शहर !?
तर म रुवाईको पानी पोख्न सिंहदरबार वरिपरि घुमें भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर हलल्ल हाँस्दारहेछन् शहर पनि आफ्नू हुँदोरहेनछ ।
माझ शहरमा उभिएर
जिन्दावाद भनें
भित्ताहरू त
मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन्
शहर त आफ्नू हुँदोरहेनछ ।
बडा त भन्थे
माथि हिमाल भव्य देखेर
हिमालमा नजानु है कान्छा !
कक्र्याक कुक्रुक पार्छ
शहर पनि पो त्यस्तै हुँदो रै छ
जहाँ सम्वेदना सकिएकाहरूको भीडले
लथ्र्याक लुथ्रुक बनाएको छ
हिजो इमोसनमा बिताएको रातको गन्धले
पुरै शहर गनाएको छ ।
काका भन्थे
शहर पुगेर बेस्कन पानी नखानु है कान्छा !
पैशा लाग्छ
घाँटी हेरेर हाड निल्नुपर्छ
गोजी हेरेर पिसाब फेर्नुपर्छ
नाङ्लामा जिन्दगी फिंजाएर
समय बेच्दै हिड्नु पर्दोरहेछ फुटपाथमा
कुनबेला कर्यापकुरुप परिने हो थाहा छैन
आठानाको भटमासमा
जिन्दगी चलाउँन खोज्दा
पेट हुँडलिएर
गुजारानै अस्तब्यस्त बनेको बर्तमान छ
फाटेको पनि कहाँ लाउँन पाइन्छ र आज भोलि
जो हुनेखानेले खोसिसके
विश्वासको सिरानी लगाएर
सञ्चले कहाँ निदाउँन पाइन्छ र आज भोलि
कुण्ठाका झिंजाहरूमा प्रतिशोधको आगो झोसिसके
हिजो अर्काको भुँडीको आरिस गर्नेहरू
आज आफ्नै भुँडीसंग तर्सँदैछन्
हिजो सामन्तको ढिकुटी फोर्न बढेका दृढ पिंडौंलाहरू
आज आफ्नै घरको भर्याङमा गलेर फर्कँदैछन्
गाउँ पनि कसरी फर्कनु र छोडेपछि
बगीजाने खोलाको लागि किनारा रुँदोरहेनछ
शहर पनि आफ्नु हुँदोरहेनछ ।
न शहर आफ्नु भयो
न गाउँ फर्कन नै सकियो
उ पो चन्द्रयानको असफलतामा
आफ्नू प्रधानमन्त्रीसंग डाको छोडेर रोयो
तर म
रुवाईको पानी पोख्न
सिंहदरबार वरिपरि घुमें
भित्ताहरू पो मूर्दावादको प्रतिध्वनि फर्काएर
हलल्ल हाँस्दारहेछन्
शहर पनि आफ्नू हुँदोरहेनछ ।
गौरादह, झापा