अनिल KH पौडेल’विक्षिप्त देश, अचेत नागरिक
कोही घरमा थुनिएर मरे कोही पेट सुन्निएर मरे कोही तिर्खा, भोकले कोही सुकेर शोकले मरे बाँच्नुपर्ने मरिरहे, मर्नुपर्ने बाँचिरहे गन्दै दैनिक उही आँकडा, अट्टहास हाँसिरहे ।

प्राण सबै उड्न लागे, उल्लास छ शहरमा
मन्त्रीका गाडी गुड्न लागे उल्लास छ शहरमा
समाचारमा राजनीति पहिले छाउँछ
जनताको पालो पछिमात्र आउँछ
जनता रूनु नाटक हो
नेताले देश खान नपाउनु घातक हो
त्यसैले
जनता चिच्याएको सुन्दैन कसैले, तमासा भो छटपटी
पिएर रगत जनताको अझै कति खटपटी ?
सागरसम्मलाई थाहा भइसक्यो
यो
खरानी मिसिएको धमिलो पानी कहाँबाट आएको !
चिताको खरानीले बहन सक्दैन बाग्मती
लाचार जनताको यो ताँती सहन सक्दैन बाग्मती
खोला, नदी व्यस्त छन्
नागरिक अस्तव्यस्त छन्
नेता यस्तैमा अभ्यस्त छन्
पीडामै जनता डस्दछन्
युगौँ यसैमा मस्त छन्
च्यापेर जासुस विदेशको
सुटुक्क कुना पस्दछन्
नेता थोरै छन् त्यै पनि मरे भने देश टुहुरो हुन्छ !
जनता धेरै छन् केही थान मरेर के हुन्छ !
सरकार सरर कारमा दौडिन्छ
जनताको आँसुको सागरमा पौडिन्छ
टिभी हेर्यो पीडामा छ, रेडियो नि रून्छ
रोदन यो समाजको खै त कसले सुन्छ
सकिनै लाग्यो आँसु उफ् आँखा झर्न मात्र बाँकि छ
बिक्षिप्त छ देश, अचेत हुँदैछ…. अब मर्न मात्र बाँकि छ
जनताको फोक्सो सुक्दै गयो
नेताको आङ फुक्दै गयो
देशको प्रतिष्ठा झुक्दै गयो
राष्ट्रवाद लुक्दै गयो
सरकार बनाउनेहरू गनाउने भए
सरकारमा जानेहरू देश खाने भए
अस्पताल छन् डाक्टर छैन
डाक्टर छन् औषधि छैन
औषधि छ, कुहिएको छ
देश सर्वत्र चुहिएको छ
चुहिएको पनि नेतैले थाप्छ
अखबारमा ठूलो फोटो छाप्छ
अक्सिजन छैन बिरामी काँप्छ
उफ् !
दैवले देशमा किन सधैँ जनतालाई मात्र सराप्छ !?!
हजारौँ मरे बाँचेकालाई प्यास छैन, भोक छैन
सबै नेता लैजा कोरोना सुर्ता छैन शोक छैन
आखिर…
देश सधैँ जनताको
सरकार सधैँ अन्तको
कोही घरमा थुनिएर मरे
कोही पेट सुन्निएर मरे
कोही तिर्खा, भोकले
कोही सुकेर शोकले मरे
बाँच्नुपर्ने मरिरहे, मर्नुपर्ने बाँचिरहे
गन्दै दैनिक उही आँकडा, अट्टहास हाँसिरहे
ठेक्कामा कमिसन पट्टामा कमिसन
जनताको जीवन ठट्टामा, कमिसन
‘ईश्वर’ ठानिएका दैत्यहरूले जनताको रगत चुसे
जनताकै श्वासले फोक्सो भरे, रगतले मुख पुछे
यो यस्तो देश भयो
नागरिकको भागमा दुख मात्र रह्यो
सोचौँ….
अभाव, दबाव, आशा, निरासा ! जीवनको उत्तर किन आएन ?
भोट हाल्ने यी हातहरूले अब तलवार समाउने दिन आएन ??
०००
मोरङ
Subscribe
Login
0 Comments
Oldest






































