साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रधानजीको रुग्ण मिल

सरकार प्रधानको सुगा रटाईमा छ । कुराले चिउरा भिज्दैन । सत्य तितो हुन्छ । समय आएपछि बिस्तारै पर्दाको पटाक्षेप हुनेछ । नेपाल उही प्रधानजीको रुग्ण मिलको कथामा भौँतारिई रहेको छ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

कुरा केही पहिलेको हो । हाम्रो गाउँमा राजेन्द्र नाम गरेका प्रधान पञ्च थिए । उनी तत्कालीन समयका गाउँका धनी वर्गका मानिसमध्ये पर्दथे । जिल्ला सदरमुकाममा उनको घर थियो । काठमाडौंमा समेत उनको घर भएको र छोराहरू उतै आफ्ना घरमा बसेर पढ्छन् भनेर हामीले सुनेका थियौँ । घरमा दुईवटा घोडा पालिएका हुन्थे । अड्डाबाट आउने मान्छे खान बस्न र सुत्नलाई एउटा सुविधा सम्पन्न अलग्गै घर थियो । घरमा काम गर्ने नोकरचाकर र भान्सेहरू थिए । व्यक्तिगत स्वभावका कुरा गर्ने हो भने जनप्रिय भएकै कारण उनी पटकपटक प्रधान पञ्च चुनिएका थिए ।

केही पटकको प्रधानी खाएपछि उनले गाउँमा पहिलो डिजल इन्जिनको मिल राखे । गाउँलेहरूलाई सेवा दिन । मिलको इन्जिन यति ठुलो थियो कि तीनवटै (ढिकी, जाँतो र कोल) मसिन एकैसाथ तान्न सक्थ्यो । पहिलोपटक गाउँलेहरू मिलमा कुटेको चामल ,मिलमा पिसिएको मिहिन पिठो र मिलले पेलेको तेलका सुविधा उपभोग गर्न पाएर मख्ख भएका थिए । कति त टाढा टाढाबाट मिल हेर्न भनेर पनि आउँथे । कतिपयले पुरानो प्रविधिले कुटानी पिसानी गर्दा व्यहोरेको हैरानीबाट मुक्ति पाउन दिनभरि लगाएर भारी बोकेर आउँथे । जे होस् गाउँलेका लागि सुविधा दिने मिल खुलेको थियो । प्रधान पञ्चलाई सेवा दिएर नाम र दाम दुवै कमाउने मेसो मिलेको थियो ।

केही समय पछि कुट्ने र पिस्ने मिल कम चल्न थाले। एक त धान टाढाबाट बोकेर ल्याउन गाह्रो । दुई तीन जना लागेर ढिकी मै कुट्दा पनि भइहाल्ने । पिठोको हकमा गाउँघरका खोलामा पानीघट्ट अझै थिए । घट्टको पिठो स्वास्थ्यवर्धक , सस्तो पनि । तेल पेल्ने हकमा भने डिजेल मिलनै विकल्पहीन भएर चलिरह्यो । तीनवटा पट्टा एकैसाथ तान्नसक्ने ठुलो इन्जिनले एउटा कोलको पट्टामात्र तान्दा इन्जिन र कोलमा छिटोछिटो समस्या आउन थाल्यो । मर्मत गर्ने मेकानिक टाढाबाट बोलाएर ल्याउनुपर्ने । मेकानिक ठिकठाक पारेर जान्थ्यो । ऊ जान पाएको छैन मिल फेरि बिग्रिएर बस्थ्यो । मेकानिक सधैँ बसाल्ने कुरा पनि भएन । पेल्न ल्याएका तोरीका थैलाहरू फर्काएर लैजान पनि लाजै हुन्थ्यो । मिल न बनुन्जेल थैलाहरू हैरानी खेपेर केही दिन यत्रतत्र बस्थे ।

केही समय पछि गाउँकै चन्द्रबहादुरले सानो इन्जिनको डिजेल मिल राखे । तेलमात्र पेल्ने सानो डिजेल इन्जिन । गरिखाने वर्गका भएकाले उनी आफैँ साँझ बिहान गरेर मिल चलाउँथे ।घरमा मिल र खुद्रा पसल राम्रैसँग चलेको थियो । मिल उनी आफैँले चलाउने हुँदा सम्भार पनि गर्ने नै भए । सानोतिनो टुटफुट भएमा उनी आफैँ मर्मत पनि गर्न सक्थे । समयमा सेवा सुविधा दिने भएकाले उनको मिल र पसलले रप्तार लियो । उता प्रधानको मिल भने धेरै गल्ला नआउन्जेल सुरु नै हुँदैनथ्यो । दिनभरि पनि कुर्नुपर्ने । अब त प्रधानजीको मिलले काम नै नपाउने भयो ।

मिल छँदैछ , मिल चलाउने एउटा मिस्त्री राख्न परेकै छ । इन्धन खर्च के ठुलो कुरा भयो र ? सेवा लिन मान्छे कमी भएपछि प्रधानजीले निःशुल्क तेल पेलेर सेवा गर्ने वचन दिए । अहम् को सवाल जो छ । सित्तैमा तेल पेलेर लिन पाए पछि केही दिन मिल त चल्यो तर सेवामा प्रभावकारिता भएन । मेरो तोरी सित्तैमा पेलिदिन पर्‍यो हजुर भन्न को जाने ? त्यो पनि मानिसलाई भनेका बेलामा सेवा चाहिने । कहिले मिल कर्मचारी बिदामा छ तोरी छाडेर जानुहोस् भोलि आउनुहोला । कहिले अरू एक दुई घान तोरी आउन्ज्याल पर्खिनुहोस् । कुरेर बस्दा अरू कति काम गर्ने समय सत्यानाश । सित्तैमा पेलाउनु छ ढिलो भयो भन्न नपाई ।

इज्जत सबैको हुन्छ । प्रधानजीले इज्जतका लागि निःशुल्क पेलिदिने वचन र सेवा दिए । गाउँलेहरूले इज्जतका लागि हात थापेनन् । न इज्जत फाले न समय । जसले यी दुई कुरा फाल्छ त्यो सकिन्छ । आखिर प्रधानजीको निःशुल्क मिल सधैँका लागि बन्द भयो । निःशुल्क पाइने सेवा किन मानिसले शुल्क तिरेर लिन्छ ? यो निकै ठुलो रहस्य हो । यो रहस्य बुझ्न नसक्ने प्रधानजी झैँ फेरि फेल भएका छन् । यो रहस्य नबुझ्ने अहिलेका नेताहरू कहिल्यै सफल हुन सक्तैनन् । सरकारले साझा बस डुबायो – सम्झेन । ट्रलीबस डुबायो – सम्झेन । नेपालका कैयौं सरकारी उद्योगधन्दा डुबे -सम्झेन। धागो कारखाना – प्रधानको मिल बन्यो । गोरखकाली रबर उद्योग प्रधानजीको अर्को मिल हो । सरकारमा बस्नेहरू अझै पनि पुरानो प्रधानी मिलको धङधङीमा छन् ।

समयका चन्द्रबहादुरहरू अगाडि बढिसके । हामी पनि चन्द्रबहादुरझैँ समयमा सेवा दिन र गाउँलेहरूझैँ सेवा लिन तयार छौँ । कि एक सातासम्म आफ्नै तोरी तेल बनाइ पाऊँ भनी धाउने ? लिन आउँदै फर्किँदै गर्ने हो कि ? महिनौँ मिल नबनाउने प्रधान होइन यो सरकार ? मिलमा के भाँचिएको छ हेर्न र फेर्न नसक्ने प्रधानजीका भरौटेबाट मिल चल्छ ? निःशुल्क तेल खान पाइएला भनेर सोच्नु मूर्खता नभएर के हो ? आफ्नो लगानी नभएको किताब कसले सुरक्षा गर्छ ? मेरो परेको होइन, तेरो पनि परेको होइन रे । ल चोरी भयो, हरायो रे; किन्न पाइनु पर्छ कि पर्दैन ? अहिले निःशुल्क पाठ्यपुस्तक प्रधानजीको मिलझैँ फेल भएर लडेको छ । आजको निःशुल्क शिक्षाको नारा उही प्रधानजीको मिलको कथा हो । तोरी लिएर आउनुहोस् निःशुल्क पेलाएर लैजानुहोस् – सरकार प्रधानको सुगा रटाईमा छ । कुराले चिउरा भिज्दैन । सत्य तितो हुन्छ । समय आएपछि बिस्तारै पर्दाको पटाक्षेप हुनेछ । नेपाल उही प्रधानजीको रुग्ण मिलको कथामा भौँतारिई रहेको छ ।
~इति ~

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x