गायत्री परिरोशनीलौन खुट्टा तानौँ- ३
अरुको खुट्टा तान्ने औषधि जुन सुकै पेशा, व्यवसाय लगायत यत्रतत्र सर्वत्र भएको तात्तातो तथ्याङ्क यसै विषयमा अनुसन्धान गर्ने साथीहरूको प्रेस विज्ञप्तीमा उल्लेख भएको छ ।

गायत्री लम्साल :
माफ गर्नुहोस्, आफ्नो त प्रमुख पेशा वा रोजगारी जे भने पनि खुट्टा तान्ने नै हो । यो पेशालाई रोक्न भनेर जतिसुकै कानून र जानुनहरूको छाता सङ्गठन नै गठन गरे तापनि अँ- हँ पटक्कै खुट्टा कमाइन्न । तपाईंहरू नै भन्नुहोस् न अरुको खुट्टा तानेर जीवन गुजार्नु छ भने आफ्नो खुट्टा कमाउनु हुँदै भएन । अँ साँच्ची हजुरहरूले थाहा पाउनु भएको कि नाइ ? अस्ति अप्रिल फुलको दिन हाम्रो बेरोजगार मन्त्रालयले निकालेको तात्तातो डेटा अनुसार हाम्रो बेरोजगारीहरूको सङ्ख्या आलु नै भयो रे नि त । सबैले खुट्टा तान्ने कम्पनीमा नियुक्ती पाइसकेछन् । मौका आउनुपर्छ तालुमा आलु फल्छ भन्थे । हो रहेछ, अहिले त एकाएक सबैको टाउकोमा आलु मात्र होइन हजुर, त्यो भन्दा ठूलो पिँडालु नै फल्यो भन्या ।
बच्चा हुँदा आफ्नै दौँतरीका खुट्टा तानियो, अलि ठूलो भएपछि आफ्नै साथीहरूको खुट्टा तानियो । अझै अलि ठूलो हुँदै गएपछि साथीहरूका गल्स फ्रेण्ड र ब्वाइज फ्रेण्डहरूको खुट्टा तानियो । अनि घरबारे भइयो । आफ्नो भन्दा अरुका घरका सबैको खुट्टा सकुन्जेलसम्म तानियो । अँ- हँ यो अरुको खुट्टा तान्ने राम्रो लत लागेपछि त पाएसम्म अरुका अनि कसै नपाएपछि आफ्नै परिवारभित्रकाको भए तापनि खुट्टा नतानुन्जेल न त भोक लाग्छ न त निद्रा । आफूलाई त अहिलेसम्म लागेको सबैभन्दा राम्रो काम भनेको नै खुट्टा तान्ने काम हो । किन ? भन्नुभयो भने म तयार छु है उत्तर दिन ।
अँ एक त खुट्टा तान्ने काम भनेको नै राम्रो काम गर्नेको हो । जसले प्रगति गर्छ, उन्नति गर्छ उसैको हो खुट्टा तान्ने । सधैँ भट्टी पसलमा धाउनेको कसले तान्छ खुट्टा ? सधैँ जुवाघरमा रमाउनेको कसले तान्छ खुट्टा ? मरिमरी परिश्रम गरेर कमाउनेहरूको खुट्टा नतानेसम्म त हामी खुट्टा तान्ने पेशामा हाजिर भएकाहरूको खाएको पनि पच्दैन बाबै । त्यसैले खानको लागि बाँचेकोे पचाउनलाई यो पेशाले हजमोलाको भन्दा पनि महत्वपूर्ण मुलाको काम गरेको छ । अनि अर्को कुरा जसजसको खुट्टा तानिन्छ नि उनीहरूलाई झन् फाइदा नै फाइदा मात्रै हुन्छ । जसले जतिपटक जसरि खुट्टा ताने पनि ती खुट्टाहरू झन्- झन् बलियो बन्दै गएको तथ्य सहितको प्रमाण मेरै खुट्टा तान्ने विषयमा विद्यावारिधी गरेका साथीले पुष्टि गरेका छन् ।
तपाईंहरूलाई विश्वास लागेको छ नि ? नत्रभने अहिलेसम्म फल्नाले फल्नाको खुट्टा तानेर उसको खुट्टा आफ्नो घरमा ल्याएको छ भन्ने सुन्नुभएको छ त ? अहँ आफूले त सुनिएको छैन है । बरू मेरो चार दशक भन्दा अगाडिदेखिको अरुको खुट्टा तान्ने कामको अनुभवको कुरा गर्दा मैले जसजसको खुट्टा ताने उनीहरूको खुट्टा त झन् -झन् बलियो बन्दै गएका छन् । उनीहरूको झन् प्रगति र उन्नति हुँदै गएको मात्र छ । अरुका खुट्टा तान्दा तान्दा आफ्नै खुट्टा जान लागिसक्यो तर अरुका खुट्टा त झन् जस्तासुकै भिर- भिरमा हिड्न सक्ने गरी बलिया भएका छन् । भिरमा फुलेको फूल जति शक्तिशाली हुन्छ त्यो भन्दा बढी बलिया हुन्छन् अझ हामीले तान्ने गरेका खुट्टाहरू । अब हामी नै भनौँ न जसको खुट्टा तानिन्छ उसको झन् प्रगति हुने भएपछि किन तान्न छोड्नु खुट्टा ?
अरुका खुट्टा तान्न जाँगर कम हुँदै गएपछि आफ्नै परिवारभित्रको तान्नुपर्छ खुट्टा । आफ्नै परिवारभित्रको खुट्टा तान्दा त झन् कम्ति आनन्द आउँदैन भन्या । सित्तैमा अरुले पिलाएको दारुले भन्दा बढी आनन्द दिन्छ बाबै यो खुट्टा तान्ने धामले । मेरै कुरा सुनिहाल्नोस् न पहिला । मेरी एक जना श्रीमती जस्तै आफ्नै मात्र गल्स फ्रेण्ड थिइन । मेरो आफ्नो घरपरिवारलाई वास्ता नगर्ने अनि खालि अरुको चियोचर्चो र खुट्टा तान्ने प्रवृतिले उनीले मलाई टाढा देख्न थालिन् । मलाई भने उनको खुट्टा तान्ने काम झन् गाढा हुँदै गएको छ । एकातिर आफ्नो कार्यालयको काममा साथै अर्कोतिर तिनै गल्स फ्रेण्डको चियोचर्चो गर्न हैरान । मैले बिहान देखि साँझसम्म आफूले के-के गरे भन्ने कुरो चाहिँ थाहा हुँदैन तर उनी बिहान कति बजे उठिन् ? कति बजे कार्यालय गइन् ? कार्यालयमा चियाखाजा कति बजे, को को सँग बसेर खाइन्, विदाको दिन कुन कुन कार्यक्रममा गइन् ? त्यो कार्यक्रममा के के भनेर मन्तव्य व्यक्त गरिन्् ? एउटा शिशी टिभी केमराले दिने रिपोर्ट भन्दा आधिकारीक रिपोर्ट राखेको हुन्छु मैले उनको । यो जाँगर मेरो स्वार्थको लागि भने पटक्कै होइन है । मेरो इथिक्स भनेको नै अरुको खुट्टा तान्ने भएपछि एति पनि नगरेर के गरूँ ?
हाम्रो भूमिमा देश, काल र परिस्थिति अनुसार निकै फस्टाएको छ यो खुट्टा तान्ने खेती भनौँ कि पेशा, रोजगार भनौँ कि व्यवसाय ? जस-जसले, जे-जे भनेपनि यसको रूप, गुण र विशेषता भने सेम माने उस्तै हुन्छ क्या । यो पेशामा लत बसेपछि आफूलाई लागेको दिसापिसाव गर्न बरू बिर्सिएला तर अगाडि बढ्न खोजेका खुट्टाहरू तान्न भने ज्यान जाला बिर्सिँदैन भन्या । हामी केही पौरख गर्न नसक्नेले, अल्छी भएर मर्न नसक्नेले सजिलै चौबिसै घण्टा गर्न सक्ने भनेको यही त हो नि, कसो ? “भदौमा आँखा फुटेको गोरुले सधैँ हरियो देख्छ” भने झैँ खुट्टा तान्ने पेशामा आँखा फुटाएका म जस्तै गोरुले कसैले राम्रो काम गरेको त देखि सहन्न । जे जसरी हुन्छ राम्रो गर्नेलाई ब्याक गर्नको लागि माना खाएर मुरी उब्जाउने बल जति उसैको खुट्टा तान्नलाई खर्च गरिन्छ ।
अरुको खुट्टा तान्ने औषधि जुन सुकै पेशा, व्यवसाय लगायत यत्रतत्र सर्वत्र भएको तात्तातो तथ्याङ्क यसै विषयमा अनुसन्धान गर्ने साथीहरूको प्रेस विज्ञप्तीमा उल्लेख भएको छ । घरमा छ, वनमा छ, गाउँमा छ, बजारमा छ, किसानमा छ, उद्योगधन्दामा छ, साहित्यमा छ, राजनीतिमा छ, लाजनीतिमा छ, शिक्षामा छ, भिक्षामा छ, कलामा छ, गलामा छ, बेलामा छ, मेलामा छ, दिनमा छ, रातमा छ, साथमा छ, हातमा छ, घातमा छ, माथमा छ … कति छ कति छ… अनगिन्ति छ । पाठक महाशय, खुट्टा तान्ने जस्तो अमृत औषधीको वर्णन म जस्तो एउटा जिब्रो मात्र भएकोले एकै पटकमा गरेर कसरी सक्छु र ? अब बाँकी कुरा अर्कौ भेटमा बताउँला है ।
०००
काठमाडौं










































जे भए पनि एउटा सम्झौताचैँ हुनै पर्यो ।व्यङ्ग लेखकको व्यङ्ग्य लेखकले खुट्टा तान्न चाहिँ भएन है।😉😄