साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेइज्जतिको बिस्कुन

राजनीतिक आफन्तवादमा रमाउनेहरू, राम्रालाई होइन हाम्रालाई मात्र साथ दिनेहरू, गाउँगाउँ टोलटोलसम्म अनेक पूर्वाग्रहका दुर्गन्धमा पौडिनेहरू कोहि बचेन जँड्याहाहरूको बर्बराहटबाट ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

कहिल्यै सपनामा पनि नदेखिएको कल्पनामा पनि नभेटिएको कुरो वास्तवमा नै हुन पनि सक्दोरहेछ । यस्तै भयो एक दिन देउरालीको भट्टी पसलमा ।

संसारभरिका आकाश पातालका राजनीतिका विज्ञानका अज्ञानका खेलका झेलका भेलका नेलका रेलका सेलका ठेलमठेलका जाँडका राँडका साँढका ढाँडका माडका ताडका लर्बरिएका लठेब्रिएका बटारिएका चटारिएका हतारिएका लतारिएका अनेक प्रकारका अनेक शीर्षकका मिथकका नाना भाँती र भूमरी गफका हल्लाले दैनिक रूपमा हल्लिरहने देउरालीको भट्टीपसलमा एकदिन ट्वाँकेन्द्र गोतृय बन्धुहरू एकदर्जनभन्दा बढी भेला भएछन् ।

जो भेला भएपनि आखिर भट्टीपसल न पर्‍यो टट्टीकाे जस्तै मगमग सुवास छर्ने कोदोवंशी झोलकै फेला पर्ने हो क्यारे । भएछ त्यही । त्यो पनि राजनीतिक दलका नेता र झोलेहरू, घुस्याहा देशमारा जनमारा कर्मचारीहरू, कमिशनखोर ठेकेदारहरू, अनि दक्षिणी मित्रराष्ट्रजस्तो यति धोकनमग्न कि कट्टु फुस्केर छट्टु निस्किसक्दा पनि सबैजना होसहरानन्द महाराज भएछन् ।

कसले कसको बारेमा के बोल्यो कसले कसको गोप्य रहस्य खोल्यो इज्जतको विषय उठ्यो कि बेइज्जतको बोली केही पत्तो छैन । उता साहू र साहूनी भने कस्ता राहूहरू जम्मा भएछन् । आज ब्यापार त गराए गराए कुरा भने अपार गराए भनेर आपसमा कुरा गर्दैथिए ।

कुरो के परेछ भने जाँडले जकडेर सबैलाई बेहोसकान्त बम्कने बनाएपछि कुरोको प्रसङ्ग निस्केछ को सबभन्दा निर्लज्ज वा बेइज्जती भनेर । अनि र के चाहियो र ? उसले उसो गरेकोले ऊ सबैभन्दा बेइज्जती, हैन त्यसले त्यो गरेकाले त्यो सबैभन्दा बढी बेइज्जती, अझ अर्कोले झर्को नमानिकन ऊ त्यस्तोसम्म गरेकोले त्यो झन बेइज्जती … आदि आदि ।

बेइज्जतीका बखानहरू र नामवली दाइँ गरेको परालजस्तै छरपस्ट । त्यहाँ जम्मा भएका जँड्याहाहरू बेइज्जती, तिनका बाउहरू बेइज्जती, तिनका आमाहरू बेइज्जती, तिनका दाजुभाइ काकाकाकी मामा माइजू बुहारी भाउजू फूपू फुपाजु साथी सङ्गती सबै बेइज्जतीमा परे । त्यतिले चित्त बुझेन । अब राजनीतिसँग जोडिएका सिरानदेखि पुच्छरसम्मका नेता नेती कार्यकर्ता हर्ताभर्ता झोलेझाम्टे कौडे मुन्द्रे जगल्टे जुम्रे खुम्रे आउरे बाउरे धुपौरे चम्चे गम्छे साबका सब बेइज्जती ।

घुस्याहा चुस्क्याहा घुट्क्याहा चाकरीबाज लुम्से जुम्से रुन्चे कर्मचारी ठेकेदार दलाल चुक्लिपेशे सुलसुले घुनपुत्ले व्यापारी निजि शैक्षिक सँस्थाका विदेशी उपनिवेशवादी व्यक्तिहरू ढिलासुस्ती गर्नेहरू फिलाचुस्ती गर्नेहरू सबै बेइज्जती । सोझा सिधा पोइलाई धोका दिएर मार्न खोज्नेहरू, विदेशमा नोकर हली गोठाला भान्से भकारे हुन जानेहरू, विदेशमा कमाउने निहुँमा अनेक रमितामा रमाउनेहरू, परिवारलाई बिचल्ली पार्नेहरू सबैको धोती लगौटी फुस्क्यो ट्वाँकेन्द्र गोतृय बन्धुहरूको बिचमा ।

थाहा पाएसम्मका सबै ओकले झाडाबान्ताकै शैलीमा छाडाबान्ता गरेर । आफ्नै लगानीमा पुरस्कृत हुने साहित्यकार, दलका झोला बोक्नेहरूका पिछलग्गु लेखक, टोलका झोलेका पाउमोल्ने सर्जक, जाँडलाई माडभन्दा बढी मायाँ दिने धोकन्टट्टुहरू, विदेशी गीतसित मीत लाउने नकच्चराहरू, विदेशी चाडपर्वलाई महान अनि स्वदेशी सँस्कारलाई लात हान भन्नेहरू, जे मनलाग्यो त्यही भविष्यवाणी गर्ने ज्योतिषी, टपर्टुइँया पुरेतबाजे, जुवाडे सूर्तिदेखि नचाहिँदो फूर्तिको अम्मलीसम्म, देशका दुखी गरिब पीडितमारा कानून त्यो बनाउने अमाननियहरू, राजनीतिक आफन्तवादमा रमाउनेहरू, राम्रालाई होइन हाम्रालाई मात्र साथ दिनेहरू, गाउँगाउँ टोलटोलसम्म अनेक पूर्वाग्रहका दुर्गन्धमा पौडिनेहरू कोहि बचेन जँड्याहाहरूको बर्बराहटबाट ।

सबका सब छरिए बेइज्जतीको बिस्कुन बनेर । कुरो सुन्दा यस्तो लाग्थ्यो मानौं पूरै विश्व ब्रम्हाण्डनै बेइज्जतीहरूले मात्र भरिपूर्ण छ । ती बाहेक अरू कोहि यो शृष्टिमा छँदैछैनन् । अल्लि पर बसेर भन्दैथे साहूसाहूनी आउँदोरैछ यस्तो सुन्ने पनि दिन आउनी !?

०००
२०८२ पुस ७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले त केही बुझिनँ

मैले त केही बुझिनँ

रामकृष्ण ढकाल
देश के हाे बुझिस् ?

देश के हाे बुझिस्...

रामकृष्ण ढकाल
स्याबास काग !?

स्याबास काग !?

रामकृष्ण ढकाल
रक्षा गर

रक्षा गर

रामकृष्ण ढकाल
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x