मित्रलाल पंज्ञानीराष्ट्रका शत्रु
वसन्तै नपुगेसम्मन् मुडुला लेक लेकमा, एकता नभएसम्मन् सिर्जना र विवेकमा, देश बन्दैन यो देशै,बन्दैनन् जनता , जन पातदेखि जरासम्मै पूर्ण क्रान्ति नभैकन ।

मित्रलाल पंज्ञानी :
को को हुन् राष्ट्रका शत्रु घूस खाने दिनेहरू
छिनाली न्यायको घाँटी चुसी मज्जा लिनेहरू
तिनै हुन् झगडा रोप्ने तिनै हुन् युद्धका बिज
तिनै हुन् ध्वंसका खानी लाजका घीनका चिज
धर्तीमा जति छन् मान्छे सबैलाई दिने गरी
रच्छिन् प्रकृतिले वस्तु ठिक्क ठिक्क हुने गरी
बाँच्न पुग्ने गरी भन्दा बढी जल्ले थुपार्दछ
डाँका हो चोर हो त्यल्ले कसैको आँत मार्दछ
बगायो पसिना धारा दुःख बाँचुञ्जली गयो
माथि उक्लनु पर्ने हो जनता झन् तलै झऱ्यो
उठ्नै नदिने को हो ? त्यै हो जल्ले लुट्यो फल
तिनै हुन् राष्ट्रका शत्रु, जनघाती तिनै छल
न्याय ती पातकी छोपी पाता फर्काउनु थियो
काढी अन्यायको सातो मुटु थर्काउनु थियो
को रोक्ने घूसको चल्ती भयो झन्झन् खुलम्खुला
कुन दण्ड दिने कल्ले न्यायाधीश तिनै ठूला
खोई विश्वासको पाउ टेक्ने ठाउँ कहाँ रह्यो
सदियौँ लुटियौँ हाम्रो देशमा के भयो भयो !
वसन्तै नपुगेसम्मन् मुडुला लेक लेकमा
एकता नभएसम्मन् सिर्जना र विवेकमा
देश बन्दैन यो देशै,बन्दैनन् जनता जन
पातदेखि जरासम्मै पूर्ण क्रान्ति नभैकन
फोडौँ यो मार्गको ढुङ्गा मोडौं यो पथको दिशा
तोडौँ यो जीर्णतालाई छोडौं एक्लो जिजीविषा ॥
०००
‘पृथ्वी कसको’ कवितासङ्ग्रहबाट ।
Subscribe
Login
0 Comments
Oldest






































