अमर अधिकारीअम्रिकाने भिस्साका किस्सा
हाम्रो पालो आयो, झुसे दारी भएका कुइरेले भने- “सिसामुनिको प्वालबाट पासपोर्ट छिराउनुस्।” नेपालीमै सोधे हाम्लाई। “चोराचोरी काति छन् ?” हामी दुईले एकै स्वरमा भन्यौँ- “एकजना छोरा मात्र हो।“
अमर अधिकारी :
उहिले हाम्रो गाउँको बाटो भएर कहिलेकाहिँ विदेशी नागरिकहरु पनि हिँड्थे, सायद केही अध्ययन तथा अनुसन्धानका क्रममा र रिसर्चका लागि। हामीले गोरा मान्छे देख्दा बित्तिकै उनीहरुलाई “अम्रिकाने” भन्थ्यौँ आफूभन्दा वरिष्ठले पनि त्यहि भनेको सुनेर। अमेरिकन होस् वा युरोपियन, रसियन होस् वा अष्ट्रेलियन जो सुकैलाई पनि “अम्रिकाने” भन्ने गरिन्थ्यो गाउँमा। “बाँदरका सन्तान” सम्म पनि भन्ने गर्थे गाउँलेहरु कुइरेलाई।
प्यूठानको भिंग्रीस्थित मैले पढेको अमर माध्यमिक विद्यालयमा हामीले पढ्नुभन्दा दुईतीन वर्षअघि एकजना बारबरा नोमेन नामकी महिलाले पनि पढाएकी थिइन्। उनले माडी नदीमा नुहाउँथिन् निर्बस्त्र भएर अर्थात् नाङ्गै भएर। “के गर्नेलाई भन्दा के गर्नेलाई लाज” भने झैँ ठान्थे स्थानीयहरुले। त्यसरी नुहाउनु सायद उनी आफूले स्वतन्त्र नै ठानेकी थिइन् होला। आखिर विदेशी नागरिक न थिइन्। गाउँलेहरुले कुरा काट्दासम्म काटे बारबरा नोमेनको। उनी हाम्रो घरमा पनि एक दिन बिताएकी थिइन्। गाउँलेहरुले दूध-दही र अण्डाको चाँजोपाँचो मिलाउथे उनका लागि ।
यो त भयो चार दशकअघिको गाउँको संस्मरण, अब लागौँ काठमाडौँतिर। छ महिनाअघि अम्रिकाने भिसाका लागि मुताबासमा निवेदन दिइयो एउटा कन्सल्टेन्सी मार्फत दुईजनाको ५५ हजार तिर्नेगरी। पैसो तिरियो अनि झोला भिरियो र घरतिर लागियो। छ महिनापछि अन्तरभ्युको (अन्तर्वार्ता र इन्टरभ्युको सर्ट एण्ड ज्वाइन्ट वर्ड) लागि मुताबासमा पसेपछि त्यहाँ डेन्जरनाक नियम पालना गर्नुपर्दोरहेछ। ५५ हजारको सदुपयोग त गर्नैर्योग र लुसुलुसु छिरियो। कम्पाउण्डभित्र छिर्दाबित्तिकै सुरक्षकर्मीले ज्यान छामछुम पारे हामी दुबैजनाको। हातमा रहेको छातामा उनको ध्यान गएन। लाइनमा बसिसकेको मैले “छाता कहाँ राख्ने त !” भनेर तिनै सुरक्षाकर्मीलाई सोध्दा कम्पाउण्ड बाहिर राख्नुस् भने। बाटोछेउको पेटीमा राखम् भने बर्खाको समय छ कसैले टिपेर लगिहाल्छ भन्ठानेपछि नजिकैको भिसा कन्सल्टेन्सीमा रहेकी पसल्नीको मुहारमा हेरेर मुस्कुराउँदै “यो छाता यतै कुनामा राख्छु है !” भन्दा उनले पनि मुस्कुराएर भनिन्- “ऊ त्यहाँ राख्नुस्।“
म दौड्दै मुताबासको कम्पाउण्डभित्र छिरेँ र श्रीमतीजीको अगाडि लाइनमा रहेँ। त्यत्रो धनी देशको मुताबास कम्पाउण्डमा रहेको पानीको धारो हेर्दा लाग्थ्यो कि यो अम्रिकाने मुताबास नभएर अफ्रिकन मुलुकको मुताबास हो झैँ। धारो हेर्दै फलामको खिया लागेको जस्तो देखिने टुटी पनि बेढंगको। “किन राख्या होला त्यस्तो अनुहार नपरेको धारो ?” भनेर मैले श्रीमतीलाई धारातिर देखाउँदै भनेँ। “त्यत्रो धनी देशको व्यवस्थित दूताबासको धाराको हालत हेर त” फेरि भनेँ।
हामीलाई तोकिएको बिहान सवाआठको समय भए पनि हामी आठ बजे नै छिर्ने गरेर त्यहाँ पुगेका थियौँ। बाहिरपट्टीको लाइन नागबेली आकारमा थियो। उत्तरतिर लाग्ने, घुमेर दक्षिणतिर लाग्ने अनि फेरी उत्तरतिर लाग्ने। भित्र छिरेपछि सुरक्षाकर्मीले मेरो गोजीमा रहेको कलम देखेपछि भने- “विशेष खालको पेन रहेछ।“ मैले भने- “मैले अमेरिकाकै ओरेगनबाट पुरस्कार पाएको स्वर्णाभ कलम हो।“ उनले त्यो ‘स्वर्णाभ कलम’ र अर्को रातो कलमलाई टेपले बेरेर मेरो नाम टाँसेर “फर्कदा लिनुस् है !” भने।
कसैले सूर्तिका पोका टोकरीमा राखेका देखिन्थे भने कसैले चुरोटको बट्टा त कसैले। धन्न रक्सीको बोतल भने देखिएन, नेपाल न हो। मेटल डिटेक्टरबाट छिर्नुअघि मलाई केही भनेनन्, तर श्रीमतीजीलाई भने हात माथि पारेर छिराउन लगाए हिन्दी फिलिममा पेस्तोल देखाउँदा हात माथि उठाए झैँ।
त्यहाँ अन्तरभ्यु दिनेहरुमध्ये कोही महिलाको सल लत्रेको, कुर्ता नै दुई हिपको बीचको कुलोमा कोच्चिएको पनि देखिन्थ्यो। कमसे कम बसेर उठेपछि कुर्ता तानतुन पार्नुपर्छ नि महिलाहरुले, सल भुइँमा झरेपछि मात्र थाहा पाउने, झर्नलागेको थाहा नपाउने नेपाली बानी। दुई हिपको बीचको कुलोमा कोच्चिएको कुर्ता अरुले भनिदिएपछि मात्र तानतुन पार्ने। मुताबासमा अन्तरभ्यु दिनेहरुमा कोही चौरासी पूजा गर्ने उमेरका देखिन्थे भने कुनै युवतीले यस्तो टाइट ट्राउजर लगाएकी थिइन् कि हेर्नै नसकिने, नाप-नक्सा सबै छर्लङ्ग।
ठाउँठाउँमा सुरक्षाकर्मीको इशारामा भित्र छिर्ने काम भएपछि खुला ठाउँमा लहरै राखिएका कुर्सीमा पालो पर्खदै बस्दै गर्यौँ। अन्तरभ्यु हुने काउन्टरमा छिर्न फेरी लाइन बस्नुपर्यो, कसैले पटुका नै कस्नुपर्यो। एकजना साठी कटेकी महिला गनगन गर्दै भन्दैथिइन्- “मलाई त रातभरी पखाला लागेको छ” उभिन पनि सक्दिनँ। यत्रो ठाउँमा आउने मान्छेले त एकदुई दिनअघिको खानपानमा ख्याल गर्नुपर्ने हो नि, आखिर नेपाली न परिन्, देखा जाएगा भन्दै भुँडी भर्दै गरेपछि छेरौटीले भेट्नु स्वाभाविक पनि हो।
अन्तरभ्यु काउन्टरबाट साउण्डबक्स मार्फत् माइकिङमा भनिरहेकी थिइन् एक अम्रिकानी महिलाले- “आली पाछी जानुस्।“ भन्न खोजेको त “अलि पछि जानुस्” हो। अन्तरभ्यु कुर्सीमा बसेर दिनुपर्नेहोला भन्ठानेको त ठिङ्ङ उभिएर दिनुपर्ने रहेछ। कसैले नेपालीमा त कसैले अंग्रेजीमा अन्तरभ्यु दिइरहेका थिए। श्रीमती बाथरुमबाट निस्किएपछि म पनि बाथरुम छिरेँ। पिसाव फेरेपछि फ्लस थिच्दा पहिरो गए झैँ आवाजले फ्लस भयो, म त झसंग नै भएँ त्यो फ्लसको आवाजले।
पाँच नम्बर काउन्टर तोकिए पनि हामीलाई नौ नम्बरमा उभ्याइयो अन्तरभ्युका लागि। त्यत्रो विकसित मुलुकको त यस्तो हालत छ भने हाम्रो मुलुकको के होला? भन्ने एउटा गर्ने अर्को। हाम्रो पालो आयो, झुसे दारी भएका कुइरेले भने- “सिसामुनिको प्वालबाट पासपोर्ट छिराउनुस्।” नेपालीमै सोधे हाम्लाई। “चोराचोरी काति छन् ?” हामी दुईले एकै स्वरमा भन्यौँ- “एकजना छोरा मात्र हो।“ फेरि सोधे- “बे बाको छा कि छाइन ?” को उत्तरमा भन्यौँ- “विहे भएको छैन।“ “खुन स्टेट र खुन सिटीमा बास्छान् छोरा र खे खाम गार्छन् ?” मैले भनेँ- “सिकागोबाट पिएचडी सकेर अहिले फिलाडेल्फियाको टेम्पल युनिभर्सिटीबाट पोस्टपिएचडी गर्दैछन्।“
“खाती समय बस्नुहुन्छ आमेरिकामा” भन्ने प्रश्नको जवाफमा मैले “एकडेढ महिनाजति” भन्दा बित्तिकै श्रीमतीजीले प्वाक्कै भनिहालिन् “तीन महिना !“ दूताबासमा देखिने लाइनले भन्थ्यो कि “मातृभूमिलाई चटक्कै छोडेर जाऊ, फर्केर नहेर, यो देशमा गतिला नेता छैनन्, नेताहरु तस्कर र माफियाहरुको संगत गर्ने मात्र छन्। नेपालको भविष्य डावाडोल छ, विदेश गएर उतै पढ्नु र उतै कमाइ धमाइ गर्नु, सवासय पार्टी भएको मुलुकमा भन्दा दुईटा मात्र पाटी भएको मुलुकमा जाऊ र बस, उतै ठीक छ। तर मेरो मनले भने मातृभूमि छोड्नु भनेको आमामाथि घात गर्नु सरह हो भन्ने सोचेँ। तर के गर्नु मैले भनेर भएन। मुलुक भड्खालोमा परेको धेरैलाई थाहा छ नेताहरुलाई बाहेक।
०००
०००
Subscribe
Login
0 Comments
Oldest








































