अमर अधिकारीयसरी राख्दै गएँ बाउ-बाजेको नाम
म चाहिँ अनौपचारिक पोशाकमा चकटीमा बस्थेँ, सबैको ध्यान मतिर हुन्थ्यो। एकजनाले प्वाक्क बोलिहाले “खाना खानेबेलामा खोई धोति फेरेको ?”

अमर अधिकारी :
उहिले हामी भुराभुरी छँदा हरेक वर्ष दसैँको टीका लगाइदिने क्रममा बाजे-बज्यै र बाउ-आमाले आशीर्वाद दिदै भन्नुहुन्थ्यो- “बाउबाजेको नाम राख्नु” वा “बाउबाजेको नाक राख्नु” वा “बाउबाजेको इज्जत राख्नु।” बिडम्बनाको कुरा यो छ कि “बज्यै-आमाको नाम राख्नु” भनिदैनथ्यो। महिलामाथि गरिने भेदभाव अहिले मात्र होइन उहिल्यैदेखिकै हो। बाउ-बाजेको नाम कतिले राख्लान्, कतिले केही मात्रामा राख्लान्, फिटिक्कै नराख्ने त निकै कमै होलान् यो दुनियाँमा। पितापुर्खाको नाम वा इज्जत राख्नु कुनै पनि मानवको कर्तव्य हुनआउँछ।
म कक्षा एकमा भर्ना हुँदा विद्यालयको नाम ‘श्री संस्कृत माध्यमिक विद्यालय’ थियो। लेटर प्याड तथा रबर स्ट्याम्पमा विद्यालयको नामको मुनि सानो अक्षरमा ‘प्यू. खुंग्री धारापानी’ भनेर उल्लेख थियो। २०३२ सालसम्म हाम्रो गाउँ प्यूठानमा पर्दथ्यो भने तत्पश्चात् रोल्पामा गाभियो। माध्यमिक विद्यालय भनिए पनि सात कक्षासम्म मात्र कक्षा चल्दथ्यो हाम्रो पालासम्म। कुनै बखत माध्यमिक विद्यालयको रुप थियो होला सायद। त्यस विद्यालयमा पिताजीले मलाई भर्ना गरिदिँदा रजिष्टरमा आफ्नो नाम पनि लेखिदिनुभएको थियोहोला। आफैले थाहा नपाई मैले बाउको नाम राखेको त्यो नै पहिलो थियो।
कक्षा एकमा भर्ना हुँदा पाइतलामा जुत्ता-चप्पल अवश्य पनि थिएन, अरु बस्त्रका साथमा कट्टु त लगाएकै थिएँ होला। अगाडिपट्टी चार ठाउँमा तुना बाँध्ने दौरा लगाएको चाहिँ याद छ। दौरालाई हाम्रो भेगतिर भोटी भन्छौँ। संस्कृत माध्यमिक विद्यालय पछि त्रिपुरेश्वरी निम्नमाध्यमिक विद्यालयमा नामाकरण भयो। सातकक्षासम्म गाउँकै विद्यालयमा पढिसकेर आठकक्षादेखि प्यूठानको भिंग्रीस्थित श्री अमर माध्यमिक विद्यालयमा भर्ना हुँदा त्यहाँ पनि आफ्नो साथसाथै बाउको नाम पनि राखियो। एसएलसी पास भैसकेपछि स्थानान्तरण प्रमाणपत्रमा बाउको नाम नहुने कुरै थिएन।
नागरिकता लिँदा त्यतिबेलाको जिल्ला पञ्चायत कार्यालय रोल्पाले म र पिताजीको अभिलेख गरेर नागरिकता दिलायो। नमुना मच्छिन्द्र क्याम्पसमा आइकममा भर्ना हुँदा त्यहाँ पनि आफ्नो साथै बाउको नाम नराखी सुखै थिएन। यता वीरगंज चिनी कारखाना लि. मा जागिरका लागि गरेको विज्ञापन अनुसार फाराम भर्दा त्यहाँ बाउको मात्र होइन बाजेको समेत नाम राखियो। शंकरदेव क्याम्पसमा बिकममा भर्ना हुँदा पनि त्यहाँ मेरो साथै बाउबाजेको नाम पनि राखियो। कालकालमा जागिरका लागि भरिने लोकसेवा तथा संस्थानहरुका फारामहरुमा पनि बाउबाजेको नाम राख्दैगएँ । २०५६ सालमा लोकसेवा आयोगको केन्द्रीय कार्यालयको सूचना पाटीमा मेरो तीनपुस्ते नै उल्लेख भएको थियो।
क्याम्पसले दिने प्रमाणपत्रहरुमा पनि बाजेको नभए पनि बाउको नाम अवश्य थियो। निजामती जागिर शुरु गरेपछि निजामती कितावखानामा बुझाइने सिटरोलमा बाउबाजेको नाम राखियो, त्यस्तै कर्मचारी सञ्चयकोषको परिचयपत्रका लागि पनि तीनपुस्ते विवरण भरियो, त्यसैगरि नागरिक लगानी कोषमा पनि बाउबाजेको नाम उल्लेख भयो। निजामती अस्पतालको परिचयपत्रमा पनि बाउबाजेको नाम नराख्ने त कुरै भएन। यसरी मैले विभिन्न बखत बखतमा आफ्नो बाउबाजेको नाम राख्दै गएँ। आमाको भने ककताकतै मात्र बज्यैको नाम भने एकदुई ठाउँमा उल्लेख भयो होला। यसरी मैले बाउबाजेको धेरै ठाउँमा र आमाबज्यैको कम ठाउँमा नाम राखेँ।
२०७९ असार २३ गतेदेखि निजामती सेवाबाट अवकास लिएपछि साहित्य-लेखनमा ज्यादै सक्रियता अपनाउदै जाँदा तीन वर्षभित्रै मैले सम्मान र पुरस्कारहरु पाएपछि त्यसको श्रेय पितापुर्खालाई नै जान्छ भन्ने लाग्यो। किनभने म उहाँहरुको सन्तति हुनपाउँदा मलाई गौरब लाग्छ। उहाँहरु नभएको भए मैले बाउबाजेको मात्र होइन हाम्रो खलककै, टोलकै, गाउँकै, जिल्लाकै, भेगकै, साविक राप्ती अञ्चलकै नाम राख्ने थिएन। गाउँको मात्र होइन, जिल्लाको मात्र होइन, राप्ती भेगका तमाम सम्पदाहरुका बारेमा मेरा धेरै नै लेखहरु प्रकाशन भैसकेका छन्।
मैले पाएका उपाधि र उपनाम अनि संज्ञा पनि दर्जनको हाराहारीमा पुगिसकेको छ। यतिले पनि नपुगेर एआइले हिन्दीमा समेत मेरो महिमा गाइदिएको छ। एआईले त मलाई विश्व कीर्तिमानी पनि भनिदिएको छ। एआइले अलिक बढी नै भनिदिदो रहेछ जस्तो लाग्यो। यदि साँच्ची विश्व कीर्तिमानी भैदिएको भए त मैले मुलुककै नाम उचाइमा पुर्याएको रहेछु भन्ने बुझिन्छ। गुगलमा मेरो नाम खोज्दाबित्तिकै ह्वार्ह्वार्ती म र मसँग सम्बन्धित सामग्रीहरु तमाम भेटिन्छन्।
मैले यति गरेपछि अरु पुण्य काम केही गर्नुपर्ला र ? बाउबाजेको नाम यति धेरै ठाउँमा राखेपछि उहाँहरुका लागि अन्य केही गर्नुपर्ला र ? छोटो अवधिभित्रै तमाम सम्मान र पुरस्कार पाएँ, त्यो आफ्नो मात्र नभएर बाउबाजेको अनि पुर्खाको र खलककै नाम राखेको छु भन्ने कुरा प्रष्ट हुन्छ। ‘मलाई अब सम्मान र पुरस्कार पुग्यो’ भनेर मेरो एउटा लेख पनि छापियो। जुन लेखलाई धेरैले मन पराउनुभयो पनि, यसरी कसैले पनि बोल्न वा लेख्ने हिम्मत गरेको पाइँदैन जुन मैले लेखेर देखाइदिएँ।
मलाई बोल्न र लेख्न सिकाउने क्षेत्र नै साहित्य-लेखन भएकोले यसै मार्फत अगाडि बढियो र मेरो जीवनी लेखेर विभिन्न पत्रिकाहरुमा छपाउने काम पनि गर्नुभो केही शुभचिन्तक वा शुभेच्छुकहरुले। मेरो जीवनी लेख्नेमा महिला स्रष्टाहरु नै बढी हुनुहुन्छ। घरमा शंका मान्लान् कि भन्ने डर छ, पुरुषहरुले लेखे पनि त हुन्छ नि, किन महिलाहरुले नै लेख्नुपरेको होला भन्दै कुरा काटियो कि भन्ने डर पनि छ।
देशभक्ति देखाएर लेखहरु लेख्दै जाँदा एउटा झोलेले करङ नै भाँचिदिन्छु भने, अर्को झोलेले ठोक्ने धम्की पनि दिए, अर्काले पनि त्यस्तै किसिमका संकेत दिदै मेरो लेखन यात्रालाई अवरुद्ध गर्न खोजे। तर म किन पो डराउँथे र? तिनीहरुका विवरणहरु डायरीमा टिपेर राखेको छु। त्यस्ता झोलेहरुको धम्कीका भाषाबाट म रतिभर डराउदिनँ पनि। कसैले जाजुस गरेको जाजुसीको संकेत पनि मैले पाइसकेको छु र डायरीमा टिपिसकेको छु। देशघाती नेताका छाउरादेखि म किन डराउने ? भित्री मनदेखि नै देशभक्ति देखाइरहने जिउँदो शहीद पनि हूँ म। मैले देशघातीहरुका विरुद्धमा लेख्न र बोल्न छोड्दिनँ । मलाई आफ्नो जन्मभूमिप्रति धेरै नै सम्मान र प्रेम छ। देशघातीहरुलाई मेरा आफ्ना सिर्जनाहरु मार्फत झस्काउने र तर्साउने काम मबाट रोकिने पनि छैन।
धर्मकर्ममा कट्टर बाले भन्नुहुन्थ्यो- तँलाई छुट छः हाम्रा पिताजी आफू कट्टर ब्राह्मण पण्डित भए पनि आफ्ना अरु छोराहरु अर्थात् मेरा दाजुभाइहरुको तुलनामा मलाई विशेष छुट दिनुहुन्थ्यो। उहाँको उदारवादी सोच पनि थियो भन्ने कुरा बुझ्दैगएँ। म रोल्पाको सदरमुकाम लिबाङमा एक कार्यालयको प्रमुख भएको अवधिमा रोल्पाकै सिर्पमा रहनुभएका माइलामामाको निधनको सातौँ दिनमा म पिताजीका साथमा गएको थिएँ।
त्यहाँ पुगेपछि खाना खाने समयमा अरु सबै ब्राह्मणहरुले सेतो धोती फेरेर भान्सा पस्दथे र भोजन गर्दथे। म चाहिँ अनौपचारिक पोशाकमा चकटीमा बस्थेँ, सबैको ध्यान मतिर हुन्थ्यो। एकजनाले प्वाक्क बोलिहाले “खाना खानेबेलामा खोई धोति फेरेको ?” पिताजीले तत्कालै जवाफ दिनुभयो- “उसलाई छुट छ, कर्मचारीलाई कहिले कता जानुपर्छ, कहिले के गर्नुपर्छ, साध्य हुँदैन।“ यो सुनेपछि मलाई लाग्यो अवस्था हेरेर पिताजीमा उदारवादी सोच पनि रहेछ।
०००
खुंग्री, धारापानी। हालः बुढानिलकण्ठ काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest








































