खत्रा छ
न हामी गाउँलेले शहर देखेका छौँ ? न कहिल्यै राजधानी टेकेका छौँ ? न कहिल्यै हिना मिना गरेका छौँ ? पचास रुपियाँको चिनी डेढ सयमा किनेका छौँ ।
शम्भु जमरकट्टेल हेदाङ्ने :
हाम्रो परिवार गाउँमा बस्छ,
वा खेतिपाती गर्नुहुन्छ,
आमा बालाई सघाउँदै घरकै काम गर्नुहुन्छ ।
जेठोदाजु ऋण काडेर अरब गएको छ,
माइलो गिटी कुट्छ,
साँइलो ज्याला मजदुरी गर्छ,
म गाउँकै पाठशालामा सहयोगीको काम गर्छु ।
सबैको मेहनतले परिवार चलेको छ ॥
गाउँपालिका माओवादीले जितेको छ,
घर जग्गाको कर वढेको छ,
बा अन्न बेचेर कर तिर्नुहुन्छ ।
पशुपंक्षि बेच्दा पनि हामी कर तिर्छौँ,
कुखुरा बेचे पाँच रुपियाँ,
बाख्रा बेचे पचास रुपियाँ
वहर बेचे पाँचसय,
सधैँ तिरेकै छौँ ।
वडाअध्यक्षको घरको काम पनि हामी नै गरिदिन्छौँ ।
पुलिस अफिसलाई तरकारी बुझाएकै छौँ,
भोट माग्ला दिएकै छौँ ॥
हिजो सरहरूको कुरा सुनेको,
लोकतन्त्रलाई खत्रा भयो रे,
उता जाजरकोटमा भुँईचालो गयो रे ।
राष्ट्रपति र प्रधानमन्त्रीको हेलीको हावाले,
पीडितको त्रिपाल उडायो रे ।
राहत जति सबै छुचुन्द्रले सुरुङ्ग खनेर रुकुम पुर्यायो रे ॥
यसो गम खान्छु,
कसले खत्रा पुर्याएछ ?
न हामी गाउँलेले शहर देखेका छौँ ?
न कहिल्यै राजधानी टेकेका छौँ ?
न कहिल्यै हिना मिना गरेका छौँ ?
पचास रुपियाँको चिनी
डेढ सयमा किनेका छौँ ।
धुलाम्मे बाटो हिडेका छौँ,
कुनै नेताका विपक्षमा
न नारा लगाएका छौँ ?
न खाँडो जगाएका छौँ ?
हामी जस्ता गाउँलेले,
ठुलाबडाका संरक्षणमा
शहरमा हुर्किएको साँढे जस्तो गणतन्त्रलाई के को खत्रा हुन्छर ?
यदि खत्रा छ भने,
हामी निरक्षर, गरिब, निमुखा गाउँलेलाई खत्रा छ ।
हाम्रा बालाई खत्रा छ,
हाम्री आमालाई खत्रा छ,
गाउँका बुढाबुढीलाई खत्रा छ,
त्यही वृद्ध भत्ता पनि रोकिदिने हुन् कि भन्ने खत्रा छ ।
हाम्रो परिवारलाई खत्रा छ,
यो व्यवस्था आएपछि महंगी र
करले गर्दा,
बाँच्नै पो सकिँदैन कि भन्ने खत्रा छ ।
मेरो त्यो पियनको जागिर पनि
नेताले उडाइदिन्छन् कि भन्ने खत्रा छ ॥
०००
काठमाडौं