साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रान्तिका पाँच मट्ङ्ग्राहरू

भीड करायो- “हामी आक्रोश हौँ, अपराधी होइनौं !” माइक चुँडियो, सायरन बज्यो, तर आवाज अझै प्रतिध्वनित थियो- “ढुङ्गा होइन, रगत नै बोल्न थालेको छ देशमा ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

१. क्रान्तिको खरानी
“उनी कहाँ थिए, जब देश जलिरहेको थियो ?”
पत्रकारको स्वरमा बारुदको गन्ध थियो ।

सिंहदरबार जलेर कालो ढुसी बनेको थियो,
ध्वजाको पोल धुँवाले ढाकिएको थियो,
राष्ट्रगानको स्वर खरानीमुनि थुनिएको थियो ।

त्यस क्षण उनी पत्थरजस्तै उभिएका थिए ।
उनको आँखामा आँधी घुमिरहेको थियो-
रगत, सपना र जनताको अधूरो प्रतिज्ञा नाचिरहेको थियो ।

भीड कराइरहेको थियो- “धोकेबाज़ ! क्रान्ति बेच्नेहरू !”
तर उनको स्वर तुफानजस्तै गर्जियो-
“म बेच्न होइन, पुनर्जन्म दिन फर्किएको छु !”

त्यतिबेला एउटा युवती भीडबाट अघि बढिन्-
उसको निधारमा गोलीको दाग थियो,
उसले माइकतिर औंला तेर्स्याई भनिन्,
“क्रान्ति अझ बाँकी छ, तर नेताहरू थाकिसके ।”

हावामा खरानी घुम्यो, झन्डा फहरायो,
र उनले बिस्तारै भने-
“क्रान्ति कहिल्यै मर्दैन,
मात्र जनताको विश्वास मरेपछि
रगत चिसो हुन्छ ।”
००

२. सडकको अदालत
“उजुरी नलिने भने अदालत किन चाहियो ?”
उनको आवाजले प्रहरी कार्यालयका पर्खालहरू कम्पायमान भए ।

बाहिर अन्धकार गहिरिँदै थियो-
सडकमा भिजेको धुलोले हिजोका रगतका छिटा लुकाउन खोज्दै थियो,
तर गन्ध अझै बाँकी थियो ।

प्रहरी प्रमुखले फाइल बन्द गर्दै भन्यो,
“यो मुद्दा आयोगले हेर्छ ।”
उनी मुस्कुराए- त्यो हाँसो ज्वालामुखी जस्तो थियो ।

“जब न्यायको ढोका बन्द हुन्छ,” उनले चिच्याए,
“सडक आफैँ अदालत बन्छ !”

अचानक भीडबाट एउटा युवती चर्को स्वरमा बोली-
“मैले मेरा दुई दाजु गुमाएँ, अब प्रमाण खोज्छु कि प्रतिशोध ?”

उनले नजिकिँदै भने,
“प्रमाण होइन, हामी साक्षी हौँ, जिउँदा साक्षी ।”

त्यतिबेला बिजुली चम्कियो,
प्रहरी भवनको बोर्डमा “न्याय, शान्ति, सेवा” लेखिएको अक्षर टल्किन थाल्यो-
र अर्को क्षण माटोमा पोलिन थाल्यो ।

मौन छायाहरू हावामा उड्दै बर्सन खोजे,
तर सडकले गुनगुनायो-
“जब सत्ताले न्याय थुन्छ, विद्रोहको स्वर कविता बन्छ ।”
००

३. हृदयदरबार
“यी ढुङ्गा कहाँ लैजाने हो डाक्टर साब ?” युवकले प्रश्न गर्‍यो ।

डा. केसीले छाती तन्काउँदै भने, “यी भ्रष्ट नेताका बङ्गला भत्काएर निकालिएका ढुङ्गा हुन्- अब यिनैबाट नयाँ सिंहदरबार बनाउने हो ।”

बुल्डोजर गर्जियो ।
भुइँ चिरियो ।
थाकेका मजदुरका आँखामा आगो चम्कियो।
धुलोभित्र नोटका बण्डल, सुनका गहना र सम्झौताका कागज हराए ।
भीड ताली बजाउँदै चिच्यायो- “क्रान्ति ! क्रान्ति !”

त्यसबेला एउटा बालक अघि सरेर भन्यो,
“डा. साब,
ढुङ्गा फेरेर दरबार बनाउँदा पनि
भित्र बस्नेहरू उही भए के बदलिन्छ ?”

क्षणभर सन्नाटा छायो ।
डा. केसीले नक्सा च्यात्दै बिस्तारै भने,
“सही छ बच्चा-
अब सिंहदरबार ढुङ्गाले होइन,
हृदयले बनाउने बेला आएको छ ।”

हावा बिस्तारै फन्कियो,
जनताले महसुस गरे-
क्रान्ति सडकमा होइन,
चेतनामा जन्मन्छ ।
००
४. नयाँ बिहान

“यो सिंहदरबार किन ढलिरहेको हो हजुर ?”- बालकको प्रश्नले वृद्ध सुरक्षा गार्डको मुटु हल्लायो ।

वरिपरि धुलो उड्दै थियो ।
बुलडोजरले भित्तामा ठोक्किँदै इतिहासका पर्खालहरू भत्काइरहेको थियो ।
कसैले ढोकाबाट ‘जनता सरकार निर्माण समिति’को बोर्ड टाँस्दै थियो ।

“छोरालाई देखाउने समय आयो,” वृद्धले गहभरि आँसु भरेर भने,
“यो त्यही दरबार हो जहाँ आमाबाबुका पसिना बेचेर नेताहरूले महल बनाएका थिए ।”

अचानक, ढल्दै गरेको स्तम्भबाट आवाज आयो—
“म भत्किँदै छु, तर अबको जग जनताको हातले बसोस् ।”

भीड ताली बजायो ।
केही युवाहरूले रङ पोतेर लेखे- “अब जनताको सिंहदरबार !”

वृद्ध मुस्कुराए,
बालकले हातमा इँटा उठायो र भन्यो-
“यो इँटा म सपनाको नयाँ दरबारमा हाल्छु ।”

त्यस क्षण,
पुरानो सत्ताको छायामा नयाँ बिहान टल्कियो ।
नेपथ्य ध्वनि सुनियो-
“पुरानो दरबार भत्काउनुभन्दा ठूलो क्रान्ति, नयाँ जग बसाल्नु हो ।”
००
५. घुसपैठ
“घुसपैठ ?” युवतीको स्वर बारुदजस्तो तातो थियो ।
“घुसपैठ भनेको जनताको रगत हो कि सिंहदरबारको आदेश ?”

चौरभर जनसमुद्र उर्लिएको-
हातमा तस्बिरहरू, अनुहारमा असन्तोष,
आकाशमा अझै बारुदको गन्ध ।

मञ्चमा मन्त्री चिच्याइरहेको-
“देशमा शान्ति फर्कियो !”
तर भीडको सासभित्र विद्रोह उम्लँदै थियो ।

अचानक भीडको बीचबाट एक वृद्धे चिच्याए-
“शान्ति भनेर ती १९ शव बिर्सिन्छौ ?
२३ को घाममा मरेका ती छोराछोरीलाई कसले सुकायो ?
तिमीहरूले होइन, इतिहासले सोध्छ – को हुन् हत्यारा ?”

मौन फैलियो ।
मन्त्रीको स्वर काँप्यो, झण्डा नतमस्तक भयो ।
युवतीको हातमा उठेको मुट्ठीले चिच्यायो-
“घुसपैठ हामीले होइन,
सत्ताले गरेको हो- जनताको छातीमा !”

भीड करायो-
“हामी आक्रोश हौँ, अपराधी होइनौं !”

माइक चुँडियो, सायरन बज्यो,
तर आवाज अझै प्रतिध्वनित थियो-
“ढुङ्गा होइन, रगत नै बोल्न थालेको छ देशमा ।”

०००
२०८२ असोज २१ 
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x