभन्दा नजिकको मान्छे थिएँ । उनले म र मेरा २/४ जना मित्रहरुलाई मात्र भए पनि आफ्नो अन्तिम धारणा राख्दै भने …
“मलाई थाहा थियो कि मेरो शब्दहरु यहाँ प्रिय हुने छैनन्, तर सत्य कुरा भन्नुपर्ने भएर मात्र भनेको हुँ । उहाँहरुलाई पचेन, मैले बुझेको छु कि मैले समर्थन पाउने आशा नगरेकै राम्रो हुन्छ ।”

मलाई पनि मनमनै हाँसो लाग्यो र सोचें, “हो हजुर सारै बुझकिनै हुनुहुन्छ, म पनि भोट दिइहाल्ने खाले त हैन, वाध्यताले पछि लागेको मात्र हो…!” हा.. हा… हा… मनमनै हाँसो लाग्यो । उनलाइ खिज्याएँ । तर उनीप्रति अलि दया, केही माया र सम्मान पनि पलायो । कठै ! परिस्थिति बुझ्न सकेनन् कि ? पढेलेखेका दिग्गज मान्छे, देश, जनतालाई चाहिने मान्छे हुन्, तर समयले बुझ्न गाह्राे छ, केवल दुख मात्र पाउने भए, भनेर मात्र हो ।

नेपालको सन्दर्भमा कम्युनिष्टलाई मेरो बुवाले पनि “कम निष्टा” भन्ने गर्नुहुन्थ्यो । उहाँको परिभाषामा धर्म, निष्ठा र इमान्दारिता कम भएका वा हुँदै नभएकालाई कम्निष्ट भनिन्थ्यो । बुवाको त्यो कुरा चित्त नबुझे पनि म मौन बस्थेँ, बुवासँग प्रतिवाद गर्नु राम्रो हुन्नथ्यो, समय आएपछि सबै ठिक हुन्छ भन्ने फराकिलो सोचमा रहन्थें । किनकि म त्यसै विचारधारामा समाहित भैसकेको “लाटो देशको एउटा गाँडो तन्नेरी मनुवा हुँ” भन्ने मनोरोगले ग्रस्त हुँदै थिएँ, तसर्थ, त्यसबेला महसुस हुने, गर्ने कुरै पनि भएन ।

तत्पश्चात् अहिलेसम्मको तीतो भोगाई, समाजको अधोगतिको अवस्था, विद्यमान राजनीतिक पर्यावरणको कारण सारा वस्तुगत र तथ्यगत कुराहरु इतिहासको कठघरामा राखेर तौलिदा अचम्म लाग्छ ! त्यो समयमा पनि त्यति गहिरो सोच राख्नसक्ने, भविष्यद्रष्टा मानवहरु… ! मेरो मानस्पटलमा रहेका अतीतका महान पात्रझैँ लाग्छन्, अहिले मलाई । सायद उमेरले अङ्ग पुगेर पनि होला कि ? उनीहरु पुरानो इतिहासका ज्ञाता जस्ता थिए ।? वा हतारमा सोच्ने, निर्णय गर्दै फुर्सदमा पछुताउने हाम्रो प्रवृत्तिगत चरित्रले पनि होला कि ?
खयर जे भए पनि त्यो कटु इतिहासनै भयो, स्मरणमा मात्र रहने भयो अब । गम गरेर कुनै लाभ हुने छैन । मैले मेरा अनुभव, अनुभूतिहरु सन्ततिहरुलाई अर्तिको रुपमा दिने हो, तथापि उनीहरुले पनि आफ्नै हिसाबले सोच्ने सम्भावनाहरु छन्, फेरि उही चक्रको पुनरावृत्ति नहोला भन्न सकिन्छ र…? उफ्.. ! भो …! अब अलि उन्नत सोचको आशा गरौं !

अर्को प्रसङ्ग…
२०४६ को आन्दोलनताका पञ्चहरुले भित्रभित्रै र भ्याएसम्म आफ्ना मण्डले समुहको प्रयोगले गाउँ वस्तिहरुमा तत्कालीन अवस्था र शक्ति सन्तुलनको स्थितिलाई मध्यनजरगर्दै प्रत्यक्ष वा परोक्ष बहुदलीय आन्दोलन प्रतिकार समिति गठन गरेका थिए । जस्को माध्यमले उनीहरु आन्दोलन भाँड्ने, गाउँ वस्तिको अवस्था बारे केन्द्रमा पुलिस रिपोर्टिङ गर्ने, आन्दोलनको पक्षमा रहेका जनताहरुलाई डर, त्रास देखाउने र सके पञ्चायतको पक्षमा समेट्ने, नसके राजनीतिक रुपमा तटस्त बस्न लगाउने कार्यमा प्रोत्साहन गर्ने, गराउने गर्थे । अन्ततः २०४६ को जन आन्दोलन सफल भयो ।

सङ्क्रमण काल खण्डको केही समयमा तिनै मण्डले धङधङीको अन्तिम चलखेल भए पनि केही समयमै जनताको अघि टिक्न नसकेर दुला पस्ने स्थिति बन्यो । गाउँ टोलमा धमाधम “बहुदलीय व्यवस्था व्यवस्थापन समितिहरु” गठन हुनथाले । उच्चस्तरमा भ्रष्टाचार र प्रतिकारमा लागेका सुरक्षा निकाय लगायत विभिन्न निकायका उम्दा तहमा रहेर आन्दोलन दबाउन शक्तिको प्रयोग गर्नेहरुलाई कार्वाही गर्न निम्ति छानविन र अनुसन्धानार्थ उच्च स्तरिय “मल्लिक आयोग” गठन भयो भने स्थानिय तहहरुमा पनि प्रतिकार समितिमा बस्नेलाई कार्वाही गर्नुपर्ने माग बढ्दै गयो ।

सोही क्रममा हाम्रै छिमेकी गाउँमा प्रतिकार समिति बनाएर परिवर्तनकारीहरुलाई हैरानी दिएको, भनिएका तत्कालीन पञ्च नेतालाई जन कार्वाही गरिने निर्णय भएछ, सो कुरा थाहा पाएपछि उनी अलि समय भूमिगत नै भएछन् । उनलाई कार्वाही हुन्छ, गरिन्छ, गर्नुपर्छ… भन्ने आवाज सघन रुपमा उठिनै रहेको थियो । तर उनी लामो समय गायबै भएर रहे । भनौं कि भूमिगत शैलीमा रहे, जो ‘क्रान्तिकारीहरुले’ सिकाएका थिए…!

महिनौं पछिको एकदिन बिहानी चियाको समय हल्लीखल्लीले खुब वातावरण तताएछ । कुरो, कारवाही गर्ने भनिएका तत्कालिन प्रतिकार समितिका स्थानिय नेता आफ्ना सहयोगी सहित गाउँ आएका रहेछन् । उनलाई सबैले घेरेर प्रश्न प्रतिप्रश्न गर्न थालेछन् । प्रश्न एउटै रहेछ…
“प्रतिकार समिति मार्फत परिवर्तनका वाहकहरु लाई दुख दिन मण्डले परिचाल गरेको तपाइँलाई जन कार्वाही किन नगर्ने ?”

धैर्यतापूर्वक सबैको कुरा सुनेपछि उनले “ल पर्ख है बाबू हो मेरो कुरा पनि सुन…” भन्दै पिपल चौताराको डिलमा उक्लेछन् र भन्न लागेछ्न् आफ्ना त्यो बेलाको समस्या र वाध्यताका कुरा । तथापि अन्यत्र जस्तो उनले कुनै प्रकारको घटना नघटाएको, गिरफ्तारी नगराएको र कुनै पनि सामाजिक अहित र हानीनोक्सानी नगरेको कुरा स्पष्टीकरण दिँदैगर्दा भीडले सुन्नै चाहेन र हो हल्ला भएछ । आफ्नो कुराको सुनुवाइनै नभएपछि उनी पनि रिसाउँदै त्यसो भए लौ सुन ! भन्दै चर्को स्वरमा कराएछन्…

“म त तिमिहरुको नेता भैसकेको मान्छे हुंँ ! अब कसरी कार्वाही गर्छौ ? हिम्मत छ…?” भन्ने प्रतिप्रश्न गर्दै हाइकमाण्डको नेताले प्रमाणित गरेको परिचय प्रमाणपत्र पनि देखाइदिएछन् । प्रायः जसोले चियाउदै भए पनि हेरेछन् ! एक्कासी वातावरणमा सन्नाटा छाएछ, अनि तुरुन्त कान फुकाफुक सुरु भएछ, त्यहाँ ।

“उहाँ त हाम्रो नेता भैसक्नु भएको रहेछ बाई !” कसैले भने ।
अर्कोले सहि थपे, “त्यै त नि है ? माले, मशाले, मण्डले एकै हुन् भनेर कुन्नी कुनचाहि ठुलै क्रान्तिकारी नेताले पनि भनेकै हुन् त…”
अर्कोले थपे, “डेमोक्रेसी, मोबियोक्र्यासी, फोबियोक्र्यासी… जे जे भने नि पछि कुरा उही हुन्छ, भान्सा र डाडु पन्यु नपाउन्जेल मात्र हो । उनी पनि हाम्रै टोलका र गाउँ, छिमेकमा केही योगदान गरेका नरम खाले मान्छेनै हुन् क्यारे ! यिनले ठूलो त के बिगारेका थिए र ? बेकारमा… । भोलि यिनै क्रान्तिका ठुलाकुरा गर्नेले यिनको जति सामाजिक काम गरेर देखाउन न, अनि मानौँला । बेकार सामाजिक सम्बन्ध, व्यवहार भडुवाहरु ! हाम्रो लागि सबै उस्तै हुन् । लागौं…!”

कोही जिल्ल पर्दै, कोही कान फुक्दै, कोही हल्लाखल्ला गर्दै, हास्दै आआफ्नो बाटो लागेछन् । उनले बहुदलीय जेष्ठ पार्टीको क्षेत्रीय नेताको रुपमा केन्द्रीय नेतृत्वबाट नियुक्ती पो पाइसकेका रहेछन् । “रत्नाकर वाल्मीकि बन्नसक्ने यो समाजमा यसलाई पनि परिवर्तनको सकारात्मक पाटोनै माने भैहाल्छ नि । हैन त ? कि कसो… ?”

आखिर, प्रतिकार चलाउने धुन्धुकारीहरु क्रमश चैते, बैसाखे हुँदै फागुनेसम्म आइपुग्दा पुरानै धङधङीका रत्नाकरहरु वाल्मीकि बन्दै पार्टी, नेतृत्व हुँदै पुन: रत्नाकरको रुप धारण गरिसकेका रहेछन् । पुराना र नयाँ शक्तिलाई पनि तालिम दिएर ठेगान लगाउने रत्नाकरहरु जन्मी, हुर्किसकेछन् । नयाँ रत्नाकर र पुराना वाल्मीकि बनेका रत्नाकरहरुको गठजोड तिब्ररुपमा हुनेक्रम जारीनै छ । प्रतिकार गर्नेहरुलाई रत्नाकरकै आरोपमा घचेटिएको छ, घचेटिदै छ । अहिले जुनै पार्टी, गुट, सङ्गठनमा नयाँ र परिवर्तित रत्नाकरहरुकै बर्चस्व देखिन्छ । उनीहरुको नेतृत्व चयनले पार्टी, संगठन चलायमान हुनुको साटो लुटाएमान, गलायमान, ढलायमान भैसकेकै छन् । अब यहाँसम्म आइपुग्दा त “न रहे बाँस, न बजे बाँसुरी, पो भैसकेछ त बाई… ?” चेलाहरुनै चिनी बनिसकेपछि गुरुहरु सख्खर रहेर पनि त के काम हैन त ?

अन्तिममा,
सन् १९९६ को विश्वकप फुटबल चलिराखेको थियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय फुटबल बारे युवाहरुमाझ गरमागरम बहस हुँदै थियो । कतिपय युवालाई हाम्रो देश कहिले त्यो स्तरमा पुग्ने होला भन्ने चिन्ता थियो, कतिपय देशको खेलकुद र फुटबल खेलको बिग्रदो गतिमा चिन्तित थिए । फुटबल खेलको म्याच फिक्सिङ्ग काण्ड र त्यसैको पृष्ठभूमिमा केही होनाहार खेलाडीहरु फसेको वा षडयन्त्रमा फसाइएको प्रसङ्गले समग्र फुटबलको उन्नयनमा पारेको राष्ट्रिय प्रभाव, असर तथा यथास्थितिमा हाम्रो देशले विश्वकपमा कहिले खेल्न पाउने वातावरण होला ? भन्ने चिन्तन भैरहेको बेला मेरो एकजना किशोर भतिजले कुरामा विमति जनाउदै होला सायद बीचमै बोले,
“हाम्रो देश वर्ल्ड कपमा नपुगे पनि सिक्किमको गोल्डकप फुटबलमा त पुगेको हैन र अङ्कल ? वोर्ल्ड कप भन्दा त गोल्डकप झन् राम्रो हैन र ?…”

सबैजना उसको कुरा सुनेर गलल्ल हाँसे, म पनि हाँसेर भनें… “कुरो त हो नि बाबू ! तर के गर्नु ?” आग्राको कुरामा गाग्राको प्रसङ्ग आयो…!” पछि बुझ्ने बेला भएपछि आफै बुझ्नेछौ है ?

किशोर भतिज चुप लागे, अरु सबैजना फेरि हाँसे । हिजो आज मन बहलाउन पनि पुरानै कुराहरु सम्झेर कहिले हास्नुपर्ने, कहिले रुनुपर्ने भएको छ…
“विधिको बिडम्बना, सोच, समझ निकम्मा…!?”
सबैको जय होस् ! अस्तु !!!

०००
आलापोट, काठमाण्डौं ।
२०८२/०४/१८ 

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ratnanidhi regmi
Ratnanidhi regmi
8 months ago

Good

kumar khadka
kumar khadka
8 months ago

धन्यवाद !

Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
2
0
Would love your thoughts, please comment.x
()
x