
विकास तिमी नआऊ
मान्छे हावासँग डराइरहेछ मान्छे आफैसँग डराइरहेछ डरैडरमा मान्छे जिउँदै मरिरहेछ ।

विकास तिमी आउनु पर्छ
सभ्य संयम र भव्य रुपमा
विना तिमी के पो छ यो युगमा
लामबद्ध छन् आत्मा
फाटेका पाइतला
डामिएका पिठ्यूँ
र गहिरिएका तालुहरू
तिम्रो स्वागतमा
तर
तिम्रो रौद्ररुपले
आश होइन त्रास फैलिएको छ
भोक होइन भोजन लुटेको छ
खास होइन बास उडेको छ
जिउँदै मनहरू मरिसके
भावनाहरू बसाइ सरिसके
चालकको इन्जिनियरिङमा
डोजरका आततायी नङ्ग्राले
धर्तिको छालामाथिको रजाइले
बोटहरूका जरा नशा छियाछिया
ढुङ्गाहरूको बेजोड गतिको
आक्रोशपूर्ण दौढ प्रतियोगिता
माटोको स्थानान्तरणले
समुद्र उठेको छ
कहीं कतै पृथ्वीको आकार फेरिएको छ
मेरो हिमाल फुटेको छ
हिउँ लुटेको छ
पहाडमा दरदर दरारहरू दर्किएका छन्
तराई डुबेको छ
हो, साँच्चै मेरो देश बगर बनेको छ
अन्जानहरू नियतिको खेल भन्छन्
नियतिसँगै साइनो गाँस्छन्
नियतिमै समर्पित हुन्छन्
आफ्नो अवशानको साक्षी बसिरहेछन् बसिरहेछन्
जानकारहरू नियतको खेल देख्छन्
नियत विरुद्ध लेख्छन्
नियतको शंकाको निवारण खोज्छन्
अलि टाढाबाट
सल्लाहको भूमिका खेल्छन्
बस्, निरिहताको प्रमाण
उपबुज्रुकहरू नेतृत्व गर्छन्
डोजर किन्छन्
ओछ्यानबाट अनिन्द्रामा दृष्य सर्वे गर्छन्
स्वामित्वको डोजरलाई रछ्यानबाट आदेश दिन्छन्
अनिष्टताको नक्सामा रमाउछन्
र
मान्छे ऋतुसँग डराइरहेछ
मान्छे बर्खासँग डराइरहेछ
मान्छे हिउँदसँग डराइरहेछ
मान्छे गर्मीसँग डराइरहेछ
मान्छे जाडोसँग डराइरहेछ
मान्छे हिउँसँग डराइरहेछ
मान्छे हावासँग डराइरहेछ
मान्छे आफैसँग डराइरहेछ
डरैडरमा मान्छे जिउँदै मरिरहेछ ।
किनकि विकास
तिमी बेसिजनमा आउँछौ
तिमी बेतालमा आउँछौ
तिमी लहडमा आउँछौ
हो,
विकास अति भो
यही नियतमा
यही रुपमा
फेरि नआऊ है ।
काठमाडौं