घनश्याम रेग्मीप्रधानजीको रुग्ण मिल
सरकार प्रधानको सुगा रटाईमा छ । कुराले चिउरा भिज्दैन । सत्य तितो हुन्छ । समय आएपछि बिस्तारै पर्दाको पटाक्षेप हुनेछ । नेपाल उही प्रधानजीको रुग्ण मिलको कथामा भौँतारिई रहेको छ ।

घनश्याम रेग्मी :
कुरा केही पहिलेको हो । हाम्रो गाउँमा राजेन्द्र नाम गरेका प्रधान पञ्च थिए । उनी तत्कालीन समयका गाउँका धनी वर्गका मानिसमध्ये पर्दथे । जिल्ला सदरमुकाममा उनको घर थियो । काठमाडौंमा समेत उनको घर भएको र छोराहरू उतै आफ्ना घरमा बसेर पढ्छन् भनेर हामीले सुनेका थियौँ । घरमा दुईवटा घोडा पालिएका हुन्थे । अड्डाबाट आउने मान्छे खान बस्न र सुत्नलाई एउटा सुविधा सम्पन्न अलग्गै घर थियो । घरमा काम गर्ने नोकरचाकर र भान्सेहरू थिए । व्यक्तिगत स्वभावका कुरा गर्ने हो भने जनप्रिय भएकै कारण उनी पटकपटक प्रधान पञ्च चुनिएका थिए ।
केही पटकको प्रधानी खाएपछि उनले गाउँमा पहिलो डिजल इन्जिनको मिल राखे । गाउँलेहरूलाई सेवा दिन । मिलको इन्जिन यति ठुलो थियो कि तीनवटै (ढिकी, जाँतो र कोल) मसिन एकैसाथ तान्न सक्थ्यो । पहिलोपटक गाउँलेहरू मिलमा कुटेको चामल ,मिलमा पिसिएको मिहिन पिठो र मिलले पेलेको तेलका सुविधा उपभोग गर्न पाएर मख्ख भएका थिए । कति त टाढा टाढाबाट मिल हेर्न भनेर पनि आउँथे । कतिपयले पुरानो प्रविधिले कुटानी पिसानी गर्दा व्यहोरेको हैरानीबाट मुक्ति पाउन दिनभरि लगाएर भारी बोकेर आउँथे । जे होस् गाउँलेका लागि सुविधा दिने मिल खुलेको थियो । प्रधान पञ्चलाई सेवा दिएर नाम र दाम दुवै कमाउने मेसो मिलेको थियो ।
केही समय पछि कुट्ने र पिस्ने मिल कम चल्न थाले। एक त धान टाढाबाट बोकेर ल्याउन गाह्रो । दुई तीन जना लागेर ढिकी मै कुट्दा पनि भइहाल्ने । पिठोको हकमा गाउँघरका खोलामा पानीघट्ट अझै थिए । घट्टको पिठो स्वास्थ्यवर्धक , सस्तो पनि । तेल पेल्ने हकमा भने डिजेल मिलनै विकल्पहीन भएर चलिरह्यो । तीनवटा पट्टा एकैसाथ तान्नसक्ने ठुलो इन्जिनले एउटा कोलको पट्टामात्र तान्दा इन्जिन र कोलमा छिटोछिटो समस्या आउन थाल्यो । मर्मत गर्ने मेकानिक टाढाबाट बोलाएर ल्याउनुपर्ने । मेकानिक ठिकठाक पारेर जान्थ्यो । ऊ जान पाएको छैन मिल फेरि बिग्रिएर बस्थ्यो । मेकानिक सधैँ बसाल्ने कुरा पनि भएन । पेल्न ल्याएका तोरीका थैलाहरू फर्काएर लैजान पनि लाजै हुन्थ्यो । मिल न बनुन्जेल थैलाहरू हैरानी खेपेर केही दिन यत्रतत्र बस्थे ।
केही समय पछि गाउँकै चन्द्रबहादुरले सानो इन्जिनको डिजेल मिल राखे । तेलमात्र पेल्ने सानो डिजेल इन्जिन । गरिखाने वर्गका भएकाले उनी आफैँ साँझ बिहान गरेर मिल चलाउँथे ।घरमा मिल र खुद्रा पसल राम्रैसँग चलेको थियो । मिल उनी आफैँले चलाउने हुँदा सम्भार पनि गर्ने नै भए । सानोतिनो टुटफुट भएमा उनी आफैँ मर्मत पनि गर्न सक्थे । समयमा सेवा सुविधा दिने भएकाले उनको मिल र पसलले रप्तार लियो । उता प्रधानको मिल भने धेरै गल्ला नआउन्जेल सुरु नै हुँदैनथ्यो । दिनभरि पनि कुर्नुपर्ने । अब त प्रधानजीको मिलले काम नै नपाउने भयो ।
मिल छँदैछ , मिल चलाउने एउटा मिस्त्री राख्न परेकै छ । इन्धन खर्च के ठुलो कुरा भयो र ? सेवा लिन मान्छे कमी भएपछि प्रधानजीले निःशुल्क तेल पेलेर सेवा गर्ने वचन दिए । अहम् को सवाल जो छ । सित्तैमा तेल पेलेर लिन पाए पछि केही दिन मिल त चल्यो तर सेवामा प्रभावकारिता भएन । मेरो तोरी सित्तैमा पेलिदिन पर्यो हजुर भन्न को जाने ? त्यो पनि मानिसलाई भनेका बेलामा सेवा चाहिने । कहिले मिल कर्मचारी बिदामा छ तोरी छाडेर जानुहोस् भोलि आउनुहोला । कहिले अरू एक दुई घान तोरी आउन्ज्याल पर्खिनुहोस् । कुरेर बस्दा अरू कति काम गर्ने समय सत्यानाश । सित्तैमा पेलाउनु छ ढिलो भयो भन्न नपाई ।
इज्जत सबैको हुन्छ । प्रधानजीले इज्जतका लागि निःशुल्क पेलिदिने वचन र सेवा दिए । गाउँलेहरूले इज्जतका लागि हात थापेनन् । न इज्जत फाले न समय । जसले यी दुई कुरा फाल्छ त्यो सकिन्छ । आखिर प्रधानजीको निःशुल्क मिल सधैँका लागि बन्द भयो । निःशुल्क पाइने सेवा किन मानिसले शुल्क तिरेर लिन्छ ? यो निकै ठुलो रहस्य हो । यो रहस्य बुझ्न नसक्ने प्रधानजी झैँ फेरि फेल भएका छन् । यो रहस्य नबुझ्ने अहिलेका नेताहरू कहिल्यै सफल हुन सक्तैनन् । सरकारले साझा बस डुबायो – सम्झेन । ट्रलीबस डुबायो – सम्झेन । नेपालका कैयौं सरकारी उद्योगधन्दा डुबे -सम्झेन। धागो कारखाना – प्रधानको मिल बन्यो । गोरखकाली रबर उद्योग प्रधानजीको अर्को मिल हो । सरकारमा बस्नेहरू अझै पनि पुरानो प्रधानी मिलको धङधङीमा छन् ।
समयका चन्द्रबहादुरहरू अगाडि बढिसके । हामी पनि चन्द्रबहादुरझैँ समयमा सेवा दिन र गाउँलेहरूझैँ सेवा लिन तयार छौँ । कि एक सातासम्म आफ्नै तोरी तेल बनाइ पाऊँ भनी धाउने ? लिन आउँदै फर्किँदै गर्ने हो कि ? महिनौँ मिल नबनाउने प्रधान होइन यो सरकार ? मिलमा के भाँचिएको छ हेर्न र फेर्न नसक्ने प्रधानजीका भरौटेबाट मिल चल्छ ? निःशुल्क तेल खान पाइएला भनेर सोच्नु मूर्खता नभएर के हो ? आफ्नो लगानी नभएको किताब कसले सुरक्षा गर्छ ? मेरो परेको होइन, तेरो पनि परेको होइन रे । ल चोरी भयो, हरायो रे; किन्न पाइनु पर्छ कि पर्दैन ? अहिले निःशुल्क पाठ्यपुस्तक प्रधानजीको मिलझैँ फेल भएर लडेको छ । आजको निःशुल्क शिक्षाको नारा उही प्रधानजीको मिलको कथा हो । तोरी लिएर आउनुहोस् निःशुल्क पेलाएर लैजानुहोस् – सरकार प्रधानको सुगा रटाईमा छ । कुराले चिउरा भिज्दैन । सत्य तितो हुन्छ । समय आएपछि बिस्तारै पर्दाको पटाक्षेप हुनेछ । नेपाल उही प्रधानजीको रुग्ण मिलको कथामा भौँतारिई रहेको छ ।
~इति ~
०००
Subscribe
Login
0 Comments
Oldest






































