डम्बर घिमिरेभैरव दाइलाई चिठी
आफू सर्वाङ्ग भै नग्न बेइज्जत् मात्र देखियो ।

श्रद्धेय दाजु स्वर्गीय व्यङ्ग्यमा उच्च भैरव
गरेर सम्झना एैले लेख्दै छु पत्र यो जब
सन्च बिसन्च के भन्नु खाँदै बस्दै रमाइलो
देश सौन्दर्यको खानी स्वास्थ्य पाखा घमाइलो ।
कोरोनाले गए धेरै दुःखी गरिब जो जन
उच्च भन्नेहरू जो छन् बाँचेका गरी रञ्जन
अन्न पानी तथा शिक्षा औषधी ज्ञान चेतन
मञ्च भाषणले प्राप्त भैराछ दुःख भञ्जन ।
परिधान भिरेका छन् देखिन्छन् नग्न सर्वदा
कर्म धर्म सबै बिग्रे न्वाएर हुन्न नर्वदा
देशभक्त म हूँ भन्छन् उच्च वर्ग रही बसे
सर्वाङ्ग नहुँदासम्म लाज छैन धरा डसे ।
हिलो गोवरले सारा मुखमण्डल पोतिदा
भन्दा छन् ती म राम्रो छु विश्वले पनि हेपिदा
सारा जङ्गल भो नग्न पानी दक्षिण पोखियो
आफू सर्वाङ्ग भै नग्न बेइज्जत् मात्र देखियो ।
सबै हाल भनें दादा गएर अब भन्दिनू
वि.पी. मोहन पृथ्वीमा राष्ट्रमा चाल यै भनू
वासुदेव त्यहीँ होलान् लक्ष्मी होलान् नि मोहिनी
गोपालराज दुवै होलान् लावण्य साथ रोहिणी ।
राजनेता तथा स्रष्टा व्यङ्ग्यकार र हास्यमा
व्यथा नेपालको पोख्न जानु होस् देशभक्तमा
ब्रह्मचारी सुरा खान्छन् कर्मचारी चुरातिर
युवा युवतीको धोती झर्ने गर्छ घुडातिर ।
लाटाको सरि भो धोती लगौँटी झर्लङ्ग झर्छ कोपिन
सोमरस लिई राती लडेका वर्ग छिन्छिन
लाज छैन कुनैलाई घिन छैन कतैतिर
बृद्ध मातापिता मर्न खोज्ने गर्छन् सधैँ भिर ।
हाल खबर यस्तै छ यहाँको सब भन्दिएँ
त्यहाँ कस्तो छ लौ भन्नु ममा लागो र सम्झिएँ
गोष्ठी हास्य हुँदा होलान् भेला भई निरन्तर
यही बुझ्न भयो इच्छा यहाँ त्यहाँ छ अन्तर ?
मो. ९७४२०१८८९२
आलेख, पूर्णाङ्क ३७/३८ बाट
Subscribe
Login
0 Comments
Oldest






































