के.पी. पाैडेलजान्छन् सबै बाहिर
यस्तै चाल विधानको पथ भए, के शान्ति मिल्दैन र ?। उम्दा मौलिक सौम्य मार्ग नहुँदा, जान्छन् सबै बाहिर ।।

के.पी.पौडेल :
सारा शक्ति यहाँ युवा र युवती, बस्ती नयाँ रोज्दछन् ।
जिल्ला ग्राम प्रदेशका सहरका, माता पिता दिक्क छन् ।।
जान्छन् आज युरोप सौम्य थलमा, पोल्यान्ड टर्कीतिर ।
बारी खेत कुँडार खन्न नसकी, जान्छन् सबै बाहिर ।।-१
हाम्रा दुर्ग हरेक टोल घरका, छोरा र छोरीजन।
पोख्छन् शक्ति विदेशका जमिनमा, व्यर्थै भयो जीवन ।।
वृद्धा वृद्धहरू यहाँ विरहले, रोएर के हुन्छ र ?।
छैनन् बस्न तयार पुत्र वनिता, जान्छन् सबै बाहिर ।।-२
हाम्रा उच्च हिमाल सुन्दर छटा, हेर्छन् विदेशीजन ।
उम्दा प्राकृत सम्पदा मुलुकको, को गर्छ संरक्षण ?।
जान्छन् खास रहस्य बात नबुझी, नर्वे मलायातिर ।
खै को गर्छ विकास यो मुलुकको, जान्छन् सबै बाहिर ।।-३
वृद्धा वृद्ध अशक्त मात्र घरमा, छन् कष्टका मारमा ।
उम्दा शक्तिहरू युवा र युवती, बस्छन् र को साथमा ?।।
बा आमाजनका पुकार नसुनी, छोडेर जान्छन् पर ।
कस्तो काल करालको थिति बस्यो, जान्छन् सबै बाहिर ।।-४
हाम्रा मानिस राज्ययन्त्र सबका,बाचा कहाँ अड्किए ।
जाग्छन् क्रन्दन रोजगार नहुँदा, सारा युवा भड्किए ।।
हाम्रा यी सरकारले सदनले, खोकेर के हुन्छ र ?।
कस्तो हाल भयो यहाँ मुलुकको, जान्छन् सबै बाहिर ।।-५
तारामण्डल चन्द्र छन् गगनमा, छन् व्यस्त झन् भास्कर ।
यो ब्रह्माण्ड अहो ! चराचर सबै, बन्छिन् धरा सुन्दर ।।
यस्तै चाल विधानको पथ भए, के शान्ति मिल्दैन र ?।
उम्दा मौलिक सौम्य मार्ग नहुँदा, जान्छन् सबै बाहिर ।।-६
०००
बट्टार, नुवाकोट । हाल: बालाजु, काठमाडौं
मोबाइल नं.:-९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest






































