कृष्ण शर्मा सुमुके मतलब ?
माया गरेर प्रेम जालमा फसाउने अनि पछि छोडेर जाने मायासँग पनि के मतलब ? बाउको होटलमा धाक लगाएर खाने छोराछोरी सँग पनि के मतलब ? मतलब नै नभएको मान्छेसँग बोलेर समय खेर फालेर पनि के मतलब ?

कृष्ण शर्मा सुमु :
भेट हुँदा पनि छेउमा बोल्नु नसक्ने
आफन्तसँग के मतलब ?
परेको बेलामा पर भाग्ने साथीसँग पनि
आखिर के मतलब ?
पैसा छैन भन्दा नै नातागोता गुमाउने
त्यो साइनो सँग पनि के मतलब ?
हुँदाहुँदै छैन भनेर टकटकने नै त्यो महल जस्तो
घरसँग पनि के मतलब ?
लहलह लागेको बालीमा आँखा लगाउँदै थुक निल्ने
ती छिमेकी सँग के मतलब ?
नालाको कुलो काटेर आफ्नै मात्रै खेती होस् भनेर
अरुलाई सुख्खा पर्ने कृषक सँग के मतलब ?
हाकिमलाई चोर बिरालो जस्तो
कुरा बोकेर पोल लगाउने
सहकर्मीसँग पनि के मतलब ?
मेरो मात्रै उत्कृष्ट मेरो मात्रै दामी भनेर
अरुलाई गिराउने ती साहित्यकार भनौँदो सँग पनि के मतलब ?
मेरो पार्टी राम्रो अरु पार्टी चाम्रो भनेर
फुर्ती लगाउने पुच्छरे नेता भई
टोप्लने झन उससित के मतलब ?
बाटो मिचेर आँगन बढाउने
ती परोपकारी मालिकसित पनि
आखिर के मतलब ?
बजार भाव भन्दा भक्कु मुनाफा कमाउने
ती आजकलका व्यापारीसँग के मतलब ?
कुकुर पालेर रोडमा दिसा गराउने ल्याउने
सभ्य मानिस सँग पनि के मतलब ?
अरूको आङमा जुम्रा देख्ने आफ्नो छातीमा
भैँसी हिँडेको नदेख्ने सँग पनि के मतलब ?
दाजु भाईमा फाट हाल्ने ती परिवारभित्रको नै
सदस्यसँग के मतलब ?
आफैँ मात्रै खाउ आफैँ मात्र लाउ भनेर
छिमेकीको आँखा छलेर भकारी
पुर्नेसँग पनि के मतलब ?
फूल चोरेर भगवानलाई चढाउने
ती भक्तिमय बनाउने अरुलाई
रित्तो बनाउनेसँग पनि के मतलब ?
सिगरेट किनेर माचिस किन्नु नसक्ने
ती छेउमा बसेको साथी सँग झनै के मतलब ?
माया गरेर प्रेम जालमा फसाउने
अनि पछि छोडेर जाने मायासँग पनि के मतलब ?
बाउको होटलमा धाक लगाएर खाने
छोराछोरी सँग पनि के मतलब ?
मतलब नै नभएको मान्छेसँग बोलेर
समय खेर फालेर पनि के मतलब ?
हावातालको यो कविता जस्तै
रचना पढेर पनि आखिर के मतलब ?
०००
हाल राँची








































चित्त बुझ्दो रचना।हुन पनि यस्ता यस्ता कस्ता कस्ताहरूसित मतलब नै के र? बेजोड प्रस्तुति।