अमर अधिकारीविद्वानहरुको अभाव र मूर्खहरुको प्रभाव
एक वाक्यमा भन्नुपर्दा यहाँ विद्वानहरुको अभाव र मुर्खहरुको प्रभाव छ। हावादारी र नक्कली समाजसेवीहरुले पनि जनतालाई अनावश्यक रुपमा अलमलाइरहेका छन्।

अमर अधिकारी :
पढ्यो लेख्यो विदेश, पढ्दापढ्दै विदेश, यो सबै अवस्था २०४६ पछिका मूर्खहरुकै कारण हुन गएको हो भन्ने कुरा थोरैले मात्र बुझेका छन्। राजाका पालाका सरकारी कलकारखानाहरु २०४६ सालपछि खराब मनोवृत्तिका नेताहरुकै कारण डुबे चुर्लुम्मै डुबे। २०४८ सालको संसदीय निर्वाचनपछि बनेको काँग्रेस सरकारले सरकारी संस्थानहरुमा अयोग्य मान्छेहरुलाई सञ्चालकमा नियुक्त गर्यो पार्टीका कार्यकर्ता भएकोमा योग्य ठान्दै। अनेक गर्यो सरकारी कलकारखानाहरु डुबाउन र ध्वस्त पार्न।
त्यसैगरी एमालेले पनि काँग्रेसकै सिको गर्यो। कर्मचारी-मजदूरहरुलाई उचाले नेताहरुले। कर्मचारी-मजदूरका संघ-संगठनका साइनबोर्डहरु संस्थानभित्र राख्नथाले। एउटा सामान्य श्रमिकले विशिष्ठ श्रेणीका जिएमलाई लातले हानेका कुरा यो लेखकले कहिल्यै पनि बिर्सदैन। न्यायाधीशका घरमा चिनीका बोरा पुर्याउने जिएम पनि नभएका त होइनन्। त्यतिबेला म सरकारी संस्थानको रुपमा रहेको एक कारखानामा थिएँ। जिएम नियुक्त भएर आउन पाएको छैन। ड्राइभरको हातबाट गाडीको साँचो खोसेर सो गाडीमा तरुनी घुमाउन लैजाने गरे उनले। बेलुकी गाडी अफिसमा फर्केपछि गाडीको सिटमा चुराका फुटेका टुक्रा देख्नेसाथीहरु पनि थिए।
एकजना मन्त्रीले त डान्सबारबाट तरुनी उठाएर ल्याएर मन्त्रालयमा कम्प्युटर अपरेटरमा भर्ना गरेका थिए। ती तरुनी यती सुन्दरी थिइन् कि छुँदा दाग नै लाग्छ कि भन्ने डर। सायद उनलाई सुन्दर बनाउने सौन्दर्य सामग्रीहरु ती मन्त्रीले नै किनिदिएका थिए वा ब्युटीपार्लर खर्च व्यहोरिदिएका थिए। ती तरुनीले मन्त्रीलाई फोनमा मीठो स्वरमा भन्थिन्।– “तँ साले ………!” मन्त्री दंग पर्थे किन कि एक तरुनीको स्वर न थियो। बोली फूल जस्तो होस् कि काँडा जस्तो! तरुनीले बोलेको मीठै मान्ने भए ती मुन्तरीले।
एकजना मन्त्रीले मलाई “तपाईँ रोल्पाली हुनुहुँदो रहेछ, मेरो सचिवालयमा बस्नुस्“ भनेपछि मले नाईँ भन्न सकिनँ। एक महिना पनि नबित्दै ती मन्त्रीका छाउरा अर्थात् स्वकीय सचिवले मसँग निहूँ खोज्नथाले। म पनि के कम थिएँ र त्यस्ता झोले-आसेपासेहरुसँग झुक्दैनथेँ। उनले मेरो कुर्सी-टेबुल हडपे, मेरो कार्यकक्ष नै कब्जा गरे। मेरो पाले दुईमहिनाको विदा ठेलेर घरमा बसेँ। अचाक्लीको पनि हद हुन्छ नि सत्ताधारी नेताको मान्छे हूँ भन्दै कर्मचारीमाथि कुशासन लाद्ने ?
सचिव-सहसचिवको कार्यकक्षबाट फाइल उठाएर मन्त्रीको निजी सचिवालयमा लगेर भित्रबाट चुक्कुल लगाएर फाइलमा के के गरे ती झोलेहरुले थाहा भएन। तर नितान्त प्रशासनिक काम कारवाहीमा हस्तक्षेप गर्नु उनीहरुको मुर्खता थियो। त्यो निजी सचिवालयमा कोही सुन्दरी कार्यकर्ता छिर्दाबित्तिके स्वकीय सचिव र निजी सचिवले भित्रबाट चुक्कुल लगाइहाल्थे। त्यहाँ के के गर्थे त्यो पनि थाहा भएन। तर सिंहदरबार जस्तो मर्यादित स्थानमा त्यस्ता नचाहिँदा हर्कत गर्ने नेता र तीनका झोले र आसेपासे अनि गाँसेहरुले सिंहदरबारलाई धमिल्याएकै हुन्।
राजाका पालका कलकारखानाहरु ध्वस्त पार्ने हो कि त्यो भन्दा पनि बढी कलकारखाना खोलेर दुनियाँलाई रोजगारीका अवसर प्रदान गर्ने हो मुर्ख नेताहरु हो। सरकारी ढुकुटी लुटेर डान्सबारमा गएर तरुनीहरुसँग मोज गर्ने अधिकार तिमीहरुलाई पार्टी कार्यालयले दिएको हो त ? पारिवारिक फौज नै लगेर विदेश सयर गर्ने नीति के तिम्रा पार्टीका विधानमा उल्लेख छ ? इमानदार नेताहरु थोरै मात्रामा होलान् सत्तामा बसिसकेका पार्टीमा। तर यहाँ त गतिला नेताहरु भेट्टाउनै मुस्किल छ। कोही सुन काण्डमा त कोही नून काण्डमा, कोही डलर काण्डमा त कोही कलर काण्डमा। कोही के के काण्डमा …।
तोरिलाउरे नेताहरु हो तिमीहरुले जनतालाई तनाब बाहेक केही पनि दिन सकेनौँ। तिम्रा टाठाबाठा कार्यकर्ताहरुलाई मात्र लोकतन्त्र आयो अरुलाई होइन। सिंहदरबार तिम्रा बाउहरुले बनाइदिएको हो ? त्यसरी रंगमञ्चमा झैँ नाटक गर्ने अनि रंगशालामा झैँ विभिन्न खेलहरु खेल्ने। एक वर्षमा दस हजार लाश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा अलिकति पनि लाज लाग्दैन तिमीहरुलाई ? नेपाली युवाहरुलाई अर्काको देशमा दास बन्न बाध्य पार्ने ? तिमी जस्ता अयोग्य नेताहरुले देशको ढुकुटी लुट्यौँ, जनताको बुद्धि भुट्यौ, सोझा र इमानदारलाई कुट्यौँ। तिमीहरुलाई त जेनजीले जिउँदै जलाउनुपर्ने थियो, तिम्रा घरहरु मात्र जलाए। जेनजी पनि कुन सक्कली र कुन नक्कली छुट्याउनै मुस्किल। त्यो पार्टीकाले जेनजी हाम्रो भन्ने ऊ पार्टीले हाम्रा कार्यकर्ता भन्ने। अब केहि वर्ष थचारिएर बस डुकुलण्ठक नेताहरु हो ! तिमीहरु जनताको रगतमा धेरै नै होलि खेलिसक्यौ। जनताको पसिनाको मूल्याङ्कन गर्न सकेनौ। किसानहरुले उँखुको भुक्तानी नपाउँदा तिमीहरुलाई अलिकति पनि लाज लाग्दैन ?
सामान्य प्रशासन मन्त्रालयमा जरो गाडेर बसेका भ्रष्ट कर्मचारीका नाइकेहरुबाट कति कति खायौ कालबखतमा के मलाई थाहा छैन यीनी कुरा। तिम्रा त दाँत भत्काएर मात्र पुग्दैन, पूरै उठ्नै नसक्ने गरी अपाङ्ग बनाइदिनु पर्ने हो। जनतामारा अनि देशघाती नेताहरुले गर्दा मुलुक बर्वादीतर्फ गएको कुरा अलिकति पनि हेक्का राखेनौ हगि ? तिम्रा छोराछोरी, नातीनातिनीहरुका लागि सरकारी ढुकुटी रित्याउने दुस्साहस धेरै गर्यौ। निजामती विधेयक दश वर्षसम्म लट्काएको लट्कायै पार्यौ, भत्ता मात्र हसुर्यौ। करोडौ करोड घिचेपछि ऐन-कानून बेलैमा आउनुपर्ने होइन र ?
अब स्वविवेकले काम गर्छाै भने मात्र आगामी चुनावमा भाग लिने काम गर, विदेशीको इशारामा नाचेर जनतालाई दुःख दिने काम नगर। आफ्नो मात्र पेट नभर, दिनमा दुईछाक खान नपाउने र एकसरो लुगा लगाउन नपाउने जनताहरुतिर पनि ध्याउ भातेहरु, हो धोकेबाज खातेहरु हो! खातेको परिषाभा अरु नै भए तापनि यहाँ खाते भन्नाले खाइरहने नेताहरुलाई भन्न खोजिएको हो। पढेलेखेका अर्थात् विद्वानहरु अमेरिका, अष्ट्रेलिया, बेलायत गैसके भने यहाँ त फटाहा र जाली अनि मुर्खहरुको मात्र विगविगी अनि जगजगी छ।
एक वाक्यमा भन्नुपर्दा यहाँ विद्वानहरुको अभाव र मुर्खहरुको प्रभाव छ। हावादारी र नक्कली समाजसेवीहरुले पनि जनतालाई अनावश्यक रुपमा अलमलाइरहेका छन्। त्यस्ता चतुर मनुष्यहरुबाट पनि सजग रहनुपर्दछ।
जय देश ! जय जनता !!
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest








































