वासुदेव पाण्डेयअरण्य- रोदन
गुमे सत्ता गर्ज्यो तर जब मिल्यो ‘त्वम् शरण’मा कठै हाम्रा नेता ’धनुष’ सरि झुक्छन् चरणमा।

फुटेका हामी छौँ गृहकलहमा भासिन पुगी
छिमेकी बोलायौँ छलफल गरायौँ जब झुकी ।
उसैको आज्ञाका वरपर घुम्यो शासन गऱ्यो
गुहार्दा हामीले वर वर सिमानातिर सऱ्यो ।।
गुमे सत्ता गर्ज्यो तर जब मिल्यो ‘त्वम् शरण’मा
कठै हाम्रा नेता ’धनुष’ सरि झुक्छन् चरणमा।
भने होलान् मेरो पदतिर परोस् दृष्टि असल
गरे होलान् बिन्ती हजुर सब लानोस् वन, जल ।।
हुँदा नेता, मन्त्री सब चुप भए वा पछि सरे
रमे किर्नाजस्तै मुलुक जिउमा शोषण गरे ।
सबै बुझ्छन् सीमातिर छ गहिरो सङ्कट भनी
छिमेकीले हेप्दा टुलुटुलु नियाल्ने ऋषि बनी ।।
दुख्यो हाम्रो सुस्ता कति दिन दुख्यो कञ्चनपुर
दुख्यो कालापानी लिपु पनि दुख्यो लक्ष्मणपुर ।
धुलो, माटो दुख्दा हृदय चुँडिने व्यक्ति नहुने
ठुलो दुख्दा सानो विचलित भई को छ र रुने ?
पुजारी हत्यारा, पथतिर बसे खाडल खनी
भए पापी मन्त्री, अविजित, ठुला शासक बनी ।
मुसा लाखौँ खाई विगत दिनको हिंस्रक अति
बिरालो के लिन्थ्यो परहित हुने धार्मिक मति ?
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest







































