सुरज पराजुलीजीवन-एक रङ्गमञ्च
बस् ! एउटै अभिनय जानेकी थिइन परदेशबाट आएको छ, खसमको लास बाबा- अब मलाई विधवाको पनि अभिनय गर्न आउँछ ।

पातका भाँडाकुँडामा
ढुङ्गा-माटोका खानेकुरा बनाएर
पस्किने, खाने गर्दागर्दै
ख्यालख्यालैमा जानेकी हुँ- भान्सा चलाउन
बेहुला-बेहुली खेल्दाखेल्दै
सिकेकी हुँ- दुलहीको नाटक गर्न
र,
बुझेकी हुँ-घर व्यवहार
आजभोलि सम्झिन्छु-
उ बेला खेलेको रुमाल लुकाइ-लुकाइ खेल
सम्झिदा-सम्झिँदै झसङ्ग हुन्छु
कतै समयले-
आफ्नै पछाडि त लुकाइदिएको छैन खुसी ?
मोजाको भकुन्डोले
फुटाउँदा-फुटाउँदै ढुङ्गाहरूको ढिस्को
बानी भएको हो-दुःखका पहाडहरू ढलाउने
ट्याक लगाउँदा-लगाउँदै
फुत्त खसेको पातीको चुङ्गीले
बुझाएको हो-
जिन्दगीमा भइरहन्छ उतारचढाव
खाटमुनी
टाँस्दै-उप्काउँदै-खाँदै गरेको चुइगमले
सिकायो
पितृ सत्ताले कसरी टाँस्छ, उप्काउँछ र खान्छ-
एउटी नारीको जिन्दगी
थोत्रा कपडा सिलाएर बनाएको पुतलीबाट
मैले सिकेकी हुँ- लालाबाला खेलाउन
सबै पात्रको अभिनय बाल्यकालमै गरेकी मैले
बस् ! एउटै अभिनय जानेकी थिइन
परदेशबाट आएको छ, खसमको लास
बाबा-
अब मलाई विधवाको पनि अभिनय गर्न आउँछ ।
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































