अमर अधिकारीट्वाइलेटका संस्करणहरु : बाथरुमदेखि वासरुमसम्म
वासरुमलाई मैले त हात-मुख-खुट्टा धुने ठाम होला भनेको त एस्सो मुन्टो तानेर भित्र हेरेको उही बाथरुम अर्थात् ट्वाइलेटको पछिल्लो विकसित रुप पो रहेछ।

अमर अधिकारी :
२०३० सालअघि अर्थात् म नौ वर्षको हुँदै हाम्रा माइलाबाले आफ्ना छोराहरुका लागि पाइखाना बनाइदिनुभएको थियो मलमूत्र त्यागका लागि घर नजिकको बारीको छेउमा। पाइखाना नामको शब्द पहिलोपटक त्यसैबेला त्यसै ठाममा सुनेको थिएँ मैले। पाइखाना हिन्दी शब्द हो भन्ने कुराको हेक्का मलाई थिएन त्यतिखेर। माइलाबा हाम्रै जिल्ला रोल्पाको सदरमुकाम लिबाङमा खर्दारको जागिर खानुहुन्थ्यो चपाइचपाइ र पचाइपचाइ। उहाँलाई जागिर फापेन कि क्या हो, पछि हाम्रो गामको विद्यालयमा हामीलाई संस्कृत र नेपाली विषय पढाउन थाल्नुभयो। उहाँले पढाउने क्रममा एकपटक परीक्षामा ‘हस्तिनापुरको राज चपरीमुनिको बास’ बारे वर्णन गर्न दिनुभएको थियो। वर्णन चाहिँ के के गरियो अहिले भुसुक्कै विर्सियो।
सरदार भीमबहादुर पाँडेको पुस्तक ‘त्यसबखतको नेपाल’ मा उल्लेख भए अनुसार “धेरै पहिले काठमाडौँको मुख्य सहरका बाटो छेउका सहरबासीहरु नालीमा बिहान लहरै दिसा गर्न बसेका हुन्थे र भैँसीको करङको सहायताले मानव मल उठाएर एक पेशावालाले खेतबारीमा हाल्न लैजाने र सप्रिएका सागसब्जी सहरकै ठूलाबडाका भान्सामा भित्रिन्थे।” २०३३।३४ सालतिर जन्मथलो हामी खुंग्रीमै पढ्दाताका विद्यालय नजिकै चर्पी बनाउने कुरा भयो। ट्वाइलेट शब्द मैले त्यतिबेलासम्म पनि सुनेको थिइनँ। स्कूले विद्यार्थीका लागि चर्पीका भित्ता बनाइयो, ढोका हालियो। माथि छानो चाहिँ स्याउलाले छाप्ने काम भयो अहिले ढलान गर्ने भने झैँ। ट्वाइलेट प्रयोग हुँदैजाँदा पछि त्यो ट्वाइलेटमा छिर्न नसकिने अवस्था आयो। स्कूले भुराभुरीहरु कोही चिउरी बुटामुनि जान थाले त कोही खोल्साखोल्सीतिर जानथाले इजार फुकाउँदै।
मैले पहिलोपटक ट्वाइलेट अर्थात् बाथरुम ललितपुरको चाकुपाटमा बस्दा देखेको थिएँ। पहिलोपटक बाथरुममा छिरेपछि अलमलिनु स्वभाविकै थियो। फ्लस पनि अन्दाजले चलाएँ बटन बटारेर। पानी ह्वार्ह्राती झर्नथालेपछि “लौन नि के भयो ?” भनेर अताल्लिएँ एकछिन। पछि प्यानवाला ट्वाइलेट भएको घरमा भाडामा बसियो मासिक एकसय पच्चिस भाडा तिर्नेगरी ललितपुरको सातदोबाटोमा। पहिलेपहिले काठमाडौँ सहरमा प्रयोग हुने ट्वाइलेट सफा देखिँदैनथिए, झन काँठ क्षेत्रमा गयो भने अझ विजोग देखिन्थे ट्वाइलेट। नाक थुनेर मात्र नपुग्ने आँखै बन्द गर्नुपर्ने अवस्था हुन्थ्यो। पछिल्लो समयमा भने ट्वाइलेट सफा गर्ने बानी बस्यो सबैमा।
एक दिन रञ्जना हलको शौचालयमा एकजनाले हात धुने बेसिनमै पिसाव फेरिरहेका थिए कुर्कुच्चा उचालेर। त्यो हलमा ट्वाइलेट ‘मर्दाना’ को एकातिर र ‘जनाना’ को अर्कातिर थियो। “नेपाली शब्द प्रयोग नगरेर किन हिन्दी लेखेको होला भनेर ?” भनेर भन्न नमिल्ने। किन कि नेपाली सिनेमाभन्दा हिन्दी सिनेमा कैयन गुणा बढी चल्दथे काठमाडौँ खाल्डोभित्र। रोल्पाको पूर्वीभेगको व्यापारिक केन्द्र भनेर चिनिने सुलिचौर बजारको सार्वजनिक शौचालयको एक खण्डमा पुरुष मुत्रालय भनेर पनि लेखिएको छ। जसको फोटो यो व्यङ्ग्यकारले फेसबुकमा घचेटिसकेको छ। यसरी ट्वाइलेटको पहिलो संस्करण बाथरुमदेखि रेस्ट रुम हुँदै वासरुमसम्मका कहानी यहीँ समाप्त हुन्छ।
गत वैशाख-जेठमा दाङको घोराहीमा राप्ती साहित्य परिषद्ले मलाई समेत पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम रहेकोले घोराहीमा रहेको दाइको नवनिर्मित घरमा पाहुना बन्ने अवसर जुरेको थियो। नवनिर्मित घरमा एउटामा चाहिँ अनौठो खालको बाथरुम बनाइएको रहेछ। एउटै बाथरुमभित्र प्यान र कमोड दुबै रहेछ। पाहुनाले आफूलाई चाहिने सुविधा बमोजिम त्यसो गरिनु ठीकै हो। काठमाडौँमा चाहिँ अहिले कताकतै एउटै बाथरुमा कमोडका साथै अलग युरिनल पनि जडान भएको देखिन्छ भित्तामा। यो लेखकको कुटीमा पनि दुई किसिमको बाथरुम बनाइएको छ, प्यान सजिलो लाग्नेका लागि अलग र कमोड सजिलो लाग्नेका लागि अलग। कसैले कुन सजिलो मान्ने त कसैले कुन सजिलो मान्ने भएकाले यसै गरियो।
नुवाउने सुविधा थप भएकोले ट्वाइलेटलाई बाथरुम भनियो। पछि रेस्ट रुम पनि लेखेर टाँसेको देखियो कुनै पार्टी प्यालेसमा। यस्सो आराम गर्ने ठाम होला भनेको त उही ट्वाइलेटको विकसित रुप बाथरुम पो रहेछ। धेरै पछि एक ठामको कार्जेक्रममा गएको र बाथरुम खोज्ने क्रममा न ट्वाइलेट देखियो न बाथरुम लेखेको देखियो न त रेस्टरुम नै लेखेको देखियो। अलमल भएको एकछिनपछि मेरा दुई आँखा वासरुम भनेर लेखेर टाँसिएको कागजमा ठोक्कियो नौबिसेमा ट्रक र बस ठोक्किए झैँ। वासरुमलाई मैले त हात-मुख-खुट्टा धुने ठाम होला भनेको त एस्सो मुन्टो तानेर भित्र हेरेको उही बाथरुम अर्थात् ट्वाइलेटको पछिल्लो विकसित रुप पो रहेछ। जीवनमा ट्वाइलेटदेखि बाथरुम र रेस्टरुम हुँदै वासरुमसम्मको संस्करणहरु आउँदा अब नयाँ नयाँ संस्करण नहोस् भन्ने मेरो कामना छ, सायद आउँदैन होला।
अन्त्यमा, जलवायु परिवर्तन र इकोसिस्टममा भएका गडबडीका कारणहरुका सम्वन्धमा जानकार वा विशेषज्ञ वा विज्ञहरुले कार्यपत्र पेश गर्दा होस् वा अन्तर्क्रिया गरिरहँदा सरीकरण, यन्त्रहरुको विकास, कार्वन उत्सर्जनका कुरा मात्र सुनिन्छ र त्यहाँ एउटा कुरा छुटाउने गरेको पाइन्छ। घरघरमा शौचालय बनाउनाले जलवायु परिवर्तन भएको र इकोसिस्टममा गडबड भएको भनेर कसैले पनि भनेको सुनिदैन। खुला शौचालय अपनाउदा मलमूल कतिपय जीवजन्तुका लागि जीउने आधार बन्छ। खुला शौच नगरिँदा ती जीवजन्तुहरु संकटमा पर्दै लोप हुने अवस्थामा छन्। भने कतिपय वनस्पतिहरुलाई पनि प्रतिकूल परिरहेको छ भन्न सकिन्छ।
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest









































