भोजराज रेग्मी ‘मुखाले’वीभत्स समयको बिस्कुन
वीर शमसेरको सराद सकेर भावी महाराजको खातिरदारीमा हतार हतार कुदिरहेको घण्टाघरको सुई । रेमिट्यान्सको आँसु बेचेर किनेको आइफोनमा नाठासँग मस्किंदामस्किंदै... ।

भोजराज रेग्मी :
जुँगाको रेखीमा राहदानी झुण्ड्याएर
भिजेका परेलामा भीसा लगाएर
तातो रगत र चिसो पसिनासँग
रेमिट्यान्स साट्न
लस्कर लागेका निरीह विवशताहरू
काठको बाकसभित्र सुतेर
फर्किरहेछन् घर
कथित “ए” श्रेणीको संघीयता शमसेर
भाँती – भाँतीका रेला गरेर समय काट्छ
कथित “सी” श्रेणीको फ्यान शमसेर
स्टाटसको तातो तोप पड्काएर
भेडाहरूको रक्तचाप बढाइदिन्छ
र आत्मरतिमा दाह्री मुसार्दै मुस्काउँछ ।
कालो पर्दाभित्र
मदारीले बजाएको डमरुको तालमा
कोरस गाइरहेछन् – कोकलेहरू
मारुनी नाचिरहेछन् – मुसुमुन्द्रेहरू
तेर्सो सकिएको अत्यासलाग्दो
उकालोजस्तो उमेर
सिमलको भुवाजस्तै उडिरहने मन
चङ्गा चुँडिएर अलपत्र परेको
लट्टाईजस्तो बैँस
उखेलेको मूलाजस्तो जिन्दगी
भुलुक्क उम्लेर एकैछिनमा पाकिहाल्ने
गुन्द्रुकजस्तै माया
चटपटे र पानीपुरीजस्तो पिरती
सुन्दरीका स्याउगालामा घरीघरी चुम्मा गरेर
हतार हतार टाप कस्ने
हिउँदे सिरेटोजस्तो खुशी
घरीघरी छौँडा खेलाएर हैरान पार्ने छिमेकी
गाउँलेको बिहेमा जन्त आएको
अल्लारे ठिटाठिटीजस्ता दलहरू
वनभोज खान आएको
अघोरी बाबाजस्तो सरकार
छिमेकीले हात्ती चढेको ईर्ष्याले
जोईटिङ्ग्रे लोग्नेको दिमाग चाटिरहने अर्धांगिनी
“एक नारी :ब्रम्हचारी”को साइनबोर्डमुनी
कम्बल ओढेर घ्यु खाने पतिपरमेश्वर
वीर शमसेरको सराद सकेर
भावी महाराजको खातिरदारीमा
हतार हतार कुदिरहेको घण्टाघरको सुई ।
रेमिट्यान्सको आँसु बेचेर किनेको
आइफोनमा नाठासँग मस्किँदामस्किँदै
कर्तव्य र दायित्व डढाएर भसक्क पार्ने गृहिणीहरू ।
म
आफ्नै आङ कन्याएर छारो उडाउँदै
वीभत्स समयको बिस्कुन रुँगिरहेको छु ।
०००
पेप्सीकाेला, भक्तपुर








































साहित्य सौन्दर्य र यथार्थताको संगम ।