कलानिधि दाहालभयो एक खोस्टो अहो ! संविधान !!
भए राजनेता घरैका जहान रहे दीनका दर्द उस्तै पुराण ! कहाँ स्वर्ग खै ? दर्दका छन् सिरान भयो एक खोस्टो अहो ! संविधान !!

सधैँ होस् थियो चाहना यो सिरान
समस्या सबै मुक्त हुन् यी जहान !
म अग्लो दरो हौँ पहाडी मुहान
भयो एक खोस्टो अहो!संविधान !!
बगे रक्तधारा गए जिन्दगानी
न बाबा न आमा रहे क्वै निसानी !
न छोरा न छोरी भए क्वै मुहान
भयो एक खोस्टो अहो ! संविधान !!
म मेरा सबै स्वार्थ बिर्सी गएँथेँ
हुँ स्वाधीन ठानेँ र पीडा सहेँथेँ !
थिए दर्द लाखौँ र आयो बिहान
भयो एक खोस्टो अहो ! संविधान !!
म नारा बनेको धरा साफ पार्न
र नेता उदाए झिकी सान झार्न !
बिगार्ने र झार्ने बनाई चिहान
भयो एक खोस्टो अहो!संविधान !!
लगाएँ जगाएँ र बेर्ना सजाएँ
छ झारी लगी यो झरीझैँ नुहाएँ !
परेँ मख्ख आफैँ र खोजेँ सिरान
भयो एक खोस्टो अहो ! संविधान !!
धराधार आफैँ पगाहा भएँछु
उता टेक्न खोज्दा यता पो रहेँछु !
विजेता न नेता भिखारी रछान
भयो एक खोस्टो अहो!संविधान !!
कतै दुष्ट होलान् कहाँ सोच भो यो
कतै घात गर्लान् कहाँ सम्झना भो ?
फुलाएर छाती म खोज्थेँ बिहान
भयो एक खोस्टो अहो ! संविधान !!
म सोधूँ मलाई कि खोजूँ मलाई
ममा छैन मैझैँ दिऊँ के दुहाइ !
अरे,स्वप्नझैँ भो छ साझा चिहान
भयो एक खोस्टो अहो!संविधान !!
भए राजनेता घरैका जहान
रहे दीनका दर्द उस्तै पुराण !
कहाँ स्वर्ग खै ? दर्दका छन् सिरान
भयो एक खोस्टो अहो ! संविधान !!
०००
कलेकुटी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































