हृषीकेश बरालचिट्ठी
जीर्ण देहमा, रोग यो बस्यो आँसु बर्सिई, पत्रमा खस्यो ॥ बुझ्दछौ भने, फर्क गाउँमा सम्झिई मुमा, फर्क गाउँमा । पत्रमा सबै, लेख्न सक्तिनँ मर्छु बाँच्छु खै, भन्न सक्तिनँ ॥

हृषीकेश बराल :
साधु भेषमा, दुष्ट देखिए
सत्य सिद्धियो, सन्त खेदिए ।
जाल रच्नमा, व्यस्त छन् कुनै
रक्त चुस्नमा, मस्त छन् उनै ॥१
पाप धर्मको, ख्याल छैन यो
सम्झना कुनै, छैन बिर्सियो ।
टाउको गिदी, हाड चुस्तछन्
रक्तका शिरा, मासु लुछ्तछन् ॥२
दैत्यको चल्यो, राज गेहमा
छैन शक्ति यो, कत्ति देहमा ।
बाँच्न कष्ट भो, चित्त दुख्छ यो
भन्नु खै कहाँ, छैन ठाउँ यो ॥३
जोशिला युवा, बाहिरै गयौ
वृद्ध मात्र छौँ, गेहमा रह्यौँ ।
पर्दछौ तिमी, द्रव्य मोहमा
छौँ बुबा मुमा, अस्पतालमा ॥४
आत्तियौँ यहाँ, फर्क हे युवा
खाउँला मकै, या ढिँडो उवा ।
जीर्ण देहमा, रोग यो बस्यो
आँसु बर्सिई, पत्रमा खस्यो ॥५
बुझ्दछौ भने, फर्क गाउँमा
सम्झिई मुमा, फर्क गाउँमा ।
पत्रमा सबै, लेख्न सक्तिनँ
मर्छु बाँच्छु खै, भन्न सक्तिनँ ॥६
०००
पोखरा -२६, कास्की
Subscribe
Login
0 Comments
Oldest







































