शम्भु जमरकट्टेल हेदाङ्नेबन्चरो आएको छ
हिजोसम्म मागेर खाने मान्छे, जग्गा दलालीको पेसामा आएपछि, सुकुम्वासी वस्तीमा महल ठड्याएर, भोका नाङ्गालाई देखाई-देखाई खाएको छ ।

मेरो गर्धनमा जनै खटिरा आएको छ
थाहा पाएर होला सायद,
बाटो मोडेर हिड्ने मेरो आफन्त,
आज मलाई अँगालो हाल्न आएको छ ।
आफन्त नै शत्रु हुन्छ भन्छन्,
हेर्नुस्न,
खोलाकै ढुङ्गा र बालुवाको बाँध बनाएर,
नदीलाई बाटो मोड्न लगाएको छ ।
आफ्नै हाँगाको बिंड लगाएर,
बन्चरो जङ्गल फाँड्न आएको छ ।
हिजोसम्म आफू हिडुन्जेल,
मुन्टो बटारेर हिँड्ने छिमेकी,
एक्सीडेन्टमा खुट्टा गुमाएपछि
जुत्ता उपहार लिएर भेट्न आएको छ ।
हिजोसम्म मागेर खाने मान्छे,
जग्गा दलालीको पेसामा आएपछि,
सुकुम्वासी वस्तीमा महल ठड्याएर,
भोका नाङ्गालाई देखाई-देखाई खाएको छ ।
हिजोसम्म वाध्यताले च्यातिएको लुगा लगाउँने मान्छे,
शहरमा जागिरे भएर,
टेवलमुनिको कारोवारले सम्पन्न भएपछि,
गरिवलाई गिज्याउँन च्यातिएकै लुगा लाएको छ ।
हिजोसम्म भौतिकवादी भएर,
मन्दिर भत्काउँदै हिँड्ने मान्छे,
आधा उमेरमै एकल भएपछि,
आश्रममा बसेर प्रायश्चितको भजन गाएको छ ।
दिनभरी नैतिकताको पाठ पढाउँने पण्डित,
रात परेपछि भट्टी धाएको छ,
नबोलाएको ठाउँमा आएको छ,
वेस्यालय धाएको छ ।
कस्तो समाजमा हुर्किए छ गाँठे ?
जताततै धोका पाएको छ
हण्डरै हण्डर मात्र खाएको छ ।
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































