ताराबहादुर बुढाथोकीनेपाल किन बस्दैन मान्छे ?
भएजत्ति सम्पत्ति उतै लान्छन्, बुडेसकालसम्म बन्दुक बोकेर खान्छन् । किनभने यहाँ सत्ताले सुनलाई तामो र पित्तल बनाइदिन्छ । हक खोज्ने अर्जुनलाई, तातो गोली पिलाएर सित्तल बनाइदिन्छन् ।

सगरमाथा पनि यहीं छ,
गौरवगाथा पनि यहीँ छ ।
लुम्बिनी र पशुपति पनि छ,
वरुण, गण्डकी र बागमति पनि छ ।
छ,जनकपुर र मुक्तिनाथ पनि,
पारुहाङ, सुम्निमा र वुद्धको साथ पनि ।
तर राम्रो पढ्ने छात्र यहाँ बस्न मान्दैन,
अब्बल र मेधावी पात्र यहाँ बस्न मान्दैन ।
किनभने यहाँ
नयाँ भाँडालाई पत्रु बनाइन्छ,
आफन्तलाई शत्रु बनाइन्छ ।
देश बनाउने निणर्ायक ठाउँमा
कवाडी खटारा मालहरू छन्,
लाख दुईलाखमा बिक्ने कङ्गालह छन् ।
विदेशी फौजमा काम गरेर
करोडौँ कमाएकाहरू,
पेन्सन भई आएर पनि
समुद्रपार टाडामा बस्छन् ।
शहरका घर बेचेर विदेशका
एपार्टमेन्ट भाडामा बस्छन् ।
सन्तानहरू विदेशमा जन्माउन चहान्छन् ।
छोरीहरू विदेशतिरै अन्माउन चहान्छन् ।
भएजत्ति सम्पत्ति उतै लान्छन्,
बुडेसकालसम्म बन्दुक बोकेर खान्छन् ।
किनभने यहाँ सत्ताले
सुनलाई तामो र पित्तल बनाइदिन्छ ।
हक खोज्ने अर्जुनलाई,
तातो गोली पिलाएर सित्तल बनाइदिन्छन् ।
रातो मसी दलेर, सुँगुरलाई कस्तुरी
र भालुलाई चित्तल बनाइदिन्छन् ।
जल यहीँ छ, बल यहीँ छ,
दशदश बर्षमा राजनीतिक
अदलबदल यहीँ छ ।
जडीबुटी वनभरि छ,
देशको माया मनभरि छ ।
तर तन्नेरीहरू मुङ्लान भासिरहन्छन्,
विश्वद्यालयका प्रथम श्रेणीहरू
इलिगल भिसा बोकेर पनि
डायस्पोराको भित्तामा टाँसिरहन्छन् ।
योग्यता, सीप र सिर्जनाहरू,
अरबको तातो बालुवामा
स्वयम् सिमेन्ट बनेर गाँसिइरहन्छन् ।
किनभने आफ्नो देश आफ्नो छैन,
मुठ्ठीभरद्वारा वलात्कृत किसोरी बनेको छ ।
तलदेखि माथिसम्म, भित्रदेखि बाहिरसम्म
टेबुल र कुर्सी नै घुसखोरी बनेको छ ।
बस्न मन कसरी लागोस् पनि र
चिल्लो गाडी, सुकिलो लुगा अनि
आकर्षक महलभित्र …..
लुकेको मन नै फोहोरी बनेको छ ।
खाँदबारी
Subscribe
Login
0 Comments
Oldest








































