
मेरो मुख हेर्छस् भने !
यहि प्रिय सनातनबाट उम्किएर तँ समुन्द्रको आग्लो लगाएर टाढा पुगिस् छोरा त्यसैले मलाई औडाहा हुन थालेको छ । अतः मेरो मुख हेर्छस् भने एक बोतल सेन्तेरम पठाइ दे छोरा !

खगेन्द्र नेउपाने :
मेरो मुख हेर्छस् भने
एक बाेतल सेन्तेरम पठाइदे छाेरा !
आजभाेलि धेरै औडाहा हुन थालेको छ ।
तँ जन्मिदा
मैले पनि तेरो मुख हेरेको छु
मेरो भविष्यको टेकोलाई
हजारौं पल्ट अङ्गालोमा बेह्रेको छु
तर आज
मेरा औँलामा आभाषहरू मात्रै छन्
तेरो मुठ्ठीका इतिहासहरू मात्रै छन् ।
धेरै वर्षहरू आज यसरी बितिरहँदा
मलाई दण्ड दिने न्यायाधीशहरू बढ्दै जाँदा
म आफ्नै हिरासतमा
समयका कोर्राहरू खाँदै छु छोरा !
तँ सूर्यलाई अर्कै आँखाले हेर्ने भैसकिछस्
म अझै धाराको डिलमा उभिएर
औँलाको प्वाल बनाएर हेर्दै छु
किनकि
जिन्दगीको सानु झ्यालबाट
साह्रा श्रृष्टि ब्रम्हाण्डलाई चिहाउँन
मलाई मेरा बाले सिकाउँनु भएको हो
मेरा बालाई पनि
उनका बाले सिकाउँनु भएको हो
यहि प्रिय सनातनबाट उम्किएर
तँ समुन्द्रको आग्लो लगाएर
टाढा पुगिस् छोरा
त्यसैले मलाई औडाहा हुन थालेको छ ।
अतः मेरो मुख हेर्छस् भने
एक बोतल सेन्तेरम पठाइ दे छोरा !
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest