हरिशंकर परसाईंमायाको जाति
तपाईं त पचास साठी वर्षको कुरा गर्नुहुन्छ । तर गँड्यौलाले आफ्नो लाखौँ वर्षको अनुभवबाट सिकेको कुरो के हो ? त्यही कि ढाडमा हाड हुनु हुँदैन !

हरिशंकर परसाईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
उनको सबैथोक पवित्र छ । आफ्नै जातिमा बाजा बजाएर विवाह भएको हो । पत्नीले सात जन्मदेखि कुनै परपुरुषलाई हेरेकी थिइनन् । उनले आफ्ना छोराछोरीको विवाह सधैँ मण्डपबाटै गरे । छोरीलाई दाइजो पनि दिए र छोराको दाइजो पनि लिए । एउटी केटी आफै रोजे अनि छोराकी पत्नी बनाइदिए ।
उनको सबैथोक पवित्र छ । जायजेथा छ । फुर्सतमा छन् । अरूका दोषहरूको चर्चामा दिन बिताउँछन् । त्यसपछि पनि यदि समय बचेछ भने जुँगाका सेता रौँ उखेल्छन् अनि भाँडा बेच्ने आइमाईको बाटो हेरिबस्छन् ।
पवित्रताको मुख अरूको अपवित्रताको फोहोरी पानीले पखालेपछि मात्र उज्यालो देखिन्छ । उनी सधैँ लोटामा अरूको अपवित्रताको पानी लिएर बसेका हुन्छन् । समय पाउनासाथ पवित्रताको मुख पखालेर उज्यालो पार्छन् । उनले बितेका दिनहरूमा दुईवटी केटीहरू भागेको, तीनवटी स्त्रीले गर्भपतन गराएको, चारवटाको विजातीय विवाह भएको अनि दुईवटी पतिव्रताहरूको प्रसङ्ग सुनाइसकेका छन् ।
भर्खरै हो, त्यस दिन दाँतको लुइ कोट्याउँदै आए । खाना खाइसकेपछि कलङ्कचर्चाको चूर्ण खानु आवश्यक हुन्छ । पाचन राम्रो हुन्छ । उनले चूर्ण फाँक्न आरम्भ गरे – ‘तपाईंले थाहा पाउनुभयो ? अमुक साहेबकी छोरी त अमुक केटासित भागिछ नि ! अनि दुवैले इलाहावादमा गएर विवाह गरेछन् ! कस्तो नराम्रो जमाना आयो ।’ मलाई थाहा छ उनी नराम्रो जमाना आएकामा दुःखी नभएर सुखी नै छन् । जति नराम्रो समय आउँछ उनी उति सुखी हुन्छन् । त्यति बेला उनलाई लाग्नेछ, यति नराम्रो समयमा पनि उनी भने राम्राका राम्रै छन् ! केही व्यक्तिहरू निकै चतुर हुन्छन् । उनीहरूले सामूहिक पतनबाट पनि निजी गौरवका मुद्दा भेटाइहाल्छन् र आफ्नो पतनलाई पनि समूहको पतन बताएर मुक्त हुन्छन् ।
मैले आफ्नो नराम्रो बानीलाई नछोडेरै भनेँ – ‘यसमा दुःखी हुनुपर्ने कुरै के छ र ? हाम्रो देशका राम्रा विवाहहरू त केटीलाई भगाएरै भएगरेका छन् । कृष्णले रुक्मिणीको अपहरण गरेका थिए भने अर्जुनले तिनै कृष्णकी बहिनी सुभद्राको अपहरण गरेका थिए । यसमा कृष्णको सहमति थियो । यदि दाजुभाइले सहयोग गरे भने केटी भगाउन सजिलो हुन्छ ।’
मैले उनको थुतुनामा पुराणले नै हिर्काउन सक्छु भन्ने उनले अनुमानै लगाएका थिएनन् । केही सँभालिएर भने – ‘भगवान् कृष्णको कुरो छुट्टै हो ।’ मैले भनेँ – ‘अँ, छुट्टै त हो ! भगवान्ले अर्काकी स्वास्नीलाई भगाए पनि त्यो भजनको विषय हुन्छ अनि साधारण मानिसले यस्तो गर्यो भने त्यो काम अनैतिक हुन्छ । तपाईं जुन केटीको कुरो गर्दै हुनुहुन्छ त्यो आफ्नो इच्छाले घरबाट भागी अनि आफ्नो इच्छाले विवाह गरी भने यसमा खराबी नै के छ र ?’
उनले भन्न थाले – ‘तपाईं त सधैँ उल्टो कुरो मात्र गर्नुहुन्छ । रीति, नीति, परम्परा, विश्वास के केही होइनन् ? केटाकेटी विजातीय हुन् भन्ने के तपाईंलाई थाहा छैन ?’
मैले सोधेँ – ‘मान्छेको जातका त हुन् नि ?’
उनले भने – ‘हुन्, मान्छे हुनुमा त के सन्देह छ र ?’
मैले भनेँ – ‘उसो भए कम्तीमा मान्छेको जातमा त विवाह भयो नि ! हामीकहाँ त मान्छेको जातिभन्दा बाहिर गएर पनि महान् पुरुषहरूको विवाह भएको छ ; जस्तो भीमले हिडिम्बासित गरे ।’
यस्ता घटनाहरू बढ्दै छन् । केटा र केटीले घरबाट भागेर विवाह गर्नुपर्ने कारण कसरी आइपर्यो ? २४–२५ वर्षका केटाकेटीहरूले भारतको सरकार बनाउने अधिकार त पाएका छन् तर आफ्नै जीवनसाथी चुन्ने अधिकार भने पाएका छैनन् ।
यस्ता घटनाहरू म दिनदिनै सुन्छु । अहिले दुई थरी पत्रहरू पेटेन्ट भएका छन् र तिनको विषयवस्तु यस्तो हुने गरेको छ । जसले भागेर विवाह गर्नु छ वा जसले त्यसरी गर्नु छैन उनीहरूले पनि यिनको प्रयोग गर्छन् ।
चिठी नं. १
पूज्य बुवा,
मैले यहाँ रमेशसित वैदिक विधिअनुसार विवाह गरेँ । हामी ठिक छौँ । तपाईंले पिर नमान्नुहोला । तपाईंले र आमाले पनि मलाई माफ गर्नुहुनेछ भन्ने आशा लिएकी छु ।
तपाईंकी छोरी
सुनीता
चिठी नं. २
प्रिय रमेश,
म मेरा बाबाआमाको चाहनाभन्दा बाहिर जान सक्दिनँ । तिमीले मलाई क्षमा गर । तिमीले पनि विवाह गरेर सुखी हुनू । तिमी दुःखी भयौ भने मैले जीवनभर सुख पाउने छैनँ । हृदयदेखि त तिम्रै हुँ । (चार पाँच वर्षपछि आयौ भने सानेसित ‘बाबु, मामालाई नमस्ते गर’ भनेर भनुँला ।)
तिम्री
विनीता
यसपछि एउटा रमाइलो क्रम आरम्भ हुन्छ । आमाबाबु भन्छन् – त्यो हाम्रा लागि मरिसकी । अब हामी उसको थुतुनो हेर्न चाहन्नौँ । अनि केही महिनापछि जब म उनीहरूको घरमा जान्छु त के देख्छु भने मेरा लागि चिया लिएर आउने केटी उही हुन्छे ।
म उनीहरूलाई सोध्छु – यिनी त तपाईंहरूका लागि मरिसकेकी थिइन् नि ? उनीहरू उत्तर दिन्छन् – आखिर हो त छोरी नै ! अनि म सोच्छु, जुन केटी आखिरमा उनीहरूकी छोरी भई त्यही सुरुमा किन हुन सकिन ?
म मातापिताको भावना बुझ्दछु । विश्वास र परम्परा भत्किँदा निकै पीडा हुन्छ । जति वेला शेरपा तेनसिंह गौरीशङ्करको शिखरमा पुगेर फर्केको थियो त्यति वेला उसलाई कसैले सोधेको थियो, ‘के त्यहाँ शङ्कर भगवान् छन् ?’ अनि उसले भनेको थियो, ‘छैनन् ।’ एकजना सज्जनले ठुलो पीडा लिएर मसँग भने, ‘तेनसिंहले त्यसो भन्नु हुँदैनथ्यो ।’ मैले भनेँ, ‘त्यहाँ उसले शङ्कर भगवान्लाई देख्दै देखेन त के भनोस् ? छैन त भन्ने भयो नि !’ अनि उनले भने, ‘फेरि पनि उसले त्यसो नभन्नुपर्ने थियो ।’ मैले भनेँ, ‘जब छँदै छैनन् त……..’
उनले भने, ‘फेरि पनि उसले भन्नु हुँदैनथ्यो ।’ मैले उनीसित सोधेँ, ‘के तपाईंलाई त्यहाँ शङ्कर छन् भन्ने लाग्छ ?’ उनले भने, ‘त्यहाँ शङ्कर छैनन् भन्ने त मलाई पनि थाहा छ तर मनमा त्यहाँ शङ्कर छन् र तिनी फक्कड भएर पनि दानी छन् । कुनै वेला कुनै सङ्कट आइपरेमा उनले नै हाम्रो रक्षा गर्नेछन् भन्ने विश्वास लिएर बसेको छु ।’
झुट्टा विश्वासमा पनि ठुलो शक्ति हुन्छ । अनि त्यो भत्किँदा पनि सुख हुँदैन, दुःख नै हुन्छ ।
एकजना सज्जनकी छोरीले अर्को जातिको केटासित विवाह गर्न चाहन्थी । यहाँ आमाबाबुको जातिप्रथामा विश्वास तगारो बन्यो । केटाले राम्रो र माथिल्लो पदमा जागिर गर्थ्यो तर आमाबाबुले छोरीको विवाह आफ्नै जातिको यस्तो केटासित गरिदिए जसको कमाइ त थोरै थियो नै, साथै पत्नीलाई पिट्थ्यो पनि । एक दिन मैले ती सज्जनसित भनेँ, ‘सुन्दै छु, छोरीले साह्रै दुःख पाएकी छन् ! केटाले उनलाई पिट्छ रे !’ उनले कुनै उत्तर दिएनन् । उत्तर पो के दिँदा हुन् र ? यति मात्र त भन्दा हुन् नि – ‘पिटे पनि आफ्नै जातकाले पिटेको छ भनेर नै सन्तोष गरेको छु !’
आखिर यी हाम्रा मानिसहरूले कुन परम्परालाई कुन आदर्शलाई मानिरहेका र धानिरहेका छन् ? राम मर्यादापुरुषोत्तम हुन् । सीता महासती हुन् । यिनीहरूभन्दा श्रेष्ठ स्त्रीपुरुषको कल्पना र यिनीहरूको भन्दा राम्रो विवाहको कल्पना यस समाजमा किन हुन सकेको छैन ? मर्यादापुरुषको निर्माण गर्ने तुलसीदास भन्छन्, ‘पुष्पावटिकामा ‘कङ्कणकिङ्किणी नूपूर’को ध्वनि सुनेर लक्ष्मणका सामुन्ने रामले यस्तो भनेका थिए, ‘मलाई त के लाग्छ भने मानौँ कामदेवले कर्नाल फुकिदिएका छन् ।’ अर्थात् रामको मनको धनुष त त्यहीँ भाँचिइसकेको थियो । विवाह नहुँदै माया पनि बस्यो र विवाह पनि भयो । आज जुन सन्दर्भमा यस कुरालाई लिइँदै छ त्यो देखेर त तुलसीदासले जे लेखे त्यो भएकै थिएन होला भन्ने लाग्छ । सके यस्तो पो भएको थियो कि – रामले लक्ष्मणलाई सोधे होलान् ‘यी कङ्कण किङ्किणी अनि नूपूर कसका हुन् ?’ लक्ष्मणले भने होलान्, ‘जनकपुत्री सीताका हुन् ।’ अनि रामले सोधे होलान् –‘के जनक पनि हाम्रै जातिका हुन् ?’ लक्ष्मणले भने होलान्, ‘हजुर, राजा जे. के. सिंह हाम्रै जातिका हुन् ।’ रामले भने होलान् –‘त्यसैले त मेरो मन हल्लिएछ । अर्कै जातिकी भए त मेरो मनमा केही प्रभाव नपर्नुपर्ने !’
यी केटाकेटीहरूलाई के भन्नु ? मायाको पनि जात हुुन्छ भनेर भन्नु ? एउटा माया हिन्दू हुन्छ, एउटा माया मुसलमान हुन्छ , एउटा माया ब्राह्मण, एउटा क्षत्रिय माया अनि एउटा अग्रवाल माया हुन्छ भनेर भन्नु ? कुनै जावेद आलमले जयन्ती गुहासित विवाह गरोस् त मात्रै सिङ्गो देशका मानिसहरू कराउन थाल्छन् र हुलहुज्जत पनि गर्न सक्छन् ।
यी सबै देख्दा त अगाडि गएर युवायुवतिको मायाको दृश्य यस्तो पो हुने देखिन्छ त जसमा युवकयुवतिको भेट भएपछि उनीहरूको कुराकानी यसरी अगाडि बढ्छ –
युवक – के तपाईं ब्राह्मण हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कस्तो ब्राह्मण हुनुहुन्छ ?
युवति – किन ? कुरो के हो र ?
युवक – केही होइन । यसो तपाईंसित मायाप्रीति गाँस्न मन लागेर सोधेको ।
युवति – म त खत्री हुँ ।
युवक – उसो भए मैले तपाईंलाई माया गर्न सक्दिनँ किनभने म त ब्राह्मण हुँ ।
मानिसहरू भन्ने गर्छन्, आखिर स्थायी मूल्य र शाश्वत परम्परा भन्ने पनि त केही होला नि ! ठिकै हो तर मूर्खताभन्दा अर्को कुनै शाश्वत मान्यता हुँदैन । मूर्खता अमर छ । त्यो पटकपटक मर्छ र पनि फेरि बौरिन्छ ।
यता म केटाकेटीलाई सोध्न चाहन्छु, वेद त यहाँ पनि छ र यहाँ पनि वैदिक रीति छ भने तिमीहरूले यहीँ किन विवाह नगरेको ? भागेर अर्को ठाउँमा किन गयौ ?
उनीहरू भन्छन्, ‘यहाँ आमाबाबुले बाधा पुर्याउँथे ।’
मैले बुझेँ । यो युवा पुस्ताले क्रान्ति त अवश्य गर्छ तर तर यथास्थितिसित लुकेर गर्छ ।
मलाई जानकारी दिने सज्जन भन्दै थिए, ‘आखिर हामी बुढापाकाहरूको जीवनभरिको अनुभवको पनि त केही महत्त्व होला नि !’ मैले भनेँ, ‘अनुभवको महत्त्व त छ । तर अनुभवको महत्त्वभन्दा महत्त्वपूर्ण कुरो के हो भने त्यसले अनुभवबाट के सिक्यो ? यदि कसैले पचाससाठी वर्षको अनुभवबाट सबैसित दबेर बस्नुपर्छ भन्ने मात्र सिकेको हो भने यस्तो अनुभवको निष्कर्षको मूल्यमा नै सन्देह रहन्छ । हुन सक्छ अर्काले तिनै र त्यतिनै वर्षका अनुभवहरूबाट कसैसित पनि डराएर दबेर बस्नु हुँदैन भन्ने सिकेको होस् !’
तपाईं त पचास साठी वर्षको कुरा गर्नुहुन्छ । तर गँड्यौलाले आफ्नो लाखौँ वर्षको अनुभवबाट सिकेको कुरो के हो ? त्यही कि ढाडमा हाड हुनु हुँदैन !
पादटिप्पणी : तेनजिङ शेर्पालाई भारतीयहरू तेनसिंह भन्छन् तर गौरीशङ्कर चढेको पहिलो पटक पढ्दै छु ।
०००
‘परसाई रचनावली ३’को ‘प्रेम की बिरादरी’ शीर्षकबाट नेपालीमा अनुवाद ।
Subscribe
Login
0 Comments
Oldest







































