रामप्रसाद पन्थीके हुन्छ साथी गाईजात्रा फाले ?
म त भन्छु - आफूलाई भाले ठान्नेहरू ! भालेलाई पति मान्नेहरू ! सबैले जान ; साँढेजात्रालाई राष्ट्रिय पर्व मान । वर्षमा एकपटक मात्रै किन ? वर्षैभरि साँढेजात्रा मनाऊँ । कहिँ नभएकाे जात्रा हाँडी गाउँमा भन्ने उखानलाई जीवन्त बनाऊँ ।

रामप्रसाद पन्थी :
वैदिक धर्मशास्त्रमा गाईकाे महिमा र गरिमा उच्च छ । गाई आफैमा सुधाे र बहुगुणी प्राणी हाे । गाईका दूध, दही, घिउ, मल, मुत्र, हाड, छाला, सिङ, पुच्छर आदि सबै अङ्ग पुज्य, पवित्र र उपयोगी मानिन्छन् । तसर्थ गाेसेवकहरू गाईलाई आराध्य मान्दछन् । पुराणहरूमा कामधेनुकाे विशेष चर्चा छ । मान्नेहरूले गाईलाई गाेमाता भनी सम्बाेधन गरेकाे पनि सुनिन्छ । त्यसाे त गाईप्रति मानिसहरूका धारणा भिन्न भिन्न हुन सक्छन् । याे व्यक्तिगत स्वतन्त्रताको विषय पनि हाेला ।
संसारमा जति पनि प्राणीहरू छन् ; तिनमा पाेथी जाति काेमल, नरम, सुधा, स्नेही र वात्सल्य मानिन्छन् । तुलनात्मक रूपमा भालेहरू निर्दयी, कठाेर, आक्रामक र हिंस्रक ठानिन्छन् । गाई, भैंसी, बाख्रा, ढाेई लगायत सबै प्राणीहरूमा हेर्नुहाेस् साँढे, राँगो, बाेके, मत्ता आदि सबै भालेहरू ज्याद्रा र मापाका हुन्छन् । याे कुरा कीट पतङ्गहरूमा पनि लागू हुन्छ । जसकाे ज्वलन्त उदाहरणका रूपमा माहुरीलाई लिन सकिन्छ । माहुरी परिवारमा भालेले रानी माहुरीलाई गर्भाधान गराउने बाहेक अन्य कुनै काम गर्दैन । भालेपनका विशेषताहरू मानिसमा पनि भेटिन्छन् । त्यसैले मानिस आफैलाई लक्षित गर्दै भन्दछ, “फलानाे निकै भाले पल्टियाे ।”
जब भालेहरूले जुँगामा ताउ लगाउन थाल्दछन् तब माउ र चल्लाहरूकाे केही लाग्दैन । त्यसैले पनि भनिए हाेला , “साँढेकाे जुधाई बाच्छाकाे मिचाइ । “जब काेही साँढे पल्टिन्छ तब उसले अरू कसैलाई चिन्दैन, गन्दैन । मबाहेक अरू काेही सबल र सक्षम छ भन्दैन । बरू सिङ भाँचियाेस् भाले आफूलाई कमजाेर ठान्दैन । अरूकाे अस्तित्व मान्दै मान्दैन ।
संसारमा इतिहास त्यसकाे लेखिन्छ जाे बलशाली छ । भक्ति त्यसकाे गरिन्छ जाे शक्तिमा छ । शाक्तिशाली त्याे हाे जाेसँग गाँठ छ । गाँठ हसनेले नै ठाँट पार्छ । उसैले धक्कु लाउँछ जाेसँग लक्कु लाउँछ । संसारले पनि त्यसलाई हेर्छ जसका तिघ्रा चिल्ला छन् । कहावतै छ “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी । ”
साेझा र सिधालाई कसले मान्दछ ? कसले गन्दछ ? बाङ्गालाई कसैले केही गर्दैन । लठ्ठी टेक्न पनि साेझाे हाँगाे काटिन्छ । साेझै रूख काटेर हलाे ताछिन्छ । हरिस राखिन्छ । अनाै हानिन्छ । हँसिया, बन्चराे र काेदालाेका लागि बिंड साेझै छानिन्छ । साेझा ग्रहकाे त पूजा पनि हुँदैन । राहु, केतु र शनि सङ्कटाकै गरिन्छ । त्यसैले कवि शिराेमणि भन्दछन् –
“गरिदैन कुनै सोझो ग्रहको पूजनाऽऽदिक ।”
अब अलिकति चर्चा गराैं जात्राकाे । हामीसँग गाईजात्रा, घाेडेजात्रा, भाेटाेजात्रा, इन्द्रजात्रा, मच्छिन्द्रनाथ जात्रा आदि अनगिन्ती जात्रा छन् । हामी जात्रै जात्राकाे देशमा छाैं । जात्रै जात्राको महाजात्रा भएकाे मुलुकमा अब गाईजात्राकाे सट्टा साँढेजात्रा मनाउनु पर्छ भन्नू मेराे मुख्य विषय हाे ।
जहाँसम्म गाईजात्राकाे सवाल छ ; प्रताप मल्लले पुत्रशाेकमा डुबेकी रानीकाे चित्त शान्तिका लागि गाईजात्राकाे चलन चलाएकाे किंवदन्ती छ । यद्यपि समाजमा नेवार जातिले यस जात्रालाई आफ्नाे पर्व मान्दै आए । गाईजात्रा मनाउनुलाई गाैरव ठान्दै आए । गाईजात्रामा आफ्नाे रीति र थिति बान्दै आए । आफ्नाे पर्वप्रति गर्व गर्नु मानवीय धर्म हाे । बाउबाजेले चलाएकाे चलन चलाउनु नैतिक कर्म हाे । यसमा धेरै केही भन्नू छैन ।
प्रताप मल्लले किन गाईजात्राकै चलन चलाए । नेवार सम्प्रदायले किन निरन्तरता दिलाए ? मेराे जिज्ञासा यसमै छ । समाजमा भाले जातिकाे वर्चस्व भएकाे हुँदा गाईजात्राकाे सट्टा गाेरूजात्रा मनाउनु पर्ने हाे । हुनत : बहर बाच्छाकाे बन्ध्याकरण गराएपछि त्यसकाे पुरूषत्व रहँदैन । त्यसैले पनि गाेरूजात्राले महत्व पाएन हाेला ! त्यसाे भए साँढेजात्रा त मनाउन सकिन्थ्यो हाेला नि !
घाेडेजात्रामा घाेडा अर्थात् भाले जातिकै जात्रा मनाइएकाे छ । घाेडेजात्रा मनाउन हुन्छ भने साँढे जात्रा मनाउन किन हुँदैन ? हाेइन भने घाेडेजात्रालाई घाेडी जात्रा वा खच्चड जात्रा बनाइनु पर्दछ । याे मेराे जिकिर हाे ।
कानुनले तथ्य र प्रमाण खाेज्दछ । परम्परागत रीति र थिति कानुनका स्राेत मात्रै हाेइनन् । आफैमा नजिर तथा प्रमाण पनि हुन् । कानुनले भन्छ ; तत्काल प्राप्त सबुत , तथ्य र प्रमाणहरू आराेप प्रमाणित गर्न वा नगर्न महत्त्वपूर्ण आधार बन्दछन् । गाईजात्रालाई नै पर्व मान्ने वादीहरूका हकमा मेराे भन्नू केही छैन । प्रतिवादीका तर्फबाट प्रत्युत्तर दिनु मेराे धर्म हाे । तसर्थ मेराे माग हाे – “भाले जातिलाई प्रधानता दिने गरी जात्राको नाम सच्याएर गाईजात्राकाे सट्टा साँढे जात्रालाई प्रचलनमा ल्याइनुपर्छ । यसका लागि सबैभन्दा बलियाे प्रमाण वा नजिरका रूपमा घाेडेजात्रालाई लिइनु पर्छ । प्रथा वा परम्पराका नाममा रहेका गलत नजिर खिइनु पर्दछु । सत्य र तथ्य प्रकाशमा आइसकेपछि वास्तविकतामा जिइनु पर्छ ।”
गाईजात्रा मनाउने चलन हाम्रै अग्रजहरूले र पूर्वजहरूले चलाएकाे हाे । यसलाई हामीले नै संशाेधन गर्न सक्छाैं । पुराना नीति, नियम र कानुनले वर्तमानलाई सम्वाेधन गर्न सक्दैनन् । यिनलाई समय सापेक्ष बनाइनु पर्छ । रामशाहकाे मानापाथी, पृथ्वीनारायणकाे दिव्याेपदेश, राणाकालीन मुलुकी ऐन आज केवल सन्दर्भ सामग्री बन्न सक्छन् । मूल कानुनको हैसियत लिन सक्दैनन् । चार साल देखिकाे संवैधानिक अभ्यास पटक पटक फेरिए भने गाईजात्राकाे चलन फेर्न किन सकिदैन ? धर्म निरपेक्षता अङ्गालेकाे मुलुकले गाईजात्रा नै किन्न मान्नु पर्ने ? यदि साँढेलाई पनि एउटै वंशकाे मान्ने हाे भने त्यसको पनि विकल्प खाेज्न सकिन्छ । विकल्प खाेज्नु पनि अन्तिम विकल्प हाे । आउनुहाेस् यहाँ साँढे जात्राकै पक्षमा संकल्प पारित गराैं । एम् .सी. सी. ब्यख्यात्मक टिप्पणीसहित पारित गरिएकाे थियाे भने साँढेजात्रा पारित गर्न केले छेकेकाे छ ?
नेपालकाे इतिहासलाई फर्केर हेर्ने हाे भने सत्तामा सधै बिराजमान भालेहरू नै भए । एकीकरण अघि हाेस् या पछि सरकारमा हालीमुहाली भालेहरूकै छ । पहिलेदेखि अहिलेसम्म मुख्तियारीकाे अख्तियारी कतिजना पाेथीकाे हातमा पर्याे ? कसैसँग उत्तर भए भनिदिए हुन्छ । महिला मन्त्रीकाे पद पुरूषले खाने देश हाे याे । यहाँ पुरूष संसदले सुत्केरी भत्ता खाएका प्रशस्त प्रमाण छन् । यहाँनेर गणेश रसिककाे `राताे भाले´ गीत स्मरण गराउन चाहन्छु –
रातो भाले क्वाँएँ क्वाँएँ सुत्केरीलाई ख्वाएँ
सुत्केरीको नाम गरी टाउको मैले खाएँ
ए होइन मैले ढाँटेको सत्य सत्य धरोधर्म
झुटो कुरो छैन बोलेको ।
यहाँनेर रसिककै बाेलीमा मलाई पनि लाेली मिलाउन मन लाग्याे –
चाेरलाई चाैताराे छ साधुलाई सुली
छाती पिट्छ चाेर यहाँ सडकमा डुली
कुर्ची मात्रै देख्छ नेता सबै कुरा भुली
घुसखाेर तस्करले थप्दै जान्छ फुली
ए होइन मैले ढाँटेको सत्य सत्य धरोधर्म
झुटो कुरो छैन बोलेको ।
तपाईं आफै भन्नुहाेस् जल, जमिन र जङ्गल बेच्ने पनि भाले । आफ्ना छाेरी, बुहारी र स्वास्नीलाई समानुपातिकमा पाेस्ने पनि भाले । सत्ताका लागि उत्तर र दक्षिणका प्रभु भेट्ने पनि भाले । आफ्नो लागि आफ्नैका गाला रेट्ने पनि भाले । दर्जनाैंपटक मन्त्री र प्रधानमन्त्रीका लागि मरिमेट्ने पनि भाले ।
भिजिट भिसा भुटानी किस्सा
शितल निवास लाउडा छिस्स
त्याे गिरिबन्धु नभन बन्धु
कुलमान, कुलिङ भाे अब भुलिम्
सरकारी रकम हामी नै हुलिम् ।
काण्डै काण्डका नाइके भाले ।
के हुन्छ साथी गाईजात्रा फाले ?
देशमा आमूल परिवर्तन ल्याउनका लागि मुख्यतः भालेकै देन छ । यसाे भन्दै गर्दा पाेथीलाई पिर नपराेस् । आँसु नझराेस् । धार्ने हात कसैले नगराेस् । भालेले भालेवादलाई बाेक्नै पर्याे हाेइन र ? राणा ढाल्नेदेखि राजा फाल्ने सबै क्रान्तिकारी कदम भालेले नै चालेकाे छ । एयरपोर्टमा क्विन्टलका क्विन्टल सुन भालेले नै फालेकाे छ । त्यसैले पनि भालेवादी दर्शनलाई प्रधानता दिनुपर्छ । अब गाईजात्रा हाेइन साँढे जात्रालाई पर्वका रूपमा लिनुपर्छ । भाले जातिकाे बाहुल्यता र वर्चस्व भएकाे मुलुकमा गाईजात्रा किन ?
म त भन्छु – आफूलाई भाले ठान्नेहरू ! भालेलाई पति मान्नेहरू ! सबैले जान ; साँढेजात्रालाई राष्ट्रिय पर्व मान । वर्षमा एकपटक मात्रै किन ? वर्षैभरि साँढेजात्रा मनाऊँ । कहिँ नभएकाे जात्रा हाँडी गाउँमा भन्ने उखानलाई जीवन्त बनाऊँ । अब गाईजात्रा हाेइन साँढेजात्रा मनाऊँ ।
मेसाे न भाँतीसित गाईजात्रे लेख्ने
याे कस्ताे रहर ?
गाईजात्रे सिजन पर्याे हजुर !
गाईकै बारेमा लेख्न
भएन कहर
जसले जेसुकै भनाेस्
आफू त परियाे
भाले जातिकै बहर !
०००
२०८२ श्रावण २३ गते
समय सन्ध्याकालीन प्रहर
रेसुङ्गा न पा- २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































