साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्नी

चिलिमको आगो मटानभरि फिजियो, सेती दी “भूत भूत” भनी चिच्च्याउन थाली । वीणाको ढोका खुल्यो । तर त्यस बेलासम्म काजी सडकमा पुगिसकेका थिए । मानिसहरू उतै दौडँदै थिए ।

Nepal Telecom ad

बलबहादुर कार्की पूरा एक वर्ष भएपछि बिदामा घर फर्किरहेका थिए त्यही एक वर्ष जसमा पूरा ३६५ दिन हुन्छन्, जुन एक दिनमा चौबीस घण्टाको दिनरात जोड्नुपर्छ र एक घण्टा प्रवासीको निमित्त युगझैं लामो प्रतीत हुन आउँछ । उनी पनि त्यही एक वर्ष राम-राम भन्दै बिताई कत्रो खुशीले घर फर्किरहेका थिए, उनै जान्लान् । कठोर कार्यको नियमिततासाथै वीणाको स्मृति, तपस्यै गर्नुपरेको थियो, उनलाई त्यो एक वर्ष काट्न ।

त्यस रात उनी भीमफेदी बास बसी आएका थिए । भाडाको घोडा, त्यो पनि परेछ लिखेटट्टू । नत्र त चार बजे उनको घरै पुग्ने विचारं थियो । घरबाट सवारी पनि मगाएनन्, अचानक घर पुगी वीणालाई चकित पार्ने उनको सुर सवारी मगाइरहेका भए, यो मजा पनि त भाग्थ्यो नि ।

चार बजे बल्ल उनी चन्द्रागिरिको भन्ज्याङमा पुगे । सूर्य भगवान् आफ्नो समाप्तप्रायः प्रकाशले कान्तिपुर शहरलाई नुहाइदिन लागेका थिए । सुनधाराको त्यो टक्क ठडिएको धरहरा नेपालको गौरवझैँ टाउको उँचा गरेर उभिएको थियो । शहरवरिपरि विशाल दरबारहरूको समूह, शहरका रक्षक र बागमती, विष्णुमतीले वेष्ठित कान्तिपुर शहर अभेद्यजस्तो देखिन्थ्यो । उनी आँखा घुमाउँदै पकनाजोलको आफ्नो तीनतले घर पनि देख्ने विफलप्रयास गर्न थाले । आँखा पीरा हुँदै आए ।

पहाडको कन्दराबाट चहकिलो प्रसन्न स्वरमा-
‘तीनै र शहर झिली र मिली बत्ती बाल्ने मसिन ।
कैलेको पूर्व, कैलेको पश्चिम दर्शन मिल्नै कठिन ।’

कुनै घाँसीले झ्याउरेको तालमा डाँडाहरू घन्काउन थाले । तल थानकोटफेदीबाट कपडाका गाँठका गाँठ पिठ्युँमा लादेका तामाङहरूको टोली उक्लन लागिरहेको थियो । उनले पनि आफ्नो घोडा बढाए ।

“चोकमा पुगी वीणा ! वीणा !” भनी डाक्छु । होइन यो मजा हुन्न । बिस्तारै वीणाकै अगाडि गएर परदेशी है, बास पाइन्छ कि ? भन्छु । अचानक मलाई देख्दा वीणा त टोहलाउनेछिन् । खूब तमासा हुनेछ । बलबहादुर एकछिन घोरिए । अहँ, यो पनि ठीक हुन्न । हो, विस्तारै पछाडिबाट गएर आँखा छोपिदिन्छु छोड्दै छोड्दिन, चुपचाप भैरहन्छु । स्त्री र पुरुषमा हातले छामेर पनि वीणाले छुट्याइहाल्छिन् । अनि पो झस्किनेछिन्, डराउनेछिन् तैपनि म छाड्ने होइन । जब सहायताको निमित्त चिच्च्याउन थाल्नेछिन् अनि मात्र पो छाडुँला । पछाडि फर्की हेर्छिन् त काजी बलबहादुर । गजब मजा त यसैमा पो हुन्छ । यो विचारतन्मयता छुटेपछि आँखा खोली हेर्छन् त काजीले आफूलाई बलम्बुको सडकमुनि खेतको एउटा गरोमा दुवै हात फैलाई घोडाको पिठ्यूँमा मस्त भैरहेको भेट्टाए । एक-दुई जना बटुवा पनि जिल्ल परी उनलाई हेरिरहेका । उनको घोडा पनि सायद भीमफेदी टारकी कुनै आफ्नी प्रेयसीको ध्यानमा मस्त भै आफ्नो सवारको अनुकरण गरिरहेको थियो । छडी खाँदा पनि एकछिन त उसले पाइलो चाल्ने नामै लिएन । काजी बडा लज्जित भए, बल्लबल्ल घोडालाई सडकमा ल्याई ख्यान्च्याङ ख्यान्च्याङ गर्दै बढाए । त्यस बेला अन्धकार पनि घना हुँदै आउँदै थियो ।

घरनेर पुग्ने बेलामा ग्वार्चाले उनलाई “सलाम हजूर ।” भन्यो । टाउकोको इसाराले उनले सलाम फर्काए । दुई पाइला के बढेका थिए, जिरे पण्डित “आशीर्वाद काजी ।” भन्दै हात सोझ्याउँदै अगाडि बढे । उनलाई पनि बडो दिक्दारीका साथ टाउको थापिदिए । टाउको के उठाएका थिए मुसे दमाइँको “जदौ बराजू ।” र बेढङ्गको लम्बे सलामले उनको मगज तात्यो । हेर्दै नहेरी अगाडि बढे । घरतिर हेरे, झ्यालहरूबाट बिजुलीको प्रकाश यत्रतत्र छरिइरहेको थियो । उनको मन खङ्ग्रङ्ग भयो । वीणा त के, उनी आउने कुराले टोलै हल्लिसकेछ । कत्रो युक्ति बाँधेर आएको, सबै माटो ! चोककै ढोकामा वीणालाई भेट्ने आशा लिई उनी छेडोभित्र पसे । ए, चोकमा त वीणा रहिनछन् । थाहा छैन कि त ? तर घर यस्तो सिनित्त सफा किन ? उनी चाल मार्दै भर्‍याङ उक्लन थाले । मनमा तैपनि द्विविधै थियो । वीणाको उही लट्ठिने हाँसोले उड्दै आई उनको कानमा ठक्कर खायो । उनी टक्क अडिए । ‘आखिर झन् उल्लू मै बनें आज ।’ वीणा सबै मेरो चाल देखेर नै हाँसेकी हो कि क्या । पाँच-पाँच मिनेटमा त्यहीं अडिएँ । तर फेरि आवाज केही आएन । बिस्तार-बिस्तार उक्लन थालें । आफ्ना ढोकाअगाडि नै उभिएँ । मटानमा चुक पोखेको जस्तो अन्धकार थियो । ढोकामा आग्लो थियो । वीणाको हाँसो भित्रबाट छिनछिनमा फुट्दथ्यो । आहा कस्तो मीठो मुग्ध पार्ने हाँसो थियो उनकी वीणाको ? ‘के कुरा मैले अठोटेको, त्यो थाहा भएछ वीणालाई । हेर, भित्र लुकेर मेरो खिसी गरी गरी गिज्याइरहेकी । अब त झन् उ ढोका खुलाउन वीणालाई नै पो मनाउनुपर्ने भयो ।’

वीणाको सताउने यो काइदा उनलाई खूब मन पथ्र्यो । धेरै बेरसम्म त्यसै उभिरहे । न त हाँसो नै थामिन्थ्यो न ढोका नै खुल्थ्यो । आखिर उनैले ढोकामा ठकठक दुई आवाज दिए- हाँसो थामियो । “को हो ?” वीणाको मधुरो र कम्पित आवाज आयो । वीणा उठेर ढोकातिर आएको जस्तो उनलाई लाग्यो । ‘ए, थाहा त छैन क्यार । अब यो हाँसो केको ?’ उनलाई बडो अचम्म लाग्यो तैपनि मटानको अँध्यारो कुनामा लुके । ढोका खुल्यो । वीणाले अन्धकारलाई चिरेर कसैलाई देख्ने कोसिस थालिन् । फरक्क फर्किन्, “कोही पनि छैन, हावा पो । हजुर त त्यसै भनि बक्सिन्छ ।” भन्दै वीणा फेरि भित्र पसिन् । फेरि हाँसोले कोठा सबै घन्क्यो । किन्तु यस पटकको हाँसोमा पुरुषको भारी आवाज पनि मिश्रित भयो । शिरमाथि कसैले हजारौँ मन फलाम ल्याई राखिदिएको जस्तो उनलाई लाग्यो, पुरुषको आवाजलाई पनि परिचितजस्तो उनलाई लाग्यो । उनी पत्थरको प्रतिमा भै कतिबेर त्यसरी नै बसिरहे ।

“वीणा । कतिबेर यसै राखिछाड्छ्यौ मलाई ?” भन्ने पुरुषको आवाजले पो उनी एकदम झस्के । त्यस पुरुषलाई पनि अब उनले राम्रै चिने । त्यस्तो अन्तरङ्ग मित्र विनोदको आवाज पनि एकै वर्षमा बिर्सन्थे र ? कोठाबाट वीणाको दबेको मधुरो हाँसो अझै पनि छिनछिनमा निस्किरहेको थियो । पन्ध्रेक मिनेटपछि दुवै जना मटानमा निस्के । कोठाबाट चुहिएको सानो टुक्रो प्रकाशमा उनले विनोदको मुखाकृति र वीणाको अस्तव्यस्त शरीर देखे । बिदाइको एक उपहार लिएको प्रेमी बिदा भयो । वीणा पनि सेतीलाई चोकको ढोका लगाउनू भनी एक हाँक दिई भित्र पसिन् । सेती दी उनकी पुरानी नोकर्नी एउटा हातमा सानो टुर्रे ली ट्वारट्द्वार पार्दै बुइँगलबाट ओर्लन थाली । बलबहादुर अझै मूर्ति बनी सबै हेरिरहेका थिए । केही निश्चय गर्न सकेका थिएनन् । भित्तामा सेती दी उनकै अगाडि आइपुगी, एक लात जमाए । सेती दी पुगी बजारिन । चिलिमको आगो मटानभरि फिजियो, सेती दी “भूत भूत” भनी चिच्च्याउन थाली । वीणाको ढोका खुल्यो । तर त्यस बेलासम्म काजी सडकमा पुगिसकेका थिए । मानिसहरू उतै दौडँदै थिए । अन्धकारमा उनलाई कसैले चिन्न सकेन । उनी पनि त्यसै अन्धकारमा बिलाउन गए ।

‘खै खै’ (२०१७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
0
Would love your thoughts, please comment.x
()
x