केशवराज पिँडालीपत्नी
चिलिमको आगो मटानभरि फिजियो, सेती दी “भूत भूत” भनी चिच्च्याउन थाली । वीणाको ढोका खुल्यो । तर त्यस बेलासम्म काजी सडकमा पुगिसकेका थिए । मानिसहरू उतै दौडँदै थिए ।
बलबहादुर कार्की पूरा एक वर्ष भएपछि बिदामा घर फर्किरहेका थिए त्यही एक वर्ष जसमा पूरा ३६५ दिन हुन्छन्, जुन एक दिनमा चौबीस घण्टाको दिनरात जोड्नुपर्छ र एक घण्टा प्रवासीको निमित्त युगझैं लामो प्रतीत हुन आउँछ । उनी पनि त्यही एक वर्ष राम-राम भन्दै बिताई कत्रो खुशीले घर फर्किरहेका थिए, उनै जान्लान् । कठोर कार्यको नियमिततासाथै वीणाको स्मृति, तपस्यै गर्नुपरेको थियो, उनलाई त्यो एक वर्ष काट्न ।
त्यस रात उनी भीमफेदी बास बसी आएका थिए । भाडाको घोडा, त्यो पनि परेछ लिखेटट्टू । नत्र त चार बजे उनको घरै पुग्ने विचारं थियो । घरबाट सवारी पनि मगाएनन्, अचानक घर पुगी वीणालाई चकित पार्ने उनको सुर सवारी मगाइरहेका भए, यो मजा पनि त भाग्थ्यो नि ।
चार बजे बल्ल उनी चन्द्रागिरिको भन्ज्याङमा पुगे । सूर्य भगवान् आफ्नो समाप्तप्रायः प्रकाशले कान्तिपुर शहरलाई नुहाइदिन लागेका थिए । सुनधाराको त्यो टक्क ठडिएको धरहरा नेपालको गौरवझैँ टाउको उँचा गरेर उभिएको थियो । शहरवरिपरि विशाल दरबारहरूको समूह, शहरका रक्षक र बागमती, विष्णुमतीले वेष्ठित कान्तिपुर शहर अभेद्यजस्तो देखिन्थ्यो । उनी आँखा घुमाउँदै पकनाजोलको आफ्नो तीनतले घर पनि देख्ने विफलप्रयास गर्न थाले । आँखा पीरा हुँदै आए ।
पहाडको कन्दराबाट चहकिलो प्रसन्न स्वरमा-
‘तीनै र शहर झिली र मिली बत्ती बाल्ने मसिन ।
कैलेको पूर्व, कैलेको पश्चिम दर्शन मिल्नै कठिन ।’
कुनै घाँसीले झ्याउरेको तालमा डाँडाहरू घन्काउन थाले । तल थानकोटफेदीबाट कपडाका गाँठका गाँठ पिठ्युँमा लादेका तामाङहरूको टोली उक्लन लागिरहेको थियो । उनले पनि आफ्नो घोडा बढाए ।
“चोकमा पुगी वीणा ! वीणा !” भनी डाक्छु । होइन यो मजा हुन्न । बिस्तारै वीणाकै अगाडि गएर परदेशी है, बास पाइन्छ कि ? भन्छु । अचानक मलाई देख्दा वीणा त टोहलाउनेछिन् । खूब तमासा हुनेछ । बलबहादुर एकछिन घोरिए । अहँ, यो पनि ठीक हुन्न । हो, विस्तारै पछाडिबाट गएर आँखा छोपिदिन्छु छोड्दै छोड्दिन, चुपचाप भैरहन्छु । स्त्री र पुरुषमा हातले छामेर पनि वीणाले छुट्याइहाल्छिन् । अनि पो झस्किनेछिन्, डराउनेछिन् तैपनि म छाड्ने होइन । जब सहायताको निमित्त चिच्च्याउन थाल्नेछिन् अनि मात्र पो छाडुँला । पछाडि फर्की हेर्छिन् त काजी बलबहादुर । गजब मजा त यसैमा पो हुन्छ । यो विचारतन्मयता छुटेपछि आँखा खोली हेर्छन् त काजीले आफूलाई बलम्बुको सडकमुनि खेतको एउटा गरोमा दुवै हात फैलाई घोडाको पिठ्यूँमा मस्त भैरहेको भेट्टाए । एक-दुई जना बटुवा पनि जिल्ल परी उनलाई हेरिरहेका । उनको घोडा पनि सायद भीमफेदी टारकी कुनै आफ्नी प्रेयसीको ध्यानमा मस्त भै आफ्नो सवारको अनुकरण गरिरहेको थियो । छडी खाँदा पनि एकछिन त उसले पाइलो चाल्ने नामै लिएन । काजी बडा लज्जित भए, बल्लबल्ल घोडालाई सडकमा ल्याई ख्यान्च्याङ ख्यान्च्याङ गर्दै बढाए । त्यस बेला अन्धकार पनि घना हुँदै आउँदै थियो ।
घरनेर पुग्ने बेलामा ग्वार्चाले उनलाई “सलाम हजूर ।” भन्यो । टाउकोको इसाराले उनले सलाम फर्काए । दुई पाइला के बढेका थिए, जिरे पण्डित “आशीर्वाद काजी ।” भन्दै हात सोझ्याउँदै अगाडि बढे । उनलाई पनि बडो दिक्दारीका साथ टाउको थापिदिए । टाउको के उठाएका थिए मुसे दमाइँको “जदौ बराजू ।” र बेढङ्गको लम्बे सलामले उनको मगज तात्यो । हेर्दै नहेरी अगाडि बढे । घरतिर हेरे, झ्यालहरूबाट बिजुलीको प्रकाश यत्रतत्र छरिइरहेको थियो । उनको मन खङ्ग्रङ्ग भयो । वीणा त के, उनी आउने कुराले टोलै हल्लिसकेछ । कत्रो युक्ति बाँधेर आएको, सबै माटो ! चोककै ढोकामा वीणालाई भेट्ने आशा लिई उनी छेडोभित्र पसे । ए, चोकमा त वीणा रहिनछन् । थाहा छैन कि त ? तर घर यस्तो सिनित्त सफा किन ? उनी चाल मार्दै भर्याङ उक्लन थाले । मनमा तैपनि द्विविधै थियो । वीणाको उही लट्ठिने हाँसोले उड्दै आई उनको कानमा ठक्कर खायो । उनी टक्क अडिए । ‘आखिर झन् उल्लू मै बनें आज ।’ वीणा सबै मेरो चाल देखेर नै हाँसेकी हो कि क्या । पाँच-पाँच मिनेटमा त्यहीं अडिएँ । तर फेरि आवाज केही आएन । बिस्तार-बिस्तार उक्लन थालें । आफ्ना ढोकाअगाडि नै उभिएँ । मटानमा चुक पोखेको जस्तो अन्धकार थियो । ढोकामा आग्लो थियो । वीणाको हाँसो भित्रबाट छिनछिनमा फुट्दथ्यो । आहा कस्तो मीठो मुग्ध पार्ने हाँसो थियो उनकी वीणाको ? ‘के कुरा मैले अठोटेको, त्यो थाहा भएछ वीणालाई । हेर, भित्र लुकेर मेरो खिसी गरी गरी गिज्याइरहेकी । अब त झन् उ ढोका खुलाउन वीणालाई नै पो मनाउनुपर्ने भयो ।’
वीणाको सताउने यो काइदा उनलाई खूब मन पथ्र्यो । धेरै बेरसम्म त्यसै उभिरहे । न त हाँसो नै थामिन्थ्यो न ढोका नै खुल्थ्यो । आखिर उनैले ढोकामा ठकठक दुई आवाज दिए- हाँसो थामियो । “को हो ?” वीणाको मधुरो र कम्पित आवाज आयो । वीणा उठेर ढोकातिर आएको जस्तो उनलाई लाग्यो । ‘ए, थाहा त छैन क्यार । अब यो हाँसो केको ?’ उनलाई बडो अचम्म लाग्यो तैपनि मटानको अँध्यारो कुनामा लुके । ढोका खुल्यो । वीणाले अन्धकारलाई चिरेर कसैलाई देख्ने कोसिस थालिन् । फरक्क फर्किन्, “कोही पनि छैन, हावा पो । हजुर त त्यसै भनि बक्सिन्छ ।” भन्दै वीणा फेरि भित्र पसिन् । फेरि हाँसोले कोठा सबै घन्क्यो । किन्तु यस पटकको हाँसोमा पुरुषको भारी आवाज पनि मिश्रित भयो । शिरमाथि कसैले हजारौँ मन फलाम ल्याई राखिदिएको जस्तो उनलाई लाग्यो, पुरुषको आवाजलाई पनि परिचितजस्तो उनलाई लाग्यो । उनी पत्थरको प्रतिमा भै कतिबेर त्यसरी नै बसिरहे ।
“वीणा । कतिबेर यसै राखिछाड्छ्यौ मलाई ?” भन्ने पुरुषको आवाजले पो उनी एकदम झस्के । त्यस पुरुषलाई पनि अब उनले राम्रै चिने । त्यस्तो अन्तरङ्ग मित्र विनोदको आवाज पनि एकै वर्षमा बिर्सन्थे र ? कोठाबाट वीणाको दबेको मधुरो हाँसो अझै पनि छिनछिनमा निस्किरहेको थियो । पन्ध्रेक मिनेटपछि दुवै जना मटानमा निस्के । कोठाबाट चुहिएको सानो टुक्रो प्रकाशमा उनले विनोदको मुखाकृति र वीणाको अस्तव्यस्त शरीर देखे । बिदाइको एक उपहार लिएको प्रेमी बिदा भयो । वीणा पनि सेतीलाई चोकको ढोका लगाउनू भनी एक हाँक दिई भित्र पसिन् । सेती दी उनकी पुरानी नोकर्नी एउटा हातमा सानो टुर्रे ली ट्वारट्द्वार पार्दै बुइँगलबाट ओर्लन थाली । बलबहादुर अझै मूर्ति बनी सबै हेरिरहेका थिए । केही निश्चय गर्न सकेका थिएनन् । भित्तामा सेती दी उनकै अगाडि आइपुगी, एक लात जमाए । सेती दी पुगी बजारिन । चिलिमको आगो मटानभरि फिजियो, सेती दी “भूत भूत” भनी चिच्च्याउन थाली । वीणाको ढोका खुल्यो । तर त्यस बेलासम्म काजी सडकमा पुगिसकेका थिए । मानिसहरू उतै दौडँदै थिए । अन्धकारमा उनलाई कसैले चिन्न सकेन । उनी पनि त्यसै अन्धकारमा बिलाउन गए ।
‘खै खै’ (२०१७)
Subscribe
Login
0 Comments
Oldest









































