भाेज अर्याललुट्न सके लुट
अलिअलि नखाएर के गर्नु । तपाईं नै भन्नुस् त । के हामी भोकै मर्नु । खाने बेलामा सबैले लादी आउने गरि खान्चन् । समातिने डरले दुला दुला जान्चन् । हस्त लाल सलाम् । खाने जति सबैलाई एउटै चितामा जलाम् ।

भोज अर्याल :
खाने खानेहरू एक ठाउँमा जुट्ने, सकेजति लुट्ने, ठुलो भाग आफैले खाने नसकेको बाँडिचुँडी घर घर लाने नै खाओवाद हो । यसका खम्बाहरू नै कहलिएका खाउवादीहरू हुन् । तपाईं हामीले नै चिनेका मुन्छे परे जुन् । चामल भन्दा धेरै घुन् ।
खाने र नखानेको युद्धमा खानेकै जित हुन्छ । उनीहरूका शाखा सन्तानकै हित हुन्छ । कोही नखाने पनि हुन्छन् । तर उनीहरू एक्का परेरै रुन्छन् । खाने खाने बाले भन्नु हुन्थ्यो बाले । काले काले मिलेर खाउँ भाले । लौ यिनेरूले फेरि के आर्न थाले ।
खानेहरूले नखानेलाई भुट्नै खोज्छन् । एक्लै पर्दा घोप्टो पारेर कुट्नै खोज्छन् । गुट उपगुट अनि झुट हुँदै ब्रह्मलुट नै यसको आधार शिला हो । होइन भन्ने को ? भन्दै एक जना खुँखार खाओवादी एक्लै नाच्थे अरे ।
लुट्न सके लुट कान्छा, लुट्न सके लुट ।
पार्टीभित्र हावी हुन बोल्नु पर्ने झुट । गाउँदेखि शहरसम्म । घरदेश मात्र हैन संघ र पर्देशसम्म । नखाने को भुँडीनै भित्र खानेको विचित्रले टम्म !
खाउँवाद एक साझा अभियान पनि हो । के साँझ के बिहान हो । भन्न त सकिन्छ । तर फेरि बोली नै रोकिन्छ । एक मन्च पनि हो यो । कुनै बेला अख्तियारको एक पन्च पनि हो यो । कुनै बेला कुरा अलि प्रस्ट हुन्छन् । अख्तियारमै पनि झन् ठुला भ्रष्ट हुन्छन् । तर जे भए पनि सबै कुराहरू एकदिन छर्पस्ट हुन्छन् । कुरो मिल्दा दलबल नमिल्दा खलबल ।
खुमलटारतिर हो कि कता हो कता एकजना बुढा माउँ बस्दा रहेछन् । चल्लाहरू लुरुलुरु उतै पुगेर खुट्टा घस्दा रहेछन् । उनी आजीवन यसका सभापति छन् । अरु कोही त वापत्ति पनि छन् । कोही खापत्ति कोही लापत्ति पनि छन् । केके छन् छन् । पाउँदा उम्दा खुसी गुम्दा गन्गन् ।
यिनीहरू के गर्छन् गर्छन् । पढ्न पनि खुबै पढेका छन् । अलि नराम्ररी नै लडेका पनि छन् । यस पार्टीमा धेरै विद्या भएका तर बुद्धि खेर गएका मुन्छे पनि थिए । धेरै पटक उनी पोइल गए । यिनी मान्छे के भए भए ! कोही फेरि कुर्ची पाएर पाउरोटी झैं फुकेका पनि छन् । कोही चमेरो झैं सुकेका पनि छन् । कोही कुर्ची पाइएलाकि भनेर रात दिन ढुकेका पनि छन् ।
खै किन हो ठाउँका ठाउँ चुकेका पनि छन् ।
एक दिन अरिष्ट पत्रुकार धमला के के न हमला गर्छु भनेर गए छन् । अध्यक्ष त अलि अलि हैन थुप्रै नर्भस पो भएछन् । धमला धन्नै फर्केर घर पो गएछन् । तर अध्यक्षले अलिबेर गुनासो मात्रै गरे । धमला पनि सुनेरै ट्वा परे ! टोपेको कुरा पनि धेरै नै भएछ । बरा अध्यक्षलाई टोपेको टोपी खसुन्जेल हान्न मन रहेछ ।
किर्नोले खानसम्म खायो पार्टी नै डुबायो । भन्दै थे उनी । को को बचेछन् औँला पो गन्दै थे उनी ! आफू जीवनभर जङ्गलमा बसेर लडेको अहिले राजधानीमै गढेको कुरा सुनाए । कुर्ची छोड्न पर्दा आफु झस्किन थालेको तरखुस्किन नथालेको कुरा गरेछन् । धमला खित्का छोडेर धन्न मरेनछन् । अहिले फेरी बाजे नै ट्वा परेछन् ।
आफ्नो मुल दर्शन धनवाद भएको अरु सबै वाद पोइल गएको कुरा गरे । उनले आफू खाएर कहिल्यै नमात्ने तर ओलीको नामै सुन्दा कन्सिरी तात्ने कुरा सुनाए । ढेउवाजी को अलि आस रहेको, आफ्नो उतै बास रहेको कुरा पनि भने । सत्ता र भत्ताको पिरले ठ्स ठस कने । औँला भाँचेर दिन गनेँ ।
आफूले सबैलाई पेल्न सक्ने अझैं दुई चार दाउ खेल्न सक्ने बताए । अलिकति खाएकै झै उनी झम्म परे । धमला अचम्म परे । “पहिले के के न जङ्गलतिर पसियो अहिले यतै बसियो । भाग्य नै खोटो आफू कुर्चीबाट नराम्ररी खसियो ।” भनेर निन्याउँरो मुख बनाए । बरा उनले टाउको पो कन्याए ।
आफुले ओलीले झैं धेरै नखोक्ने बरू टेन्सन हुने बेला थोरै भए पनि धोक्ने कुरा बोले । ओली अलि रोगी भएको आफू सत्ता लगायत धेरै कुराको भोगी भएको कता कता गएको खुलासा गरे । धमला छक् परे ।
ओलीलाई सकेसम्म अझैँ रोक्ने । भेटेसम्म एक मुक्का ठोक्ने भनेर चड्किनै खोजे ! धमला पड्किनै खोजे ! राष्ट्रपतिको कुरा पनि गरे । राष्ट्रकै खति हुने भएमा लडाइदिने अरे ।
उनले फेरि वैद्यलाई भेट्ने सकेसम्म सबैको नाम निसान मेटेने कुरा सुनाए धमला खाली भुनभुनाए । बादललाई अब बोक्न मन नभएको सकेसम्म मादल झै उल्टै ठोक्न मन रहेको कुरा गरे । “सबैले पार्टी धुजा धुजा पारेको आफुलाई धन्नै मारेको कुरा भन्नै छुटाएनन् । मेरो टाउकै कस्सो फुटाएनन् ।”
उनले आफू फेरि जनताको दैलोमा जाने दलको भाँडभैलोमा कम जाने कुरा सुनाए । पहिले दिल्लीतिरै वास रहेको अझैं नरेन्द्र दाइको आस रहेको तुरुप फाले । खुसीले गदगद् हुँदै धमलालाई धाप हाले । धमलाले “के गरेको नेता ज्यू” यस्तो भनेर हात फाले । “केही होइन मनेमने । मैले खै के भनेँ ।”
उनले कुर्चीबाट लडेपछि आफनो धेरै ऋण भएको तर कुर्ची चढ्न कुनै घिन नभएको कुरा सुनाए । पुराना दिनहरू मनमा मडारिने आफू अर्को चुनावसम्म देशैभर बडारिने गुनासो पोखे । धमलाले बिचैमा रोके ! हस् नेताज्यू ! भनेर धमला टाप ठोके । बुढामान्छे खुट्टो पसारेर बसे । एक छिनमै कुरी भित्र पसे । एकै छिन बस्दा धेरै कुरा बताए । एक गिलास तानेर बुढो शरिर तताए ।” दुइचार दिन अलि आराम गर्छु फेरि कुर्ची नमिलेमा म त सन्तापले नै मर्छु ।”
बुढा अलि बर्बराउन थाले “हामी भन्दा ठुला खन्चुवा अरु नै छन् । तर हामीलाई नै खान्च खान्च भन्चन् । “अलिअलि नखाएर के गर्नु । तपाईं नै भन्नुस् त । के हामी भोकै मर्नु । खाने बेलामा सबैले लादी आउने गरि खान्चन् । समातिने डरले दुला दुला जान्चन् । हस्त लाल सलाम् । खाने जति सबैलाई एउटै चितामा जलाम् ।” नसके रुखमा झुन्डाउँ कि ताछेर मुन्डाउँ ..!
हरि ॐ शान्ति शान्ति मनमा सधैँ अशान्ति पहिले क्रान्ति अहिले भ्रान्ति नै भ्रान्ति !!
०००
हाल क्यानडा
Subscribe
Login
0 Comments
Oldest







































