प्रेम राई ‘परीक्षित’त्रसित दैनिकी
भाइरस भन्दा मुखुण्डोसँग डराइरहेछु म मुखुण्डो ओडेर दरबारहरू अचेल ममाथि ह्विप लगाइरहेछ ।

चालचुल छैन बस्तीमा
मान्छेहरू चौघेराको शीत निद्रामा
ऐठन पार्छन् दिनभरी मलाई
भाइरसको अतिक्रमण
मान्छेको एक पसरी खुसी
मास्कभित्र बन्दी भएका छन्
सेनिटाइजर पखाल्छ
हर मिनट घण्टा र दिन
मान्छेको एक पोका रहर
पानी बिनाको सहर
कालो बजारको डिटोल
मेलम्चीको पाइप हेर्दै
घुटुक्क थुक निल्छ
कलेटी परेको
एक जोडि मास्क
याने कि मुखुण्डो
तर्साउँछ मलाई
भाइरस भन्दा
मुखुण्डोसँग डराइरहेछु म
मुखुण्डो ओडेर दरबारहरू
अचेल ममाथि ह्विप लगाइरहेछ
मेरो टेबलमा बसेर
पचास रुपैयाँमा किनेको
त्यो थोत्रो मुखुण्डो
साँझ बिहान तर्साईरहेछ मलाई !
म माथि हैकम जमाई रहेछ
बन्दुकसँग नडराएको मेरो इतिहास
जाबो सानो भाइरससँग
सुरुवाल भिजाइरहेछ
भन्छ-
भनेको मानिनस् भने
संसद बिघटन गरिदिन्छु
सङ्कटकाल कर्फ्यू लगाइदिन्छु
मैले उसलाई भनी दिएँ
मेरो मन बिघटन गरेर देखाऊ
कर्फ्यू लगाएर देखाऊ मेरो बिचारलाई
अनि हेरौंला तिम्रो पाइन् …..!!!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































