खगेन्द्र नेउपानेपापी गर्मी
हेर्दाहेर्दै फेरि पाहाडले भिसा पठाइसकेछ हिमाली यात्राकाे टिकट कटाइसकेछ सबै छलहरुमा रमाएकाे पापी गर्मी फेरि आउला जस्ताे छ यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।

खगेन्द्र नेउपाने :
पापी गर्मी फेरि आउला जस्ताे छ
यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।
हाम्रै हिमालले ढाकरभरि भरेर
कसेर सकिनसकि गरेर
मधेस पठाइदिएकाे जाडाे
कुुनामा थन्क्याएका पुराना ज्याकेटमा लुकाएर
एका विहानै ओर्लिएका कलिला घाममा सुकाएर
जाेगाउँदा जाेगाउँदै
पापी गर्मीकाे आँखा लागेछ
बिचरा जाडोकाे साताे भागेछ
एक हुल लामखुट्टेका आवारा सन्तान लिएर
दादागिरी देखाउँदै जिउँदो रगत पिएर
परम्परागत त्रासदी माेलेर
सडकमा मकै पाेले जस्ताे
घामकाे उग्र रापमा पाेलेर
दुनियाँलाई उग्राग्नि बर्षाउँन
पापी गर्मी फेरि आउला जस्ताे छ
यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।
हिजाे पनि गर्मीकाे अत्याचार सहन नसकेर
कहिलेकाहीँ कन्याम र अन्तुतिर गएर राेएका थियाैं
आफ्नै आङकाे पसिना निचाेरेर
जिन्दगीका मर्महरु धाेएका थियाैं
फालेलुङ र याङ्फुदिनका जिजीविषाहरु
भेडीगाेठले उमारेका जीवनका इच्छाहरु
टेलिभिजनकाे पर्दाबाट साेहाेरेर
गर्मीसंग हिलाे छ्यापाछ्याप गर्थ्याैं
मधेसकाे धानकाे भात र
फुलकाेपीकाे तिहुन खान
केही दिन ओर्लिएकाे पाहुना जाडाेलाई
इर्ष्या गरेर
पापी गर्मी फेरि आउला जस्ताे छ
यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।
गाउँमा रात परेपछिकाे आवाजमा
टाढा कतै अपसकुन बच्चा काेरल्छ
टाढा कतै पहेंलो आकाश नरमाइलाे आवाज ओकलेर ङिच्च हाँस्छ
सायद ओथारा बसेका सर्पका माउहरु
बिषालु माैसम उधिन्न बाटाे पर्खिरहेछन्
सायद हिजाे पराजित काला बादलहरु
फेरि चट्याङ बर्षाउँन गाउँ फर्किरहेछन्
घामले सुकाएका आस्थाकाे पराल
कुन स्वार्थकाे झिल्काेले सल्काउँने हाे
बेसुरा राग अलापेर माैसमले
कुन विपत्तिकाे गीत गाउँने हाे
माझ बजारमा सन्त्रासकाे छाती फुुकाएर
पापी गर्मी फेरि आउला जस्तो छ
यति मिठाे जाडाेलाई खेदाउला जस्तो छ ।
बाक्लाे हुस्सुभित्र चुपचाप लुकाएर
अँगेनाकाे डिलमा मनग्गे मन फुकाएर
जाडासंग गफिन बाँकी नै थ्याे
मर्मभरि मुटु लिनदिन बाँकी नै थ्याे
सुटुक्क चिया हाेटलभित्र पसेर
कफिस्वादकाे छेउमै बसेर
अलिकति राजनीतिका कुरा
अलिकति सामज, अलिकति दुनियाँ
देश थिति बेथितिका कुरा
सँगै सम्झिन बाँकी नै थ्याे
हेर्दाहेर्दै फेरि पाहाडले भिसा पठाइसकेछ
हिमाली यात्राकाे टिकट कटाइसकेछ
सबै छलहरुमा रमाएकाे
पापी गर्मी फेरि आउला जस्ताे छ
यति मिठाे जाडाेलाई खेदाउला जस्ताे छ ।
०००
गाैरादह, झापा
Subscribe
Login
0 Comments
Oldest







































