नन्दलाल आचार्यमुक्तिको भ्रम
तुरुन्तै उनले आफ्नो मलिन अनुहार ऐनामा हेरिन् । हातको मैलो पुछिन्, ओठमा अलिकति लाली दलिन् र मोबाइल तेर्स्याएर 'ङिच्च' गर्दै एउटा मुस्कानसहितको तस्बिर खिचिन् ।

नन्दलाल आचार्य :
“अझै भ्याएकी छैनौ ? ढिलो भइसक्यो,” सोफामा ढल्केर पत्रिका पल्टाउँदै श्रीमान्ले आदेशात्मक स्वरमा सोधे ।
“बिहान ६ बजेदेखि सुरु भएको यो ‘जागीर’ बाट राति १० नबजी कहाँ छुट्टी मिल्छ र ?” सरलाले निधारको पसिना पुछ्दै थपिन्, “न कहिल्यै तलब आउँछ, न ग्रेड बढ्छ । बोनस र बिदाको त कुरै छोडौँ !”
श्रीमान्ले व्यङ्ग्य गरे, “सित्तैमा खाएकी छ्यौ र ? तिम्रै देनले त घरव्यावहार चलेकै छ नि ।”
सरलाको मनमा विद्रोहको ज्वारभाटा उठ्यो । उनले भनिन्, “बिरामी पर्दा काज पाइँदैन, थाकियो भनेर राजीनामा दिन खोज्दा समाजले दिँदैन । यो घर हो कि मेरो पसिना सोस्ने कारखाना ? जिन्दगीको योभन्दा ठूलो पीडा अरू के होला र बरै !”
भान्साको धुँवा र भाँडाको आवाजबीच सरला एकछिन थुचुक्क बसिन् । उनलाई लाग्यो- यो शोषक सुसेधन्दाको कुनै अन्त्य छैन । तर, तुरुन्तै उनले आफ्नो मलिन अनुहार ऐनामा हेरिन् । हातको मैलो पुछिन्, ओठमा अलिकति लाली दलिन् र मोबाइल तेर्स्याएर ‘ङिच्च’ गर्दै एउटा मुस्कानसहितको तस्बिर खिचिन् ।
“अघि भर्खर पीडाको बेलिबिस्तार लाउँदै थियौ, अहिले फेरि केको मुस्कान ?” श्रीमान्ले अचम्म मान्दै सोधे ।
सरलाले फोटो सामाजिक सञ्जालमा अपलोड गर्दै जवाफ दिइन्- “हजुर, बाहिर ‘अपलोड’ हुने मेरो यो बनावटी खुसी नै भित्र ‘डाउनलोड’ भइ-रहने मेरो आँसु लुकाउने एक मात्र काइदा हो !”
०००
२०८२ पुस ८ गते ।
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest










































