शिवप्रसाद जैशीनेता बन, छुट पाऊ
कसैसँग नडराउनु झुटको खेतिमा रमाउनु इमान जमान दुषित पानीमा बगाउनु लाजलाई भगाउनु कुकर्महरू राष्ट्रपतिबाट मिनाहा गराउनु तिमी अरू केही नबन्नु, मात्र नेता बन्नु !

तिमी नेता हुनु
कुट्नु पिट्नु
चुट्नु लुट्नु
हप्ता उठाउनु
संरचना भत्काउनु
गाडी जलाउनु
मान्छे मार्नु
सके जति गर्नु
चुनाउ लड्नु
कानून हत्याउनु
कानून जनताका लागि हो
तिम्रा लागि कानून नून हो घोलेर खानु
जरिवाना तोके तोक्नेकै गुन्यू फुस्किन्छ
तोक्नेकै दौराको इजार छिनिन्छ
लुट्को छुटका लागि संविधान धोती
घरमा आफै फल्छ हिरा मोती !
तिमी नेता हुनु
यो गाल होइन
यो तासको माल हो
चरसको थाल हो
गाँस, वास, कपार र सहवास फ्री गर्न चाल हो
कैद मिनाहाको जादुगर सवाल हो !
उपचार निशुल्क
धन दौलतको त के कुरा
छोरा छोरी भतिजा भतिजी
साला साली भान्जा भान्जी
छोराको लिभिङ्टुगेदर
छोरीको ब्वाइफ्रेण्ड
सन्तान नभए धर्म पुत्र-पुत्री
सबैको शिक्षादीक्षा
धनुष्टाङ्कारको पोष्चरमा शिर निहुराई
देशको स्वाभिमान दृष्टिबन्धक गरी
परदेशीसँग भिक्षादान मागी
दीक्षित गराउन पाउने पेशामा तल्लिन होऊ !
तिमी नेता हुनु
उधारो खानु चड्कन लाउनु
ऋण लिनु
मिनाहाको जुलुस लाउनु
राँको सल्काउनु
ठुलठुलो आवाजमा कराउनु !
प्रश्नपत्र च्यात्नु
मास्टरलाई खरानी घस्नु
जुताको मालाले सजाउनु
पुलिसलाई झ्यापु दिनु
तिम्रो केही जान्न त्यसैको जागिर चैट !
बिचौलियाको साथ लिनु
गरिखानेलाई माथ दिनु
इलम गर्दै नगर्नु
सीप सिक्दै नसिक्नु
उद्धमशील नबन्नु नबनाउनु
अड्डा अदालतमा पन्जा फिजाउनु
दाह्रा किटेर घोक्रो सुकाएर मजैले हवाला दिनु
कसैसँग नडराउनु
झुटको खेतिमा रमाउनु
इमान जमान दुषित पानीमा बगाउनु
लाजलाई भगाउनु
कुकर्महरू राष्ट्रपतिबाट मिनाहा गराउनु
तिमी अरू केही नबन्नु, मात्र नेता बन्नु !
०००
कैलाली, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































