हरिप्रसाद उप्रेतीपछुतो
तिम्रा अहङ्कारयुक्त दम्भ र लघुताभासले जलेको तिम्रो आसन विष वमन गर्छ तिमी जस्तै अर्को पात्रसँग मेरा कृत्यहरूप्रति अनि ओकल्छौ तिम्रो हृदय भित्रको कालकुठ ॥

हरिप्रसाद उप्रेती :
जसरी मलाई देख्दा मात्र पनि
तिम्रो मस्तिष्कमा ज्वारभाटा उठ्छ
त्यसरी नै तिम्रो अनुहार देख्दा
मेरो रक्तसञ्चार नै उल्टिन खोज्छ ॥
देवत्वको आसनमा बसेर
दानवी चर्तिकला देखाउँदा
तिमी राष्ट्रिय पोशाकमा सजिए पनि
पूणर् रूपमा नाङ्गिए झैं लाग्छ ॥
अल्पज्ञानको क्षमतालाई ओहदाले सिङ्गारे पनि
तिम्रा बोलीका प्रत्येक शब्दले
कहिले तिम्रो नालायकीपन उघार्छौ
कहिले प्रवृत्तताको कुटिलता प्रदर्शन गर्छौ ॥
तिम्रा कर्महरू जब थेग्न नसक्ने गरी थुप्रिन्छन्
अनि मेरा असन्तुष्टीहरू छरिन्छन् तिम्रा अगाडि
त्यसबेला तिम्रो मन चिमोटिन्छ आहत बनेर
तर अरुको मन चिमोटिएको बुझ्न सक्दैन ॥
तिम्रा अहङ्कारयुक्त दम्भ र लघुताभासले
जलेको तिम्रो आसन विष वमन गर्छ
तिमी जस्तै अर्को पात्रसँग मेरा कृत्यहरूप्रति
अनि ओकल्छौ तिम्रो हृदय भित्रको कालकुठ ॥
दशकौं चलाउने भएका छौ
यो दुष्चक्रको आरोह अवरोह
वर्तमानको रापतापले भुल्दैछौ
इतिहासले गर्ने निर्मम प्रहार ॥
वर्तमान तिम्रो ऐंचमा भए पनि
इतिहास तिम्रो हैकममा चल्नेछैन
जब तिम्रो कर्तुतको पर्दाफास हुन्छ
तिमी नाङ्गिएर पछुताउनेछौ ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































